site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले भन्यो– अमेरिकाले खतरनाक युद्धको सुरुवात ग‍र्‍यो

काठमाडौं । इरानले आफ्ना आणविक केन्द्रमा आक्रमण गरेर अमेरिकाले 'खतरनाक युद्ध'को सुरुवात गरेको प्रतिक्रिया दिएको छ । इरानको परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा अमेरिकी आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको बताएको छ ।

“कूटनीतिक प्रक्रियाका बीच अमेरिकाले कूटनीतिलाई धोका दिएको कुरा बिर्सनुहुँदैन,” इरानको परराष्ट्र मन्त्रालयले भनेको छ ।

वक्तव्यमा इजरायललाई 'नरसंहारकारी' र 'कानुनविहीन' राष्ट्रको रूपमा व्याख्या गरिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यस आक्रमणले संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेको छ । अमेरिकी सरकारले यो जघन्य अपराधको गम्भीर परिणाम तथा भयानक प्रभावका लागि पूर्ण जिम्मेवारी बहन गर्नुपर्छ,” वक्तव्यमा भनिएको छ ।

परराष्ट्र मन्त्रालयले चेतावनी दिँदै अगाडि भनेको छ, “अमेरिकी सैन्य आक्रमण र यो दुष्ट शासनले गरेका अपराधहरूको पूर्ण र दृढ प्रतिरोध गर्ने तथा इरानको राष्ट्रिय सुरक्षा र हितको संरक्षण गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्नु इरानको वैधानिक अधिकार हो ।”

वक्तव्यमा संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई अमेरिकाले गरेको ‘स्पष्ट र आपराधिक गैरकानुनी कार्य’लाई तुरुन्त सम्बोधन गर्न आग्रह गरिएको छ । साथै, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्लाई आक्रमणको निन्दा गर्न अत्यावश्यक बैठक बोलाउन आह्वान गरिएको छ ।

अमेरिकी आक्रमण क्षेत्रीय शान्तिका लागि गम्भीर खतरा : इराक
इराकले इरानका आणविक केन्द्रहरूमा अमेरिकी आक्रमणले मध्यपूर्वको स्थिरतालाई गम्भीर खतरा पुर्‍याएको बताएको छ ।

“यो सैन्य उन्मादले मध्यपूर्वमा शान्ति र सुरक्षाका लागि गम्भीर खतरा उत्पन्न गरेको छ । क्षेत्रीय स्थायित्वमा ठूलो जोखिम निम्त्याएको छ,” इराकी सरकारका प्रवक्ता बासिम अल–आवादीले वक्तव्यमा भनेका छन् ।

अल–आवादीले थप भनेका छन्, “निरन्तर आक्रमणहरूले खतरनाक उन्माद निम्त्याउन सक्छन् । र, यसको परिणाम कुनै एक देशको सीमाभन्दा बाहिर फैलिन सक्ने खतरा छ, जसले सम्पूर्ण क्षेत्र र विश्वको सुरक्षालाई प्रभावित पार्न सक्छ ।”

इराकले तत्काल तनाव कम गर्न आह्वान गरेको छ । युद्धले विनाशमात्र ल्याउने भएकाले अन्तर्राष्ट्रिय समुदायले यस विषयमा गम्भीर ध्यान दिनुपर्ने इराकको भनाइ छ ।

सीएनएनबाट ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्