site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
गधा र भँगेरा

एउटा गधा हरियो चौरमा लामो लामो घाँस छान्दै खुबै मज्जासित स्वाद लिँदै खाइरहेको थियो । त्यहाँ एउटा भँगेरा चिरबिराउँदै आयो । भुइँमा यताउता ठुङ्दै ऊ बरोबर चिर्बिराउँथ्यो । गधालाई रिस उठ्यो र भन्यो –“ए भँगेरा, तँ मेरो अगाडि यत्रो स्वर गर्दै हिँडेको ? हेर्दा सानो, स्वर भने ठूलो । म मज्जासित लामो–लामो स्वादिलो हरियो घाँस खाइरहेको छु । मलाई बाधा नदे, जा टाढा ।”

भँगेराले भन्यो– “यो चौर न मेरो हो, न तिम्रो ! यो त हामी सबैको साझा चौर हो । यो त हामीलाई ईश्वरले दिएको हो । यहाँ म पनि चिर्बिराउन सक्छु, तिमी पनि चर्न सक्छौ ।”

“मलाई उपदेश ! पुच्छरको एकै झापडले तेरो मिति टुङ्ग्याइदिउँ कि ?”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गधा हिनहिनाउँदै ऊ भएतिर दौडेर आयो । भँगेरा चिर्बिराउँदै उडिहाल्यो । भँगेरा नजिकैको रूखमा गई बस्यो । गधाको अपमानजनक शब्द र स्वरबारे विचार गर्यो–

“कत्रो घमण्डी गधा ! सानो छु भन्दैमा के मलाई उसले हेप्न हुन्छ ? मासुको थुप्रो मात्र भएको शरीरको के यहाँ मूल्य हुन्छ ? गधाभन्दा ठूला जनावर संसारमा कति छन् कति । यो गधाभन्दा गाई ठूलो, भैँसी ठूलो, घोडा ठूलो, हात्ती ठूलो, ठूलो शरीरको के यहाँ मूल्य हुन्छ ? यो गधाले मलाई साह्रै हेप्यो । यसको सेखी झार्नैपर्छ ।” कुरो मनमा खेलाउँदै भँगेरा फेरि तल गधाको नजिक चिर्बिराउँदै गयो । गधा झन् रिसायो । रिसले रन्थनिदै भँगेरालाई अचारै बनाइदिन्छु भनेर ऊ भँगेरा भएतिर दौडेर आयो । भँगेरा चिर्बिराउँदै उड्यो । ऊ रूखमा नगई गधाको पिठयूँमा बस्यो । पखेटा ठाडो पार्दै भँगेरा चिर्बिरायो । 

भँगेराले भन्यो– “गधा हजुरबा, मलाई एकछिन यहाँ रहन दिनु । म एकछिन आराम गर्छु । तपाईको जीउ पनि मखमलको सतरन्जा जत्तिकै कोमल छ ।”

गधालाई रिस उठ्यो । भँगेरालाई भगाउन ऊ भुइँमा लुटपुटियो । भँगेरा चिर्बिराउँदै फेरि माथि माथि उड्यो र रूखमा गएर बस्यो । भँगेराले भन्यो– “तपाइको शरीरको मासुको डल्ला वास्तवमा तपाईंको लागि बोझ हो । त्यो तपाईंको शक्ति वा बल होइन । म सानो भए पनि के भो र ? चिर्बिराउँदै उड्न पाएकै छु ।” 

गधा झन् रिसले गर्जदै भन्यो– “ओय् फूच्चे, तँ तल त आइज ।”

गधाको कुरा सुनी भँगेरा हाँस्यो ।

“कति पटक आएँ, खोई तपाईले मलाई सत्कार गर्नुभएन, मलाई अपमानै गर्नुभयो । सत्कार गर्नु पनि एक प्रकारको सभ्यताको चिनो हो । तपाई मेरो भन्दा ठूलो जीउधारी जनावर हुनुहुन्छ, म एउटा सानो चरा, तर म असभ्य होइन । अर्काको चित्त दुख्ने वचन गर्नु पनि एक प्रकारको पाप हो । हामी त जहिले पनि चिर्बिराउँछौ ।” 

“तेरो शब्द र स्वर मलाई सुन्नै मन परेन । म अन्तै चौरमा जान्छु” भन्दै गधा हिँडिहाल्यो । भँगेरा रूखबाट ओल्र्यो । गधाको शिर माथि–माथि उड्दै चिर्बिराउँदै उसको पछिपछि लाग्यो ।
भँगेराको अपमान गर्ने गधाको सेखी झर्यो र ऊ मुख रातो पार्दै कतै नहेरी लुरुलुरु हिँड्यो ।

(बाह्रखरी डिजिटल न्युज तथा हातेमालो संचारको सहकार्यमा प्रस्तुत बाल सामग्री)
 

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १०:००
प्रतिक्रिया दिनुहोस्