
अक्षर काका
“राजनीति शौचालय हो, साहित्य भोजनालय हो ।”
सिन्धुपाल्चोक ‘मूलथलो’ भएका दिवङ्गत कवि केदारमान व्यथित बारबार यी उक्ति दोहोर्याउँथे ।
व्यक्तित्व निर्माणको पूर्वाद्र्धमा प्रजातान्त्रिक आन्दोलनमा दिलोज्यान दिएका कवि स्वयम् कुनै समय राजनीति भनेपछि हुरुक्क हुन्थे । २०१७ सालमा राजा महेन्द्रले अर्का साहित्य मर्मज्ञ विश्वेश्वरप्रसाद कोइराला नेतृत्वको जननिर्वाचित सरकारलाई अपदस्थ गरेर निर्दलीयता लादेपछि २०१९ सालमा तुलसी गिरी नेतृत्वको मन्त्रिमण्डलमा मन्त्री पनि नियुक्त भए ।
तर व्यथितको राजनीति लामो समय टिकेन न त उनलाई राजनीतिले कुनै परिचय नै थमायो । नेपाली साहित्यको फराकिलो फाँटमा दुई दर्जन काव्य–कृति पस्किएका इन्द्रावती किनारवर्ती क्षेत्रका यी कविलाई साहित्यवृत्तले जत्ति जान्दछ, योभन्दा कयौं गुणा कम राजनीतिक वृत्तले चिन्दछ ।
मुलुकको राजनीतिक उतार–चढाव, आरोह–अवरोह र उहापोहबाट वाक्कदिक्क भएपछि व्यथितले यसप्रकारको भाष्य विनिर्माण गरेको हुनुपर्छ । राजनीतिलाई शौचालयको उपमा थमाएर उनी आफू साहित्यको भोजनकक्ष छिरेर काव्यसुधामा आस्वादित भएको हुनुपर्छ ।
राजनीतिलाई साहित्यसँग समउचाइ दिन नसकेकाले पनि व्यथितको ‘कुण्ठा’ प्रकट भएको तर्क पनि यदाकदा नसुनिने होइन ।
कारण– नेपालको राजनीतिक रङ्गमञ्चमा साहित्य र राजनीतिलाई उत्तिकै न्याय प्रदान गर्नेहरू पनि छन् । अथक साधना र रुचिकर शैलीका कारण साहित्य र राजनीतिलाई एउटै उचाइ दिन सफल भएका पनि छन् ।
राजनीति र साहित्यलाई समन्याय प्रदान गर्ने अग्रणी पात्र हुन् विश्वेश्वरप्रसाद कोइराला ।
राजनीतिमा प्रजातान्त्रिक समाजवाद भित्राउने विश्वेश्वरले साहित्यमा ‘फ्रायडवादी’ चिन्तन अङ्गीकार गरे । यद्यपि, कोइराला आफ्ना सिर्जनालाई फ्रायडवादी चिन्तनको उपज मान्न अस्वीकार गर्छन् ।
२०१२ सालमा उनले अघि सारेको प्रजातान्त्रिक समाजवादले जति छाप छाडेको छ, त्यस्तै अमिट छाप छाडेको छ– उनका मनोविश्लेषणात्मक साहित्य–सिर्जनाले ।
नेपाली समाजमा कोइरालाका बारेमा अनेक भाष्य, कथ्योपकथ्य र मिथहरू निर्माण भएका छन् ।
बहुदलीय प्रजातन्त्र प्राप्तिको आन्दोलन सफलीभूत त भयो उनकै जीवनकालमा, तर त्यो दीर्घजीवी बन्न सकेन । शैशवावस्थामै त्यसको चीरहरण भयो । उनी बाचुञ्जेल दरवारमा कैद रहेको प्रजातन्त्रले रिहाइ पाउन सकेन । मुक्तिका लागि आन्दोलनका आवाजहरू एकत्रित पनि हुन सकेनन् । यसर्थ, कोइरालालाई असफल राजनीतिज्ञको दर्जा दिनेहरू पनि प्रशस्तै छन् ।
नेकपाका नेता प्रदीप नेपाल भन्छन्, “विश्वेश्वरप्रसाद कोइराला असफल राजनेता र सफल साहित्यकार हुन् ।”
तर साहित्यमा उनको विराटता निर्विवाद छ । नेपाली समाजको मनोदशालाई मिहीन ढङ्गले केलाउने उनले समयभिन्न चेतना निर्माणमा उल्लेख्य योगदान गरेका छन् । विशेषतः त्यतिबेलाको समाजको यौनमनोदशा र अन्तर्वृत्ति केलाउने निहुँमा उनी आफू बाँचेको युगभन्दा कयौंगुणा अघि फड्को मारेको आभाष हुन्छ ।
त्यसो त उनले आफ्नाबारेमा आफैं भाष्य निर्माण गरेका छन्– “म राजनीतिमा प्रजातान्त्रिक समाजवादी, राजनीतिमा अराजकतावादी हुँ ।”
कोइरालाका ६ उपन्यासमध्ये ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्र दाइ’ र ‘बाबु आमा र छोरा’ यौन मनोविज्ञानको द्योतक मानिन्छ । ‘मोदिआइन’मार्फत् महाभारतमा कृष्णको भूमिकामाथि प्रश्न उठाउँदै मिथको विनिर्माण गरेका छन् । ‘मोदिआइन’युद्ध त्याग र शान्तिको विशद् कामना पनि हो ।
‘हिटलर र यहुदी’ले मानवीय भावना र करुणा जागृत गराउँदछन् । द्वितीय विश्वयुद्धताका जर्मन तानाशाह हिटलरले लाखौं यहुदीलाई ग्याँस च्याम्बरभित्र कैद गराएर मारेको घटना नै यस उपन्यासको केन्द्रीय चरित्र हो । कृष्ण र हिटलरलाई तुलना गर्दै उपन्यासमा पूर्वीय दर्शन÷मान्यतामै आधारित रहेर द्वन्द्वको सङ्घटन गरिएको छ ।
त्यसका अतिरिक्त उनका ‘दोषी चस्मा’ र ‘श्वेत भैरवी’ कथासङ्ग्रह प्रकाशित छन् । ‘श्वेत भैरवी’मा ‘सान्नानी’, ‘राइटरबाजे’, ‘एक रात’ र ‘श्वेत भैरवी’ सङ्ग्रहित छन् ।
साहित्यका बारेमा कोइरालाइतर राजनीतिज्ञको अनेक तर्क हुन सक्छन्, तर उनी हमेसा भन्थे, “म साहित्यद्वारा राजनीतिक जीवनको कटुता र नीरशतालाई केही हदसम्म पन्छाउने कोसिस गर्दछु ।”
यसर्थमा भन्दा कोइरालाले साहित्यलाई चेतना र विचार निर्माणको दृष्टिले उपयोग गरेनन् न त साहित्यमार्फत् आफ्ना राजनीतिक दर्शन र भावना नै जनसमक्ष पस्किए ।
चिन्तक प्रदीप गिरि अझै प्रकाशवान् तुल्याउँछन्– “कोइरालाका किताबहरूमा कुनै पनि राजनीतिक लेखनको छाप पाइँदैन । स्वतः उहाँ आफ्नो लेखनमा राजनीतिक प्रभावमुक्त हुनुहुन्छ ।”
यसरी हेर्दा उनले राजनीति र साहित्यमा अलग–अलग मानक, तर समान उचाइ कायम गरे ।
उनलाई सुरुचिपूर्वक अध्ययन गर्ने डा. विपिन अधिकारी भन्छन्, “कोइरालाले राजनीतिलाई शासन–व्यवस्था सुधारका रूपमा उपयोग गरे र साहित्यलाई समाज सुधारको अस्त्रका रूपमा ।”
तर साहित्य र राजनीतिमा समानान्तर साधना गरिरहेका नेता प्रदीप ज्ञवालीको भने कोइरालाबारे भिन्न मत छ । साहित्यमा नूतन चिन्तन र नवीन आयाम भित्राउन योगदान पुर्याए पनि कोइरालाले सिर्जनामा तदनुरूप आदर्श र चरित्र निर्माण गर्न नसकेको ज्ञवालीको ठम्याइ छ ।
“यसर्थ उनको राजनीतिक र साहित्यिक चिन्तनबीच बडो विरोधाभाष छ, उनका कुनै पनि सिर्जनामा प्रजातान्त्रिक समाजवादको नायकत्व निर्माण भएको पाउँदैनौं,” ज्ञवाली आफ्नै भाष्यको जगमा उभिएर भन्छन् ।
तथापि, कोइरालाले साहित्य र राजनीति दुवैका माध्यमबाट सामाजिक पुनर्जागरणमा कुशल र असल भूमिका निर्वाह गरेकामा एकमत छन्, ज्ञवाली र अधिकारी ।
विचारलाई ‘ईश्वर’मान्ने राजेश्वर
भलाद्मी एवम् सज्जन नेताको छवि बनाएका राजेश्वरको भौतिक उचाइलाई लिएर अनेक मिथ निर्माण भएका छन् । तर उनको राजनीति र साहित्यिक उचाइबारे सायदै प्रश्न उठ्छ ।
राजनीतिक आवद्धताबारे ‘पञ्चनेता’ राजेश्वरको चाहिँदो चर्चा भएको छ । उनको साहित्यिक उचाइबारे हुनुपर्नेजति चर्चा भएको छैन ।
राष्ट्रिय पञ्चायतको पूर्वअध्यक्ष पनि भएकाले होला उनको साहित्यिक कदबारे चर्चापरिचर्चा गर्न पञ्चायत ढलेपछि हुर्किएको चेतनाले हिच्किचायो । अझ भनौं, देवकोटाको साहित्यिक उचाइ राजनीतिक आग्रह–पूर्वाग्रहको कोपभाजनमा पर्यो ।
नेपाली साहित्यको क्षेत्रमा देवकोटा शब्दको उच्चारण हुनासाथ लक्ष्मीप्रसाद देवकोटाको नामले मन झङ्कृत, एकखालले तरङ्गित भइहाल्छ । तर नेपाली साहित्यको इतिहास लक्ष्मीप्रसाद देवकोटाको चर्चाले मात्रै पूर्ण भने हुँदैन ।
२० को दशकबाट नेपाली व्याकरण (कृति) लेखेर साहित्यको श्रीवृद्धि खातिर हेलिएका देवकोटाले ६०को दशकको उत्तराद्र्धसम्म आइपुग्दा १८ वटा कृति पाठकका नाममा सुम्पिएका छन् । जसमध्ये ११ वटा त साहित्यप्रधान नै छन् । बाँकी ७ वटा राजनीतिक, आर्थिक चिन्तन र प्रणालीमा आधारित छन् ।
२०४४ सालमा ‘उत्सर्ग प्रेम’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका छन् । त्योभन्दा अघि प्रकाशन भएको ‘पूर्वकथाले’ साझा पुरस्कार हात पारेको थियो ।
‘आवर्तन’(२०४१), ‘द्वन्द्वको अवसान’ (२०४२), ‘पूर्वकथा’ (२०४३), ‘उत्सर्ग प्रेम’ (२०४४), ‘पूर्णिमा’ ( २०५४), ‘डबली’ (२०५९), ‘महाराजको भूत’ (२०६८) आदि उपन्यासमा दार्शनिकता अनुस्यूत भएको पाइन्छ । विचारका दृष्टिमा सुस्पष्ट छन्, उनका कृति ।
राजेश्वरको सिर्जनामा विशेषतः पूर्वीय दर्शनको प्रभाव रहेको पाइन्छ । तथापि, पूर्वीय साङ्ख्य दर्शनको आयामबाट उनका उपन्यासको विश्लेषण, चर्चापरिचर्चा भने हुन नसकेको चर्चा यदाकदा सुनिन्छ ।
२००४ सालको तीनधारा पाठशालाको जयतु संस्कृतम् आन्दोलनको अगुवा रहेका राजेश्वरको साहित्य २००४मा दार्जिलिङबाट प्रकाशित हुने ‘भारती’ पत्रिकामा कविता छपाएर समानान्तररूपमा उठेको हो ।
मन्त्री, रापअ (राष्ट्रिय पञ्चायत अध्यक्ष) भएका राजेश्वर ६० को मध्यतिरबाट राजनीतिमा ओझेल परे । तर साहित्य साधनामा भने जीवनपर्यन्त तल्लीन रहे ।
राजेश्वरकृत उपन्यासभित्र प्रयुक्त दर्शन पौराणिक धर्मग्रन्थ या मिथमा आधारित छैनन्, न ती दर्शनको विनिर्माण नै हुन् । मानवीय जीवन, समाजिक सन्दर्भ, भौतिक स्थिति र जीवन भोगाइको कटु यथार्थको कसीमा घोटिईघोटिई दर्शन र विचारको रूप धारण गरेका छन् ।
राजेश्वर पूर्वीय दर्शन र पाश्चात्य साहित्यको विशुद्ध अध्ययनमा आफूलाई दत्तचित्त गराउने विराट र आयामिक प्रतिभा भएको बताउँछन् समीक्षक केशवराज पोखरेल ।
“राजेश्वर प्रारम्भदेखि नै राजनीति र दार्शनिक चिन्तनमा लागेका सुस्पष्ट हुन्छ । राष्ट्रिय पञ्चायतका अध्यक्षसमेत भइसकेका उनका उपन्यासमा मूलतः वैचारिकतालाई स्थान दिइएको छ । उनले नेपाली भाषा–साहित्यका विविध फगटा– निबन्ध, कथा, कविता, बालसाहित्य, हास्यव्यङ्ग्य, जीवनीलगायत साहित्येतर विधामा पनि उत्तिकै कलम चलाएका छन्, तापनि उनका समस्त साहित्यिक कृतिको मूल्याङ्कन गर्दा औपन्यासिक विधामा नै अगाडि रहेको देखापर्छ । र, तिनैमा उनले ख्याति आर्जेका छन् ।” (पोखरेल, २०४६ ः ४९) ।
मदन पुरस्कार विजेता पूर्वप्रम
राजनीति र साहित्य दुवैतिर साधनारत् रहेर उचाइ स्थापित गर्ने व्यक्तित्व हुन् लोकेन्द्रबहादुर चन्द । लामो समय पञ्चायतको राजनीति गरेर राप्रपा संस्थापन गरे पनि चन्दको खातामा ‘सम्झनालायक’ काम छैनन् । विसं. २०४०, २०४६, २०५३ र २०६० साल गरी चारपटक करिब पाँच वर्ष मुलुकको कार्यकारी प्रमुख बने पनि उनको प्रधानमन्त्रीत्व पनि चीरस्मरणीय छैन । कतिपय कार्यकाल त ‘बिर्सनलायक’ नै छ भन्दा अत्युक्ति हुँदैन ।
उनको राजनीतिक ओतबारे अनेक मत हुन सक्छ । तर साहित्य साधनामा उनको लगाव ‘आलोच्य’ छैन । पाच्य नै छ ।
२०१५ सालदेखि काव्यसाधनामा लागेका चन्दको साहित्यिक आवद्धता कुनै राजनीतिक घटना र वा वैशिष्ट्यताबाट प्रेरित छैन ।
सुदूरपश्चिम, बैतडीको कुरकुरिया गाउँमा जन्मिए पनि समाजको समीप भएर बग्ने गरिबी, अभावसँग आँखा जुधाएर उनले हेर्नुपरेन । तथापि, उनको मनमा मानवीय भावना जागृत र निःशृत भइरह्यो ।
किशोरवय र कवितामा सँगसँगै पाइला राखेका उनले हिन्दीमा समेत गरी चारवटा काव्यसँगालो पैदा गरेका छन् । कथासङ्ग्रहको सङ्ख्या पाँच पुगेको छ । त्यसमध्ये ‘विसर्जन’ कथासङ्ग्रहले २०५४ सालको मदन पुरस्कार हात पार्यो ।
‘बाह्रौं खेलाडी’ र ‘कुर्सी’मार्फत् हास्यरस विरेचन गराएका चन्दको औपन्यासिक कृति बजारमा आउने तरखरमा छ । अन्तिम सम्पादनको क्रममा रहेकाले नाम जुराइसकेका छैनन् ।
जीवनको ऊर्जाशील समय राजनीतिको न्युक्लियस भागमा रहेका चन्द कसरी साहित्य साधनामा दत्तचित्त बन्न पुगे त ? यसको मूर्त, सुहाउँदो जवाफ उनीसँग पनि छैन ।
“सुरूमा कैशोर्य भावनालाई मुखरित तुल्याउन कविता कोरेँ,” उनी हाँस्दै सुनाउँछन्, “राजनीतिमा होमिएपछि फुर्सद पन्छाउने माध्यम बन्यो ।”
त्यसो त साहित्य साधनामा लिन हुँदै गएपछि समाजप्रति संवेदनशील बन्ने उनको बुझाइ छ । उनी एउटा घटनाको स्मरण गर्छन् । चन्द प्रधानमन्त्री हुँदाकै कुरा हो । उनको कार्यकक्षमा नेपालका लागि जर्मन राजदूत आए । केही समयको शिष्टाचार भेटवार्तामा जर्मन राजदूतले भने, “कोरा राजनीतिज्ञ भन्दा साहित्यकार नै समाजका सचेत तप्का हुन् । उनीहरू विचारक, चिन्तकका अतिरिक्त समाजप्रति बढी नै संवेदनशील हुन्छन् ।”
जर्मन राजदूतको त्यो भनाइ उनको मनमा शिलालेखझैं गढ्यो । कुर्सी, ओहोदामा बस्दा कार्यान्वयन भने हुन नसक्दो रहेछ । “सधैं भावनामा बहकिएर र करुण रसले चुर्लुम्म भिजेरमात्रै पनि नहुने । कहिलेकाहीँ अत्यन्तै कठोर र बोल्ड निर्णय लिनुपर्ने हुन्छ,” चन्द हाँस्दै सुनाउँछन् ।
तथापि, साहित्यले राजनीतिक चिन्तन, विचार निर्माण र सम्प्रेषणमा उल्लेख्य टेवा पुर्याउँछ ।
शिशिर त्यागेपछि शीतविन्दु
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली राजनीतिक जीवनको भूमिगत कालखण्डमा ‘शीतविन्दु’मार्फत् मुखर हुन्थे । वास्तविक नामबाट सिर्जना बाहिर ल्याउँदा प्रशासनले चिनेर तुरुन्तै पक्रने डर हुन्थ्यो । निम्न पुँजीवादी चिन्तनको पथिक बनेको आरोप पनि बेहोर्नुपथ्र्यो । पार्टीका बैठक, भेलाहरूमा अजेन्डाकै रूपमा प्रविष्ट हुन्थ्यो । सजायँको भागिदार हुनुपथ्र्यो ।
त्यसैले मालेकालीन जल्दाबल्दा नेताहरूले साहित्य रचना गर्नकै लागि थुप्रै छद्मनाम सिर्जना गर्नुपर्यो ।
ज्ञवाली शीतविन्दुका माध्यमबाट मुखरित हुनुअगाडि ‘शिशिर’मार्फत् डायरीमा पोखिन्थे । २०३४ सालतिरको कुरा हुनुपर्छ, त्यतिबेला ज्ञवाली भूमिगत भइसकेका थिएनन् । भर्खर प्रवेशिका परीक्षा उत्तीर्ण गरेका किशोर थिए । गुल्मीकै सरकारी विद्यालयमा अध्यापन पनि गर्थे ।
पुनगर्ठित कम्युनिस्ट आन्दोलनले पश्चिमाञ्चलमा सुनामी तरङ्ग सिर्जना गर्दै थियो । जाली तमसुक च्यातिएर सामाजिक जागरणमा पनि उचाइ लिँदै थियो । विद्यार्थी आन्दोलनमा हेलिए पनि पूर्णकालीन राजनीतिबारे द्विविधाग्रस्त मनःस्थितिमै थिए ।
धान थन्क्याउने याम । मध्य मङ्सिरको पहारिलो घामको बेला । ज्ञवाली स्कुलको खाजा समयमा चौरीमा बसेर खण्डकाव्य लेखिरहेका थिए । खण्डकाव्य अपाङ्गता भएका माग्नेको जीवन सङ्घर्ष, जीजीविषामा आधारित थियो ।
खण्डकाव्यमा कलम दौडाइरहेकै बेला स्कुलमा एकजना सर्टपाइन्ट लगाएका सुकिला व्यक्ति आइपुगे । अपरिचित व्यक्तिका कौतूकपूर्ण आँखा ज्ञवालीतिर सोझियो ।
सङ्कोची स्वभावका ज्ञवालीको अनुहार बर्कोलेझैं लज्जाले छोप्यो । अपिरिचित व्यक्ति चिनचान बढाउन खोज्थे । ज्ञवाली लाजले खुम्चँदै जान्थे ।
सामान्य चिनजान भएपछि अपरिचितले सोधे– “के लेख्दै हुनुहुन्छ ?”
ज्ञवालीलाई झ्न सङ्कोच भयो ।
अपरिचितले आफैं कापी लिए । दुई–चार पाना पढेपछि अपरिचितको अनुहार आश्चर्यले भरियो ।
अपरिचितले भने, “तपाईं असाध्यै राम्रो लेख्नुहुँदो रहेछ । अपाङ्गताको सजीव चित्रण, गरिबीको वर्णन, मानवीय पक्षको उद्घाटन निकै सुन्दर छ । तर एउटा कुराचाहिँ पटक्कै चित्त बुझेन ।”
ज्ञवाली घोर आश्चर्यमा परे । “चिनैकै छैन । अर्काको सिर्जनामाथि के टिप्पणी गरिरहेको होला ?” ज्ञवालीलाई मनमनै रिस उठ्यो पनि ।
तैपनि ज्ञवालीले मुख फोर्न उचित ठानेनन् । अपरिचित आफैंले भने, “समाजको गरिबी, विभेद, अन्याय, अत्याचार बदल्नै सकिँदैन भन्ने निष्कर्षमा कसरी पुग्नुभयो ? गरिबीविरुद्ध लड्ने, गरिबको पक्षमा लड्ने कोही छैनन् भनेर कसरी ठोकुवा गर्नुहुन्छ ? यथार्थ यसभन्दा भिन्न छ । गरिबीविरुद्ध लड्ने सिद्धान्त छ, शक्तिहरू पनि छन् । यसलाई अन्त्य गरेर अर्को संसारको सिर्जना गर्ने बाटो र विज्ञान पनि छ ।”
ती अरिचित व्यक्तित्व आन्दोलनका अगुवा जीवराज आश्रित रहेछन् । आश्रितका यी भनाइ ज्ञवालीका लागि अँध्यारोमा चम्किएको बिजुलीजस्तो भयो । त्यतिबेलादेखि नै उनले सचेतनासहितको साहित्यमा जोड दिन थाले । उनका सिर्जनामा मार्क्सवादी सौन्दर्यशास्त्र थपियो । अर्को किसिमले भन्ने हो भने, भावनाप्रधानबाट उनका सिर्जना विचारप्रधानतिर डोहोरिन थाले ।
२०४१ सालमा नेकपा मालेले नवलपरासीमा अञ्चलस्तरीय प्रशिक्षण भेलाको आयोजना गरेको थियो । पार्टी महासचिव थिए– झलनाथ खनाल । भेलाका मुख्य प्रशिक्षक पनि उनै थिए । तिनताक ज्ञवाली भूमिगत भएर पूर्णकालीन राजनीतिमा हेलिइसकेका थिए । प्रशिक्षण लिन ज्ञवाली पनि नवलपरासी पुगेका थिए । साथमा कलात्मक कलेवरयुक्त डायरी पनि थियो ।
साहित्यिक चेतका अतिरिक्त अक्षराकृति पनि तिलस्मी थियो ज्ञवालीको । उनको चित्ताकर्षक लेख्य देखेर समवयी, सहयोद्धाको मनमा ईष्र्याभाव पनि जन्मन्थ्यो । प्रशिक्षणकै क्रममा खाली समय उनी प्रवचन कक्षबाट के बाहिरिएका थिए, डायरीलाई धेरैजनाले हात लाएछन् ।
तिनताक उनी ‘शिशिर’का नामबाट साहित्यरचनामा प्रस्फुटित हुन्थे ।
फर्कंदा प्रशिक्षण कक्षमा खैलाबैला भइसकेको रहेछ– “कम्युनिस्ट पार्टीमा लागेर प्रचारको तृष्णा हुर्काउने ? प्रशिक्षणमा आउँदा कविताको डायरी बोकेर आउने ?”
वास्तवमा त्यसबखत उनले विष्णु प्रभात (जोपछि प्रज्ञा–प्रतिष्ठानको सदस्य पनि भए)लाई देखाउने र आफ्ना सिर्जना मार्क्सवादी सौन्दर्यशास्त्रको आँखाबाट हेर्दा, विचार र दर्शनको आँखाबाट हेर्दा कस्तो देखिन्छ भन्ने थाहा पाउने उनको अभिप्सा थियो । तर बुझियो अर्कै !
अनाहकमा बेहोर्नुपरेको आरोपले ज्ञवालीको मन अमिलियो । उनले तुरुन्तै सङ्कल्प गरे–“आइन्दा कुनै पनि सिर्जना गर्दिनँ ।”
साहित्य सिर्जना नगर्ने अठोट त उनले गरे नै, शिशिर छद्म नाम पनि त्यागे ।
झण्डै दुईवर्ष लेखेनन् पनि । तर मनभित्रको पीडा, छटपटी, उकुसउमुस केले शमन हुन्थ्यो ? निरूपाय थिए उनी ।
‘शिशिर’ बदनामित भइसकेको थियो । ज्ञवाली एउटा सेल्टरबाट अर्को सेल्टरमा जाँदै थिए । शिशिरयाम, बाटाभरि छपक्कै शीत मोतीझैं टल्किइरहेको देखे । सधैंभरि देखिन्थ्यो होला । त्यो दिनचाहिँ ती शीतका थोपाले मस्तिष्कमा विशिष्ट आनन्द र ऊर्जा सञ्चार गर्यो ।
शीतको थोपा, हेर्दा खुब सुन्दर छ । तर यो निकै क्षणभङ्गुर छ । दिउँसो घाम लाग्नसाथ यसको अस्तित्व निमिट्यान्न भइहाल्छ । आखिर सुन्दरता पनि त यत्तिकै क्षणिक र अनित्य त हो !
सुन्दरता र क्षणभङ्गुरताको अर्थ खुलोस् भनेर ज्ञवाली ‘शीतविन्दु’का नामबाट उद्घाटित हुन थाले । २०४६ सालमा ‘सहयात्री’ उपन्यासको जन्म दिए ।
युवाको आन्दोलनमा आवद्धता र सामाजिक रूपान्तरणको प्रश्न नै ‘सहयात्री’को औपन्यासिक चरित्र हो । पछि त्यो उपन्यास टेलिचलचित्रको रूपमा पनि विकास भयो । दर्शकसँग साक्षात्कार र संवाद पनि गर्यो ।
वालीको नजरमा साहित्य र राजनीति एकअर्काका परिपूरक र समपूरक हुन् । भन्छन्, “म राजनीति र साहित्यमा सँगै उभिँदैनथेँ भने मेरो समाजलाई हेर्ने नजर अलि सपाट हुन्थ्यो कि, साँघुरो हुन्थ्यो कि, गहिराइमा गएर समाजलाई चिन्न र जान्न सक्दैनथेँ कि, अथवा मार्क्सवादी आँखाबाट समाजलाई हेर्ने कुरामा कतै कमी पो हुन्थ्यो कि !”
ज्ञवाली आफ्नै कवितासङ्ग्रहको उदाहरण पनि दिन्छन्– ‘बिनासालिकका नायकहरू’ ।
२०७३ सालमा प्रकाशित भएको ‘बिनासालिकका नायकहरू’मा एउटा कविता छ– ‘विद्रोहको आँगनमा लाटो कामी’ । ज्ञवालीकै गाउँको विदारक घटनासँग अन्तरसम्बन्ध पनि राख्छ, त्यो कविताले ।
ज्ञवाली विशुद्ध काव्यमा मात्रै हुन्थे भने ती बबुरा विश्वकर्माभित्र गरिबी र अभावमात्रै देख्थे होला । अभावको आरनमा फिलिङ्गा नचाइरहेका मात्रै देख्थे होला । ज्ञवाली विशुद्ध राजनीतिमा मात्रै हुन्थे भने ती विश्वकर्माप्रति हेर्ने दृष्टि अलग्गै हुन्थ्यो । केवल मतदाताका रूपमा मात्रै आँखा पर्दो हो । तर ज्ञवाली राजनीति र साहित्यको क्षितिजमा समानान्तररूपले उभिएकैले ती विश्वकर्माको आरनमा विद्रोहको राँको बलिरहेको र धूवाँ पुतपुताइरहेको देख्न सम्भव भयो ।
साहित्य र राजनीतिमा समानान्तर रूपमा अघि बढ्दा समाजका सम्बन्धहरूलाई पर्गेल्न, सूक्ष्मत्तर ढङ्गले समाजको वस्तुस्थिति, मनःस्थिति बुझ्न मद्दत पुग्ने, उत्पादन सम्बन्धले विकास गरेका सामाजिक तहहरू जान्ने र राजनीतिक चेतना प्रदान गर्ने ज्ञवालीको बुझाइ छ ।
राजनीतिक चेतना सन्निहित भएन भने साहित्य एकपाखे हुन्छ । एकाङ्गी हुन्छ । एकनाले हुन्छ । त्यसले समाजलाई कुनै पनि विचार, दर्शन प्रवाह गर्न सक्दैन । केवल ‘स्वान्त सुखायः’को बाटो समात्छ भन्छन् ज्ञवाली ।
साहित्य र राजनीतिलाई एकसाथ अघि बढाउँदा जोखिम पनि छ । साहित्यमा ज्यादातर करुण भाव प्रकट हुन्छ । स–सानै घटनाले पनि मन उद्वेलित तुल्याउँछ । महिनौंसम्म दिमाग अशान्त भइरहन्छ ।
ठूलै घाउ पनि खाटा बस्छ । बस्नु पनि पर्छ । शाश्वत चिन्तन हो यो । तर साहित्यले कहिलेकाहीँ घाउ खाटा बस्न दिँदैन । गढिँदै गएर उकुच पल्टिने भय हुन्छ ।
“साहित्यमा लाग्नेहरू अरू राजनीतिज्ञको दाँजोमा बढ्ता चिन्तित, उदासी, विह्वल देखिनुको कारण यो पनि होला,” ज्ञवाली भन्छन् ।
प्रदीप नेपालले लेख्न नपाएपछि सञ्जय थापा जन्मियो
झापा विद्रोहको रापतापबाट फैलिएको कम्युनिस्ट आन्दोलनमा एकखालको चिन्तन हावी थियो– वाम आन्दोलनको भँगालामा हेलिएकाहरूले साहित्य सिर्जना गर्नुहुँदैन । यो निम्न पुँजीवादी महत्वाकाङ्क्षाको प्रतिबिम्बन हो । यसर्थ आफूभित्र पुँजीवादी प्रवृत्ति हुर्कला र आत्मकेन्द्रित प्रचारको तृष्णा जाग्ला भनेर भूमिगत आन्दोलनमा चरुझैं होमिएकाहरू लेखनमा सक्रिय रहेनन् । रहेकाहरूले पनि कलम थन्क्याएर क्रान्तिको महादीप सल्काउनतिर उद्यत् भए ।
कोअर्डिनेसन केन्द्र हुँदै माले आन्दोलनमा समाहित भएका प्रदीप नेपाल नामै बदलेर साहित्य साधनामा लिन भए ।
२०२६ सालको आन्दोलनले नेपाललाई साहित्य र राजनीति दुवैमा लाग्न ऊर्जा प्रदान गर्यो ।
साउने दर्केझरीको महिना थियो । त्रिचन्द्र कलेजका छात्रछात्रा आन्दोलनमा उत्रिए । प्रहरीले व्यापक धरपकड गर्यो । भर्खर प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएका नेपालले भेउ पाएनन् । प्रहरीको दमनले प्रतिशोध जगायो । प्रतिशोधले साहित्य सिर्जनातर्फ धकेल्यो ।
नेपालको सुरूआती साहित्य विचार र चेतनाका हिसाबले माझिएको थिएन ।
“राजनीतिक सम्पर्क, सान्निध्य प्राप्त गरेपछि माझिँदै, मस्किँदै र उज्यालिँदै गयो,” नेपाल अहिले सम्झन्छन् ।
पार्टी आन्दोलनमा भूमिगत हुनुअगावै नेपाल भुइँमान्छे, सबाल्र्टनका पक्षमै कलम चलाउँथे । उनीहरूको जीजीविषा, जिगीषाका पक्षपोषण र भरणपोषण गर्थे ।
“भुइँमान्छेहरूको सम्पर्क–सम्बन्धमा हुर्किएकाले उनीहरूको अभाव, पिरलोले चिथोरिरहन्थ्यो । उनीहरूको अग्रगति हुनपर्छ भनेर वकालत गर्थें । साहित्यले उनीहरूको पीडा अनुभूत गर्न सक्थ्यो । तर बदल्न सक्दैनथ्यो । उनीहरूको नियति बदल्ने हतियार राजनीति नै हो भनेर त्यता होमिएँ,” उनी सुनाउँछन् ।
राजनीति पनि सामाजिक चिन्तन नै हो । तर कहिलेकाहीँ राजनीतिले आफ्नो भाषा–भाषिकामार्फत् समाजसँग सीधा संवाद गर्न सक्दैन । साहित्य सहयोगी बन्छ ।
राजनीतिले ठाडो भाकामा आफ्ना कुरा अभिव्यक्त गर्छ । कहिलेकाहीँ त्यो कर्कश, अपाच्य र अरुचिपूर्ण बनिदिन्छ । रूखो बनिदिन्छ । साहित्यले मायालु हिसाबले आफ्ना विचार, भावना, दर्शन अभिव्यक्त गर्छ । त्यो सहज सम्प्रेष्य हुन्छ ।
त्यसका लागि उनले ‘बर्बरिक’ उपन्यासको सहारा लिए ।
२०४९ सालमा तत्कालीन मालेका महासचिव मदन भण्डारीले कम्युनिस्ट आन्दोलनमा नूतन कार्यक्रम अघि सारे । पार्टी आन्दोलनमा लागेका बाहेक धेरैले बुझेनन् । नेपालले मदन भण्डारी र उनका विचारलाई औपन्यासिक चरित्रमार्फत् उद्घाटन गरे । त्यसले ठूलो समूहलाई सूचित गरायो ।
यसर्थ राजनीति र साहित्य अलगअलग विधाका रूपमा नभई अभिन्न अङ्गका रूपमा रहिआएका छन् । यसलाई अलग हिसाबले बुझ्नु र बचमिच्याइँमात्रै हुन जाने नेपालको निचोड छ ।
नेपाल सङ्गठित भएको पार्टी माले, एमाले हुँदै अहिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा रूपान्तरित भएको छ । तर प्रदीप नेपाल दृष्यमा छैनन् । राजनीतिक मञ्चबाट ओझेल परे पनि राजनीतिभन्दा जेठो उनको साहित्य मुर्झाएको छैन । उत्तिकै मुखरित छ । ५२ वटा सिर्जना पस्किइसकेका नेपाल आजपर्यन्त साहित्य–साधनामै निमग्न छन् ।
राजनीतिमा ‘अस्थिर’, साहित्यमा ‘स्थिर’
कुन्ता शर्मा साहित्य र राजनीति दुवैतिर उत्तिकै चिनिएको नाम हो । साहित्यमा मानवीय मूल्यका पक्षमा मुखर भएकी कवि कुन्ता राजनीतिमा त्यति स्थिर मानिन्नन् ।
त्यसको कारण छ– कवि कुन्ताको जीवनमा अनेकखाले आँधी–हुरी, हुण्डरी, बबण्डर आए । उनी ओत लाग्दै आएको राजनीतिक आदर्शले जब सत्तामा प्रविष्टि गर्यो, त्यसको सोच, चिन्तनमा १८० डिग्री कोणको बदलाव आयो । भनाइ र गराइ, बोली र व्यवहारबीच कुनै तादात्म्य रहेन । आफूले टेक्दै आएको बाटोमा विचलन पैदा भएको निष्कर्षमा पुगिन् । र, साहित्यमा अस्तित्ववादी धारमा बग्दै आएकी कुन्ता राजनीतिक मूल्यको खोजीमा भौंतारिइन् । माले आन्दोलनबाट आरम्भ भएको उनको राजनीतिक यात्रा माओवादी आन्दोलन र अन्तिममा त्यसैको हिस्सा मोहन वैद्य ‘किरण’को क्रान्तिकारी माओवादीको बाटोमा आइपुगेर अडिएको छ । यसो भन्न सकिन्छ– राजनीतिमा अझै उनको मूल्य स्थापित भइसकेको छैन । उनी जीवनको उत्तराद्र्धमा आफ्नो राजनीतिक मूल्य खोजिरहेकी छन् ।
तर मार्क्सवादी सौन्दर्य शास्त्रलाई सुन्दर विचारको बाहक चित्रित गर्ने कुन्ता साहित्यमा भने आफ्नो विचार र दर्शनबाट डगमाएकी छैनन् ।
“मार्क्सवादले जीवन र जगत्सँग अन्त्यन्त नजिक, समीप पुर्याउँछ । समाजका असमानता, दुःख, दारिद्र्यसँग साक्षात्कार र अनुभूत गराउनेमात्रै होइन, त्यसलाई बदल्ने तत्व र मूल्यको खोजी पनि गर्छ,” उनी भन्छिन्, “त्यतिमात्र नभई मार्क्सवादी चिन्तनले समाजलाई हेर्ने विहङ्गम दृष्टि दिन्छ ।”
पारिवारिक विघटन र राजनीतिक चेतना सङ्घटनका कारण कुन्ता धेरै लामो समय साहित्य साधनामा एकचित्त हुन पाइनन् । दुईवटा काव्य–कृति पस्किएकी कुन्ता भाव र शाब्दिक क्लिष्टता मात्रै साहित्यको अङ्ग हुन नसक्ने बताउँछिन् ।
उनको दृष्टिचेतमा साहित्य भावनाका अतिरिक्त विचार प्रधान हुनैपर्छ । तबमात्रै त्यसले समाजलाई सकारात्मक दिशानिर्देश गर्न सक्छ । सर्जकको वैयक्तिक चिन्तनमा पनि त्यसले सकारात्मक प्रभाव पार्छ ।
“सुन्दर शिल्प र सुन्दर विचारबीच सामञ्जस्य कायम गर्न सकियो भने आममानिस, भुइँमानिसका बीचमा पनि सहज सम्प्रेष्य हुन्छ, सबैको हृदय झङ्कृत तुल्याउन सकिन्छ,” उनी तर्क गर्छिन् ।
काङ्ग्रेसका नेता, कम्युनिस्टका ‘गुरु’
नेपाली काङ्ग्रेसको राजनीतिमा आवद्ध भए पनि प्रदीप गिरि मार्क्सवादी अध्येता, चिन्तक र विचारक मानिन्छन् । र त उनलाई काङ्ग्रेसका नेता र कम्युनिस्टका गुरु पनि भनिन्छ ।
विचार, दृष्टिकोणबाट लयस हुनुपर्ने भए पनि समकालीन कम्युनिस्ट पुस्ता पठनपाठनबाट कोसौं टाढा छन् । मार्क्सवादी चिन्तन त निकै परको कुरा भइसक्यो ।
तर गिरिले उमेरको लामो हिस्सा मार्क्सवादी चिन्तनमा व्यतीत गरे । आजपर्यन्त त्यसमा कमी आएको छैन । त्यसका अतिरिक्त उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । लेनिन (जीवनी), नारी, मार्क्सवाद र अर्थशास्त्रादि छुट्टाछुट्टै विधामा आधा दर्जन पुस्तक प्रकाशित छन् । सिरहा–१ बाट प्रतिनिधिसभामा निर्वाचित गिरिलाई राजनीति, विचार र दर्शनको त्रिवेणी पनि मानिन्छ ।
राजनीति र साहित्यलाई जीवनका दुई पैताला मान्ने राजनीतिज्ञहरूको सूची लामो छ । ‘मानव’ महाकाव्यका लागि मदन पुरस्कार प्राप्त गर्ने मोदननाथ प्रश्रित पनि उत्तिकै अग्ला व्यक्तित्व हुन् ।
प्रश्रित ‘मानव’भन्दा पनि ज्यादा ‘देवासुर सङ्ग्राम’ महाकाव्यका कारण परिचित छन् । मार्क्सको समाज विकाससम्बन्धी अवधारणालाई काव्यात्मक अभिव्यक्तिमा प्रस्तुत गरिएकाले यसको अलग्गै मानक स्थापित भएको मान्न सकिन्छ ।
यसमा मुख्यतः एसिया (जम्बुद्वीप वा हाल रुस र चीनको पूर्वी हिस्सा बाहेकको बाँकी एसिया) का आर्य हिन्दू र आर्येतर विभिन्न समुदायका मानिसहरूको ऐतिहासिक विकासक्रमलाई प्रस्तुत गर्दै समग्र मानव विकासका सामान्य प्रवृत्तिसमेत सङ्घटन गरिएको छ ।
“देवासुर सङ्ग्रामले परम्परागत मिथकीय मान्यतालाई भत्काउने र नयाँ मिथ प्रतिस्थापन गर्ने काम गरेको छ । यसैका कारण यो कृति कालजयी बनेको छ,” उनैद्वारा शिक्षित, दीक्षित, नेकपाका नेता प्रदीप ज्ञवाली निष्कर्ष निकाल्छन् ।
राजनीति र साहित्यलाई समान गतिमा अघि बढाउने अर्का सर्जक हुन्– मोहन वैद्य । माओवादी आन्दोलनबाट अलग्गिएर नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र अहिले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) पार्टी निर्माण गरेका वैद्य विचारक र चिन्तक पनि हुन् । वैद्यकृत ‘हिमाली दर्शन’ २०७४ सालको मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो ।
वैद्यका अतिरिक्त नेकपाका नेता दीनानाथ शर्मा, पूर्वसांसद नारायण ढकाल, काङ्ग्रेस नेता लोकेश ढकाल र सोही पार्टीका नेता बलदेव शर्मा मजगैयाँ, नरहरि आचार्य पनि साहित्य र राजनीतिलाई समानान्तर रूपमा अघि बढाउनेमा पर्छन् ।
तीमध्ये बलदेव र लोकेश राजनीतिमै सक्रिय छन् । ‘पीतसंवाद’, ‘प्रेतकल्प’, दुर्भीक्ष, ‘हजार माइलको बाटो’जस्ता औपन्यासिक कृतिका सर्जक नारायण ढकाल एमालेको नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि सक्रिय राजनीतिबाट ओझेल परिसकेका छन् ।