site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सोचेको थिइनँ सीडीओ यति खत्तम होलान् भनेर !
SkywellSkywell

६० वर्षअघि गोर्खा बजारबाट काठमाडौं पुग्न चार दिन लाग्थ्यो । तीन रातको बास हुन्थ्यो । काठमाडौं आउँदा गोर्खाबाट आरुघाट, सल्यानटार, नुवाकोट, त्रिशूली, ककनी हुँदै राजधानी छिर्थे, उनी । 

अहिले सम्झिँदा त्यो सकसपूर्ण लागे पनि त्यसबेला उपाय नै यहीमात्र थियो । त्यसमा पनि वर्षको दुई पटक जाडो बिदा र दशैंमा उनी हिँडेरै घर (गोर्खा) जान्थे । हिँडेरै फर्किन्थे ।

सात कक्षा पास गरेपछि उनले आमा, हजुरआमालाई आफूले काठमाडौं गएर पढ्ने विचार गरेको सुनाए । कारण उनको एकजना फुपूका छोरा काठमाडौं बसेर पढ्दै थिए । त्यसैले जनार्दन आचार्यलाई पनि काठमाडौं गएर पढ्ने इच्छा जागेर आयो । 

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

२०१६ सालमा पहिलो पटक काठमाडौं भित्रिँदा उनी ठूलो बुवाका छोरा दाइसँग भित्रिए । साथमा एउटा भरिया केटो थियो । काठमाडौंमा जनार्दनका ठूलो बुवाका अर्का छोरा सरकारी कार्यालयमा जागिरे थिए ।

उनले काठमाडौंमा क्षेत्रपाटीको जेपी स्कुलमा पढ्नुपर्छ भन्ने गोर्खाबाटै मनमा लिएर आएका थिए । सायद कसैले उनलाई त्यही सुझाएका थिए । त्यसबेला जेपी स्कुलमा कक्षा आठमा चारवटा सेक्सन भएको आचार्य सुनाउँछन् । 

दाजुको डेरा ठमेल भगवतीबहालमा थियो । गोधूली साँझका बेला त्यहाँ बस्ने सबै डेरामा फर्किए । भाइ जनार्दनलाई देखेर सबै दङ्ग परे । ‘अब तँ पनि यहीँ पढ्’ भने दाइहरूले । उनले पनि आफू पढ्नै आएको बताए । र उनले आफू जेपी हाइस्कुलमा पढ्ने कुरा पनि सुनाए ।

बानेश्वर कात्यायनीचोकस्थित आफ्नो निवासमा कुराकानीका क्रममा जनार्दन आचार्यले यो प्रसंग सुनाउँदै गर्दा उनी प्रफुल्ल देखिए । उनले सम्झिए त्यसबेला दाइले भनेको कुरा, “त्यसबेला क्षेत्रपाटीस्थित जेपी स्कुलमा भर्ना पाउनै गाह्रो रैछ । त्यसैले केशव (फुपूका छोरा) पनि जेपीमा भर्ना हुन नसकेर लैनचौरको स्कुलमा भर्ना भएका थिए । मैले जेपीमा पढ्ने कुरा सुनाउँदा उपस्थित सबै गललल हाँसे । ठूलो दाइले भने, ‘जेपीमा भर्ना हुन गाह्रो छ । तँ पनि केशव पढ्ने स्कुलमै पढ्’ । तर मेरो दिमागमा त जेपी स्कुल नै थियो ।”

भोलिपल्ट उनका ठूलो दाइले अर्को दिन बिदा लिएर स्कुल भर्ना गरिदिने कुरा गरे । अनि खाना खाएर कोही अफिस गए । कोही स्कुल गए । उनी एक्लै भए डेरामा । कोठामा एक्लै बस्न दिक्क लाग्यो । उनले सोचे पढे पनि नपढे पनि जेपी स्कुल हेरौंँ । त्यसपछि डेरामा ताल्चा लगाएर उनी जेपी स्कुल कता छ भनेर सोध्दै हिँडे । 

ठमेलबाट पसल–पसल सोध्दै जनार्दन जेपी स्कुल पुगे । खोज्दैखोज्दै उनी स्कुलका हेडमास्टर रामजी सरकै कोठामा पुगे । भरखर गोर्खाबाट काठमाडौं उक्लेका जनार्दनले कमिज, सुरुवाल र कपडाको जुत्ता लगाएका थिए । उनी हेडमास्टरको कोठामा अनुमति लिएर पसे ।

हेडमास्टरले एक नजर उनको हुलियामा ध्यान दिए । अनि के कामले आयौ भनेर सोधे । जनार्दनले पनि आफ्नो नाम बताउँदै आफू गोर्खाबाट आएको र स्कुलमा भर्ना हुन चाहेको बताए ।  त्यसपछि हेडमास्टरले पनि काठमाडौंमा तिम्रो को छ ? भनेर सोधेछन् । उनले आफू ठूलो बुवाको छोराको डेरामा बसेको भन्दै काठमाडौंमा आफ्नो कोही नभएको बताए । उनले पिताजी बितिसक्नु भएको र गोर्खामा आमा, फुपू र दिदी बहिनीहरू मात्रै रहेको बताए ।

हेडमास्टर रामजी सरले के सोचे, उनीसँग केही कक्षागत प्रश्न पनि गरे । केही वाक्य ट्रान्सलेट पनि गर्न लगाए । उनले पनि गरेर दिए । ठीक बेठीक के भयो, उनलाई थाहा भएन । 
हेडमास्टरले हठात् उनीसँग सोधे, “मार्कसिट ल्याएका छौ ?” 

जनार्दनले पनि जाँदा खल्तीमा मार्कसिट र पैसा हालेरै हिँडेका थिए । उनले निकालेर दिए । गोर्खाको स्कुलबाट सात पास गरेका उनी थर्ड भएका थिए । जनार्दन आचार्य हाँसे र भने, “मेरो मार्कसिटमा थर्ड लेखेको देखेर रामजी सरलाई के लाग्यो कुन्नि, तर मत गोर्खामा जम्मा छ जना विद्यार्थीमा थर्ड भएको थिएँ । उहाँले अरु केही सोध्नु भएन । सिधै मार्कसिटको टाउकोमा लेख्नु भयो, ‘एडमिट हिम एट क्लास एट’ । एडमिसनमा सबै गरेर १२ रुपैयाँ खर्च भएको थियो क्यारे ! यसरी मेरो भर्ना जेपी स्कुलमा भयो ।”

उनी खुशी भए । दाइले भर्ना पाइँदैन भनेको जेपी स्कुलमा उनी एक्लै गएर भर्ना भएका थिए । साँझ दाइहरू उनी जेपीमा भर्ना भएको थाहा पाएपछि चकित परे । ठूला दाइलाई सायद विश्वास लागेन । उनले रसिद मागे । जनार्दनले पनि भर्ना भएको रसिद देखाइदिए । 

यसरी उनले जे गरे, एक्लै गरे । गोर्खामा रहँदा एकदमै लजालु स्वभावका जनार्दनको स्वभाव काठमाडौं आगमनसँगै परिवर्तन हुँदै गयो । पछि उनी माहिलो बुवाका छोरासँग ठमेल छेउछाउमै डेरा लिएर बस्न थाले । 

जनार्दन आचार्यको पढाइ राम्रो थियो । उनलाई हेडमास्टर रामजी सरले पनि खुबै सहयोग गरे । नजानेको कुरा सिक्न आऊ भनेर सरले घरमै बोलाउने गरेका थिए । उनलाई आज पनि रामजी सरको त्यो सदासशता स्मरण हुन्छ । अन्ततः २०२० सालमा उनले एसएलसी पास गरे । र त्रिचन्द्र कलेजमा वाणिज्य विषय लिएर आइकम भर्ना भए ।
गोर्खामै जन्मिएका जनार्दन आचार्यको बाल्यकाल गोर्खा बजारमै बित्यो । उनी आफ्नो बाल्यकाल सामान्यरुपमा बितेको बताउँछन् । त्यति आनन्दसँग बाल्यकाल नबितेको उनको भनाइ छ । कारण, उनी दुई वर्षको हुँदा नै उनको पिताजीको निधन भयो । उनलाई पिताजीको अनुहार पनि सम्झना छैन । 

घरमा महिलाहरू मात्रै थिए । हजुरआमा, आमा, बाल विधवा फुपू, दिदी र बहिनीकाबीच उनी हुर्किए । उनी दिदी र बहिनीबीचका थिए । पिताजीको देहान्त हुँदा बहिनी आमाको गर्भमै रहेको उनी बताउँछन् । 

घरमा सबै महिलाहरूका बीच हुर्किएकाले उनी लजालु स्वभावका भए । कोही लोग्नेमानिस देख्यो कि वाक्य बन्द हुन्थ्यो । कसैसँग दोहोरो बोल्नुपर्यो भने दकस हुन्थ्यो । उनकी हजुरआमाको रहर थियो नातीको व्रतबन्ध चाँडै गरिदिन पाए यसले आफ्नो बाको श्राद्ध गर्न पाउँछ । बालाई उद्धार गर्छ । त्यसैले उनी ६ वर्षको हुनासाथ उनको व्रतबन्ध भयो । 

उनलाई आफ्नो व्रतबन्ध हुँदाको झिनो सम्झना मात्रै छ । व्रतबन्ध पछि लगाउन उनका लागि नयाँ लुगा सिलाइयो । तर बाली दिएर काममा लगाइने लुगा सिउनेले लुगा छोटो सिइदिएछन् । 
उनी हाँस्दै भन्छन्, “मैले लगाउने लुगा छोटो सिलाएपछि हजुरआमालाई साह्रै चित्त दुखेछ । एउटा नातीले पनि राम्रो लुगा लगाउन नपाउने भनेर उहाँले लुगा सिउने दर्जीनै परिवर्तन गर्नुभयो ।” 

उनको बिहे पनि उनी नौ वर्षको हुँदा नै भयो । हजुरआमाको इच्छा नातीको बिहे हेरेर मर्न पाए हुन्थ्यो भन्ने थियो । त्यसैले पनि उनको बिहे छिटै नै भयो । उनको प्रारम्भिक शिक्षा गोर्खामै भयो । घरै छेउमा हाइस्कुल भए पनि बिहे गर्नुअघि उनी संस्कृत पाठशालामा पढ्थे । केही महिना उनले संस्कृतका लघु कौमुदी र अमर कोष पढे । तर उनको लजालु स्वभावले उनलाई संस्कृत पाठशालाबाट हाइस्कुल पुर्यायो ।

पाठशालामा दुई जना गुरु थिए, निलाकान्त र गोपाल । एकपटक संस्कृत पाठशालामा निरीक्षण आउने भयो । गुरुहरूले सबै विद्यार्थीलाई निरीक्षकसित कसरी कुराकानी गर्ने र कसरी सोधेको कुरा बताउने भन्ने सिकाए ।

निश्चित दिन र समयमा निरीक्षक आए । सबै विद्यार्थी लहरै बसेका थिए, भोज खान बसे जसरी । सबैलाई सोध्दासोध्दै आए निरीक्षक पनि । जनार्दन भने गमिरहेका थिए, कसरी जवाफ दिने होला ? कसरी बोल्ने होला भनेर । उनी त्रसित थिए । डरले जबरजस्त घेरेको थियो उनलाई ।

जब जनार्दन आचार्यको छेउमा निरीक्षक आए, उनी आफू बसेको ठाउँबाट जुरुक्क उठे र चकटीसहित सुइँकुच्चा ठोके ! अनि एकै सासमा घर पुगे ।  यति भन्दै गर्दा उनी हाँसे । भन्दै थिए, “मेरो लजालु स्वभावले नै मलाई यो गराएको थियो । साँझ त गोपाल गुरु आउनु भयो, ‘खै त्यो बदमास जनार्दन कहाँ छ’ भन्दै । उहाँले आमा र हजुरआमासँग म पाठशालाबाट भागेको कुरा सुनाउनु भयो । आमा हजुरआमालाई पनि मैले ठूलै बदमासी गरेको अनुभव भयो क्यारे । त्यसपछि मैले पनि म संस्कृत पढ्दिन भनेँ । र श्री शक्ति विद्यालय, टुँडिखेलमा भर्ना भएँ ।”
तीन कक्षामा भर्ना भएको हो कि भन्ने उनलाई लाग्छ । त्यही स्कुलमा सात कक्षा पास गरेपछि उनी काठमाडौं तिर हिँडेका हुन् ।

जनार्दन आचार्यलाई आइकम पढ्दै गर्दा नै लाग्यो, अब घरबाट कति पैसा मगाउने । जागिर खानुपर्छ । तसर्थ आफ्नो खर्चको जोहो आफैंले गर्ने निधोमा पुगे । 

उनले कलेज पढ्ने केही साथीहरूसँगै भरखरै स्थापित राष्ट्रिय वाणिज्य बैंकमा सहायक पदमा आवेदन दिए । त्यसको लिखित परीक्षा दिए । लिखित पास भए । अन्तरवार्ता दिए । त्यो पनि पास भए । 

तर त्यसबेलासम्म उनको आइकमको रिजल्ट आएकोले उनले चौथो तहमा जागिर नखाने विचार गरे । बरु पाँचौं तहमा नै खाने भन्ने सोचेर वाणिज्य बैंकमा नियुक्ति लिएनन् ।
केही समयपछि नयाँ खुल्ने सहकारी बैंकले कर्मचारी माग्यो । त्यसैको नाम तीन वर्षपछि कृषि विकास बैंक राखियो । सोे सहकारी बैंकले कृषिका विभिन्न क्षेत्रमा काम गर्ने नीति लिएको थियो ।

तत्कालीन सहकारी बैंकमा उनले जागिरका लागि आवेदन दिए । र, लिखित र अन्तरवार्तापछि उनी पाँचौ तहका जागिरे भए । र, केही समयको तालिमपछि उनलाई सहकारी बैंक, भक्तपुर शाखाको प्रमुख बनाएर पठाइयो ।

सहकारी बैंक अर्थात् कृषि विकास बैंकमा उनको प्रवेशको प्रसंग पनि रोचक छ । जनार्दन आचार्यले सहकारी बैंकमा आवेदन दिइसकेका थिए । त्यसबेला उनको डेरा पकनाजोलमा थियो । 
केही समयपछि जनार्दनलाई ज्वरोले पेल्यो । उनी थला परे । दुई चार दिन कोठामै बसे । एकदिन उनलाई डेरामा खाना पकाउन मन लागेन । बाहिर होटलमै खाना खाने सोचे । र निस्किए होटलतिर ।
उनका अनुसार त्यसबेला एक रुपैयाँ पच्चीस पैसा अर्थात् पाँच सुकामा खाना खुवाउँथ्यो होटलमा । तर पाँच सुका पर्ने खाना खान पनि विचार गर्नुपर्दथ्यो । उनी होटल गए । खाना खान थाले । खाना खाँदाखाँदै उनलाई सम्झना भयो, सहकारी बैंकमा दिएको जागिरको निवेदनको । 

बाहिर निस्किएर उनले सहकारी बैंकका फोन गरेर सोधे लिखित परीक्षा कहिले हो भनेर । त्यति बेला फोन गरेकै पनि एक मोहर तिरेको जस्तो लाग्छ उनलाई ।  उनले फोन गरेपछि उठाउने महिलाले भनिन् ‘तपाईंको फोन नम्बर रहेनछ । आज ११ बजे लिखित परीक्षा छ । आउनुस् ।’ 

त्यसपछि त उनको ज्वरो कता हरायो हरायो ! उनी कुलेलम ठोकेर नयाँसडक गए । सहकारी बैंकको अफिस नेपाल बैंकको पछाडि थियो । त्यहीँको एउटा कोठामा लिखित जाँच हुँदै थियो । उनले लिखित जाँच दिए । केही दिनमै रिजल्ट पनि आयो । उनी लिखित र अन्तरवार्ता दुबै पास गरी सहकारी बैंकको पाँचौं तहका जागिरे भए । 

जनार्दन आचार्य भन्छन्, “त्यसबेला सहकारी बैंक अमेरिकन एड (युएस एड) अन्तरगत चल्ने भएकोले त्यसको काम गराई अलिकति फरक थियो । केही अमेरिकीहरू पनि अफिसमा थिए । तालिममा पनि अमेरिकीहरू आउँथे । यसरी म पाँचौ तहको हुँदा नै मलाई २०२३ साल साउन महिनामा भक्तपुर शाखाको प्रबन्धक बनाएर पठाइयो । तह जेसुकै भए पनि म्यानेजर भइयो !”
जनार्दन आचार्यलाई भक्तपुरमा घर खोजेर, शाखा स्थापना गरेर, उद्घाटन पनि गराउनुपर्ने थियो । पत्र पाएपछि उनी भक्तपुर गए । केन्द्रमै महाप्रबन्धकले, जिल्लाको राजा मानिने सिडिओलाई भेटेपछि समस्याको समाधान हुनसक्छ भनेकाले उनले भक्तपुरका सीडीओलाई भेटे । र शाखा खोल्ने कुरा सुनाए ।

सीडीओेले आफूले घर खोजिदिने कुरा गर्दै ढुक्क हुन भने । तर पनि उनले बाहिर पनि घरहरू हेर्दै गए । एकदिन चिया पसलमा उनी र उनका सहयोगी स्टाफ चिया पिइरहेका थिए । त्यसैबेला सीडीओ अफिसका स्टाफ उनीहरूलाई खोज्दै आइपुगे । ती स्टाफले सीडीओले बोलाएको थाहा पाएपछि उनी सीडीओ कार्यालय पुगे । 

सीडीओले आफूले घर खोजिदिएको बताउँदै त्यही घरमा शाखा खोल्न भने । जनार्दन सीडीओले खोजेको घर हेर्न गए । त्यो घर त धेरैभित्र दुई वटा चोक छिचोल्दै जानुपर्ने रहेछ । 
जाँदाजाँदै उनी त्यो कुनाको घरमा शाखा नखोल्ने निर्णयमा पुगे । तर पनि घर हेरे । र फर्केर सीडीओलाई भने, त्यो घरमा शाखा राख्न सकिन्न । हामीलाई सडकमा चाहिन्छ घर । जीएम साहबले पनि सडकमै राख्न भन्नु भएको छ । 

यो सुनेपछि सीडीओले जनार्दन आचार्यलाई थर्काएर भनेछन्– भक्तपुरको रेन्ट कमिटीबाट मैले स्वीकृत गर्नुपर्छ । तिमीलाई अरु कुनै घरमा भाँडामा बस्नै दिन्न । मैले भनेको घरमै शाखा खोल्नुपर्छ । 

उमेरले २० वर्षै नकटेका जनार्दनलाई पनि झाँेक चलेछ । उनले पनि ‘मलाई रेन्ट कमीटीसँग मतलब छैन’ भन्दै उनी आफैँ घर खोज्न थाले । त्यसबीचमा सीडीओेले उनलाई थर्काउन भने छोडेनन् । 

अन्ततः उनले मूल सडकमै घर खोजेर शाखा स्थापना गरे । स्थानीय राष्ट्रिय पञ्चायतका माननीय सदस्यलाई बोलाएर शाखा उद्घाटन गराए । त्यो तीन चार चोकभित्रको घर नेपाल बैंकमा कार्यरत क्यासियरको घर रहेछ । बैंकको काम सुरु भएपछि उनको परिचय नेपाल बैंकका क्यासियरसँग पनि भयो । अनि क्यासियरले एकदिन सुनाएछन् ती सीडीओको कर्तुत । ती सीडीओले ‘तिम्रै घरमा त्यो नयाँ बैक आउँछ’ भनेर क्यासियरसँग पैसा खाइसकेका रहेछन् ।

आचार्य हाँसे । भने, “मैले सोचेको पनि थिइन ती सीडीओ यति खत्तम होलान् भनेर ! त्यसैले पो सीडीओले मलाई पेलेको पेल्यै गरेका रहेछन् !”  उनी हाँसेर भन्दै थिए, “सायद यस्तैयस्तै घटनाहरूले गोर्खाको त्यो लजालु स्वभावको केटोलाई यति हिम्मतीलो बनाएको होला !”

०००
सहकारी बैंकको भक्तपुर शाखामा काम सुरु भयो । पाँच–छ महिनामै त्यसको ‘परफरमेन्स’ राम्रो देखियो । युवा जोश जाँगर भएकाले काममा विशेष ध्यान दिन्थे उनी । 

आचार्यका अनुसार त्यसबेला सहकारी बैंकले भक्तपुरमा एउटा ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको थियो । अमेरिकी संस्था यूएस एडको सहयोगमा भूमिसुधारको नयाँ नीति अनुरुप अनिवार्य बचतका रुपमा धान नै बुझाउने र अनिवार्य बचतलाई सहकारी बैंकको शेयरमा परिणत गर्ने नीतिअनुरुपको कार्य हुँदै थियो । 

यसका साथै सहकारी बैंकले अनिवार्य बचत गर्नेहरूका लागि खेतीमा आवश्यक रहेको मल, बिउलगायत प्राविधिक सहयोगसमेत गर्ने नीति लिएको थियो । साथै उत्पादनको बजार व्यवस्थापनमा पनि सहकारीले सहयोगी भूमिका निर्वाह गर्ने भन्ने थियो । 

यो काम आफँैमा चुनौतीपूर्ण थियो । तथापि, आफ्नो काम गर्दै गए उनले । उनीसंँगै केही अमेरिकीहरू पनि थिए । पेरिगाल नामका अमेरिकी भक्तपुरमै आएर काममा सहयोग गर्थे । पछि ब्य्राम्बल नाम गरेका अमेरिकी आएर काममा सहयोग गर्न थाले । 

जनार्दन आचार्यका अनुसार केन्द्रमा फोर्ड फाउण्डेसनका डा. लिन्से नेतृत्व लिएर बसेका थिए । यसरी सहकारी बैंकको प्रारम्भिक काम द्रुत गतिमा सुरु भयो ।  त्यसबेला सहकारी हेर्ने यूएस एडका जोनसन थिए । ब्य्राम्बल, जोनसन, डा. लिन्से, यी तीन जनाको संगतले पनि जनार्दनलाई उनको काममा माझ्दै लग्यो ।

त्यसैबेला भक्तपुरमा नौवटा सहकारी संस्था खोलिने भयो । त्यसको प्रारम्भिक चरणको काम सुरु भयो । इलाका छुट्याइयो । युएस एडले नौ वटा गोदाम पनि बनायो । त्यो गोदाम मल, बिउ, खाद्यान्न भण्डारण गर्ने गरी बनाइएको थियो ।

उनका अनुसार यस कार्यका लागि ठूलो समिति बनाइएको थियो । अमेरिकीहरूका अतिरिक्त भूमिसुधारमन्त्री त्रिवेणीप्रसाद प्रधान, सचिव कृष्णबम मल्ल, डा. मोहनमान सैँजु, मुख्य अञ्चलाधीश विष्णुमणि आचार्यहरू थिए । त्यो समितिमा गएर उनले सदस्य सचिव हैसियतमा काम गर्नुपर्दथ्यो ।

त्यसैबेला सहकारी बैंकले भक्तपुरमा कृषि विकासका लागि स्थापित सहकारी संस्थाहरूको सञ्चालक समितिलाई ऋण दिने भयो । ऋणको तमसुकमा ‘...तिर्न नसके मेरो घर घरानाबाट तिर्ने छु’ भन्ने वाक्यांश पनि उल्लेख थियो । 

सहकारीका सञ्चालकहरूमै कृष्णभक्त चौगुठी पनि थिए । उनी उपसभापति थिए, जिल्ला पञ्चायतका । उनले यही एउटा वाक्यांशका कारण तमसुकमा सही गर्न मानेनन् । उनको सही नभए पछि अरू सबैको काम रोकियो । ऋण प्रवाह हुन सकेन । फलतः भक्तपुरमा मल र बिउको हाहाकार भयो । 

उता अमेरिकीहरू ऋण प्रवाहका विषयमा प्रश्न गर्थे । बैंकका महाप्रबन्धक वासुदेव प्याकुरेल पनि मन्त्री र अञ्चलाधीशको प्रेसर थेग्न नसकी उनलाई सोधेको सोध्यै गर्थे । लाख कोशिस गर्दा पनि चौगुठीले सही गर्न मानेनन् । लामो समय खिचातानीमै बित्यो । आचार्य सही गराउन खोज्ने । चौगुठी सही नगर्ने । काम अड्कियो ! 

एकदिन साँझ भक्तपुरबाट फर्किँदा उनी महाप्रवन्धक कहाँ गए । चौगुठीलाई पगाल्न नसकेको यथार्थ बताए । महाप्रबन्धक प्रेसरमा थिए, सायद । उनले ‘नसक्ने भए छोड्नुस् जागिर’ भने । जनार्दनले पनि दायाँ बाँया हेरेनन् । सिधै अफिस गएर महाप्रवन्धकका पीएलाई राजीनामा बुझाएर हिँडे ।

भोलिपल्ट बिहानै महाप्रबन्धक पकनाजोलस्थित जनार्दनको डेरामै गाडी लिएर पुगे । जीएम नै आएपछि केही नबोली तयार भएर उनी जीएमकै गाडीमा चढेर अफिस आए । उनले दिएको राजीनामा पत्र जीएमले च्यातिदिए । अनि भने, ‘ल गएर एकचोटी अन्तिम पटक प्रयास गर’ ।

उनी पनि केन्द्रीय अफिसबाट सिधै चौगुठी कहाँ पुगे । चौगुठीलाई जनार्दनले भनेछन्, ‘तपाईले सही नगर्दा मेरो जागिर नै जाने भयो । त्यसैले म तपाईँसँग अन्तिम पटक भेट गर्न आएको हुँ । यो ऋण प्रवाह नभएपछि मलाई जागिरबाट हटाउँछन् नै ।’ 

जनार्दन आचार्य भन्छन्, “मेरो कुरा सुनेपछि चौगुठी गम्भीर भए । उनले के सोचे कुन्नी, भने– मेरै कारणले तिम्रो जागिर जान दिन्नँ । लौ ल्याउ कहाँ सही गर्ने हो ? भन्दै चौगुठीले मैले लिएरै गएको तमसुकमा सही गरे । ल्याप्चे लगाए । यसरी सारा बाधा फुक्यो ।” 

०००
जेपी स्कुलमा पढ्दाताकाको ठमेल, गोर्खा बजारभन्दा पनि गाउँ लाग्थ्यो, उनलाई । सहर भनेपछि असन, इन्द्रचोक, न्युरोड मात्रै थियो । त्यसबेला ठमेलमा सडक छेउछेउ दुई लहर मात्रै घर थिए । 

उनका अनुसार सडक पनि राम्रो थिएन । दरबारमार्ग पनि दुबैतिर कच्ची नै थियो । अहिलेको अस्कलभन्दा केही पश्चिम एउटा पान पसल रहेको र त्यहाँ कहिलेकाँही कविशिरोमणि लेखनाथ पौड्याललाई देखेको आज पनि उनी सम्झिन्छन् । 

त्यसबेला केशरमहलबाट ठमेलतिर जाने बाटो सम्साँझै निष्पट्ट अन्धकार हुन्थ्यो । कहिले काहीँ अलिक अबेला हुँदा बाटो हिँड्न पनि डर लाग्थ्यो । हिँड्नु पर्दा दौडिने गरेको उनी बताउँछन् । आज त्यही ठमेल ‘गुलजार’ भएको देख्दा उनी आफैँ छक्क पर्छन् । 

त्यसबेला उनको डेरामा बिजुली बत्ती आइसकेको थियो । कतिपय घरमा बत्तीको लाइन जोडिएको थिएन । उनी बसेको कोठा फलेकले बारेको थियो । त्यही फलेकमा बीचमा प्वाल पारेर दुबैतिर उज्यालो हुने गरी चीम राखिएको थियो । त्यसको स्वीच साहुको कोठातिरै थियो । 

उनी भन्छन्, “म राति अबेलासम्म पढ्थेँ । घरधनी कराउँथे, ‘ए जनार्दन, तँ पढ्दै छस् कि सुतिसकिस् ?’ उनलाई बत्ति निभाउन जहिल्यै हतार हुन्थ्यो । अनि भन्थे, कत्ति पढ्छ यो पनि !”

०००
आफ्नो जीवनको दुईवटा प्रसंग आचार्यले सुनाए । उनका अनुसार उनको जीवनमा कहिलेकाहीँ सोच्दै नसोचेका व्यक्ति भगवानझैंँ उपस्थित भएका छन् । 

एक पटक उनी बिरामी भए । चेस्ट इन्फेक्सनले उनलाई गलायो । पत्राचार गरेपछि उनी उपचारका लागि शिमला जाने भए । काठमाडौंमा एक्लै भएकोले उनी एक्लै नै दिल्ली गए । त्यहाँबाट शिमला जानु थियो । 

तत्कालीन शानेवानीको हवाइजहाजबाट दिल्ली एयरपोर्टमा ओर्लिए, उनी । अब कता जाने ? सोच्दै थिए । उनी बाहिर निस्कँदै थिए, भक्तपुरमा कुनैबेला काम गरेका अमेरिकी साथी ब्य्राम्बल भेट भए । ब्य्राम्बलले उनलाई आफैसँग लिएर गए । र शिमलासम्मको ट्रेनको टिकट काटेर स्टेशनमा पुर्याइदिन सहयोग गरे । 

उनी शिमलाका लागि ट्रेन चढे । बाटोमा के–के सोच्दै गर्दा उनले आमा सम्झिए । श्रीमती सम्झिए । दिदीबहिनी सम्झिए । परिवारका सारा सम्झिए । अचानक उनको आँखा रसायो । उनकै छेउमा बसेका मानिसले सोधे, ‘तिमी किन रोइरहेका छौँ ।’ उनी आफू भावुक भएको बताउँदै उपचारका लागि आएको जानकारी दिए । 

शिमलामा ओर्लेर ती सहयात्रीले अस्पतालमा फोन गरिदिए । ती व्यक्ति रहेछन्, शिमलामै काम गर्ने सरकारी कार्यालयका हाकिम । उनले फोन गरिदिएकोले नै उनको उपचार पनि सजिलै भयो । र आठ नौ दिन बसेर उनी काठमाडौं फर्किए ।

एउटा अर्को घटना उनले सुनाए । उनी नौ कक्षामा पढ्थे । ठमेलमै डेरा थियो । एकपटक उनलाई पखालाले गलायो । उनी ओछ्यानबाट उठ्नै नसक्ने भए । अचानक उनका एकजना स्कुले साथी साइकल लिएर उनको डेरामा आइपुगे । जनार्दनको हालत देखेर साथीले उनलाई नजिकै रहेका एक जना कम्पाउण्डर कहाँ पुर्याए । अनि साथी साइकल लिन फर्किए ।

कम्पाउण्डरले उनलाई औषधि दिए । इन्जेक्सन लगाइदिए । र अरु दुई दिन इन्जेक्सन लगाउनु पर्छ भने । दुई चार दिनका लागि औषधि पनि दिए । तर उनीसँग पैसा थिएन । मसँग पैसा छैन भनेपछि कम्पाउण्डरले पनि ‘जुन दिन हुन्छ आएर तिर्नु’ भनेछन् ।

आचार्य भन्छन्, “मेरो घरबाट पैसा आउन ढिलो भयो । दुई महिना पछि म पैसा लिएर कम्पाउण्डर कहाँ पुगेँ । उनले केको पैसा भने पहिले त । पछि मैले बताएपछि ‘तँ इमानदार रैछस् । म तँसँग पैसा लिन्न’ भनेर मलाई पठाईदिए । आज पनि म त्यो घटना सम्झिरहन्छु ।”  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १०:०७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro