
काठमाडौं । नेपालयले आयोजना गर्दै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङका सांगीतिक सृजनाहरू प्रस्तुत भएका छन् । शुक्रवार साँझ कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत भएको कार्यक्रममा गुरूङले संगीत भरेका १४ वटा गीतहरू प्रस्तुत भएका थिए । हङकङमा शिक्षण पेशा गरेर सेवा निवृत्त भएका गुरुङ पलेँटीका निम्ति दुई हप्ता पहिले काठमाडौं आएका हुन् ।
संगीतकार विक्रम गुरुङले सीमित गीतहरूमा धुन भरेका छन् । तर उनले भरेका धुनहरू गुणका हिसाबले अब्बल सुनिन्छन् । गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको जीवनकै पहिलो रेकर्डेड गीत थियो ।
कार्यक्रमको सुरुवात त्यही गीतबाट भयो । गाउन थाल्नु पहिल्यै गुरुङले आफ्ना मित्र अरूणलाई सम्झिए- “अरूणसँग पोखरामा भेट हुँदा अरूणका आफ्ना गीत थिएनन् । उनी लोकप्रिय हिन्दी र नेपाली गीत गाउँथे । मेरा पनि आफ्ना धुन थिएनन्, सुरुमा म पनि बिना बाजा राजा महेन्द्रको ‘फेरि उसैका लागि’ मा सँग्रहित गीत आफ्नै शोखका निम्ति नयाँ धुनमा गुनगुनाउन प्रयास गर्थेँ तर अरूणसँगको भेटपछि भने हामी दुबैलाई आफैँले नयाँ गीत बनाउनु पर्छ भन्ने लाग्यो । हामी गीतार र कलम लिएर बस्न थाल्यौं र केही गीत जन्मिए ।” गीतमा प्रवेश गर्नु पहिले विक्रमले मित्र अरूण थापाप्रति शब्द श्रद्धाञ्जली अर्पण गर्दै पहिलो रचनामा प्रवेश गरे- ‘कतै टाढा तिमीबाट पुगेँ भने !’
अरूणकै सन्दर्भ जोड्दै विक्रमले दोस्रोगीत सुनाए ‘आँखाको निंद खोसी लाने, हृदयको तरङ्ग छेडी जाने’ । अरूण थापाले गाएका अधिकांश गीतहरू अत्यधिक लोकप्रिय बनेका छन् । विक्रम गुरुङकै शब्द रचनाको ‘आँखाको निंद’ पनि लोकप्रिय भयो । आम श्रोता र संगीतका मर्मज्ञ दुबैथरीले रुचाए यो गीतलाई । कार्यक्रम संचालकले अरुण थापासँगको सन्दर्भ कोट्याउँदै विक्रम सामु जिज्ञासा राख्दा विक्रम आफ्नो सांगीतिक विगतमा डुब्थे र अरूणका बारे बोल्दै गर्दा विक्रमको मुहारमा संवेदनशील भावुकता झल्केको देखिन्थ्यो ।
गम्भीर स्वभावका संगीतकार विक्रमले सुनाएको तेस्रो गीत थियो- ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि’ । गीतकार प्रकट पंगेनीले लेखेको यो गीत रेकर्ड नभएका शृंखलामा रहेको गीत थियो । तर यो गीतसँग पनि अरूण थापाकै कथा जोडिएको रहेछ । विक्रमले पछिल्लो चरणमा धुन भरेका केही गीत अरूणको स्वरका निम्ति छानेका रहेछन् । रेकर्डिङको प्रवन्ध पनि भइसकेको रहेछ । हङकङबाट बिदामा आएका बखत अरूणलाई खोजेर स्टुडियोमा ल्याइएछ । अरुणलाई शुरुमा विक्रमले चिन्नै सकेनछन् । अरूणलाई चिन्न नसक्नुको कारण लामो अन्तरालपछिको भेट मात्र थिएन । अरूणको तत्कालीन शारीरिक अवस्था चाहिँ थियो । अरूण निकै कमजोर भइसकेका थिए ।
विक्रमले भावुक हुँदै त्यो भुल्न चाहेको क्षणलाई सम्झिए- ‘त्यतिबेला अरूणको मनले जीवनको महत्व बुझ्न थालेको थियो कि झैँ लाग्थ्यो । तर उसको शरीर उसलाई साथ दिन नसक्ने अवस्थामा पुगेको रैछ । अरूणले नयाँ गीतहरू गाउन प्रयास गर्यो तर उसको शरीरले साथ दिएन । म रेकर्डिङको काम अधुरै छोडेर हङकङ फर्केँ । उता पुगेको केही समयमै अरूणले संसार छोडेको खबर सुन्नु पर्यो ।‘