काठमाडौं । चलचित्र पत्रकारिता गर्दागर्दै निर्देशनमा आउने चलन नयाँ होइन । रङ्ग पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनमा आउने पत्रकारको संख्या ठूलै छ नेपालमा । पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशनबारे ज्ञान बटुलेपछि निर्देशनमा आउने गरेको पाइएको छ ।
राजेन्द्र शलभदेखि दीपेन्द्र लामासम्म रङ्ग पत्रकारिता गर्दागर्दै निर्देशनमा आइपुगेका हुन् । राजेन्द्र सलभ ‘दुवो’, ‘पर्दा’, ‘गोरखा एक्स्प्रेस’ लगायत पत्रिकामा काम गर्थे । पत्रकारिता गरेका उनी चलचित्र ‘भाउजु’बाट चलचित्र निर्देशक बने । ‘परिभाषा’ पनि राजेन्द्र सलभले निर्देशन गरेको चलचित्र हो । पछिल्लो समय गत वर्ष रिलिज भएको चलचित्र ‘बुलबुल’को स्क्रिप्ट किनेर उनी उक्त चलचित्र निर्देशन गर्ने तयारीमा थिए । यद्यपि उनी पछि हटे । सोही चलचित्रबाट निर्देशनमा विनोद पौडेलले डेब्यू गरे । डेब्यू चलचित्रबाटै विनोदले निर्देशनतर्फको राष्ट्रिय चलचित्र अवार्ड जिते ।
प्रकाश सायमी पनि स्वतन्त्र पत्रकार हुन् । लामो समयदेखि उनी कला, साहित्य तथा मनोरञ्जनसम्बन्धी लेख्दै आएका उनले पनि चलचित्र निर्देशन गरे । ‘सीमाना’, ‘पृथिवी’ र ‘रानीखोला’ प्रकाश सायमीेले निर्देशन गरेका चलचित्र हुन् ।
विजयरत्न तुलाधर पनि पत्रकार नै हुन् । ‘कलाकार आवाज’, ‘रोशनी’, ‘कामना’, ‘स्टारडम’, ‘रोहेणी’, ‘नेपाल भाषा’ नामक पत्रिकामा काम गरेका विजयरत्न पनि अन्ततः निर्देशनमा आए । उनले चलचित्र ‘वीर गणेशमान’ र ‘मनको टुक्रा’ निर्देशन गरे ।
सुचित्रा श्रेष्ठ पनि शुरुमा पत्रकार थिइन् । ‘देउराली’ पत्रिकामा काम गरेकी उनले अन्य करिब आधा दर्जन पत्रिकामा काम गरिन् । पछि उनले पनि कथानक चलचित्र निर्देशन गरिन् । ‘प्रेम युद्ध’ र ‘को कसको’ कथानक चलचित्र निर्देशन गरेकी उनले टेलिचलचित्र ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’ निर्देशन गरेकी थिइन् ।
केपी पाठक पनि पत्रकार र निर्देशक दुवै हुन् । केपीले ‘जनसत्ता’, ‘रसरङ्ग’, ‘चलचित्र’, ‘कलाकुञ्ज’, ‘प्रिया’ लगायत पत्रिकामा काम गरेका थिए । केपीले ‘मैना’ र ‘गाजल’ नामक चलचित्र निर्देशन गरे । उनी चलचित्र विकास बोर्डको सदस्यसमेत भए । केपी पत्रकार हुनु अगाडि पनि कला क्षेत्रमै थिए ।
कलाकार, लेखक तथा निर्देशक मोहन निरौला पनि पत्रकार नै थिए । ‘आँशु’, ‘चलचित्र’, ‘दर्पण’, ‘कोेशेली’मा मोहनले पत्रकार भएर काम गरेका थिए । मोहनले चलचित्र ‘पुकार’, ‘जन्मभूमि’, ‘जन्मभूमि–२’ निर्देशन गरे ।
नेपाली चलचित्रमा मौलिक कथा भन्न शुरु गर्ने निर्देशक नवीन सुब्बाको पृष्ठभूमि पनि पकारकारिता नै हो । ‘देशान्तर’, ‘रुपरङ्ग’, ‘पर्दा’ लगायतका पत्रिकामा काम गरेका नवीन सुब्बा पनि अन्ततः चलचित्र निर्देशक बन्न पुगे । ‘नुमाफुङ’ र ‘गुडवाई काठमाडौं’ उनले निर्देशन गरेका चलचित्र हुन् । ‘नुमाफुङ’ प्रंदर्शन भइसके पनि ‘गुडवाई काठमाडौं’ भने नेपालमा प्रदर्शन भएको छैन । नेपाल बाहिर भने विभिन्न देशमा यो चलचित्र उनले देखाइसकेका छन् ।
दीपक रौनियार पनि पत्रकारिताबाट चलचित्रमा आइपुगेका हुन् । ‘हिमाल’, ‘समाचारपत्र’, ‘कामना’ लगायत चलचित्रमा उनले काम गरे ।
दीपकले निर्देशन गरेका चलचित्र ‘हाइवे’ र ‘ह्वाइट सन् हुन् ।
लक्ष्मण सुवेदी पनि पत्रकारिता गर्दागर्दै चलचित्र निर्देशक बनेका हुन् । ‘नयाँ पत्रिका’ र ‘टिभी फिल्मी’मा काम गरका लक्ष्मणले पनि चलचित्र निर्देशन गरे ।
उनले चलचित्र ‘एउटा साथी’ र ‘लाल जोडी’ निर्देशन गरे ।
‘कान्तिपुर’ दैनिकमा कार्यरत फुलमान बलले पनि चलचित्र निर्देशन गरेका छन् । ‘नीरफूल’ फुलमानले निर्देशन गरेको चलचित्र हो ।
सुव्रत आचार्य पनि शुरुमा पत्रकार थिए । ‘कान्तिपुर साप्ताहिक’मा लामो समय काम गरेका उनले ‘अधकट्टी’ र ‘सुश्री सम्पत्ति’ निर्देशन गरेका हुन् ।
‘मनकामना’, ‘गोरखा एक्सप्रेस’मा काम गरेका पत्रकार डब्बु क्षेत्री अहिले पनि पत्रकारिता गर्छन् । ‘राजधानी’ दैनिकमा कार्यरत उनले ‘राहदानी’ नामक चलचित्र निर्देशन गरेका थिए ।
दिनेश डिसी पनि सञ्चारकर्मी हुन् । उनले प्रशारण पत्रकारितामा लामो अनुभव संगालेका छन् । कान्तिपुर एफएममा लामो समय काम गरेका उनले ‘छ एकान छ’, ‘फूलै फूलको मौसम तिमीलाई’, ‘दाइको ससुराली’, ‘मायाज बार’ चलचित्र निर्देशन गरे ।
चलचित्र ‘मालतीको भट्टी’, ‘मञ्जरी’ र ‘गाजा बाजा’का निर्देशक गणेशदेव पाण्डे पनि कुनै समय पत्रकार थिए । प्रिन्ट पत्रकारिता नगरे पनि उनले रेडियो पत्रकारिता भने गरे । ‘बुटवल एफएम’ र ‘तिनाउ एफएम’मा गणेशदेवले काम गरेका थिए ।
पत्रकारिताबाट पछिल्लो समय निर्देशनमा आइपुग्ने व्यक्ति हुन् दीपेन्द्र लामा । ‘नयाँ सडक’, ‘कामना’ ‘समाचारपत्र’, नयाँ पत्रिका’, ‘नागरिक’मा काम गरेका दीपेन्द्र अहिले निर्देशकको छवि बनाइरहेका छन् ।घामपानी’ उनले निर्देशन गरेको पहिलो चलचित्र हो । दीपेन्द्र अहिले चलचित्र ‘छ माया छपक्कै’ निर्देशन गरिरहेका छन् ।
चलचित्रबारे केही ज्ञान बटुलेपछि आफूलाई भन्न मन लागेको कथा चलचित्रमार्फत् भन्नलाई पत्रकारहरु निर्देशक हुने गरेको निर्देशक केपी पाठकको अनुभव छ । “लामो समय चलचित्र पत्रकारिता गरेपछि कतिपय विषय उसलाई भन्न मन लागेको तर कसैले पनि उक्त विषयमा चलचित्र नबनाएको हुनसक्छ,” पाठक भन्छन्, “कलाकार, निर्देशक तथा निर्माताहरुसँग लामो समयदेखिको चिनजानका कारण निर्माताहरुले पनि विश्वास गरेका कारण कतिपय अवस्थामा तपाईं नै निर्देशन गर्नुस् न त पनि भन्छन् ।” कतिपय व्यक्ति पछि निर्देशक बन्ने चाहनाले कामको प्रकृति र विषयवस्तुको ज्ञान लिन पनि शुरुमा पत्रकारितामा आउने गरेको उनी बताउँछन् । आफू पनि वरिष्ठ निर्देशक तथा कलाकारहरुसँगको सामिप्यताको अपेक्षाले चलचित्र क्षेत्रमा प्रवेश गरिसकेपछि पत्रकारिता गरेर पछि पुनः चलचित्र क्षेत्रमै फर्किएको उनले सुनाए ।
सूचना सम्प्रेशणको सबैभन्दा प्रभावकारी माध्यम चलचित्र भएकाले पत्रकारहरु चलचित्रमा आउने गरेको मोहन निरौला बताउँछन् । “पत्रकारिता पनि क्रिएटिभ विधा हो । चलचित्र पनि क्रिएटिभ विधा हो । यी दुवै विधा क्रिएटिभ भएकाले पत्रकारहरु पनि निर्देशनमा आउँछन्,” मोहन भन्छन्, “सूचना सम्प्रेशण गर्न र समाजमा आफूलाई भन्न मन लागेको कुरा भन्ने सबैभन्दा सहज माध्यम भएकाले पत्रकार पनि निर्देशक हुन्छ ।”