
काठमाडौं । सिङगिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन–२ को प्रोमो सार्वजनिक भएको छ । सार्वजनिक प्रोमोमा ब्लाइन्ड अडिसनका केही झलक देखाइएको छ ।
प्रोमोमा चार जना कोच र केही प्रतियोगीलाई देखाइएको छ । प्रोमोमा कमिङ सुन भनिए पनि प्रशारण मिति भने उल्लेख गरिएको छैन ।
ब्लाइन्ड अडिसनका १२ वटा श्रृंखला सुटिङ भइसके पनि प्रशारणका लागि भने अझै एक महिना लाग्ने भएको छ । अहिले सुटिङ सकिए पनि पोस्ट प्रोडक्सनको काम भइरहेको भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौडेलले बाह्रखरीलाई जानकारी दिए ।
सिजन–२ मा दुई जना कोच फेरिएका छन् । सनुप पौडेल, अभया सुब्बाको ठाउँमा राजु लामा र आस्था राउतले प्रवेश पाएका छन् । दीप श्रेष्ठ र प्रमोद खरेल यथावत छन् ।
‘डिजिटल अडिशन’बाट ११० जना प्रतिस्पर्धी छनोट गरेको ‘द भ्वाइस अफ नेपाल’मा डिजिटल अडिशनमा दुई हजार दुई सय सहभागी भएका थिए ।
गत वर्ष ‘ब्लाइन्ड’, ‘ब्याटल’ र ‘लाइभ’ शो हुँदै फिनाले भएकोमा सिजन–२ मा ‘नक आउट चरण’ पनि थपिएको छ । सिजन–२ मा ‘लाइभ शो’मा एकै दिन गत सिजनमा जस्तो चारजना बाहिरिने छैनन् । “गत वर्ष लाइभ शोमा एकै दिन चारजना आउट हुँदा राम्रो भएन भन्ने गुनासो आएकाले यसपटक प्रत्यक ‘लाइभ शो’मा एक जनाका दरले आउट हुने ‘फम्र्याट’ ल्याउँदैछौं,” निर्देशक पौडेलले भने । यो वर्ष ‘नक आउट’ चरणमा धेरै बाहिरने छन् ।
कार्यक्रम ३२ वटा श्रृंखला प्रशारण हुनेछ । कार्यक्रम हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ ।