site stats
बाह्रखरी :: Baahrakhari
साहित्य

नारायण ढुङ्गाना 

काठमाडौं । बेलाबेलामा प्रहरीले होटल रेस्टुराँबाट यौनकर्मी पक्राउ गर्ने गरेको छ । कतिपय अवस्थामा १८ वर्ष मुनिका बालिकासमेत फेला परेका छन् । डान्सबारमा अहिले पनि बालिका र किशोरीको प्रयोग भइरहेका छन् । उनीहरु यौन दुव्र्यवहारमा पर्ने गरेको घटनासमेत बेलाबेलामा देखिँदै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्लो अध्ययनलेसमेत मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको देखाएको छ । अन्य क्षेत्रभन्दा होटल रेस्टुरामा बालिका तथा किशोरी र यातायत क्षेत्रमा बालक श्रममा प्रयोग हुने गरेको यथार्थ हो ।

यसरी प्रयोग भइरहेका बालबालिकालाई कसरी श्रम शोषण र यौन दुर्व्यवहाबाट मुक्त गराउने भन्ने विषय बेलाबेलामा चर्चा चल्ने गरे पनि ठोस कदम भने कतैबाट गरिएको पाइँदैन । बोलीमा हुने गरे पनि व्यवहारमा भने कार्यान्वयन नहुँदा बालबालिकाको शोषण कायमै छ ।
 
काठमाडौँ प्रहरीले भने बालबालिकाको प्रयोग रोकेर मनोरञ्जन क्षेत्रलाई कसरी मर्यादित बनाउने भनेर बहस सुरु गरेको छ । समुदायसँग नमिली कार्यक्रम सफल हुने नदेखेपछि प्रहरीले सो विषयमा होटल व्यवसायीसँगै समुदाय तथा जनप्रतिनिधिसँग छलफल चलाउन थालेको छ ।
 
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वयं समुदायलाई सक्रिय सहभागिता गराउने गरी अभियान चलाउनु जरुरी रहेकाले यो प्रयास थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए । 

सुवेदीले भने, “बालबालिकाको प्रयोग तथा यौन दुव्र्यवहारका घटनाका विषयमा प्रहरीमा सूचना नै आउँदैन, हामी खोजीखोजी जानकारी लिनुपर्छ, त्यसैले होटल रेस्टुराँको अवस्था बुझेर सञ्चालकलाई बालयौन दुव्र्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउन प्रशिक्षणसमेत दिन थालेका छौँ ।”

नेपालको कानूनले १८ वर्षमुनिकालाई बालबालिका मानेको छ । कार्यस्थलमा हुने यौन दुर्व्यवहार (निवारण) ऐन २०७१, श्रम ऐन, बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाको कुनै पनि काममा बालश्रमलाई प्रतिबन्ध लगाएको छ ।
 
परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले समुदाय साझेदारी कार्यक्रम ल्याएको बताए । सोही कार्यक्रमअन्तर्गत बालबालिकाको प्रयोगलाई रोक्न समुदायसँग विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उनी बताउँछन् । 

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले प्रहरी, स्थानीय समुदाय, स्थानीय तह र मिडियाको सामूहिक प्रयासमा मात्रै यौन दुव्र्यवहार तथा बालयौन शोषण रोक्न सकिने उल्लेख गरे । 

“सडकमा कसैलाई मगन्तेका रुपमा हेर्न नपरोस्, कोही पनि यौन दुव्र्यवहारमा पर्न नपरोस्, भनेर महानगरले पनि कार्यक्रम राखेको छ, घटना रोक्न धेरैभन्दा धेरै चेतना जगाउनुपर्छ, सबै एकजुट हुनुपर्छ”, खड्गीले भने ।
 
पछिल्लो समयमा ‘न्यूइरा’ नामक संस्थाले २०१८ मा गरेको एक अध्ययनले काठमाडौँमा मात्रै एक हजार ६५० बालबालिका मनोरञ्जन क्षेत्रमा रहेको देखाएको छ । अध्ययनको तथ्याङ्कबारे जानकारी दिँदै चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालका कार्यक्रम व्यवस्थापक अमित तिमिल्सिनाले ६० प्रतिशत बालबालिका यौन दुव्र्यवहारमा पर्ने गरेको र त्यसमध्ये छ प्रतिशतमा गम्भीर किसिमको यौन शोषण हुने गरेको उल्लेख गरे ।
 
प्रहरी र क्याप नेपालले बुधबार काठमाडौँमा ‘बालयौन दुव्र्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउने’ विषयमा अन्तक्रिया गरेको छ । सहभागीले सामूहिक प्रयासमा मात्रै बाल यौन दुव्र्यवहारका घटना रोक्न सकिने बताएका थिए ।
     
कार्यक्रममा प्रहरी नायब उपरीक्षक पोखरेलले रोजगारीको अवसर खोज्न, छिट्टै पैसा कमाउने उद्देश्य र पारिवारिक समस्याका कारण बालबालिका शहरमा आउने गरेको पाइएको जानकारी दिए । उनका अनुसार यस्ता बालबालिका यौन शोषण, बेचबिखनमा पर्नुका साथै मनोरञ्जन क्षेत्रमा प्रयोग हुने गरेका छन् । जसका कारण होटल व्यवसायप्रति नै नकारात्मक दृष्टिकोण पैदा हुने भएकाले स्वयं व्यवसायी सचेत हुनुपर्ने पोखरेलले बताए । बालबालिकाले चेतनामूलक गीतिनाटक प्रस्तुत गरेका थिए । - रासस

प्रकाशित मिति: बुधबार, साउन ८, २०७६  ०५:४५
प्रतिक्रिया दिनुहोस्