काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्कुल विभागमा दाबेदारी थपिएको छ । स्कुल विभाग प्रमुखमा पार्टी सचिवालय सदस्य एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलबीच रस्साकस्सी चलिरहँदा स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबेदारी प्रस्तुत गरेका हुन् ।
घनश्याम भुसालले नेतृत्वलाई भेटेरै पार्टी स्कुल विभाग प्रमुख बन्ने इच्छा गरेको चर्चा भइरहँदा अर्का स्थायी कमिटी बेदुरामले पनि स्कुल विभागमा आफ्नो दाबी रहेको बताएका छन् । पार्टी कामको सिलसिलामा रामेछाप जान लागेका बेदुरामले बाह्रखरीसँग भने, “मैले साविकको पार्टीका स्कुल विभागको नेतृत्व गरेर आइसकेको छु । विगतमा मेरो कामको क्षेत्र त्यही हो । यसअघिको अनुभव र कार्यमूल्याङ्कनका आधारमा पनि मैले दाबी प्रस्तुत गरेको हुँ ।”
बेदुराम आठौँ महाधिवशेन (झलनाथ खनाल पार्टी अध्यक्ष भएका बेला) स्कुल विभाग प्रमुख थिए । उनले २०६५ देखि २०७०सम्म स्कुल विभागको नेतृत्व सम्हालेका हुन् । उनी स्कुल विभाग प्रमुख भएका बेला घनश्याम भुसाल उक्त विभागको उपप्रमुख थिए ।
बेदुराम पार्टी स्कुल विभागका लागि उपयुक्त पनि मानिन्छन् । जनताको बहुदलीय जनवादमै विद्यावारिधि गरेका बेदुरामले प्रशिक्षण सामग्रीसमेत तयार पारेका छन् । प्रशिक्षणका लागि बेदुरामले पाठ्यक्रमको तीन भाग प्रकाशन गरिसकेका छन् भने पाठ्यवस्तु पनि तयार पारेका छन् ।
विकल्पमा छलफल हुँदै
स्रोतका अनुसार स्कुल विभाग पेचिलो बन्दै गएपछि बालुवाटारमा छलफल बाक्लिएको छ । स्रोतका अनुसार बालुवाटारमा अहिले तीन विकल्पमा छलफल भइरहेको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको पहिलो प्रयास ईश्वर पोखरेलका नाममा सहमति जुटाउने हुनेछ ।
प्रधानमन्त्री र पार्टी अध्यक्ष ओलीको कार्यशैलीको बचाउ गर्ने र निर्णयका पक्षमा उभिने ईश्वर पोखरेलमात्रै छन् । हेडक्वाटर सदस्य सबैले आफूले रोजेको विभाग लिएपछि ओलीले पनि पोखरेललाई नै स्कुल विभाग प्रमुख बनाउन जोडबल गर्नेछन् । त्यसका लागि उनले बैठकलाई पर धकेलिरहेको र सहमति खोजिरहेको देखिएको छ ।
पार्टी एकता हुँदा महासचिवबाट घटुवामा परेकाले र सरकार गठनमा रोजेको मन्त्रालय पनि नपाएकाले पोखरेलले ओलीप्रति असन्तुष्टि राख्दै आएका छन् । अतः स्कुल विभाग प्रमुख बनाएर त्यसको क्षतिपूर्ति दिलाउने दाउमा पनि छन् अध्यक्ष ओली ।
अर्कातिर ईश्वर जनताको बहुदलीय जनवादको पक्षमा उभिँदै र वकालत गर्दै आएका छन् । पार्टीभित्र पूर्वएमालेको संस्थापन समूह रक्षात्मक र मदन भण्डारीले प्रतिपादन गरेको जबज संकटबाट गुज्रिरहेका बेला नीति, कार्यक्रम पढाउने स्कुल विभाग प्रमुख ईश्वरलाई दिएर त्यसको पनि पूर्ति गर्न चाहेका छन् ओलीले ।
ईश्वरका नाममा सहमति नजुटे ईश्वर र नारायणकाजी दुवैलाई विभागीय प्रमुख बनाउने तयारीमा ओली रहेको बताइएको छ । “पार्टी अध्यक्ष दुईजना हुन मिल्छ भने विभाग प्रमुख पनि दुईजनालाई बनाउन सकिन्छ । यो विकल्पमा पनि छलफल चलिरहेको छ,” बालुवाटार स्रोतले बाह्रखरीसँग भन्यो ।
त्यो विकल्पमा पनि सहमति नजुटे स्कुल विभाग दुई अध्यक्षकै मातहत राख्ने तयारी ओलीको छ । पूर्ववर्ती एमालेमा त्यसप्रकारको अभ्यास भएको थियो ।
त्यसमा पनि सहमति नजुटे सचिवालयकै नेतामध्येबाट स्कुल विभाग प्रमुख बनाउने तयारी रहेको बालुवाटार स्रोतले जानकारी दियो ।
तर, घनश्याम र बेदुरामलाई स्कुल विभाग प्रमुख नबनाइने स्रोतले स्पष्ट पारेको छ ।