
काठमाडौं । राजेन्द्र थापाको उपन्यास ‘शकुनी’ सार्वजनिक भएको छ । काठमाडौंस्थित सर्वनाम थिएटरमा शुक्रबार सम्पन्न कार्यक्रममा उपस्थित लेखक तथा पाठकले दशर्कदीर्घाबाटै उपन्यास सार्वजनिक गरेका हुन् ।
फरक शैलीले आयोजना गरिएको कार्यक्रममा कुनै विशेष मञ्च र अतिथिहरू थिएनन् । उपन्यासलाई मात्र मञ्चमा राखेर गरिएको कार्यक्रममा उपन्यासबारे शरच्चन्द्र वस्ती र राजकुमार बानियाँले टिप्पणी गरे ।
भाषाविद् वस्तीले ‘शकुनी’ उपन्यासको जटिल परिक्षामा राजेन्द्र थापा उत्तीर्ण भएको बताए । ‘शकुनीका माध्यमबाट वर्तमान युगको चित्रण गर्न सफल उपन्यासले नयाँ प्रश्नहरू जन्म गराएको छ’, वस्तीले भने ।
यस्तै अर्का वक्ता राजकुमार बानियाँले शकुनी आख्यानात्मक तवरमा लेखिए पनि गैरआख्यानको स्वाद पाइने बताए । “शकुनी पढेर पाठकले आफैँ निष्कर्ष निकाल्न सक्ने ठाउँ रहेको छ,” बानियाँले बताए ।
यसअघि ‘खेलौना’ र ‘द्रौपदी’ उपन्यास प्रकाशित गरिसकेका थापाको यो तेस्रो उपन्यास हो । गीत र मुक्तकमा विशेष ख्याति कमाएका थापाको ‘फिर्ता चाहियो’ कथासङ्ग्रह प्रकाशित छ ।
इन्डिगो इन्कले प्रकाशन गरेको ‘शकुनी’ उपन्यासको मूल्य ४ सय ४९ रूपैयाँ रहेको छ ।