
काठमाडौँ । अभिव्यक्ति साहित्यिक पत्रिकाको मासिक भेटघाटका अवसरमा कवि काशिराज आचार्यको कविता संग्रह ‘मुहानदेखि दोभानसम्म’ सार्वजनिक भएको छ । काठमाडौंमा विहीबार साँझ आयोजित अभिव्यक्ति मासिक जमघटका समयमा ‘अभिव्यक्ति’का प्रधान सम्पादक नगेन्द्रराज शर्मा तथा ‘रचना’ का प्रधान सम्पादक रोचक घिमिरेले उक्त कृति संयुक्तरूपमा लोकार्पण गरे ।
सो अवसरमा प्रधान सम्पादक द्वय शर्मा र घिमिरेले वि.सं. २०३० को दशकदेखि साहित्य साधनामा लागिपरेका भए पनि ढिलोगरी पुस्तक प्रकाशन गरेका कवि काशीराज आचार्यलाई बधाई तथा शुभकामना दिए । कवि आचार्यका फुटकर रचनाहरू विभिन्न पत्रपत्रिकामा विगत पैतालीस वर्षदेखि प्रकाशित छन् । लामो समय सरकारी सेवामा रहेका आचार्यका कविताबाहेक प्रशासन तथा व्यवस्थापनसम्बन्धी दर्जनौँ लेख प्रकाशित छन् ।
उक्त अवसरमा कवि आचार्यले आफ्नो पुस्तकबाट शीर्ष कविता वाचन गर्दै आफ्नै हिमालयबाट निस्कने पानी मिसिएको समुद्रसम्म पुग्न पनि आफूलाई पासपोर्ट र भिसा लाग्ने भएकाले मन दुखेर विदेश बस्दा संग्रहका अधिकाँश कविता सृजना भएको उनले बताए ।