सन् १९९७ दार्जिलिङमा अर्पण थापाले हलिउड मुभी ‘इभिल डेड’ हेरे । ‘इभिल डेड’ उनले हेरेको पहिलो ‘हरर’ मुभी थियो । ‘इभिल डेड’ हेरुन्जेल उनी पटकपटक तर्सिरहे । तर्सिएनन् मात्रै, उनी केही डर पनि बोकेर कोठा फर्किए । त्यसै पनि डराउने अर्पण ‘इभिल डेड’ हेरेपछि नडराउने कुरै थिएन ।
अर्पण ‘हरर’ चलचित्र हेर्दा डराउँछन् । तर, साथीसँग बसेर ‘हरर’ चलचित्र हेर्न उनलाई खुब रमाइलो लाग्छ । उनी अहिले पनि डराउँछन् । कोठामा एक्लै बस्न पनि हम्मेहम्मे पर्छ उनलाई । “राति सुत्दा अहिले पनि म बत्ती निभाएर सुत्न सक्तिन । बत्ती बालेरै सुत्छु,” अर्पणले बाह्रखरीसँग भने, “म बत्ती बालेर मात्रै होइन, डरले टीभी पनि अन गरेर सुत्छु । त्यही पनि सुतेँ भने धेरै म राति सुत्दिन ।” तर उनैले ‘हरर’ चलचित्र बनाए ।
तिनै अर्पणले केही समय पहिला ‘सुनकेशरी’ बनाए, अहिले ‘घर’ । उनले कति पटक एक्लै हुँदा झझल्को लागेर देखेका सिन हुन् ‘सुनकेशरी’ र ‘घर’का । “मैले एक्लै बस्दा डरले कल्पना गरेका सिन हुन् ‘घर’ र ‘सुनकेशरी’का । तिनै कल्पनालाई स्क्रिप्टमा रुपान्तरण गरेको हुँ,” अर्पणले सुनाए ।
उनी जसरी ‘इभिल डेड’ हेरेर तर्सिए र डराए । अहिले उनी त्यसैगरी निर्देशक र अभिनेता बनेर अरुलाई तर्साउन र मनमा डर भर्न खोज्दै छन् । “म जसरी तर्सिएँ र डराएँ । सायद अरु पनि म जस्तै डराउनु हुन्छ कि ?,” घर रिलिजको दुईदिन अगाडि भेटिएका अर्पणको अपेक्षा छ ।
‘हरर’ फिल्म हेर्दा कोही तर्सियो मात्रै भने हलबाट बाहिर निस्किएपछि ऊ विस्तारै तर्सिन छोड्छ । तर, डरायो भने त्यो कैयौं दिनसम्म डर बोकेर हिँडिरहन्छ । ‘इभिल डेड’ होस् वा हिन्दी चलचित्र ‘विराना’ हेर्दा अर्पण डर पनि बोकेर घर जान्थे । राति त्यसले तर्साइरहन्थ्यो । निदाएका बेला अचानक झस्किन्थे । तर, उनी डराउनेभन्दा पनि झस्काउने चलचित्र बनाउन चाहन्छन् । उनकै शब्दमा “धेरै तर्साउने थोरै डरारउने ।
अनुसन्धानहरुका अनुसार ‘हरर’ मुभीले मुटुलाई फाइदा गर्छ । झस्किँदा र डराउँदा मुटुको चाल बढ्छ । त्यसले पम्पिङ लेवल बढ्छ र मुटुको एक्सरसाइज हुन्छ । जुन स्वास्थ्यका लागि फाइदा हो ।
मुटुको एक्सरसाइज नै हुन्छ भनेर त अर्पणले ‘हरर’ मुभी बनाएका होइनन् । ‘हरर’ जानरा पनि नेपालमा स्थापित गरौं भन्ने लोभले पनि थोरै काम गर्यो । हलिउड मुभी ‘साइको’ हेरेपछि त्यसले उनलाई असाध्यै लोभ लाग्यो । कारण थियो ‘साइको’ले बि ग्रेडमा दर्ज रहेको ‘हरर’ जानरालाई मेन स्ट्रिममा ल्याएदियो । थ्रिलर ‘हरर’ ‘सिक्थ सेन्स’ले ओस्कार अवार्ड नै जितेपछि अर्पण झनै लोभिए । अर्को पनि कारण रहेछ अर्पणलाई ‘हरर’ले आकर्षण गर्नुको । अक्सर ‘हरर’मा केटाकेटी हुन्थे । सेक्स सिन हुन्थ्यो । अँध्यारोमा खिचिन्थ्यो । भूतले तर्साउँथ्यो । सकिन्थ्यो । त्यसैले ‘हरर’ फिल्मलाई सस्तो फिल्म मानिन्थ्यो ।
तर, विस्तारै सुपर नेचुरल पावरलाई विज्ञानले प्रमाणित गर्दै गएपछि विस्तारै यी कथा ‘हरर’मा भन्न थालियो । त्यही लोभले अर्पणलाई पनि समायो । “साइको हेर्दा यति सानो कथाले कति मजाले दर्शकलाई बाँधेर राख्न सकेको भन्ने लागेको थियो । पछि सिक्स सेन्सले ओस्कार नै जितेपछि मैले पनि एकपटक यो जानरामा प्रयास गर्नुपर्छ भन्ने लागेको थियो,” उनले ‘हरर’मा लोभ पलाउनुको कारण खुलाए ।
कथा लेख्न थालेपछि अर्पण निर्देशकका रुपमा कथा भन्न पनि थाले । निर्देशन गर्न थालेपछि नेपालमा कसैले पनि भन्न नरुचाएको ‘हरर’मा उनले हात हाले ।
अर्पणले ‘घर’ कस्तो बनाए ? डराउने अथवा तर्साउने ? “अलिअलि डराउने, अलिअलि तर्साउने अनि अलिअलि र यि दुई हुँदाहुँदै मनोरञ्जन पनि दिने,” उनी एकै वाक्यमा जवाफ दिन्छन् ।
‘सुनकेशरी’मा तर्साउने र डर देखाउनेभन्दा पनि धेरै हँसाए भन्ने उनलाई आरोप लाग्यो । यो आरोप किन आयो ? उनले पत्ता लगाए । “नेपालमा ‘हरर’ भन्नेबित्तिकै हार्डकोर नै हुन्छ भन्ने बुझाइ रहेछ । तर, हामीले त्यसमा हार्डकोर नबनाउने भनेर हेवी डार्क सेट प्रयोग गरेका थिएनौं । ब्ल्ड प्रयोग गरेका थिएनौं । लाइट हार्डकोर बनायौं । तर, अडियन्सले यहाँ हार्डकोर ‘हरर’ मात्रै रुचाउनुहुन्छ भन्ने त्यतिबेला मात्रै हामीले थाहा पायौं जुन बेला सुनकेशरी हलमा लाग्यो ।”
नेपालमा ‘हरर’ चलचित्र त्यति धेरै बनेका छैनन् । तर, ‘सुनकेशरी’ हेर्न ठूलै संख्यामा दर्शक आए । “दर्शक छैनन् भन्ने थियो तर रहेछन् । हामीले घरको ट्रेलर हेरेका दर्शकलाई एनालाइसिस गर्दा १४ देखि २६ वर्षसम्मका युवा ‘हरर’का अधिक दर्शक छन् । त्यसमा पनि युवती धेरै छन्,” चलचित्र निर्देशक दीपेन्द्र के खनाल भन्छन्, “डार्क सेट, साउन्ड, टोन, भिजुअल इफेक्ट, स्कोर हेर्दा घर ‘हरर’ जानरामा मजाले बनेको छ । दर्शकले इन्जोय गर्न सक्छन् ।”
चलचित्रको विश्वबजार हेर्ने हो भने दैनिक एकदेखि तीनवटा ‘हरर’ चलचित्रको ट्रेलर रिलिज भइरहेको छ । अमेजन प्राइम, युट्युब होस् अथवा नेटफ्लिक्स हेर्दा ‘हरर’ चलचित्रको बोलावाला छ । तर, नेपालमा यसले भर्खर प्रवेश पाउँदैछ । यसअघि ‘माला’ बनेको थियो तर त्यसले नेपालमा यो जानराको जग बसाउन सकेन ।
लभ, एक्सन र कमेडी बनिरहेका बेला ‘हरर’ किन बनेने नेपालमा ? धेरैलाई लाग्छ– ‘हरर’ मुभी अक्सर इनडोर सिनमै सकिन्छ । परिणाम लागत कम हुन्छ । डार्क सेट तयार पार्यो, दुईचार लिटर रगत बगायो । दुईचार जना पात्र भए पुगिहाल्छ ।
तर, यो बुझाइ गलत रहेको अर्पण स्पष्ट पार्छन् । “हेर्दा जति साधारण सोचिन्छ, प्राविधिक हिसाबले सबैभन्दा कठिन ‘हरर’ मुभी बनाउन छ । सानो ठाउँमा धेरै काम गर्नुपर्ने हुन्छ । भूत आएर मात्रै हुँदैन । त्यसको इमोशन र फ्लो पनि चाहिन्छ,” अर्पण भन्छन्, “अढाइ घण्टासम्म एउटै कोठा देखाएर हुँदैन । त्यसमा भेराइटी कसरी देखाउने भन्ने हुन्छ । सिलिङ सिलिङमा भूत हिँड्छ होला । त्यसलाई देखाउन सहज छ ?”
रोमान्टिक लभ स्टोरी, एक्सन होस् या अन्य कुनै जानरा त्यसलाई विश्वास दिलाउन सुपरस्टार चाहिन्छ । तर ‘हरर’ यस्तो जानरा हो यो आफैँमा स्टारडम बोकेको हुन्छ । जसमा स्टारडम चाहिँदैन, मात्रै कलाकार भए पुग्छ । त्यसैले यो पक्षमा भने अर्पण सेफ साइडमा छन् । सुरक्षा पन्त आफैँमा अभिनयमा अब्बल थिइन् । बेनिशा हमालले पनि आफूलाई प्रमाणित गरिसकेकी थिइन् । अर्पण निर्देशक भएर पनि आफैँ अभिनयमा उत्रिए ।
अर्को पनि फाइदा छ ‘हरर’को । ‘हरर’लाई भाषा र स्थानीयताले खासै अर्थ राख्दैन । राम्रो बनाए मात्रै पुग्छ । एसियाबाट पश्चिमा राष्ट्रमा गएका चलचित्रमा अधिकांश ‘हरर’ नै बिकेका छन् ।
स्वदेशी बजारमा प्रतिस्पर्धा नहुँदा उनलाई जति सहज छ त्योभन्दा ठूलो चुनौती पनि छ । “घरभन्दा अगाडि अरु ‘हरर’ मुभी भएका भए ती भन्दा राम्रो छ कि छैन भनेर दाँजिने थियो । तर, यहाँ अरुका चलचित्र नभएकाले ‘कन्जुरिन’ भन्दा राम्रो छ कि छैन भनेर तुलना हुनेवाला छ ।
तुलना हलिउड र बलिउडसँग हुन्छ । चलचित्र नेपालमा बनाउनु पर्छ । ‘हरर’मा भीएफएक्समा बढी काम हुन्छ । भिजुअल र साउन्ड डिजाइनमा बढी खेल्नुपर्छ । तर, यसमा काम गर्ने दक्ष जनशक्तिको खडेरी छ । “यो समस्या मैले सुनकेशरीमा पनि भोगेँ । घरमा पनि भोेगेँ,” अर्पण भन्छन्, “तर, घरले दर्शकको मन जित्यो भने नेपालमा ‘हरर’को सोलो क्रेडिट मलाई जान्छ होला । अर्को वर्षबाट बर्सेनी दुईचारवटा चलचित्र बन्छन् ।”