site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘स्क्रिप्ट नै बिगारिन्छ, कसरी बन्छ राम्रो चलचित्र ?’

काठमाडौं । ‘आई एम सरी’ मा चलचित्र लेखक प्रदीप भारद्वाजले सात वर्षको एउटा क्यारेक्टर खडा गरिदिएका थिए । निर्देशकले स्क्रिप्टमा रहेको सात वर्षको क्यारेक्टरमा २४ वर्षको जवान युवा उभ्याइदिए । प्रदीपले लेखेको कथा त्यहीँबाट ‘अन्याय’मा पर्न सुरु भयो । 

यो त प्रदीपले लेखेका चलचित्रको एउटा कथाभित्रको एउटा क्यारेक्टरमा ल्याइएको बदलावमात्रै हो । निर्देशकले एउटै कथाभित्र थुप्रै बदलाव ल्याइदिने गरेको उनको अनुभव छ । “८५ प्रतिशत चलचित्र सुटिङकै क्रममा बिग्रिन्छन्,” प्रदीप भन्छन्, “केही निर्देशकका कारण बिग्रिन्छन्, केही निर्माताका कारण ।” 

उनले लेखेका २९ वटा स्क्रिप्टमा चलचित्र बने । पूर्णकालीन स्क्रिप्ट राइटर प्रदीप निर्देशक र निर्माताले चलचित्र बिगारेपछि त्यसको अपजस स्क्रिप्ट राइटरलाई लगाउने गरिएको गुनासो गर्छन् । “बजेट र अनुभवी निर्देशकका कारण बजेट उच्च हुँदै जाँदा निर्माण खर्च पनि बढ्दै जान्छ । निर्माण खर्च बढेपछि निर्माताको दबाबका कारण निर्देशक पनि सम्झौता गर्न बाध्य हुन्छ,” प्रदीप भन्छन्, “चलचित्र बिग्रिएपछि निर्माताले निर्देशकलाई दोष दिन्छ । आफ्नो करिअर धरापमा पर्ने भएपछि निर्देशकले दोष कथामा थोपर्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नयनराज पाण्डे, अमर न्यौपाने, बुद्धिसागर, सुविन भट्टराई, नीलम कार्की आदि पूर्णकालीन साहित्यकार हुन् । साहित्यमा पूर्णकालीन साहित्यकारको नाम खोज्दै जाने हो भने लामो सूची बन्छ । तर, करिब छ दशक लामो इतिहास बोकेको नेपाली चलचित्रमा भने पूर्णकालीन स्क्रिप्ट राइटर प्रदीप भारद्वाज मात्रै हुन् । 

चलचित्रको कथा राम्रो पाइँदैन भन्ने हल्लाका कारण नयाँ निर्माता तथा निर्देशकहरु आफैँ कथा बोकेर आउने गरेको र अनुभव नभएका व्यक्तिले लेखेका चलचित्र राम्रो नहुने सम्भावना धेरै हुने गरेको प्रदीप बताउँछन् । नेपालकै मौलिक विषयमा चलचित्रको कथा लेखिएका तर त्यसमा विश्वास गर्ने निर्देशक र निर्माताको कमी रहेको उनी बताउँछन् । “झ्यानाकुटी र पञ्चेबाजा जस्ता चलचित्रको कथा मैले सात–आठ वर्ष अगाडि नै लेखेको हुँ । हाम्रै मौलिक विषय, परिस्थिथि र माटो सुहाउँदो ‘ओरिजिनल’ कथामा लगानी गर्न डराउने धेरै हुनुहुन्छ ।”

विस्तारै मौलिक विषयप्रधान चलचित्रमा पनि लगानी बढ्दै गएको उनी बताउँछन् । नेपाली चलचित्र, विषय र बजार बुझेको व्यक्तिले लेखेका कथामा अनुभवी निर्देशकले बनाए अहिले लेखिरहेका स्क्रिप्टमै राम्रो चलचित्र बनाउन सकिने प्रदीपको भनाइ छ । 

कलाकार तथा निर्देशक अर्पण थापा चलचित्रको कथा पनि लेख्छन् । उनले अभिनयसँगै लेखन तथा निर्देशन रहेको चलचित्र ‘घर’ साउन ३ गतेबाट रिलिज हुँदैछ । उनी पनि विभिन्न कारण स्क्रिप्टलाई हुबहु उतार्न कठिनाई हुने गरेको बताउँछन् ।

“स्क्रिप्टमा रहेको सबै पक्षलाई उतार्नुपर्छ, हैन भने कथा लेख्दा सोचे राइटरले सोचेजस्तो र निर्देशकले दिमागमा उतारेको इमेज जस्तो चलचित्र बन्दैन,” निर्देशक थापा भन्छन्, “कहिले भीएफएक्स त कहिले टेक्निकल कारणले स्क्रिप्टमा डिस्क्राइब भए जस्तो चलचित्र आइरहेको हुँँदैन ।” दक्ष प्राविधिक जनशक्तिको अभावका कारण स्क्रिप्टमा भनेजस्तो पर्दामा देखाउन कठिन हुने गरेको थापाको अनुभव छ ।

यता, चलचित्र निर्देशक तथा लेखकसमेत रहेका दीपेन्द्र के खनाल स्क्रिप्टमा रहेको कथा पर्दामा कति उतार्न सकिन्छ, त्यो निर्देशक र बजेटमा भरपर्ने बताउँछन् । “निर्देशक अनुभवी छ भने स्क्रिप्टमा रहेको कथालाई जस्ताको तस्तै पर्दामा उतार्न सक्छ, तर यसका लागि बजेटको अभाव खट्किनु हुँदैन । कति निर्माताले सुटिङमा गएको एक साता बित्न नपाउँदै कहिले सुटिङ सकिन्छ भनेर प्रेसर दिन थाल्छन् । यस्तो अवस्थामा निर्देशकले तानतुन पारेर फिल्म सक्नुपर्ने हुन्छ,” निर्देशक खनाल भन्छन्, “कतिपय अवस्थामा आफ्नो कथा नै कमजोर भएपछि राइटरले निर्देशकलाई आरोप पनि लगाउँछन् । कति स्क्रिप्ट त निर्देशक आफैँले त्यसमा सुधार गरेर खिच्नु पनि पर्छ ।”

प्रकाशित मिति: बिहीबार, असार २६, २०७६  ०९:२६
प्रतिक्रिया दिनुहोस्