site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
फागुनमा होला त कांग्रेस महाधिवेशन ? यस्ता छन् चुनौती
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसमा लामो समयदेखि १४ औं महाधिवेशनका विषयमा नेतृत्वका बीचमा विवाद देखिँदै आएको छ । संस्थापन इतर समूह नियमित समयमै आगामी महाधिवेन गर्नुपर्ने अडान राख्दै आएको छ भने संस्थापन पक्षले महाधिवेशनका लागि इच्छाशक्ति नदेखाएको आरोप खेप्दै आएको छ ।  

२०७२ फागुनमा पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । फागुनमा नियमित महाधिवशेन हुनुपर्ने भए पनि नियमित समयमै महाधिवेशन सम्पन्न गर्नका लागि कांग्रेसका सामु थुप्रै चुनौतीहरु देखिएका छन् । 

कांग्रेसको संशोधित विधानले वडादेखि केन्द्रसम्म गरी पार्टीको संरचना आठ तहमा हुने व्यवस्था गरेको छ । जसअनुसार टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा पार्टी संरचना हुनुपर्दछ । तर अहिले  ७७ जिल्ला र केन्द्रमा मात्रै कांग्रेसका समितिहरु छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कांग्रेसको संस्थापन पक्षले चाहेर पनि नियमित समयमा १४ औं महाधिवेशन गर्न सक्ने सम्भावना छैन । क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने संरचना नभएकाले कांग्रेसले चाहेर पनि नियमित समयमा महाधिवेशन गर्न सक्ने अवस्था नरहेको नेताहरु बताउँछन् । महाधिवेशनमा जानका निम्ति क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि वडा समितिले सिफारिस गर्नुपर्छ ।

‘‘महाधिवेशनमा जानका निम्ति क्रियाशील सदस्यता वितरण र नवीकरण गर्नका लागि तल ‘अथोरिटी’ चाहिन्छ । अहिलेसम्म हाम्रो क्रियाशील सदस्यता वितरण र नवीकरण गर्ने आधिकारिक तह छैन,’’ एक केन्द्रीय सदस्यले भने, ‘‘अन्तरिम व्यवस्थाअनुसार तलको संरचना निर्माण भएपछि वितरण र नवीकरण सुरु हुन्छ । यसो भएपछि चाहेको अवस्थामा महाधिवेशन सुरु गर्न सकिन्छ । अहिले त चाहेर पनि नियमित समयमा हुन सक्ने अवस्था छैन ।’’ 

Global Ime bank

नियमित समयमै महाधिवेशनका लागि सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएको संस्थापन इतर समूहले पनि पछिल्लो समयमा आएर आगामी फागुनमा महाधिवेशन हुने अवस्था नै नरहेको बताउन थालेको छ । 

‘‘फागुनमा महाधिवेशन हुँदैन । किनकि भदौमा समिति निर्वाचित भएर आए पनि त्यसले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि तीन महिनाको समय दिनुपर्छ । असोज, कात्तिक र मंसिर त्यसैमा जान्छ,’’ १३ औं महाधिवेशनबाट तेस्रो धारका रुपमा उदय भएको सिटौला समूह निकट केन्द्रीय सदस्य प्रदीप पौडेलले बाह्रखरीसँग भने, ‘‘त्यसपछि वडाबाट पालिका, क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्र आउनुपर्छ । ती सबै तहबाट केन्द्रमा आइसकेपछि केन्द्रले नामावलीको टुंगो लगाएर तल पठाउनुपर्छ । त्यसपछि मात्रै टोल अधिवेशन हुन सक्छ ।’’ 

केन्द्रीय महाधिवेशन हुनुभन्दा अगाडि सात वटा तहको अधिवशेन गर्नुपर्ने र सातवटा तहको अधिवशेन १५–१५ दिनको फरकमा गरे पनि साढे तीन महिना लाग्ने भएकाले समयावधिभित्रै महाधिवेशन हुन नसक्ने उनको तर्क छ । 

कांग्रेसले आगामी भदौ पहिलो साताभित्रै पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारको तयारी गरेको छ । आइतबारबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकबाट भदौ पहिलो साताभित्रै निर्वाचन प्रक्रियामार्फत् पार्टी संगठनलाई संघीय संरचनाअनुरुप विस्तारका लागि निर्णय गर्ने तयारी गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।  

‘‘बैठकले रिक्त रहेका संरचनाहरु निर्माणका लागि विधानअनुसार अन्तरिम अधिवेशनमा जाने निर्णय गर्छ । सम्भवतः भदौ पहिलो साताभित्र रिक्त रहेका संरचनाहरु निर्माण गरिसक्ने गरी हामी अगाडि बढ्छौं,’’ उनले भने, ‘‘प्राविधिक तयारी आदि–इत्यादिका लागि समय लाग्ने अवस्था भयो भने दोस्रो चरणको राष्ट्रिय जागरण अभियान नै संरचना विस्तारमा परिणत हुन सक्छ ।’’

कांग्रेस प्रवक्ता शर्माले जारी केन्द्रीय कार्यसमिति बैठकले नियमावली मस्यौदा समितिले तयार पारेको नियमावली पारित गरेपछि विधानतः संरचना निर्माणको बाटो खुला हुने बताएका छन् । ‘‘विधान पास भइसकेपछि अबको बैठकले बल्ल नियमावली टुंग्याउँछ । नियमावली टुंगिसकेपछि मात्रै विधानले संरचना निर्माणका लागि मार्ग प्रसस्त गर्छ,’’ उनले भने । 

कांग्रेसको संस्थापन पक्षले रिक्त रहेका संरचनाको पूर्णता दिने कार्यलाई १४ औं महाविधेशनको प्रस्थानविन्दु भएको दाबी गरिरहेको छ । ‘‘अहिले देशभरी संरचना निर्माणका लागि प्रवेश गरिरहेका छौं, त्यो भनेको पनि १४ औं महाविधेशन प्रवेशका लागि मार्गप्रशस्त हो । १४ औं महाधिवेशनका लागि प्रस्थानविन्दु हो,’’ प्रवक्ता शर्माले भने ।

२०७२ फागुनमा पार्टी सभापतिमा निर्वाचित शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुनमा सकिँदैछ । विधानतः कांग्रेस सभापतिको नियमित कार्यकाल चार वर्ष हुन्छ भने विशेष अवस्था भए बढीमा एक वर्ष थप गर्न पाइन्छ । उनी विधानतः एक वर्ष र राजनीतिक दलसम्बनधी कानुनले दिएको अधिकार प्रयोग गरेर थप छ महिना आप्mनो कार्यकाल लम्ब्याउने दाउमा देखिएका छन् । 

केन्द्रीय कार्यसमितिमा स्पष्ट बहुमतमा रहेका देउवालाई एक वर्ष कार्यकाल थप्नबाट इतर समूह रोक्न सक्ने ‘हैसियत’ मा नरहेकाले उनी अझै झण्डै दुई वर्ष पार्टीको नेतृत्वमा रहने निश्चितप्रायः छ । 

यद्यपि आइतबार सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाबीच विधानअनुसार पार्टीको अन्तरिम संरचना बनाएलगतै १४ औं महाधिवेशनको कार्यतालिका बनाएर प्रक्रिया अगाडि बढाउने विषयलाई केन्द्रीय कार्यसमिति बैठकको एजेण्डा बनाउने सहमति भएको छ ।

सहमति अनुसार महामन्त्री पूर्णबहादुर खड्काले ‘पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा’ लाई आइतबारबाट सुरु भएको बैठकमा एजेण्डाका रुपमा प्रस्तुत गरेका थिए । 

यही एजेण्डाका विषयमा विवाद लम्बिएका कारण आइतबार दिँउसो २ बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक बेलुकी पौने ७ बजे सुरु भएको थियो । बैठकमा महामन्त्री खड्काले एजेण्डाहरु प्रस्तुत गरेपछि नियमावली मस्यौदा समितिका संयोजक केन्द्रीय सदस्य रमेश लेखकले नियमावली पेश गरेका थिए । 

लेखक संयोजकत्वको समितिले तयार पारेको नियमावलीको मस्यौदा पदाधिकारी र केन्द्रीय सदस्यलाई वितरण गरेर असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको छ । नियमावली अध्ययनका लागि चार दिन बैठक स्थगित गरिएको र २७ गते दिउँसो १ बजेका लागि बैठक पुनः डाकिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २३, २०७६  १४:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement