site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस महाधिवेशनः फागुनभित्रै गर्न पौडेलको प्रस्ताव, डेढवर्ष सार्ने  देउवाको दाउ  

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको चार वर्षे कार्यकाल आगामी फागुन मसान्तमा सकिँदैछ । कांग्रेसले विधानतः नियमित समयमै महाधिवेशन गर्दा आगामी फागुन मसान्तभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ ।  तर, महाधिवेशन आउन नौ महिनामात्रै बाँकी रहँदा पनि कांग्रेसमा महाधिवेशनको तयारी भने देखिँदैन । संस्थापन इतर समूहले लामो समयदेखि महाधिवेशन नियमित समयमै गर्नुपर्ने माग लिखित रुपमै राखेपनि सभापति देउवाले कुनै चासो नै दिएका छैनन् । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केही महिनाअघि आगामी फागुन ७ मा केन्द्रीय महाधिवेशन सुरु गर्ने गरी सबै तहको अधिवेशनको कार्यतालिका महासमिति र कार्यसमिति बैठकमा प्रस्तावका रुपमा पेश गरेका थिए । तर, सभापति देउवाले उक्त प्रस्तावमाथि छलफल नै गर्न चाहेनन् ।  महाधिवेशनको तयारी गर्न छाडेर कांग्रेस राष्ट्रिय जागरण अभियान लिएर जिल्ला–जिल्लामा पुग्नुले पनि सभापति देउवा नियमित समयमै महाधिवेशन गर्न इच्छुक नदेखिएको पुष्टि हुने एक केन्द्रीय सदस्यले बताए ।

पार्टीले अहिले संघीय संसदभित्र लिइरहेको ‘पोजिसन’ र सरकारले गरिरहेको कामका बारेमा जानकारी गराएर जनतामा गुमेको शाख फर्काउने उद्देश्यका साथ जागरण अभियान सुरु गरिएको संस्थापन पक्षीय नेताहरु दाबी गर्दै आएका छन् ।  तर, इतर समूहमा रहेका सभापति पदका आकांक्षी नेताहरु भने सभापति देउवाले महाधिवेशनलाई विषयान्तर गर्न जागरण अभियान सञ्चालन गरेको आरोप लगाइरहेका छन् । उनीहरुले देउवामाथि विषयान्तरको आरोप लगाउँदै जागरण अभियानलाई आफू अनुकूल उपयोग भने भरपूर मात्रामा गरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वरिष्ठ नेता पौडेल, १३ औं महाधिवेशनबाट ‘तेस्रो धार’ का रुपमा उदाएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, अर्का केन्द्रीय सदस्य डा. शेखर कोइरालालगायतका नेताहरुले जिल्ला–जिल्ला पुगेर नेतृत्वको आलोचना गर्दैै आगामी महाधिवेशन केन्द्रित गरेर जागरण अभियानलाई आ–आफ्नो पक्षमा माहौल निर्माणका रुपमा उपयोग गरे । 
कांग्रेसभित्र सभापतिको आकांक्षीका रुपमा आफूलाई कार्यकर्तामाझ प्रस्तुत गर्दै आएका संस्थापन इतर समूहका नेताहरु अहिले पनि फागुन मसान्तभित्रै १४ औं महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । दुई वर्षपछि स्थानीय तहको निर्वाचनको तयारी सुरु हुने भएकाले नियमित समयमै महाधिवेशन गर्नु पार्टीको हितमा हुने उनीहरुको दाबी छ । 

‘‘नियमित समयमै पार्टीको अधिवेशन हुनुपर्छ, त्यसको तयारी अहिलेदेखि नै गर्नुपर्छ । एकवर्ष म्याद थप गरेर अधिवेशन गरिए त्यसको प्रभाव स्थानीय तहको निर्वाचनमा पर्छ,’’ गत वैशाख २५ गते जागरण अभियानको उद्घाटन समारोहमा सभापति देउवाकै अगाडि नेता प्रकाशमान सिंहले भनेका थिए । 

तर, संस्थापन पक्ष भने निर्धारित समयमा अधिवेशन नहुने र साढे पाँच वर्षमा महाधिवेशन गर्ने कुरामा सबै कसैको पनि विमति नरहेको दाबी गरिरहेको छ । ‘‘निर्धारित समय भनेको चार वर्ष हो । अब चार वर्षमै महाधिवेशन गर्न सकिन्छ भन्ने मलाई लागेको छैन,’’ सभापति देउवाका विश्वासपात्र मध्येका एक केन्द्रीय सदस्य रमेश लेखकले भने, ‘‘महाधिवेशन साढे पाँच वर्षमै हुन्छ र साढे पाँच वर्षमा महाधिवेशन हुने कुरामा कुनै पनि नेतालाई द्विविधा छैन । साढे पाँच वर्षमा महाधिवेशन गर्ने कुरामा कांग्रेसमा सबै नेताहरुको बीचमा सहमति छ । त्यसमा कसैको विमति नै छैन ।’’ 

उनले पार्टी विधान संशोधन गर्ने क्रममा महाधिवेशन नियमित समयमा गर्ने कि समय थप गरेर गर्ने भन्ने विषयले निष्कर्ष निकाली सकेको पनि दाबी गरे । ‘‘विधान बनाउँदा नै समयमै महाधिवेशनमा जाने हो भने एउटा ढंगले विधान तयार गरौं, होइन भने विधान अर्को ढंगले डिजाइन गरौं भन्दा समयमा महाधिवेशन सम्भव देखिँदैन भनेर विधान डिजाइन गरिएको हो,’’ कांग्रेसको विधान संशोधन मस्यौदा समितिका सदस्यसमेत रहिसकेका लेखकले बाह्रखरीसँग भने । 

कांग्रेसको विधानको परिच्छेद ८ दफा ४३ ले असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले कारण खुलाएर बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था गरेको छ । उक्त दफामा भनिएको छ, ‘‘पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले साको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।” 

संविधानले पनि राजनीतिक दलसम्बन्धी व्यवस्थामा पाँच वर्षभित्र केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन गर्नुपर्ने प्रावधान राखेको छ भने विशेष कारण परे छ महिना बढाउन सकिने व्यवस्था गरेको छ  । सभापति देउवाले संविधानको यही प्रावधान टेकेर थप डेढ वर्ष आफ्नो कार्यकाल बढाउन चाहेको देखिन्छ । 
विधानमै गरिएको व्यवस्था अनुसार महाधिवेशन अगावै गर्नुपर्ने कार्यभार पूरा नगरेका कारण पनि उनले नियमित समयमै पार्टीको महाधिवेशन नचाहेको प्रष्टै अनुमान गर्न सकिने अवस्था कांग्रेसभित्र देखिएको छ । सभापति देउवामा नियमित समयमै महाधिवेशन गर्ने इच्छाशक्ति भएको भए अहिलेसम्म कांग्रेसले स्थानीय तह सबैमा अधिवेशन सम्पन्न गरिसक्नुपर्नेे थियो । 

कांग्रेस विधानको परिच्छेद ७ दफा ३५ को २ (घ) मा ‘नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन र प्रदेश अधिवेशन हुने वर्षभन्दा कम्तिमा एक वर्ष अगावै स्थानीय तहका सबै अधिवेशन र कार्यसमितिहरु गठन गरिने छन् । स्थानीय तहका अधिवेशनबाट प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशनका लागि निर्वाचित हुने प्रतिनिधि प्रदेश अधिवेशन र केन्द्रीय महाधिवेशन हुनुभन्दा तीन महिना पहिला निर्वाचित गरिने छन्,’ भनिएको छ ।  

प्रतिधिनिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीले अकल्पनीय पराजय भोगेपछि सभापति देउवाविरुद्ध आक्रामक ढंगले प्रस्तुत हुँदै आएका युवा नेता गगन थापाले नियमित समयमै महाधिवेशन हुने नहुने बारेमा निर्णय नै गरेर अगाडि बढ्नुपर्ने तर्क गर्छन । सभापति देउवा समय थपेरमात्रै १४ औं महाधिवेशन गर्ने पक्षमा रहेका भए केन्द्रीय समितिले म्याद थपको निर्णय गर्नुपर्ने र विधानमा गरिएको व्यवस्था अनुसार पार्टीका संरचनाहरु निर्माण गरिनुपर्ने उनको सुझाव छ ।     

‘‘अधिवेशन चाँडो गरौं भन्ने मेरो कुरा हो तर मैले भनेर मात्रै हुन्न, सभापतिले चाहनुप¥यो । सभापतिले यो वर्ष अधिवेशन नगरेर अर्कोवर्ष अधिवेशन गर्न चाहनुभएको भए निर्णय गरौं,’’ नेता थापाले भने, ‘‘त्यो बेलासम्मका विधानले गरेको अन्तरिम व्यवस्था अनुसार तीन सय ३० वटा प्रदेशको कांग्रेस बनाऔं । गाउँपालिका, नगरपालिका र वडा बनाऔं । सात वटा प्रदेशको कांग्रेस बनाऔं । नेविसंघ, तरुण दल लगायतका सबै भ्रातृ संगठनको संरचना बनाऔं ।’’ 

सबै संरचनाहरुलाई पूर्णता दिइसकेपछि कांग्रेस जनमुखी कार्यक्रम लिएर गाउँ–गाउँ जानुपर्ने उनको भनाइ छ ।  
 

प्रकाशित मिति: मंगलबार, असार ३, २०७६  ११:०१
प्रतिक्रिया दिनुहोस्