काठमाडौं । करिव ७० हजारको हाराहारीमा जनशक्ति रहेको नेपाल प्रहरी यतिबेला निमित्तका भरमा चलेको छ । संगठन प्रमुखदेखि विभिन्न विभाग प्रमुखहरु एकैपटक रिटायर्ड भएर घर गएपछि संगठन निमित्तका भरमा चलेको छ ।
महानिरीक्षकको सचिवालय, प्रशासन विभाग, कार्य विभाग, अपराध अनुसन्धान विभाग, मानव स्रोत विकास विभाग, अन्वेषण योजना विभाग, महानगरीय प्रहरी कार्यालय र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नेतृत्व एआईजीले गर्नुपर्ने हो ।
यी सबै विभागमा प्रमुख रहेर काम गरेकाहरु एकैपटक घर गएपछि अहिले सबै ठाँउ निमित्तका भरमा चलेका छन् ।
यस्तो बेलामा सरकार स्थानीय निकायको निर्वाचन गराउने तयारी गरेको छ । निर्वाचनको अग्रपंक्तिमा रहने नेपाल प्रहरी निमित्त प्रमुखका भरमा चलेको छ ।
संगठनको नियमित कार्य संचालन भएपछि नीतिगत कुरामा भने केही असर परेको छ ।
प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द खनाल भन्छन्, “प्रहरी संगठन सिष्टममा चल्ने हो, निमित्त हुँदा पनि काम त चलेकै छ, केही नीतिगत कुरामा असहज होला, यसो छ भन्दैमा प्रहरीले आफूले गर्ने काम बाँकी राख्दैन ।”
त्यस्तै नेपाल प्रहरीका एक डीआईजीको भने प्रवक्ता खनालले भने,“निमित्तले संगठन चलाउन सक्दैन भन्दै बाहिर जे जति प्रचार भएका छन् त्यो गलत हो, निमित्त आईजीले काम गर्नुभएकै छ । आईजीपी भए पनि फिल्डमा खटिने हैन । उहाँले त नेतृत्व गर्ने हो । हिजोआज केही निणर्य गर्नुपरेमा उहाँले सम्वन्धित दक्ष डीआईजीहरुलाई राखेर छलफल गर्नुहुन्छ, बरु यो काम यसअघि भएको थिएन ।”
उपेन्द्रकान्त अर्यालले अवकाश पाएपछि फागुन २ गते सरकारले प्रहरी नियमावली नै संशोधन गरेर प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेललाई निमित्तको जिम्मेवारी तोकेको थियो ।
सबै विभागमा डीआईजी, को कहाँ ?
उपेन्द्रकान्त अर्यालसँगै सबै एआईजीहरु विदा भएपछि अहिले उनीहरुको ठाँउमा डीआईजीले कमाण्ड सम्मालिरहेका छन् ।
एआईजी नभएपछि सरकारले गएको फागुन ९ गते एआईजीले काम गरेको ठाँउमा डीआईजीलाई खटाएको हो ।
कार्य विभागमा पशुपति उपाध्याय, अपराध अनुसन्धान विभागमा प्रकाश अर्याल, मावन स्रोत विभागमा केशरीराज घिमिरे, अन्वेषण योजना विभागमा गोविन्दप्रसाद निरौला, महानगरीय प्रहरी कार्यालयमा बमबहादुर भण्डारी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा देबेन्द्र सुवेदीलाई जिम्मेवारी दिएको हो ।
आईजीपीको दौडले जिम्मेवारी निमित्तको हातमा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) डीआईजीले कमाण्ड गर्ने ठाँउ भए पनि त्यसको नेतृत्व गरेका डीआईजी नवराज सिलवाल आईजी विवादमा तानिएपछि कार्यालय गएका छैनन् ।
उनले वरिष्ठताका आधारमा आफू नै आईजी हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । त्यसमाथि बहस जारी छ । उनको जिम्मेवारी एसएसपीले समाल्दै आएका छन् ।
ब्युरोमा हाल एसएसपी शेरबहादुर थापाले जिम्मेवारी सम्हालेका छन् । त्यसैगरी डीआईजी जयबहादुर चन्दले सम्हालेको लागुऔषध नियन्त्रण ब्यूरोमा एसएसपी धिरु बस्न्यातले निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
संगठन प्रमुखले गर्नुपर्ने काम निमित्त वा कार्यवाहकले गर्न नपाउने भएकोले कानुनी समस्या भएका कारण नीतिगत रुपमा केही बाधा भने भएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।
उनले बाह्रखरीसँग कुरा गर्दै भने–“निमित्तले आज गरेका कुनै निर्णय भोलि आउने आईजीपीले किन गरिस् भन्यो भने के गर्ने ? त्यसैले निमित्तहरु अनावश्यक विवादमा पर्न पनि सक्छन् ।”