विश्वमा युद्ध अपराधको दाग लागेपछि मुद्दा नचलेका बिरलै उदाहरण छन् । ढिलोछिटो अभियुक्तविरुद्ध मुद्दा चलेकै छन् । पछिल्लोपटक पूर्वमाओवादी कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका भ्रमणबाट फर्केपछि उनीमाथि अब मुद्दा नचल्ने ‘सगुफा’ छाडिरहेका छन् । दाहालमाथि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्नै सक्तैन भन्ने गुड्डी हाँकियो । यिनैले केसम्म भन्न भ्याए भने – ‘दाहाल पाटे बाघ हो कसैले छुनै सक्तैन ।’ मुद्दा चल्नै नसक्ने ठहर र ‘पाटे बाघ’ देख्ने भ्रमबाट यिनलाई मुक्त बनाउने प्रयास यस लेखमा गरिएको छ ।
मानिसलाई भ्रमले एकांगी बनाउँछ । एकपक्षीय बनाउँछ । भुत्ते र हनुमान पनि बनाउँछ । पछिल्लो पटक नेपालमा खासगरी कम्युनिस्ट निकट पेसाकर्मी र कार्यकर्ताहरु यही भ्रमको जालोमा जेलिएका छन् । यस्ता व्यक्तिहरु देश वा विदेश जहाँ बसे पनि जालो बाहिर चियाउन सक्तैनन् । यिनका कार्यकर्ता विभिन्न देशमा बस्छन् । तर, हनुमान जालोभित्र खेल्छन् । अनि सभ्य र सुसंस्कृत विकसित मुलुकमा बसे पनि दाहालको युद्ध अपराधलाई पँखेटाले छोप्ने प्रयास गर्छन् । आफैं बसिरहेको मुलुकजस्तो विकास र उन्नति गर्न नेतालाई सुझाउँदैनन् । ठूला माला बोकेर अझै भ्रष्टाचार, अपराध र दलालीकरण गरेर नेपाल भन्ने मुलुक सिद्ध्याऊ भने झैँ गरेर विमानस्थलमा नेताहरुको घाँटीमा माला भिराइदिन्छन् ।
पछिल्लोपटक दाहालको अमेरिका भ्रमणका क्रममा त्यहीँ बस्ने उनी निकटका कार्यकर्ताले यिनै विषय प्रमाणित गरिदिएका छन् । दाहाललाई भेट्ने कुनैले भन्न सकेनन् – तपाइँ युद्ध अपराधी हो कि होइन ? तपाइँले कामै नगरी पैसा जम्मा गरेको हो कि होइन ? तपाइँले चलाएको युद्धबाट १७ हजार नेपाली मरेका हो कि हैनन् ? तपाईँको नेतृत्वमा मच्चाइएको हिंसामा लाखौं मानिसको उठीवास भएको हो कि होइन ? आफूलाई दोषी मान्नुहुन्छ कि हुन्न ? तर, दाहाललाई थोरैले भेटे । उनकै कार्यकर्ता र दुईशब्द लेख्न जाने झैं गर्नेहरुले भेटे । बाँकी ९८ प्रतिशत नेपालीले उनलाई भेट्नै चाहेनन् । दाहालले एउटा स्वतन्त्र नागरिकलाई भेटेको भए युद्ध अपराध र भ्रष्टाचारभित्र पसेर कहिलेसम्म राजनीति गर्नुहुन्छ भनेर सोध्ने थिए होलान् । किनभने अहिले यही नै सबै नेपालीले जान्न चाहेको विषय हो ।
कसरी चल्छ मुद्दा ?
दाहाल पछिल्लोपटक अमेरिका पुगेपछि उनलाई मुद्दा लाग्ने र पक्राउ पर्ने विषय पुनः चर्चामा आयो । यो सकारात्मक पक्ष हो । धेरैलाई शान्ति सम्झौता भएको १३ वर्ष भइसकेकोले माओवादी हिंसासम्बन्धी मुद्दा अब चल्न सक्तैन भन्ने भ्रम थियो । तर, अन्तर्राष्ट्रिय नजिरहरुले भने मुद्दा चल्न सक्ने आधार बलियो देखाएका छन् ।
दाहाल निकटका केही व्यक्तिले उनीमाथि मुद्दा चल्नै नसक्ने जिकिर गर्दै लेखहरू प्रकाशित गरिरहेका छन् । रोम विधान अनुमोदन नगर्दैमा मानवता विरोधी अपराधमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दै नचल्ने भन्नु अर्धसत्य हो ।
कुनै पनि मुलुकका सर्वोच्च न्यायालयले सम्बोधन गर्न नसकेका मानवताविरोधी अपराधलाई न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा लैजान सकिन्छ । रोम विधानले यसरी मुद्दा चलाउन रोक्तैन । रोम विधानलाई मार्च २०१९ सम्म १२४ देशले अनुमोदन गरेका छन् । ३३ देश अझै अनुमोदनमा सहभागी छैनन् । अनुमोदन नगर्नेहरु बिश्वका शक्तिशालीदेखि अति कमविकसित देशसम्म छन् ।
कुनै पनि देशको सरकारले गम्भीर प्रकृतिका मानवता विरोधी जघन्य अपराधमा संलग्न दोषीलाई कारबाही गर्न चाहेनन् वा सकेनन् भने राष्ट्रसंघको निर्णयअनुसार अन्तर्राष्ट्रिय अदालतले छानबिन गरी दोषीलाई कारबाही गर्न सक्छ । रोम विधान अनुमोदनमा सहभागी नहुने देश अन्तर्राष्ट्रिय न्यायालयको कार्यक्षेत्रमै नपर्ने त होइन ।
युद्धले विश्व तहसनहस भएपछि सन् १९४६ मा राष्ट्रसंघकै अंगका रुपमा अन्तर्राष्ट्रिय अदालत स्थापना गरियो । न्यायका लागि अन्तर्राष्ट्रिय अदालतले विश्वका धेरै आतंककारी र अपराधीलाई कठघरामा उभ्याइसकेको छ । खासगरी बीसौं शताब्दीमा धेरै शासक यस अदालतको कारबाहीमा परिसकेका छन् ।
भन्ने गरिन्छ – ‘‘दाहालले त शान्ति सम्झौतामा हस्ताक्षर गरिसकेका छन् । अब उनि युद्ध अपराधी रहेनन् ।’’ यस भ्रमका विषयमा पनि स्पष्ट होऊँ । दाहालले हस्ताक्षर गरेको शान्ति सम्झौता राजनीतिक लिखतमात्र हो । यसमा युद्ध अपराधीलाई कारबाही नगर्ने भन्ने उल्लेख गरिएको छैन । नेपालभित्रकै शक्तिलाई मिलाउन सरकार र युद्ध पक्षरत मिलेर सत्य निरुपण तथा मेलमिलाप आयोग बनाइयो । यो आयोगको काम स्थानीयस्तरमा देखिने पूर्वाग्रह र द्वन्द्व समाधान गर्नु थियो । तर, युद्धको कमान्ड सम्हालेका दाहालको विषयलाई यस आयोगले सम्बोधन गर्दैैन । किनभने युद्ध सञ्चालन गर्ने प्रमुख व्यक्ति दाहाल भएकोले यस मुद्दाको छिनोफानो अन्तर्राष्ट्रिय अदालतबाटै हुनसक्छ । सायद, दाहालको विषय उल्लेख नगर्नुको कारण यसलाई अन्तर्राष्ट्रिय अदालतका लागि छाडिएको हो ।
र अन्त्यमा,
दाहालको नेतृत्वमा भएको ‘जनयुद्ध’को अन्त्यतिर २०६२ सालतिर शिविरमा लडाकुको संख्या बढाउन करिब ३० हजार बालबालिकालाई जबर्जस्ती भर्ति गरेका थिए । तीमध्येका एक जना बाललडाकु हुन् १२ वर्षीय लेनिन विष्ट । उनलाई त्यस उमेरमा राजनीतिक ज्ञान थिएन । दाहालहरुको चंगुलमा फस्दा उनलाई जर्बजस्ती हतियार भिराइएको थियो । उनी अहिले आफू र आफूजस्तै बालबालिका जर्बजस्ती कसरी युद्धमा सहभागी गरियो भन्ने बारेमा जानकारी दिन र विश्वमा बालबालिकालाई युद्धमा कसरी सामेल गरिन्छ भन्ने विषयमा अध्ययन गर्न नेदरल्यान्डस्को हेग सहरमा पुगिसकेका छन् । उनी त्यहाँ विश्वभरका द्वन्द्व प्रभावित क्षेत्रका विज्ञ र पीडितहरुसँग परामर्शमा जुटिसकेका छन् ।
टेलिफोन कुराकानीमा उनले यस पंक्तिकारसँग भनेका छन् – ‘‘हामीलाई जबर्जस्ती युद्धमा लगाउने दाहाललाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउन अब कुनै समस्या छैन । ढिलोछिटो दाहालविरुद्ध मुद्धा चल्छ ।’’ उनले त्यहाँ द्वन्द्वसम्बन्धी मुद्दा हेर्ने वकिलहरुसँग परामर्श गरिरहेका छन् । रोम विधानमा सहभागी नहुने राष्ट्रका विषयमा मुद्दा नचल्ने भन्नु भ्रममात्र भएको विष्टले वकिलहरुको भनाइ उद्धृत गर्दै भनेका छन् ।
सन् २००९ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतका तत्कालीन अध्यक्ष सांग ह्युन सगले नेपाल भ्रमण गरेका थिए । उनले दाहालको विषयमा मुद्दा चल्नै नसक्ने दाबी गरेका थिएनन् । फेरि त्यति बेला नेपाल शान्ति प्रक्रियाकै चरणमो थियो । राष्ट्रसंघले यसलाई भत्काउन चाहेको थिएन । राष्ट्रसंघको मिसन अनमिनकै पहल र रोहबरमा शान्ति सम्झौता भएको थियो । दक्षिण कोरियाली वकिल तत्कालीन अध्यक्ष सांगले नेपालसँगको सम्बन्धमा तीतोपन ल्याउन चाहेका थिएनन् । उनको भ्रमण त्यतिबेला शान्ति प्रक्रियाको बारेमा जानकारी लिनुजस्तै थियो । रोम विधान अनुमोदनमा सहभागी नहुँदैमा सम्बन्धित देशका युद्ध अपराधीविरुद्ध मुद्दा चल्न सक्तैन भन्नु सत्य होइन ।
यतिबेला दाहालले एउटा रणनीति अपनाएको देखिन्छ । त्यो हो – युद्ध अपराधबाट जोगिन तत्कालीन माओवादी हिंसाका घनघोर विरोधी अर्का कम्युनिष्ट नेता केपी ओलीको संरक्षण पाइरहने । ओली अहिले नेपालको प्रधानमन्त्रीसमेत भएकोले उनको साथ पाएसम्म मुद्दा चल्न नसक्नेमा दाहाल ढुक्क देखिन्छन् । यही स्वार्थमा बाँचेका दाहालले ओलीको कमजोर सरकार सञ्चालनको विरोध नगरेका हुन् ।
एकातिर पार्टीको शक्ति आफ्नो हातमा लिन र अर्कोतिर युद्ध अपराधबाट उम्किन दाहालले ओलीको ओत खोजेका थिए । ओतमा अहिले उनी पानीमाथि ओभानो बनिरहेका छन् । युद्ध अपराधको दोषबाट मुक्ति दिलाउन पार्टी स्वार्थलाई जीवित तुल्याउन ओली पनि दाहाललाई ‘सुनपानी छर्केर’ चोख्याउने दाउमा लागेका छन् । न ओलीको ओतले दाहालको ‘युद्ध अपराध’ मोचन हुसक्छ, न सुनपानीको छिटाले दाहाललाई चोख्याउन सक्छ । विश्वका कुनै पनि मानवता विरोधी अपराधीलाई कसैको ओत र आडले संरक्षण गरेको इतिहास छैन ।