काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ महिना बितिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन ।
यसबीचमा प्रहरीले शंकास्पद अभियुक्तको रुपमा दिलिपसिंह विष्ट, चक्र बडु, प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ नै गर्यो । प्रहरीको भनाइलाई आधार मान्ने हो भने पक्राउ परेका बडुको बयान शंकास्पद र आफैंमा विवादित थियो भने प्रदीप, विशाल र दीलिपले अभियोग स्वीकार गरेका थिए ।
उनीहरुले अभियोग स्वीकार त गरे तर निर्मलाको शरीरबाट निकालिएको ‘भेजिनल स्वाब’सँग उनीहरुको डीएनए मेल खाएन । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले केहीले अपराध स्वीकार गर्ने तर डीएनए नमिल्ने गरेको बताएका थिए । प्रश्न उठ्छ– अपराध स्वीकार गर्नेको डीएनए किन मिल्दैन ? निर्मला हत्या प्रकरणमा सकसमा रहेको प्रहरीभित्र पछिल्लो समय डीएनएबारे फरक–फरक तर व्यक्तिगत धारणा चर्चामा छन् ।
प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी अभियुक्तको डीएनए नै अन्तिम कुरा नभएको दाबी गर्छन् । ‘‘घटनासँग मिल्ने अन्य प्रमाणका आधारमा पनि अनुसन्धान अगाडि बढ्छ । डीएनए नै सबै कुरा भने होइन,’’ सुवेदीले भने । निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’बाट डीएनए परीक्षणका लागि प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा भएको थियो । जसबाट निर्मलाको बलात्कार एकजनाबाट मात्रै भएको देखिन्छ ।
राष्ट्रिय विधिविज्ञान प्रयोशाला नाष्टका डीएनए विज्ञ जीवन रिजाल डीएनए नै अचूक प्रमाण भएको दाबी गर्छन् । उनले भने, ‘‘डीएनए विज्ञानबाट पुष्टि भएको कुरा हो । विज्ञानलाई मान्दिन भन्न पाइन्न ।’’ प्रहरीका अनुसार निर्मलाको योनीबाट महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले भेजिनल स्वाब झिकेका थिए । त्यही संकलित स्वाबलाई प्रहरीले काठमाडौंस्थित आफ्नो ल्याबमा पठाएको थियो । चिकित्सकको टोलीले योनीको बाहिरी, मध्य र भित्री भाग गरी तीन लेयरबाट स्वाब संकलन गरेका थिए । त्यसमध्ये बाहिरी भागको लेयर पानीले पखालिएका कारण कुनै क्यारेक्टर नभेटिएको प्रहरी स्रोत बताउँछ । मध्य र भित्रि भागमा परीक्षण गर्दा मध्य भागको लेयरमा १२ वटा डीएनएको क्यारेक्टर र भित्री भागको लेयरमा १५ वटा क्यारेक्टर भेटिएको प्रहरी स्रोत बताएको छ । भित्रि भागको १५ क्यारेक्टरमा कसैको ९ भन्दा बढी त कसैको ३ देखि ५ क्यारेक्टर मेल खाएको थियो ।
नाष्टका वैज्ञानिक जीवन रिजाल डीएनए शतप्रतिशत नै मिल्नुपर्ने बताउँछन् । निर्मलाको शरीरबाट स्वाब संकलन र परीक्षणमा चिकित्सक र प्रहरीको विधिविज्ञान प्रयोगशालामा केही कमजोरी त भएन कि भन्ने चर्चा पनि प्रहरीभित्रै छ । ‘‘यो प्राविधिक कुरा हो । आम मान्छेले यसलाई बुझ्न सक्दैनन् । विज्ञहरुले मात्रै यसबारे बताउन सक्छन्,’’ रिजालले भने । कतिपय अवस्थामा मानवीय त्रुटिका कारण पनि डीएनएको रिपोर्ट नमिल्न सक्ने तर त्यसलाई पटक–पटक परीक्षण गर्नुुपर्ने विज्ञको सुझाव छ । निर्मलाको योनीबाट निकालिएको भेजिनल स्वाब परीक्षण गरिएको ‘इलोक्ट्रोफेरोग्राम’ आवश्यक परेको अवस्थामा अन्य स्वतन्त्र प्रयोगशालामा पनि पठाउनुपर्ने अवस्था रहेको विज्ञको सुझाव छ ।
‘‘यो घटना संवेदनशील छ । यस्तो बेला प्रहरी र सरोकारवाला निकाय ‘इलोक्ट्रोफेरोग्राम’ चेकजाँचका लागि अन्य निकायमा पठाउन तयार हुनुपर्छ । नत्र सरकारले विज्ञ समूह गठन गरेर यसको निक्र्योल गर्न पनि सक्छ,’’ रिजालले भने ।
कैयौं घटनामा सुरुमा डीएनए एक प्रयोशालामा परीक्षण गर्दा नमिलेको र अन्यत्र गर्दा मिलेको पाइएको विज्ञको अनुभव छ । प्रहरी स्रोतका अनुसार निर्मला पन्तको भजाइनल स्वाबमा भेटिएको डिएनए र अन्य परीक्षणका लागि पठाइएका सबै जनाको डीएनए नमिलेको भन्ने निष्कर्ष प्रहरी प्रयोगशालाको मात्रै हो । एक अधिकारी भन्छन्, ‘‘शंकास्पद व्यक्तिको डीएनए र अपराध भएको ठाउँमा संकलन भएका दुवै डीएनए जाँच र अन्तिम निष्कर्षका लागि नास्ट पठाउनुपथ्र्यो । नास्टले दुवै डीएनएको परीक्षण गरेर मिले–नमिलेको निष्कर्ष सहितको प्रतिवेदन वा रिपोर्ट तयार पार्दा अझै विश्वसनीय हुनसक्थ्यो ।’’ प्रहरीले निर्मला बलात्कार तथा हत्या प्रकरणमा शंकास्पदको डीएनए मात्र परीक्षणका लागि नास्ट पठाए पनि भजाइनल स्वाबको नमुना पठाएको थिएन ।
प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदी डीएनए र स्वाबसँग सम्बन्धित सबै प्रमाण सुरक्षित रहेको र अदालतको आदेश भए अन्यत्र पनि परीक्षणका लागि पठाउन सकिने बताउँछन् ।