काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (सोमबार) ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस देशव्यापी रुपमा मनाएको छ । संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले देशव्यापी रुपमा मेलमिलाप दिवस मनाएका हो ।
उनी आठ वर्ष लामो निर्वासन अन्त्य गरेर वि.सं. २०३३ साल पुस १६ गते साथै गणेशमान सिंह र अन्य शीर्ष नेताहरुका साथ मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ ।
कांग्रेसको हालै सम्पन्न महासमिति बैठकमा सभापति शेरबहादुर देउवाले मेलमिलाप दिवसको अवसरमा विविध कार्यक्रमका साथ मेलमिलाप दिवस मनाउँदै संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन निर्देशन पनि दिएका थिए । दिवसका अवसरमा कांग्रेसले आमसभा, गोष्ठी, र्याली, कोणसभा लगायतका कार्यक्रम गरिएको जनाएको छ ।
कार्यक्रमका लागि देशका ७७ वटै जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको थियो । जसअनुसार सभापति देउवा काठमाडौंमा, वरिष्ठ नेता रामचन्द्र पौडेल गोरखा, उपसभापति विमलेन्द्र निधि सिरहा, महामन्त्री पूर्णबहादुर खड्का कास्की र सहमहामन्त्री डा. प्रकाशशरण महत मोरङमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
कांग्रेसमा तेस्रो धारको नेतृत्व गर्दै आएका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला गृहजिल्ला झापा केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएका थिए । युवा नेता गगनकुमार थापालाई जुम्ला खटाइएको भए पनि उनी काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएका छन् ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर सोमबार कांग्रेस काठमाडौंले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले प्रजातन्त्रको रक्षाका लागि कांग्रेसले जनतासँग राष्ट्रिय एकता र मेलमिलाप गर्न चाहेको बताए ।
‘‘राष्ट्रिय एकता र प्रजातन्त्रको खिलापमा हामी कहिँ पनि जान सक्दैनौं । प्रजातन्त्रको पक्षमा राष्ट्रिय एकता कायम गर्न कांग्रेसले अब जनतासँग मेलमिलाप गर्न चाहन्छौं, एकता गर्न चाहन्छौं,’’ उनले ने क पा नेतृत्वको सरकार मुलुकमा तानाशाह लाद्ने प्रयास गरिरहेको दाबी गर्दै भने, ‘‘जनताको अधिकार हनन् भइरहेका छन् । कर्मचारीका अधिकार खोसिदैछन् । त्यस कारण अब हामी सबै एक हुनुपर्छ ।’’
आफू प्रधानमन्त्री हुँदाको पूर्ववर्ती सरकारले ल्याएको कर्मचारी सम्बन्धी ऐनलाई सरकारले कर्मचारी संयन्त्रलाई आफ्नो नियन्त्रणमा राख्नका लागि तोडमरोड गरेको सभापति देउवाले आरोप लगाए । ‘‘अस्ति मैले प्रधानमन्त्री हुँदा कर्मचारीको हकहितका लागि ल्याएको ऐन तोडमरोड गरेर सरकार कर्मचारीतन्त्रमा नियन्त्रण गर्न चाहन्छ,’’ उनले भने, ‘‘ब्युरोक्रेसीमा कम्प्लिट कन्ट्रोल गर्न चाहन्छ । आज ब्यूरोक्रेसीलाई कम्प्लिट कन्ट्रोल गररे सरकारले उनीहरुलाई भोली पार्टीको कन्ट्रोलमा लैजान खोजी रहेको छ ।’’
सरकार स्वेच्छाचारी रुपमा अगाडि बढेको र उसले मेलमिलाप गर्नै नचाहेको जिकिर गर्दै सभापति देउवाले कांग्रेसले कर्मचारी र सुरक्षा संयन्त्रलाई कहिल्यै पनि आफ्नो पार्टी प्रति वफादार बनाउन नचाहेको स्पष्ट पारे । ‘‘कमिटेड ब्युरोक्रेसी, कमिटेड पुलिस, कमिटेड आर्मी हामी बनाउन चाहँदैनौं,’’ वर्तमान सरकारले कर्मचारीको भावना विपरित अध्यादेश ल्याएको प्रति ईंगित गर्दै उनले भने, ‘‘तर आज सरकारले कर्मचारीलाई नियन्त्रण गर्न अध्यादेश ल्याएको छ । उसले गर्न खोजेको हस्तक्षेपले देशमा फेरि नेपाली जनताले आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ ।’’
कांग्रेसका संस्थापन नेता वीपीको मेलमिलाप नीतिको सान्दर्भिकता आगामी दिनमा पनि उत्तिकै महत्वपूर्ण हुने भन्दै देउवाले परिस्थिति अनुसार देशको राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । उनले राष्ट्रिय एकताका लागि एक–आपसमा मेलमिलाप हुनु अत्यन्त जरुरी रहेको जिकिर गरे ।
गोरखा पुगेका वरिष्ठ नेता पौडेलले नेपालका कम्युनिष्टहरु सिद्धान्तमा अझै ‘कन्फ्यूज’ रहेको बताए । उनले सत्तारुढ पार्टीका नेताहरु अहिले पनि समाजवाद कि जनवाद भनेर रुमल्लिरहेको दाबी गरे ।
‘‘अहिले पनि केपी ओली जनवाद भनेर भन्दै हुनुहुन्छ अनि प्रचण्ड चाँही समाजवाद भन्दै हुनुहुन्छ । उहाँहरु अझै पनि सिद्धान्तमा कन्फ्यूज हुनुहुन्छ’’ उनले भने । सिद्धान्तमा नै ‘कन्फ्यूज’ भएको शक्तिले मुलुकमा समृद्धि ल्याउन नसक्ने नेता पौडेलले दाबी गरे । कम्युनिष्टहरुको सिद्धान्तको टुंगो नलागेका कारण कम्युनिष्ट नेतृत्वको सरकार गतिहिन बनेको उनको भनाइ थियो ।
नेपालका कम्युनिष्टहरु नारा लगाउन सिपालु भएको बताउदै पौडेलले भने, ‘‘कम्युनिष्टहरु थुतुनो चलाउन सिपालु छन् । काम गर्ने ढंग छैन् । त्यसकारण मुलुकको समृद्धिका लागि फेरि पनि नेपाली कांग्रेसले नै नेतृत्व लिनुपर्छ ।’’ सरकारले आफ्नो कामको प्राथमिकता छुट्याउन नसकेको आरोप लगाउदै उनले देशभर कांग्रेसका पालामा बनेको कच्ची सडकलाई पिच गर्न समेत नसक्ने सरकारले समृद्धि ल्याउँछ भन्ने कल्पना गर्न नसकिने टिप्पणी गरे ।
सुशासनको चर्को भाषण गर्ने केपी ओली नेतृत्वको सरकार काण्डै–काण्डमा फसेको जिकिर गर्दै पौडेलले भने, ‘‘वर्तमान सरकार वाइडवडी काण्ड, सुन काण्ड, चिनी काण्डलगायतका काण्डै–काण्डमा मुछिएको छ ।’’
काठमाडौंको कार्यक्रममा युवा नेता गगन थापाले राप्रपाका अध्यक्ष कमल थापालाई नेपालको राष्ट्रियताका बारेमा कांग्रेसलाई नसिकाउन सचेत गराएका छन् । उनले मण्डलेको संज्ञा दिँदै कांग्रेसलाई मुलुकको राष्ट्रियताका बारेमा नसिकाउन सचेत गराएका हुन् ।
वि.सं. २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला मेलमिलापको नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा राप्रपाले मेलमिलाप दिवस मनाएर कांग्रेसलाई गिज्याएको उनले दाबी गरे । ‘‘आज अर्को मञ्चमा कमल थापाले राष्ट्रिय मेलमिलाप दिवस मनाउँदै छन् । त्यो कांग्रेसलाई गिज्याएको हो,’’ कांग्रेस नेता थापाले राप्रपाले मनाइरहेको मेलमिलाप दिवसप्रति आपत्ति जनाउँदै भने, ‘‘कुनै पूर्वमण्डलले नेपाली कांग्रेसलाई नेपालको राष्ट्रियता जोगाउने कसरी भनेर सिकाउनु पर्दैन ।’’
कांग्रेसका संस्थापन नेता वीपी कोइरालाले जीवनभर मण्डले प्रवृतिसँग जुध्नु परेको स्मरण गर्दै नेता थापाले भने, ‘‘जसको पार्टीको नेता जीवनपर्यन्त त्यही मण्डले प्रवृतिसँग जुध्नु पर्यो । जसको कारणले पार्टीका कैयन नेताहरुले आफ्नो यौवन जेलमा विताउनु पर्यो । जसका कारणले गर्दा आज पार्टीले एतिहासिक अवसर गुमाउनु पर्यो, त्यही पात्र र प्रवृति हाम्रा बीचका बैचारिक अलमलहरुको कारणले गर्दा कहिले काँही हामीहरुलाई अलमल्याउने काम गर्छन ।’’
२०१५ सालको वीपी कोइरालाको सरकार स्थायी हुन नसकेका कारण ६० वर्षको संसदीय प्रजातन्त्रको इतिहासलाई अहिले कांग्रेस गर्व गर्नबाट वञ्चित भएको उनको भनाइ थियो ।
कांग्रेसलाई उक्त एतिहासिक अवसरबाट वञ्चित गराउन भूमिका निर्वाह गर्ने पात्र र प्रवृतिले कांग्रेसका नेताहरुका बीचमा देखिएको बैचारिक अलमलहरुको फाइदा उठाउँदै कांग्रेसलाई अलमल्याउने काम गरिरहेको थापाले दाबी गरे ।