site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा तेस्रो समूह फेरि सक्रिय, सिटौला भन्छन्– महाधिवेशनको मिति तय भएपछि फेरि बोल्छु

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक सम्पन्न भएको एक साता नपुग्दै पार्टीभित्र तेस्रो धारका रुपमा चित्रित हुँदै आएको कृष्ण सिटौला समूह फेरि गुटगत राजनीतिमा सक्रिय हुन थालेको छ । १३ औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाले बिहीबार आफू निकटका नेताहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरेर कांग्रेसमा तेस्रो धार यथावत् रहेको सन्देश दिएका छन् । 

युवा नेता गगन थापा र उमाकान्त चौधरी दायाँ–बायाँ राखेर गरिएको पत्रकार सम्मेलनमा उनले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच महासमिति बैठकमा एकता भए पनि आफूले दुवै जनालाई नेतृत्वका रुपमा स्वीकार गर्न नसक्ने दोहोर्याए । 

‘‘कुर्सीलाई नमान्ने भन्ने कुरा होइन, उहाँहरुलाई सभापति र वरिष्ठ नेता मानेकै छु । नेतृत्वको बारेमा मेरो आफ्नो परिभाषा छ । त्यो परिभाषा भित्र उहाँहरु दुवैजना पर्नुहुन्न,’’ उनले भने, ‘‘दुवै जनालाई नेतृत्वका रुपमा नदेखेपछि यसअघि सभापतिमा उमेदवारी दिएको हुँ । अब १४ औं महाधिवेशनको मिति तय भएपछि यो बारेमा फेरि बोल्छु ।’’

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महासमिति बैठकको समापनमा देखिएको एकतातर्फ लक्षित गरेर नेता सिटौलालले अनुहार हेरेर एकता नहुने टिप्पणी गरे । उनले पार्टीमा एकता कायम हुन पार्टी एकता सिद्धान्त, नीति, आचरण, व्यवहारमा परिवर्तन हुन जरुरी रहेको जिकिर गरे । ‘‘अनुहार हेरेर एकता हुन्न नि, सिद्धान्तले एकता हुनुपर्यो, भावनाले एकता हुनुपर्यो । व्यवहारमा सबैका भावना बटुल्न सक्नुपर्यो । आचरणमा एकता हुनुपर्यो । तब न एकता हुन्छ,’’ सिटौलाले भने । 

महासमितिको समापन समारोहमा सभापति देउवा र वरिष्ठ नेता पौडेलबीचको ‘डिप लभ’ कस्तो हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसका बारेमा आफूलाई प्रश्न नगर्न आग्रह गरे । ‘‘लभमा लस्ट भयो भने त्यो सकियो । उहाँहरुको लभमा लस्ट जोडिएको छ कि के, उहाँहरुलाई सोध्नु नि एक ताल,’’ उनले थपे, ‘‘लभ पर्छ उहाँहरुका बीचमा, सोध्नु हुन्छ हामीलाई !’’   
उनले महासमिति बैठकले ल्याएको पार्टीको विधान आफैंमा उपलब्धि भएको दाबी गरे । आगामी महाधिवशेनबाट निर्वाचित हुने नयाँ कार्यसमितिपछि कांग्रेसले नयाँ ढंगबाट गति लिने सिटौलाको भनाइ थियो । 

सरकार अधिनायकवादतर्फ उन्मुख भएको दाबी गर्दै उनले ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतानित्रक सीमा नाघ्न खोजेको आरोप लगाए । प्रचण्डले बुधबार संघीय संसद्को हिउँदे अधिवेशनमा राखेको मन्तव्य स्मरण गर्दै सिटौलाले भने, ‘‘सरकार अधिनायकवादको बाटोमा जाँदैछ भन्ने सन्देश हिजो प्रचण्डले संसद्मा राखेको धारणा हो । प्रचण्डले लोकतान्त्रिक सीमा मिचे । यो उनको ठूलो गल्ती हो ।’’ 

ने क पाका अध्यक्ष प्रचण्डले संघीय संसद्मा डेमोक्रेटिक सरकार भएकाले छिटो विकास गर्न नसकिएको दाबी गर्दै कम्युनिस्ट सरकार भए ‘ड्याम–ड्याम’ निर्णय गरेर विकास गर्न सकिने आशय व्यक्त गरेका थिए । सरकारले लोकतान्त्रिक सीमा नाघ्न खोजे कांग्रेसले त्यसका विरुद्ध संसद र संसदबाहिर जनमत सिर्जना गर्ने कांग्रेस नेता सिटौलाको भनाइ थियो । 

पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य गगन थापाले गुटबिनाको पार्टीको कल्पना नै गर्न नसकिने बताए । गुटबिनाको पार्टीको कल्पना ‘हावादारी गफ’ मात्रै भएको टिप्पणी उनले गरे । 

सभापति शेरबहादुर देउवाले महासमिति बैठकको समापनमा पार्टीीभत्र गुट–उपगुट नभएको दाबी गरेको सन्दर्भ स्मरण गर्दै उनले भने, “द्वन्द्व नभएको कुनै पार्टी हुन्छ र ? द्वन्द्व भइसकेपछि गुट नभएको, समूह नभएको पार्टी हुन्छ र ? हुँदै हुँदैन । गुट निरपेक्ष पार्टी, गुटबाट मुक्त पार्टी, समूहहरु नभएको पार्टी भन्ने कुरा हवादारी कुरा हो ।’’

प्रकाशित मिति: बिहीबार, पुस १२, २०७५  १३:२५
प्रतिक्रिया दिनुहोस्