site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा–पौडेल सम्बन्ध : बोलचालका लागि पनि मध्यस्थकर्ता

काठमाडौं । मंसिर २९ गते नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन समारोहमा उपसभापति विजयकुमार गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई एकसाथ हात उचालेर कार्यकर्तामाझ एकताको सन्देश दिन आग्रह गरे । देउवा र पौडेलले वास्ता गरेनन् । गच्छदारले अत्तिनै कर गरेपछि सभापति देउवाले उठेर हात हल्लाए । एकसाथ उठेर हात उचाल्न गच्छदारले गरेको आग्रहलाई पौडेलले बेवास्ता गरे । उनी उठ्नै मानेनन् । गच्छदारले फेरि कर गरेपछि पौडेल एक्लै उठेर हाल हल्लाए । 

गच्छदारको आग्रहसँगै महासमिति सदस्यहरुले पनि एकताको सन्देशका लागि आग्रह गरे । तैपनि नेताहरु उठेनन् । अन्ततः उपसभापति विमलेन्द्र निधिले देउवा र पौडेललाई हात समातेर उठाए । अनिमात्रै दुवै नेताले एकै समयमा उठेर हाल माथि उचालेर एकताको सन्देश दिन खोजे । एकताको सन्देश दिन हात उचाले पनि गच्छदारपछि उद्घाटन समारोहमा बोलेका नेता पौडेलले हात उचालेर एकता हुनेमा आफू विश्वस्त नभएको स्पष्ट पार्न खोजे । 

‘‘हात उचालेर एकता हुँदैन । एकता सच्चा र ठोस हुनुपर्छ । एकता कमजोरी हटाउनेतर्फ उन्मुख हुनुपर्छ । एकतावद्ध हुन एकताका आधारहरु खोज्नुपर्छ । न्याय, निष्पक्षता र पारदर्शिताबाट अगाडि जानुपर्छ,’’ उनले भने । 

महासमिति बैठक शुरु भएको तीन दिनपछि सोमबार बन्दसत्र चलिरहेको बैठकस्थलको मञ्चमा रहेको सोफामा सभापति देउवा बसेका थिए । उनको दायाँपट्टी पौडेल थिए । बैठक शुरु भएको झण्डै डेढ घण्टासम्म दुवै नेताले एक–अर्काको अनुहारसमेत हेरेनन् । 

देउवाको ठिक पछाडि बसेका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना यो दृष्य नियालिरहेका थिए । उनलाई दुई नेताहरुले एक–अर्काको अनुहारसम्म नहेरेको दृष्य हेरिरहँदा थकथक लाग्यो र पछाडिबाट दुवैको मध्य भागबाट भने, ‘‘यत्रा नेता–कार्यकर्ताहरु हेरिरहनुभएको छ । विभिन्न माध्यमहरुबाट अन्तर्राष्ट्रिय जगतले पनि महासमिति बैठक नियालिरहेको छ । तपाइँहरुले यसरी बसिरहेको देख्दा के म्यासेज जान्छ ? कम्तीमा बोलचाल त गर्नुस् । हाँस्नुस् मनमा जेसुकै भए पनि’’

उनको कुराले पौडेललाई छोयो–छोएन, थाहा भएन । तर, सभापति देउवाले भने पछाडि फर्केर पौडेलका बारेमा नानाभाँती भनिरहे । ढुंगानासँग कुरा गरिरहँदा उनको नजर छेउमै बसेका युवा नेता प्रदीप पौडेलमा पुगेछ । सभापति देउवाले नेता पौडेललाई आफ्नै शैलीमा भने, ‘‘भाइ पनि ५ भोटले हारेको होइन ? अब मैले हो त तिमीलाई चुनाव हराएको ? खाली हुँदै नभएको आरोप लगाउन मिल्छ यार ?’’ 

युवा नेता पौडेललाई यति भनिसकेपछि सभापति देउवाले आफू र वरिष्ठ नेता पौडेलका बीचमा सहमति जुटाउनका लागि भूमिका निर्वाह गर्ने जिम्मा केन्द्रीय सदस्य ढुंगानालाई नै सुम्पे, ‘‘ल, तपाईं नै हाम्रो बीचमा सहमति गराइदिनुस् ।’’

सोमबार बसेको कांग्रेसका शीर्ष नेताको अनौपचारिक बैठकमा महामन्त्री पूर्णबहादुर खड्का यसरी कड्किए, “रामचन्द्र दाइ खबरदार ! पार्टीमा फरक मत लिएर जाने प्रयास गर्नुभयो भने म महासमिति बैठकमा विधान पेस गर्दिनँ । जसलाई पढ्न लगाउनुहुन्छ, लगाउनुस् । किशुनजीबाट प्रशिक्षित कार्यकर्ता हुँ, यत्तिको राजनीति मैले पनि बुझेको छु । फरक मतको खेलोमा लागेर पदाधिकारी थपेर सभापति बन्ने सपना देख्नुभएको छ भने याद गर्नुस्, तपाईं कुन पार्टीको सभापति बन्ने हो ? सभापति बन्ने लोभमा लाग्दा पार्टी नै नरहला !”

उनी त्यतिमा रोकिएनन्, “पदाधिकारीमा फरक मत लिएर गुट जोगाउन वा लोकप्रिय बन्न खोज्नुभएको हो भने आधा महासमिति सदस्यले हिन्दू राष्ट्रको पक्षमा हस्ताक्षर गरेका छन् । त्यो फरक मत महासमिति बैठकमा पेस भयो भने पार्टी र देशको संविधान कहाँ पुग्छ ? त्यसपछि हुने दुर्घटनाको जिम्मा तपाईंले लिने हो ?”

महामन्त्री खड्काले चर्को स्वरमा कड्किएर यसो भन्दै गर्दा वरिष्ठ नेता पौडेल भने केही बोलेनन् । केहीबेरको मौनतापछि उनले भने, ‘‘त्यसो होइन, मैले त सहमहामन्त्री समावेशी बनाउ मात्रै भनेको हो । अरु केही होइन ।” 

त्यो लगत्तै सभापति देउवाले वरिष्ठ नेता पौडेललाई घरिघरि कुरा नफेर्न र पहिले आफ्नो समूहका नेताहरुका बीचमा सहमति गरेर आउन आग्रह गरे । नेता पौडेलले आइतबार पदाधिकारीका सम्बन्धमा भएको मौखिक सहमतिमा कुरा फेरेको भन्दै देउवाले यस्तो भनेका थिए ।

सभापति देउवाले एक–आपसमा लड्नु पार्टी हितमा नभएकाले मिल्नुको विकल्प नभएको बैठकमा बताएका छन् । ‘‘हामी धेरै लडेर फाइदा छैन । सहमति गरेर एउटा निर्णयमा पुग्नैपर्छ,” देउवाले सोमबार राति बसेको केन्द्रीय समिति बैठकमा पौडेलसँग भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो । 

मंगलबार दिउँसो विधानमा सहमति नजुटेपछि सभापति देउवा संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा आफ्नो गाडी नजिक पुग्दै गर्दा नेताहरुबाट घेरिए । उनलाई केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू भनिरहेका थिए, ‘‘सभापतिज्यू तपाईं एक्लै महासमिति बैठकमा नजानुस् । यता टुंग्याएर सबै जना एकसाथ जानुपर्छ ।’’ 
देउवाले प्रत्युउत्तरमा भने– जान्न । 

बडू र देउवाबीच कुरा हुँदै गर्दा नजिकै रहेका नेता ढुंगाना भन्दै कड्किँदै थिए, ‘‘‘किन बढी नाटक गर्नु ? कांग्रेस त्यसै बनेको हो ? मान्छे मरेका छन् । हिन्दूस्थानमा गोली खाएका छन् । यहाँ हामी नाटक गर्न आएको हो र ? अब हामी ठूलो मान्छे भयौँ ?’’

उनले त्यसो भनिरहँदा नजिकै उभिएका चन्द्र भण्डारी, एनपी साउद लगायतका नेता माझबाट आवाज आयो, ‘‘मिडिया अगाडि छन् ।’’ 

अर्का एक नेताले लगत्तै भने ‘‘सबै कुरा प्रष्ट भएको थियो । लुकाउने कुरा के छ र ?’ ती नेताले मिडियाका सामु अब लुकाउनु पर्ने कुरो केही नभएको बताइरहँदा देउवा पनि हो मा हो मिलाइरहेका थिए । ‘‘हो हो, अब लुकाउने कुरा केही छैन,’’ उनले भने ।  

यति भनेर देउवा आफ्नो गाडीमा चढे । ढोका बन्द भएको थिएन । केन्द्रीय सदस्य ढुंगाना त्यही पुगेर भने, ‘‘एक्लै बैठक स्थलमा जाँदै नजानुस् ।’’ देउवाले उत्तर दिए, ‘‘हुन्छ, म जान्न ।’’ देउवा संसदीय दलको कार्यालयबाट बाहिरिए ।


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ५, २०७५  ११:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro