site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
चीन–जापान उड्ने ठेगान छैन, स्टेसन खोल्न अनुमति

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम सञ्चालक समितिले जापानको ओशाका र चीनको ग्वान्झाओमा ‘स्टेसन’ खोल्न व्यवस्थापनलाई अनुमति दिने निर्णय गरेको छ ।

निगम व्यवस्थापनले ती दुवै गन्तव्यमा आफूसँग रहेका दुईथान ठूलो (वाइड बडी) आकारका ‘ए३३०–२००’ सिरिजका जहाजबाट उडान गर्ने योजना बनाएको छ । तर, दुवै गन्तव्यबाट उडान अनुमति आउनुअघि नै सञ्चालक समितिले स्टेसन खोल्न अनुमति दिने निर्णय गरेको हो ।

“ओशाका र ग्वान्झाओमा उडान अनुमति लिने प्रक्रिया चल्दै गर्छ, स्टेसन खोल्ने काम पनि गर्नुप¥यो नि,” निगम सञ्चालक समितिका एक सदस्यले बुधबार बाह्रखरीसँग भने, “उडान सञ्चालनका पूर्वतयारी गर्न र कर्मचारी ती दुई ठाउँ पठाउनका लागि स्टेसन खोल्न अनुमति दिने निर्णय गरेका हौं ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चीनको ग्वान्झाओमा नयाँ स्टेसन खोल्ने निर्णय भएको तथा जापानको ओशाकामा भने पुनः स्टेसन खोल्ने निर्णय भएको ती सदस्यले जानकारी दिए । ग्वान्झाओमा निगमले हालसम्म उडान ‘स्लट’ पाउन सकेको छैन भने ओशाकामा पुरानै स्टेसनलाई सञ्चालन गर्न लागिएको हो । विगतमा ओशाका उडान गरेको र केही अवधिपछि उडान बन्द भएपछि त्यहाँको स्टेसन पनि बन्द गरिएको थियो । 

निगम व्यवस्थापनले आगामी माघ दोस्रो सातादेखि फागुन दोस्रो साताभित्र जापानको ओशाका तथा फागुन तेस्रो साताभित्र चीनका ग्वान्झाओमा नियमित उडान गर्ने योजना बनाएको छ ।

“काठमाडौंबाट ओशाका सेक्टरका लागि सातामा तीन र ग्वान्झाओका लागि पनि सातामौ तीन उडान गर्ने तयारी भइरहेको छ,” निगमका कार्यकारी अध्यक्ष मदन खरेलले भने, “दुवै सेक्टरका स्टेसनमा कर्मचारी पठाउँछौं ।”

उनका अनुसार जापानमा ‘जनरल सेल्स एजेन्ट’ (जीएसए) आवश्यक नभएका कारण ‘प्यासेन्जर सेल्स एजेन्ट’ (पीएसए) भए पुग्छ । जापानकै अर्को प्रमुख विमानस्थल नारिताका लागि पनि नियमित उडान गर्ने योजना छ । त्यहाँ पनि सातामा तीनवटै उडान गर्ने तयारी छ ।

“ती गन्तव्यमा उडान सुरु भएपछि हाम्रा दुइटै वाइड बडी जहाज दैनिक १५ देखि १६ घन्टा उड्नेछन्,” खरेलले भने, “त्यसको ६ महिनापछि वाइड बडीको आम्दानी ‘ब्रेक इभन’ मा पुर्‍याउने लक्ष्य छ ।”

युरोपेली युनियन (ईयू) को उड्डयन सुरक्षा सूची (ब्ल्याक लिस्ट) मा नेपाल परेका कारण जापान र दक्षिण कोरियाले निगमका जहाजलाई आफ्ना गन्तव्यमा हालसम्म उडान अनुमति नदिएको सम्बद्ध एक अधिकारीले दाबी गरे । 

“दुइटै वाइड बडी जहाज आएर उडानसमेत गर्न थालिसकेका कारण अझ बढी गन्तव्य र उडान संख्या बढाउँदै आम्दानी वृद्धि गर्ने लक्ष्य छ,” कार्यकारी अध्यक्ष खरेलले भने, “वाइड बडीलाई सकेसम्म लामो दुरी (लङ हल) मा उडाउने प्रयास जारी छ ।”

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादन भएका वाइड बडी जहाज प्रत्येकमा १८ बिजनेस क्लास र २ सय ५६ इकोनोमी क्लास गरी २ सय ७४ सिट छन् । निगमले पहिलो वाइड बडीलाई ‘अन्नपूर्ण’ र दोस्रोलाई ‘मकालु’ नाम दिएको छ । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले पहिलोलाई  ‘९एन–एएलवाई’ र दोस्रोलाई ‘९एन–एएलजेड’ कलसाइन दिएको छ ।

निगमले दुईथान वाइड बडीका लागि भुक्तानी गर्नुपर्ने कूल २४ अर्ब रुपैयाँ तीन किस्तामा पठाएको थियो । पहिलो किस्ता २०७४ असार ३ गते ८ अर्ब, दोस्रो किस्ता २०७५ असार १२ मा ८ अर्ब र अन्तिम किस्तावापत साउन ८ गते बाँकी ८ अर्ब रुपैयाँ हाइफ्लाई एक्सलाई पठाएको थियो । निगमले सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२÷१२ अर्ब रुपैयाँका दरले ऋण लिएर पठाएको हो । दुवैको वार्षिक ब्याज दर १० प्रतिशत छ । यो हिसाबमा निगमले दुइटा वाइड बडीलाई वार्षिक ब्याजमात्र २ अर्ब ४० करोड रुपैयाँ तिर्नुपर्छ । 

निगमले तयार पारेको व्यापारिक योजनाअनुसार जापान, कोरिया र साउदी अरबका लागि वाइड बडी जहाजबाट प्रत्येक साता तीन उडान सञ्चालन गरिनेछन् । काठमाडौंबाट कोरिया र जापान पुग्न सिधा आठ घन्टाभन्दा बढी उड्नुपर्छ भने साउदी अरब पुग्न पाँच घन्टाभन्दा बढी उड्नुपर्छ । जहाजको सिट भराइ दर (अकुपेन्सी) बढ्दै गए ती गन्तव्यमा उडान संख्या थप्दै लाने निगमको योजना छ । 

वाइड बडीले जापानको हानेदा, कोरियाको सोल, चीनको ग्वान्झाओ र साउदी अरबको दम्माम उडान अनुमति पाइनसकेका कारण हाल दुबई, दोहा, हङकङ, बैंकक, मलेसिया, नयाँदिल्लीलगायत गन्तव्यमा उडाइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, पुस ४, २०७५  ०९:३८
प्रतिक्रिया दिनुहोस्