site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
के हो कांग्रेसको पछिल्लो विवाद ? यस्ता छन् देउवा र पौडेलका आफ्नै दाउ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको आपसी टक्करका कारण विधान संशोधन मस्यौदाले पूर्णता पाउन सकेको छैन । सभापति देउवा र वरिष्ठ नेता पौडेलले आगामी महाधिवेशनलाई आफू अनुकूल बनाउन खोजे पछि विधान संशोधन मस्यौदाले पूर्णता पाउन नसकेको हो । 

कांग्रेसमा पदाधिकारी र निर्वाचन पद्धतिका विषयमा अझै सहमति कायम हुन सकेको छैन । सभापति देउवाले आगामी महाधिवेशन आप्mनो पक्षमा पार्न आधा पदाधिकारी निर्वाचनमार्फत र आधा पदाधिकारी मनोनित गर्ने व्यवस्था विधानमा गर्न चाहिरहेका छन् । 

निर्वाचन प्रणालीबाट पदाधिकारी आउने व्यवस्था गर्दा पौडेललाई आगामी महाधिवेशनमा आफू निकटका नेताहरुको व्यवस्थापनमा सहज हुने सोच देउवाको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उता पौडेल पक्ष सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था विधानमा गर्न सके आशन्न महाधिवेशन आफ्नो अनुकुल बनाउन सकिने पूर्वानुमानका साथ देउवाले भने अनुसार सहमत भइरहेको छैन् । पछिल्लो समय वरिष्ठ नेता पौडेल नजिक देखिएका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आधा पदाधिकारी मनोनितमा सहमति जुट्न नसकेको बताए । 

आधा पदाधिकारी मनोनित गर्ने सभापति देउवाको प्रस्तावमा कुनै पनि हालतमा सहमत हुन नसकिने उनको भनाइ छ । ‘‘आधा पदाधिकारी मनोनित गर्ने संस्थापन पक्षको प्रस्तावमा कुनै पनि हालतमा सहमत हुन सकिदैन,’’ नेता केसीले भने, ‘‘हामीले देशको विधानले गरेको व्यवस्थालाई उल्लंघन गर्नु छैन । सबै पदाधिकारी निर्वाचित हुनुपर्ने हाम्रो अडान यथावत रहन्छ ।’’

सबै पदाधिकारी निर्वाचित हुनुपर्ने प्रावधानले सभापतिलाई पार्टी सञ्चालनमा कठिनाई हुने भएकाले आधा पदाधिकारी मनोनित हुनुपर्ने व्यवस्था विधानमा गरिनुपर्ने संस्थापन पक्षको भनाइ छ । ‘‘सभापति आफ्नो बलबुताले चुनाव जितेर आउँछ । पदाधिकारी सबै निर्वाचित हुनुपर्ने व्यवस्थामा निर्वाचित पदाधिकारीले सभापतिलाई सहयोग नगरेको अवस्थामा पार्टी कसरी सञ्चालन हुन्छ,’’ सभापति देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘‘सभापतिले आफूप्रति वफादार केही पदाधिकारी मनोनित गर्न पाउँदा पार्टी सञ्चालनमा सहज हुन्छ । त्यही भएर पनि आधा पदाधिकारी मनोनित हुनुपर्ने व्यवस्था पार्टी हितमा रहन्छ ।’’ 

विधान मस्यौदामा सहमति जुटाउन आज (सोमबार) बिहान बोलाइएको केन्द्रीय समिति बैठक नबसेरै स्थगित भएको छ । जारी महासमिति बैठकको बन्द सत्र सकिएपछि आज साँझ ६ बजे पछि बैठक बस्ने बताइएको छ । केन्द्रीय समितिको बैठकले विवादित विषयको टुंगो लगाएर विधानको मस्यौदा महासमितिमा पेस गर्ने तयारी कांग्रेसले गरेको छ ।

कांग्रेस स्रोतका अनुसार पदाधिकारी ८ जना हुने विषयमा सहमति नजिक पुगेको भए पनि निर्वाचन पद्धति के हुने भन्ने विषयमा सहमति कायम हुन सकेको छैन । ८ पदाधिकारीमध्ये सभापति, उपसभापति–२, महामन्त्री–२, सहमहामन्त्री–२ र कोषाध्यक्ष राख्नेमा नजिक पुगेको एक नेताले बताए ।

आइतबार सिंहदरबारमा भएका छुट्टाछुट्टै छलफलमा ८ पदाधिकारी राख्ने विषयको नजिक पुगेको भए पनि निर्वाचन पद्धतिमा फरक फरक मत देखिएको थियो । नेता पौडेल पक्षधरले पदाधिकारी सबै निर्वाचनमार्फत आउनुपर्ने अडान राखेको छ भने सभापति देउवा पक्षधरले एक–उपसभापति, महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष गरी ४ पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था राख्नुपर्ने पक्षमा देखिएको छ ।

फाइल तस्बिर 
 

प्रकाशित मिति: सोमबार, पुस २, २०७५  १७:५२
प्रतिक्रिया दिनुहोस्