site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महासमिति बैठक : के भन्छन् प्रतिनिधि ?
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको महासमिति बैठक शनिबारबाट औपचारिक रुपमा सुरु हुन गइरहेको छ । महासमिति बैठकमा २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, केन्द्रीय सदस्य तथा भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनित, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै १६ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।
राजधानी काठमाडौंमा सुरु हुन गइरहेको महासमिति बैठकले मुलुकको संघीय संरचना अनुरुप संगठन विस्तार गर्न पार्टीको विधान संशोधन गर्दैछ । नयाँ विधान लागू भएपछि कांग्रेस नयाँ ढंगले अघि बढ्नेमा नेता–कार्यकर्ताहरु विश्वस्त देखिन्छन् । बैठकमा राजनीतिक प्रतिवेदन, आर्थिक नीति लगायतका विषयमा छलफल गरेर निर्णय गरिने बताइएको छ । 
आन्तरिक विवादले घेरिएको कांग्रेस महासमिति बैठक पछि कसरी अगाडि बढ्छ ? महासमिति बैठकबाट कांग्रेसका महासमिति सदस्यहरुले कस्तो अपेक्षा राखेका छन् ? पार्टी भित्र देखिएको विवाद व्यवस्थापन गरेर मुलुकको राष्ट्रिय राजनीति र जनजिविकाका मुद्दामा खरो रुपमा उत्रन कांग्रेसले आगामी दिनमा कस्तो नीति अबलम्बन गर्छ ? यिनै विषयमा केन्द्रित रहेर बाह्रखरीका केशव सावदले नेपाली कांग्रेसका महासमिति सदस्य तथा केन्द्रीय सदस्यहरुसँग गरेको संक्षिप्त कुराकानीको सम्पादित अंश  :

ललितजंग शाही 
महासमिति सदस्य जुम्ला

नेपाली कांग्रेसको महासमिति बैठकले नेताहरुलाई एकतावद्ध भएर अगाडि बढ्न दबाब सिर्जना गर्छ । बैठकले नेताहरुलाई भावनात्मक एकतामा बाँधेर एकढिक्का भएर अगाडिको बाटो तय गर्ने गरी मार्गनिर्देश गर्छ । पार्टीमा मत भिन्नता त छ तर लोकतान्त्रिक पार्टीमा आन्तरिक विवाद भैरहन्छ, यो कुनै ठूलो कुरो होइन । नेताहरुले एकजुट भएर मन मिलाएर जानुको विकल्प पनि छैन् । कांग्रेस अब एकतावद्ध भएर आगामी निर्वाचनमा फेरि बहुमतमा आएर राज्य सञ्चालनतर्फ उन्मुख हुन्छ । 

मोहम्मद नईम मन्सुरी
महासमिति सदस्य, सुनसरी–४

महासमिति बैठकबाट हामीहरुको एउटै अपेक्षा, त्यो हो ‘युनाईटेड’ हुने । हामीले बैठकमा नेताहरुलाई एकजुट भएर हिड्नुस् भनेर दबाब दिन्छौं । कांग्रेस एकढिक्का भयो भने देशको हितमा हुन्छ, समाजको हितमा हुन्छ, पार्टीको हितमा हुन्छ । त्यस कारण पनि नेताहरु एक भएर हिड्न जरुरी छ । हामी आफैमा फुट भयो भने देशको स्थिति, पार्टीको स्थिति जर्जर हुन्छ भन्ने हिसाबमा हामीहरुको नेताहरुलाई दबाब हुन्छ । अहिलेको स्थितिमा टुटफुट र ‘डिभाईड’ स्थिति कायमै रह्यो भने मुलुकका लागि खतरा हुन्छ । त्यस कारण पनि नेताहरुलाई हाम्रो आग्रह छ कि यो गुटगत राजनीतिलाई त्याग्नुस् । यो आग्रहलाई उहाँहरुले मान्नै पर्छ किनकी कार्यकर्ताको भावनाको कदर नेताहरुले गर्नै पर्छ । 

KFC Island Ad
NIC Asia

नरेन्द्रसिंह भण्डारी
महासमिति सदस्य, कञ्चनपुर–३ 

कांग्रेसभित्र अहिले गुट–उपगुट आदि–इत्यादि छ । त्यसले गर्दा पार्टी कमजोर भएको हो भन्ने आम कार्यकर्ताहरुले मनमा लिएका छन् । महासमिति बैठकले कांग्रेस एक भयो भन्ने म्यासेज लिएर जानुपर्छ । त्यसका लागि नेताहरुका माझमा समझदारी कायम गर्न महासमिति सदस्यहरुले दबाब सिर्जना गर्न आवश्यक छ । बैठकपछि पनि पार्टी एकढिक्का भएन भने कांग्रेसको भविश्य छैन् भन्नेमा आमकार्यकर्ताहरु एकमत छन् । 

मोहम्मद नसिर सिद्धिकी 
महासमिति सदस्य (फोरम लोकतान्त्रिकबाट समायोजन)

एउटा कुरो के हो भने महासमिति बैठकले नेपाली कांग्रेसलाई कहीँ न कहीँ ‘बुस्टअप’ गर्छ । कांग्रेसले एउटा उर्जा प्राप्त गर्छ । ‘बुस्टअप’ कसरी गर्छ भने सबैभन्दा ठूलो कुरो नेता–कार्यकर्ताहरुको बैठक–भेला नभएको भन्ने गुनासो आइरहेका बेला हामीहरु एक ठाउँमा आएका छौं । अब त्यो गुनासो पनि हट्ने भयो । अब ‘ग्यादरिङ’ हुँदा त्यसै पनि धेरै कुराहरुको छिनोफानो हुन्छ त्यसले गर्दा धेरै कुराहरु कम्युनिकेशन ग्यापले गर्दा थाती रहेका थिए अव ति कुराहरु आपसेआप बिलाएर जान्छन् । बैठक पछि कांग्रेसले पूर्नताजगी लिनेछ, यसको स्पीड पनि बढ्ने छ, यसले पुर्नजीवन पाउने छ ।  

Royal Enfield Island Ad

लक्ष्मी खतिवडा 
महासमिति सदस्य सुनसरी–१

महासमिति भनेको महाधिवेशन पछाडिको सबैभन्दा ठूलो बृहत र ब्यापक भेला हो । पार्टीको कार्यनीति तय गर्ने ढंगबाट महासमिति सदस्यको परिकल्पना गरिएको हो । तर भयो के भने यो महासमिति बैठक कर्मकाण्डी मात्रै हुन्छ भन्नेमा म विश्वस्त छु । महासमितिले नयाँ केही गर्नेवाला छैन । नयाँ कुनै अवधारणा आउनेवाला पनि छैन । कुनाबाट धार्मिक एजेण्डाको कुरा आएको छ । धार्मिक एजेण्डाको कुरामा पनि के हो भने, हिजो धर्म निरपेक्ष राष्ट्र बनाउँदै गर्दा पार्टी नेताहरु जो आज धर्मको विषयमा बोलिरहनुभएको छ, उहाँहरु त्यो बेला के हेरेर बस्नुभयो भन्ने कुरा पनि मुखारित भएर आउछ । 
कांग्रेसका आम कार्यकर्ताहरु कुनै पनि बहानामा पश्चगमनतर्फ जान ईच्छुक छैनन् र हुनुपनि हुन्न । धर्मको बारेमा विचार विश्लेषण गर्नुपर्ने बेला भयो होला तर हिजो के कारणले धर्म निरपेक्षताको परिस्थिति सिर्जना भयो र अहिले हिन्दू राष्ट्रको माग उठ्नुको कारण के हो ? शक्ति केन्द्रले बोल्न लगाएको भरमा बोल्ने हो कि ? कुनै अमूक पिलरलाई खुशी पार्न बोल्ने हो कि भन्ने बारेमा गहन विश्लेषण महासमितिमा हुनुपर्दछ । पार्टीलाई सही ढंगले चुस्त दुरुस्त बनाएर लैजाने हो भने चुनावी हारको निर्मम समीक्षा नगरी हुनेवाला केही पनि छैन् । 

हरिप्रसाद बोहरा
सभापति, कञ्चनपुर (पर्यवेक्षक)

नयाँ विधान बन्दैछ, विधानमा सबैलाई समेटिने गरी आधारहरु उल्लेख गरिएको छ । २००७ साल पछि व्यापक रुपले संशोधन भएको विधान महासमितिले पारित गर्छ । महासमिति बैठक पछि कांग्रेस नयाँ जोस र जाँगरका साथ एकढिक्का भएर जान्छ ।

बालकृष्ण खाँड, केन्द्रीय सदस्य 
नेपाली कांग्रेसको विधानलाई महासमितिको बैठकले समयानुकूल बनाउने छ । कांग्रेसलाई अझ बढी क्रियाशिल बनाउने र पार्टी कार्यकर्तालाई पनि उचित भूमिका दिन सक्ने खालको विधान आउने छ । त्यसमा पनि संविधानले भनेका केन्द्र, प्रदेश र स्थानीय तहलाई सम्बोधन गर्ने खालको विधान बनाउन जरुरी छ । अहिलेको अवस्थामा संविधान कार्यान्वयन गर्नु हामी सबैको मूल दायित्व हो । तर, हामी प्रतिपक्षमा भएका कारणले प्रतिपक्षको भूमिका खेल्न पनि हामीले महासमितिको बैठकले राजनीतिक नीति पनि ल्याउँछ । त्यसैले महासमितिको बैठकपछि कांग्रेस गतिशिल भएर अघि बढ्छ । यसले कार्यकर्तामा उर्जा थप्ने काम गर्छ भन्ने हामीलाई विश्वास छ । 

प्रदीप पौडेल, केन्द्रीय सदस्य
हाम्रो महासमिति बैठकमा विधान संसोधन नै प्रमुख एजेण्डा हो । नेपाली कांग्रेस विधान लागु भएपछि साँच्चै नै परिवर्तन भएको अनुभूति हुने स्थिति निर्माण हुन्छ । विशेषगरी विधान मस्यौदालाई पास गर्ने र कांग्रेसले तत्काल अख्तियार गर्नुपर्ने नीति, रणनीति र कार्यक्रमका बारेमा छलफल गरेर निर्णयमा पुग्ने परिस्थिति महासमिति बैठकमा हुन्छ । 
हामीले निर्वाचनका बारेमा पनि प्रशस्त छलफल गरेका हौं । महासमितिको बैठकमा पनि यो कुराहरु आउँछन् । कमजोरी, समस्या के हो ? अवलम्बन गरिनुपर्ने नीति के हो ? भन्ने बारेमा महासमितिको बैठकमा पनि छलफल हुन्छ भन्ने मलाई लाग्छ । हामीले पार्टीलाई शसक्त बनाउनका निम्ती क्रियाशिल भएका मान्छेहरुको भेला हो, महासमिति बैठक भनेको । त्यसैले कांग्रेससँग जोडिएका सबै विषयका बारेमा त्यहाँ कुरा उठ्छ र छलफल हुन्छ । 

धनराज गुरुङ, केन्द्रीय सदस्य
स्वार्थीहरुले गर्दा गुटउपगुट जन्मिएका छन् । कतिले प्रजातान्त्रिक पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएको भन्ने गर्छन् । तर, गुटउपगुट विचारको आधारमा हुनुपर्छ । विचारका आधारमा भएका गुटउपगुटले बहस निम्त्याउँछ । बहसले विचार खार्ने काम गर्छ । र पार्टीलाई ठिक निर्णय लिने दिशामा पुर्याउँछ । तर कांग्रेसभित्र अहिले विद्यमान गुटउपगुट स्वार्थका कारण भएको छ । व्यक्तिगत स्वार्थलाई त्यागेर मुलुक र जनताप्रति हामी समर्पित हुने र विपी, कृष्णप्रसाद र गणेशमानको मार्गदर्शनलाई अबलम्बन गरेर अघि बढ्यौं भने यो विवाद अन्त्य हुन्छ । हामीसँगै कर्मकाण्ड गर्ने, शुभकामना आदनप्रदान गरिरहने र आत्मैदेखि शुभकामना नगर्ने, एकले अर्काको भलो नचाहाने प्रवृत्तिको अन्त्य गर्नुपर्छ । 
महासमितिको बैठकले तीन–चार काम गर्नेछ । विधान संशोधन, राजनीतिक प्रतिवेदन, कांग्रेसले लिने अर्थनीति संसोशन लगायतका विषयमा छलफल गर्नेछ । तर पार्टीभित्रको विवादको अन्त्य गर्छ भन्ने छैन । पार्टी बदल्न पहिला नेता बदलिनुपर्छ । नेताहरु महासमितिको बैठकबाट बदलिने अवस्था म देख्दिनँ । स्वार्थ त्याग्न सक्यौं भने पार्टी भित्र विवाद टुंगिन्छ ।

रामहरी खतिवडा, केन्द्रीय सदस्य  
महासमिति बैठकपछि कांग्रेस फुट र गुटको होइन, जुटको राजनीतिमा लाग्ने छ । गत निर्वाचनमा हामी आफ्नै कारणले पराजित भएको कुरा सबैलाई थाहा नै छ । अब कांग्रेसलाई प्रिय र पहिलो पार्टी बनाउन हामी लाग्ने छौं र चार वर्षपछि कांग्रेस पहिलो दल बन्ने छ । निर्वाचनमा पराजित भएपछि पहिलो पटक महासमिति बैठकमा देशभरका साथीहरु बसेर छलफल गर्दैछौं । त्यहाँ खुला रुपमा आफ्ना मनका कुरा साटासाट हुने छन् । निर्वाचन पराजयको विषयमा पनि त्यसले एउटा निचोड निकाल्ने छ । विधान संशोधन त संघियरुपमा जानुपर्ने हुँदा गर्नैपर्ने हुन्छ । यसका साथै अन्य कुरामा पनि छलफल हुनेछन् । पार्टीलाई पहिलो र प्रिय बनाउन महासमितिको बैठकले महत्वपूर्ण भूमिका खेल्नेछ ।

दिलेन्दप्रसाद बडू, केन्द्रीय सदस्य 
महासमिति बैठकको पहिलो एजेण्डा विधान पारित गर्ने नै हुन्छ । त्यो विधानमार्फत् नै हाम्रो पार्टीलाई भविष्यमा कसरी सञ्चालन गर्ने कुराको स्पष्ट सन्देश हुन्छ । हामीले आफ्नो विधानलाई पार्टी आगामी दिनमा मुलुकको सबै जनता र क्षेत्रको प्रतिनिधित्व हुने गरी विधानमै व्यवस्था गरिरहेका छौं । 
हामी अहिले कम्युनिष्टहरुभन्दा कमजोर भएका छौं । संख्यामा कम भयौं, प्रतिपक्षमा छौं । कम्युनिष्टहरुले शासन संचालन गरिरहेका छन् । लोकतन्त्रमा प्रतिपक्ष पनि महत्वपूर्ण पक्ष हो । हामीले प्रतिपक्षको भूमिका खेलिरहेका छौं । मलाई लाग्छ, हाम्रा आन्तरिक द्वन्द्व पनि आगामी दिनमा रहने छैनन् । निर्वाचनको पूर्वसन्ध्यामा, निर्वाचनका क्रममा देखिने समूहगत अभिव्यक्तिलाई त्यसैमा सीमित राख्नुपर्छ । आन्तरिक निर्वाचन सकिएपछि जित्नेले हार्नेलाई समेट्ने, हार्नेले जित्नेलाई सहयोग गर्ने वातावरण बन्छ र पार्टी एक ढिक्का भएर अघि जान्छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०७५  १८:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro