काठमाडौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको झण्डै ४ महिना बित्न लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । प्रहरीको सधैं एउटै कुरो हुन्छ– अनुसन्धान जारी छ ।
आइतबार बाह्रखरीको जिज्ञासामा कञ्चनपुर प्रहरी प्रमुख एसपी कुबेर कडायतले अनुसन्धान जारी रहेको र नयाँ कुरो खास केही नभएको प्रतिक्रिया दिए । निर्मला हत्याकाण्डको पछि कसको संलग्नता थियो भनेर प्रहरी खोजेको खोज्यै छ । तर, परिणाम हात पार्न सकेको छैन । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘‘निर्मला हत्याकाण्डको अनुसन्धान गर्न जति सकस कहिल्यै भएको थिएन । प्रहरी इतिहासमा थोरैमात्र घटनामा प्रहरीलाई यस्तो प्रकारको सकस आइपरेको छ । जताबाट प्रयास गर्दा पनि हत्यारासम्म पुग्ने बाटो पहिल्याउन सकिएको छैन ।’’
गत साउन १० गते साथीको घरमा हिँडेकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्त साउन ११ गते उखुबारीमा मृत फेला परिन् । उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् । अन्य ६ जना प्रहरी निलम्बनमा छन् । २४ जना प्रहरीमाथि प्रहरी प्रधान कार्यालयले आन्तरिक अनुसन्धान गरिरहेको छ ।
यसअघि तत्कालीन कञ्चनपुर प्रहरीले घटनामा संलग्न भएको भन्दै भीमदत्तनगर–१९ बागफाँटाका दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, दिलिपको डिएनए ‘म्याच’ नभएपछि उनी थुनामुक्त भए । त्यसयता प्रहरीले अनुसन्धान जारी राखे पनि नतिजा भने हात पार्न नसकेको छैन ।
थप १६ जनाको डीएनए परीक्षण गरिँदै
निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद १६ जनाको डीएनए परीक्षणको तयारी गरेको छ । स्रोतका अनुसार दुई चरणमा उनीहरुको डीएनए परीक्षण गरिनेछ । यसअघि प्रहरीले झण्डै डेढ साताअघि ४ जनाको डीएनए परीक्षणका लागि रगत संकलन गरेर केन्द्रीय प्रयोशालामा पठाएको थियो । उनीहरुको नतिजा मेल खाएको थिएन ।
स्रोतले १६ जनाको डीएनए परीक्षण गर्न लागिएको बताए पनि प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले भने डीएनए परीक्षण गर्ने प्रक्रिया सुरु नभएको दाबी गरेका छन् । ‘‘अनुसन्धान विभिन्न कोणबाट जारी छ । अहिल्यै डीएनए परीक्षणको तयारी भने भएको छैन,’’ उनले भने ।
निर्मला हत्या प्रकरणमा यसअघि दिलिपसिंह विष्टसँगै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट, स्थानीय आयुश विष्ट र चक्र बडुको समेत डीएनए परीक्षण गरिएको थियो । तर, निर्मलाको शरीरमा भेटिएको ‘स्पर्म’सँग उनीहरुको डीएनए ‘म्याच’ गरेन ।
कतिपय प्रहरी अधिकारीले निर्मला हत्यामा चिनजानकै व्यक्तिको संलग्नता रहेको हुनसक्ने आशंका व्यक्त गर्दै आएका छन् । प्रहरीले प्रविधिको प्रयोग गर्दैै निर्मला हत्याकाण्डको अनुसन्धान जारी राखेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली कञ्चनपुरमै छ ।
निर्मलाका बुबालाई काठमाडौं ल्याइँदै
कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतका अनुसार गएको कात्तिक २५ गतेबाट धर्नामा बसेका निर्मलाका बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं पठाइएको छ । उनको उपचार खर्च सरकारले व्यहोर्नेछ । समाचार तयार पार्दासम्म सडक मार्गबाट काठमाडौं ल्याइँदै गरेका निर्मलाका बुबासहितको टोली काठमाडौं आइपुगेको छैन ।
धर्नामै बसेका बेला असामान्य व्यवहार देखाएपछि पन्तलाई काठमाडौं पठाइएको हो । ‘‘हामीले पाटन अस्पताल वा टिचिङ अस्पतालमा लैजान सुझाएका छौं । उहाँहरुले के गर्नुहुन्छ, थाहा भएन,’’ एसपी कडायतले भने । पन्तलाई शनिबार साँझ विमानबाट काठमाडौं ल्याउने प्रयास गरिए पनि विमानस्थलमा बर्बराउने तथा असामान्य व्यवहार देखाएपछि सुरक्षाका कारण देखाउँदै बुद्ध एयरले उडाउन मानेको थिएन ।
यसैबीच, बुद्ध एयरले विज्ञप्ति जारी गर्दै पन्तको असाधारण क्रियाकलापका कारण उडान अनुमति दिन नसकिएको भन्दै यसअघि गएको असोज १ गते यज्ञराज र उनकी पत्नी दुर्गादेवी पन्तलाई धनगढी–काठमाडौं आउजाउका लागि निःशुल्क हवाईयात्राको व्यवस्था गरेको स्मरण गरेको छ ।
‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा पू्रचलनअनुसार नै बिरामीको हकमा उडान भर्न डाक्टरबाट उडानयोग्य सर्टिफिकेट आवश्यक पर्छ । उहाँसँग उडानयोग्य सर्टिफिकेट पनि नरहेको र उहाँको असाधारण क्रियाकलापबाट अन्य यात्रु तथा उडान सुरक्षामा खलल पुग्न सक्ने देखिएको हुँदा उहाँलाई उडानको अनुमति दिन नसकिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।