site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
तारा गाउँको न्युरोडस्थित जग्गा ३० वर्षलाई लिजमा, नयाँ चारतले भवनसहित वार्षिक १ करोड २ लाख भाडा

काठमाडौं । तारा गाउँ विकास समितिले राजधानीको न्युरोड पिपलबोटसँगै रहेको आफ्नो जग्गा वार्षिक १ करोड रुपैयाँभन्दा बढी लिने गरी ३० वर्षका लागि भाडामा दिएको छ । 

‘रमा गृह’ का नामले चिनिने तारा गाउँको उक्त जग्गामा रहेको घर २०७२ वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षति पुगेको थियो । त्यसपछि समितिले उक्त घर भत्काएर नयाँ निर्माण गर्न नसक्ने भन्दै भाडामा दिने निर्णय गरेको थियो । 

पुष्पकमल दाहालले नेतृत्व गरेको तत्कालीन मन्त्रिपरिषदले तारा गाउँको उक्त प्रस्तावलाई अनुमोदन गरेको थियो । त्यसबेला जीवनबहादुर शाही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री थिए । तारा गाउँ पर्यटन मन्त्रालयअन्तर्गतको एक समिति हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“हामी आफैंले ठूलो रकम लगानी गरी भवन बनाउने हैसियत छैन,” तारा गाउँका कार्यकारी प्रमुख तथा सदस्य सचिव नारद लुइँटेलले मंगलबार बाह्रखरीसँग भने, “त्यसकारण आकर्षक दरमा ३० वर्षका लागि निजी कम्पनीलाई भाडामा दिएका हौं । सम्झौता अवधिपछि घर तारा गाउँकै नाममा आउने छ ।”

उनका अनुसार ३ आना क्षेत्रफलको जग्गा वार्षिक १ करोड २ लाख रुपैयाँ (मासिक ८ लाख ५० हजार रुपैयाँ) का दरले भाडामा दिइएको हो । सार्वजनिक बोलपत्र आह्वान गर्दा परेका तीन कम्पनीका प्रस्तावमध्ये सबैभन्दा धेरै भाडा दर प्रस्ताव गरेको चाङ्गेस्थान सप्लायर्स कम्पनीले उक्त जग्गामा भवन निर्माण गरिरहेको छ । 

“भवन निर्माण गर्नलाई हामीले दुई वर्षको म्याद दिएका छौं,” कार्यकारी प्रमुख लुइँटेलले भने, “त्यति अवधिका लागि वार्षिक छुट्टै ९५ लाख ५० हजार रुपैयाँ भाडा पनि दिने सम्झौता भएको छ ।” चाङ्गेस्थानले उक्त जग्गामा मापदण्डअनुसार चार तला अग्लो भवन निर्माण गर्ने जनाएको छ । 

तारा गाउँका अनुसार न्युरोडस्थित उक्त घर ७० वर्ष पुरानो थियो । तीन वर्षअघिको भूकम्पले क्षति पु¥याएपछि घर भत्काइएको थियो । १ सय वर्ष पुरानो भयो भने पुरातात्विक महत्वअन्तर्गत पर्छ । ‘निर्माण, सञ्चालन र स्वामित्व हस्तान्तरण’ (बुट मोडल) अनुसार भवन निर्माण हुने छ । 

तारा गाउँलाई न्युरोडको उक्त जग्गा भाडामा लगाउन पनि ठूलै कसरत गर्नुपरेको कार्यकारी प्रमुख लुइँटेलको अनुभव छ । जग्गा भाडामा दिन टेन्डर आह्वान गरेपछि ‘ठूलो रकम घोटाला भयो’ भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । त्यसपछि लुइँटेलले अख्तियारमा गएर सातपटक जति बयान दिएको बताए । विस्तृतमा बयान दिएपछि अख्तियारले ‘राम्रो आम्दानी हुने रहेछ, समितिलाई फाइदा हुन्छ अगाडि बढ्नुस्’ भनेपछि काम अगाडि बढेको थियो । त्यसबीचमा चार महिनाजति काम रोकिएको थियो ।

“अब नयाँ बन्ने भवन पनि पुरानो जस्तो थियो त्यस्तै ढाँचाको हुने छ,” तारा गाउँका कार्यकारी प्रमुख लुइँटेलले भने, “प्रत्येक दुई वर्षमा भाडा दर वृद्धि गर्दै जाने सम्झौता भएको छ ।” 
फाइल तस्बिर 

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०७५  १९:०४
प्रतिक्रिया दिनुहोस्