site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसमा भेलैभेला, देउवालाई घेराबन्दीमा पार्ने रणनीति !

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह महासमिति बैठकमा सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्ने तयारीस्वरुप आन्तरिक भेलामा जुटेका छन् । कहिले सभापति देउवा इतर समूहका प्रभावशाली र शीर्ष नेता त कहिले युवा नेताको छलफल आन्तरिक रुपमा जारी छ । लगत्तै कांग्रेसका जिल्ला सभापतिहरुको भेला पनि बोलाइँदैछ ।

आगामी मंसिर १२ गते पर्यटकीय क्षेत्र ककनीमा कांग्रेसका ७७ वटै जिल्लाका सभापतिहरुको भेला बोलाउने तयारी छ । त्यसको समन्वय कांग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिँह केसीले गरिरहेका छन् ।

दुई दिनसम्म चल्ने जिल्ला सभापतिहरुको भेलामा पार्टीले गठन गरेको केन्द्रीय विधान संशोधन मस्यौदा समितिले तयार पारेको विधान मस्यौदामाथि छलफल हुने बताइएको छ । ‘‘हामीले पार्टीको विधान मस्यौदाको विषयमा आन्तरिक रुपले पार्टीका जिल्ला सभापतिहरुका बीचमा छलफल गरेर २१ औं शताब्दी सुहाउँदो पार्टीको विधान कस्तो हुनुपर्छ भन्ने बारेमा पार्टीलाई सर–सल्लाह र सुझाव दिनका लागि बैठक बोलाउने तयारी गरेका हौं,’’ नुवाकोटका सभापति केसीले बाह्रखरीसँग भने ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले सभापतिहरुको ककनीमा हुन गइरहेको भेटघाट जिल्ला सभापतिहरुको भेला नभएर बैठकमात्रै भएको पनि प्रष्ट पारेका छन् । ‘‘सभापतिहरुको भेला भनेर भेला बोलाउने तयारी होइन । सभापतिहरुको भेला बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै छ । यो हामी सभापतिहरुको आन्तरिक मिटिङ हो । मिटिङमा विधानको मस्यौदामाथि मात्रै छलफल हुन्छ,’’ उनको प्रष्टोक्ति थियो । 

सभापति केसीले ककनीमा हुन गइरहेको सभापतिहरुको भेलालाई कुनैपनि भेलाको रुपमा नबुझिदिन आग्रह गर्दै थपे, ‘‘यो कुनै गुट–उपगुटको छलफल होइन । हामी आफैले व्यवस्थापन गरेर सभापतिहरु आपसमा बसेर छलफल गरौं, विधानलाई थप परिमार्जनका लागि केन्द्रीय कार्यसमितिको बैठकमा सुझाव पेस गरौं भनेर आन्तिरिक मिटिङ बस्न लागेका हौं ।’’ 

देशभरका जिल्ला सभापतिहरु समग्र कांग्रेसको हित र कल्याणका लागि आन्तरिक छलफलमा जुट्न लागेको उनको भनाइ थियो । ‘‘यो कुनै समूहको बैठक होइन । हामीले नितान्त कांग्रेसको हित र कल्याणका निम्ति सभापतिहरुमात्रै बसेर विधानलाई अझै सुन्दर बनाउन, अझै राम्रोसँग परिमार्जित गर्न र समसामयिक परिस्थितिमा सभापतिहरुले दिएको सुझावलाई अझै राम्रोसँग अगाडि बढाउनका लागि छलफल गर्न लागेका हौं,’’ उनले दाबी गरे । 

कात्तिक २६ गते काठमाडौंमा बसेको विभिन्न ११ जिल्लाका सभापतिहरुको बैठकले विधान मस्यौदामाथि छलफल गरेर पार्टीलाई सुझाव दिनका लागि जिल्ला सभापतिहरुको बैठक बोलाउने र त्यसको समन्वय गर्न आफूलाई जिम्मेवारी दिएको केसीले जानकारी दिए । 

काठमाडौंमा यसअघि बसेको बैठकमा नुवाकोटका सभापति केसीसँगै काठमाडौं सभापति कृष्ण सवुज बानियाँ, ललितपुरका सभापति मदन अमात्य, रोल्पा सभापति अमरसिँह पुन, काभ्रे सभापति मधु आचार्य, दोलखा सभापति रुद्रबहादुर खड्का, रसुवा सभापति पेम्बाछिरिङ तामाङ, सिन्धुलीका सभापति उज्वलप्रसाद बराल र मुगुका सभापति खड्कबहादुर शाहीको उपस्थिति रहेको बैठकमा सहभागी जाजरकोट कांग्रेसको सभापति दीपकजंग शाहले जानकारी दिए । 

‘‘काठमाडौंको बैठकमा प्रस्तावित विधान आउँदैछ । त्यो विधानको मस्यौदामा हामी सभापतिहरु मात्रै बसेर छलफल गरेर पार्टीलाई सुझाव दिउँ । बैठकका लागि स्थान तोकौं भन्ने कुरो भयो । त्यसको जिम्मा नुवाकोटको सभापतिलाई दिने सहमति भएको थियो,’’ सभापति शाहले भने ।  
फाइल तस्बिर 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०७५  १६:०३
प्रतिक्रिया दिनुहोस्