site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेसको संस्थापन इतर समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूह दसैंको मुखैमा आन्तरिक छलफलमा जुटेको छ । आन्तरिक छलफका लागि संस्थापन इतर समूहका नेताहरु सोमबार बिहानै महामन्त्री डा. शशांक कोइरालाको निवास पुगेका छन् । 

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु अर्जुननरसिंह केसी, प्रकाशमान सिंह, डा. रामशरण महत, दिलेन्द्रप्रसाद बडू, नवीन्द्रराज जोशी, प्रदीप पौडेललगायतका नेताहरु सहभागी छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

असोज २५ गतेका लागि तय गरिएको कांग्रेस केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि बसेको संस्थापन इतर समूहको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठक आयोजनाका लागि समन्वय गरिरहेका महामन्त्री डा. कोइराला निकट स्रोतले भने विधान संशोधन मस्यौदा समितिलाई ब्रिफिङका लागि छलफल भइरहेको दाबी गरेको छ । 

‘‘विधान समितिलाई ब्रिफिङका लागि बोलाइएको हो, बैठकमा अन्य कुनै पनि राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको होइन,’’ महामन्त्री निकट स्रोतले भन्यो । महामन्त्री निकट स्रोतले विधानका बारेमा ब्रिफिङका लागि समितिका सदस्यहरुसँग छलफल भइरहेको दाबी गरेपनि विधान संशोधन मस्यौदा समितिमा रहेका संस्थापन पक्ष निकटका कोही सदस्यलाई भने बोलाइएको छैन । 

असोज २१ गते अबेर रातिसम्म बसेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसको संस्थापन पक्षले बहुमतका आधारमा ‘पेलेर’ भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षीय उमेरहद लगाउने निर्णय गरेपछि आन्तरिक विवादमा फसेको कांग्रेसमा झनै असन्तुष्टि बढेको छ ।  

उक्त बैठकका निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेको संस्थापन इतर समूहले असोज १५ गतेका लागि बोलाएको बैठक बहिष्कार गर्ने तयारी गरेपछि संस्थापन पक्षले बैठक स्थगित गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, असोज २९, २०७५  ११:३४
प्रतिक्रिया दिनुहोस्