site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधान संशोधनका लागि सुझाव अध्ययन गर्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय विधान संशोधन मस्यौदा समितिले ७ वटै प्रदेशबाट संकलित सुझाव अध्ययन गरिरहेको छ । मस्यौदा समितिका संयोजक तथा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकले सदस्यहरुलाई अध्ययनका लागि सुझावहरु दिएको छ । 

‘‘हामीले ७ वटै प्रदेशबाट प्राप्त राय–सुझावहरु एकीकृत गरेर ढाचामा ढालेका थियौं । आजको बैठकले तिनै सुझावहरुको एकीकृत संग्रहलाई अध्ययनका लागि समितिको सदस्यहरुलाई वितरण गर्यो’’ विधान संशोधन मस्यौदा समितिका सदस्य सचिवसमेत रहेका कांग्रेसका सूचना अधिकारी केशव रिजालले भने । 

उनका अनुसार मस्यौदा समितिका सदस्यहरुले अध्ययन गरिसकेपछि शुक्रबारबाट विधान मस्यौदाको एकीकृत संग्रहमाथि दफावार छलफल प्रारम्भ हुनेछ । विधान मस्यौदाको एकीकृत संग्रहमाथि छलफलका लागि विधान मस्यौदा समितिले शुक्रबार बिहान ९ वजे बैठक बोलाएको सूचना अधिकारी रिजालले जानकारी दिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसअघि विधानको एकीकृत मस्यौदामाथि राय–सुझाव संकलनका लागि ७ वटै प्रदेशमा खटिएका समितिका सदस्यहरुले बुधबार बसेको बैठकमा आ–आफूले संकलन गरेका राय–सुझावहरु विधान संशोधन मस्यौदा समितिमा बुझाएका थिए । कांग्रेसको विधान समितिले असोज ८ देखि १३ गतेसम्म ७ प्रदेशका १२ स्थानमा छलफल तथा अन्तरक्रिया गरेर विधान संशोधनका लागि राय–सुझाव संकलन गरेको थियो । 

विधान संशोधन मस्यौदा समितिले तिहार अगाडि पार्टीलाई विधानको अन्तिम मस्यौदा बुझाउने तयारी गरेको छ । कांग्रेसको विधान अनुसार समितिले बुझाएको अन्तिम मस्यौदालाई केन्द्रीय कार्यसमितिबाट पारित गरेर महासमितिको बैठकमा पेश गर्नुपर्ने छ । कांग्रेसले आगामी मंसिर ५ देखि ९ सम्म काठमाडौंमा महासमितिको भेला बोलाएको छ । 

कांग्रेसको विधान संशोधन मस्यौदा समितिले छलफल तथा अन्तरक्रिया गरेका स्थानमा विधानको प्रारम्भिक मस्यौदामाथि मिश्रित सुझावहरु आएका छन् । प्रदेश नम्बर १, ३, ४, ५ का ८ स्थानमा सम्पन्न छलफलमा अधिकांश सहभागीहरुले पार्टीमा विद्यमान सभापतिय प्रणालीलाई हटाएर सामुहिक नेतृत्व प्रणालीमा जानु पर्ने सुझाव दिएका छन् । 

२ नम्बर प्रदेशको धनुषा र पर्सामा, कर्णाली प्रदेशको सुर्खेतमा र सुदूरपश्चिमको कैलालीमा सम्पन्न छलफल तथा अन्तरक्रियामा भने सभापतिलाई थप बलियो बनाउनु पर्ने सुझाव आएको छ । वीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म पार्टी बलियो र अनुशासित भएपनि सुशील कोइरालाको पालादेखि सभापतिका अधिकार खुम्च्याइएकाले पार्टीमा अनुशासनहिनता बढेकाले अव सभापतिलाई बलियो बनाउनुपर्ने एकथरीको भनाइ छ ।  

‘‘सभापतिलाई काम गर्ने वातावरण दिनुपर्छ । बाँध्ने काम राम्रो भएन भन्ने कुरो जोडदारसँग उठेको छ,’’ सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने विधान संशोधन मस्यौदा समितिका एक सदस्यले बाह्रखरीसँग भने, ‘‘हिजो सुशील दाइसँग जोडिएका नेताहरुले पनि सुशील दाइले राम्रोसँग काम गर्न नपाएको र अहिले सभापतिज्यूले पनि त्यही कठिनाई भोग्नु परेकाले अव सभापतिलाई काम गर्ने वातावरण बनाउनुपर्छ । केही अधिकार दिनै पर्छ भन्ने कुरा गर्नुभएको छ ।’’

तर मस्यौदा समितिमा सदस्य रहेका संस्थापन इतरका एक नेताले भने पार्टीभित्र धेरै जसो नेता कार्यकर्ताहरु सबै पदमा निर्वाचन गरिनुपर्ने पक्षमा देखिएका दाबी गरेका छन् । ‘‘जिल्लाको नेतृत्वमा बसेका र आफूलाई नेताको मान्छे भन्नेहरुले सभापति र महामन्त्रीको मात्रै निर्वाचन गरेर बाँकी पदाधिकारी सभापतिले मनोनित गर्ने व्यवस्था लागु गर्नुपर्ने भनिरहेका छन्,’’ ति केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, ‘‘पार्टीको वकालत गर्ने, कसैसँग नजिक नभएकाहरु सबै पदमा निर्वाचन हुनुपर्छ भन्नेमा छन् ।’’

कांग्रेसको प्रारम्भिक मस्यौदामा केन्द्रीय कार्यसमिति गठनका सम्बन्धमा सभापति मात्रै निर्वाचित हुने, निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले नौ जना पदाधिकारी मनोनित गर्ने र केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने व्यवस्था उल्लेख छ । यस्तै अर्को विकल्पमा सभापति, महामन्त्री, २ जना सह–महामन्त्री र कोषाध्यक्ष निर्वाचित हुने, सभापतिले १–१ जना महामन्त्री र सह–महामन्त्री मनोनित गर्ने व्यवस्था उल्लेख छ । 

केन्द्रीय सभापतिको मात्र निर्वाचन गरी अरु पदाधिकारीहरुको मनोनयन निर्वाचित सदस्यहरु मध्येबाट सभापतिले मनोनित गर्ने र मनोनयको जानकारी केन्द्रीय समितिमा गराउनुपर्ने प्रारम्भिक मस्यौदामा भनिएको छ । यो पद्धति अनुसार गए पार्टीमा अनुशासन कायम हुने र पार्टीपनि बलियो हुने एकथरी कांग्रेस नेता–कार्यकर्ताहरुको दाबी छ । अहिलेको विधान अनुसार सभापतिले मनोनित गरेका पदाधिकारीलाई केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउनुपर्ने बाध्यात्मक व्यवस्थाले सभापति कमजोर अवस्थामा रहने भएकाले पार्टीमा बेथिति देखिएको उनीहरुको भनाइ छ ।  

प्रकाशित मिति: बिहीबार, असोज १८, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्