कुनै कार्यक्रममा जानु छ भने पत्रकारलाई सधैँ हतार नै हुन्छ । नपुग्दै कार्यक्रम छुट्यो जस्तो लाग्छ । कार्यक्रम सकियो कि, केही भइहाल्यो कि भन्ने हुन्छ ।
त्यस्तै अलि विशेष रिपोर्टिङ पर्यो भने अझै बढी हतारो हुन्छ । बिहीबार त्यस्तै हतार गर्दै म सर्वोच्च अदालत छिर्न खोजेँ । मोटरसाइकल बिमा संस्थानको परिसरमा पार्किङ गरेर छिर्नुपर्नेमा झुक्किएर सर्वोच्चको गेटमै पुगेंछु । अनि सर्वोच्चकोे गेटमा बसेका सुरक्षाकर्मीले मलाई ‘बाइक’ पारी भनेपछि पो याद भयो ।
अरु दिन त त्यहाँ मोटरसाइकल पारी कटाउन पनि निकै गाह्रो हुन्थ्यो । तर, बिहीबार विप्लव माओवादी, वैद्य माओवादी र मोहनविक्रम सिंहको पार्टीले गरेको बन्दको दिन । सजिलै बिमा संस्थानको पार्किङमा बाइक पुर्याएँ र पार्किङ गरेँ । अनि सर्वोच्चको गेटदेखि नै सुरु भयो चेकिङ ।
सर्वोच्चको गेटमा हुने चेकिङमा सामान्य सोधपुछपछि आफू रिपोर्टिङका लागि आएको बताएपछि मलाई सहजै भित्र प्रवेश दिइयो ।
भित्र माहोल रोचक र चहलपहल बाक्लो थियो । वकिल, पत्रकार, सुरक्षाकर्मी, सर्वसाधारण लगायतको उपस्थिति बाक्लै थियो ।
कुरा आ–आफ्नै । गुनासा फरक–फरक । तर, चासो एउटै । आफ्नो मुद्दा तारेखमा आएकालाई पनि परिसरभित्रको माहोलले फरक बनाएको थियो । यता बार दिवस मनाइरहेका वकिलहरु पनि आफ्नो उत्सवभन्दा अदालतको जारी बहसमा बढी रुची दिएका थिए । कारण थियो, बिहीबार सुरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्धको मुद्दा माथिको छलफल ।
अधिवक्ता ओम प्रकाश अर्यालले लोकमानविरुद्ध दायर गरेको मुद्दामाथि पक्षधरले बहस गर्दै थिए । सधैँ अदालतको बहस हेरेका पत्रकारलाई बेन्चमा जान नदिँदा उनीहरु व्यवस्थापनप्रति पनि थप आक्रोशित थिए । केही पत्रकार भने पहिले नै भित्र छिरेका थिए । हामी भित्र जान नपाएकाहरु बाहिर बस्दै थियौं । अर्याल पक्षधर ११ वकिलले बहस गरिरहेका थिए । अन्य वकिलहरु पनि त्यहीँ वरपर घुम्दै थिए । सुरक्षाकर्मी, मिडिया र वकिलहरुको बाक्लो उपस्थिति देखेर सोध्दै थिए, “आज के छ ?”
“लोकमानको बहस,” हामी मध्ये कसैले जवाफ दिन्थ्यौं ।
त्यसपछि उनीहरु सानो स्वरमा ‘ए...’ भन्दै हिँड्थे ।
बहस चलुन्जेल सबैको ध्यान अन्त गएन ।
कुरा हुन्थ्यो– कसरी टुंगिएला, आज कति जनाको सकिएला । फैसला कहिले होला ? लोकमान सिंह पक्षका वकिलले बहस गर्लान् कि नगर्लान्, यस्तै यस्तै ।
अनि कतिबेला कतिबेला कुरा हुन्थ्यो, ‘आज लोकमान पनि तारेख बुझ्न आउँदैछन् ।’
यसरी कुरा गर्दै गर्दा साढे तीन बजिसकेको थियो । मुद्दा पक्षधरको बहस सकिएर सरकारी वकिलको प्रतिरक्षाको बहस सुरु भयो । पत्रकारबीच समाचारकै कुरा भइरहेका थिए ।
कतिले समाचार र हेडलाइनकै कुरा गरेका थिए ।
त्यतिकैमा लोकमान तारेख बुझ्न कतिबेला आउँछन् त ? हाम्रो ध्यान त्यता गयो ।
कुरा गर्दै गर्दा ३ः५५ बजिसकेको थियो । सबैजना लोकमान आएर पेसी बुझेपछि मात्रै निस्कने भन्ने तयारीमा थियौं ।
त्यसपछि लाग्यौं लोकमान तारेख बुझ्न आउने ८ नम्बर कोठातिर ।
त्यहाँ फोटो र भिडियो खिच्न तम्तयार अवस्थामा बसेका फोटोपत्रकार साथीहरु थिए । त्यस्तै अन्य पत्रकार, वकिलहरु, सर्वोच्चका अन्य कर्मचारीहरु लोकमानकै प्रतीक्षामा थिए ।
तर, लोकमान ४ः१० बजेसम्म पनि आएनन् । हामी उनी आउने भनेपछि कुरिरह्यौं ।
सर्वोच्च परिसरमै चर्चा सुनियो, लोकमान आउने भनेपछि यतिबेर कुरिएको हो । सामान्य मान्छे भएको भए ४ बजिसक्यो भनेर फर्काइदिन्थे ।
उनी आएनन् भने के हुन्छ ? केहीको जिज्ञासा पनि थियो । ‘जसरी पनि आउनैपर्छ’ एक वकिलले बीचमै भने ।
सवा ४ बजेतिर एउटा निलो नम्बर प्लेटको गाडी आयो । त्यसबाट ओर्लिए लोकमानका ज्वाइँ ।
त्यसपछि उनलाई चिनेका पत्रकारबीच कानेखुसी चल्यो ।
उनीहरुले भने, “ज्वाइँ आएपछि त कार्की आउने कन्फर्म भयो ।”
ज्वाइँ यताउता घुमिरहेका थिए । पत्रकारहरु उनलाई बेला बेला हेर्थे । ज्वाइँ फोन गर्थे बेला–बेला, कसलाई हो थाहा भएन ।
भित्र कर्मचारी भने उनी आउने थाहा पाएर होला, कागज तयार पारेर बसेका थिए । लोकमान गेटबाट छिरेपछि ज्वाइँ ८ नम्बर ढोकातर्फ आए । क्यामेरा तयार पारेर बसेका थिए साथीहरु ।
सबैको प्रतीक्षाको घडी पूरा भयो, लोकमान आए कालो सिसा भएको सेतो गाडी चढेर । अनि निस्किए सेतो कोटमा ठाँटिएका लोकमान ।
क्यामेराका अगाडि दुई हात जोड्दै भित्र छिरेका उनलाई सुरक्षाकर्मीले घेरेर भित्र पुर्याए ।
उनी भित्र छिर्नेबित्तिकै दुई युवा नारा लगाउँदै निस्के, ‘नेकपा माओवादी जिन्दावाद, ‘भ्रष्टचारीलाई कारबाही गर’, ‘ज्यानमारालाई कारबाही गर ।’
एकछिन सबै अलमलमा परियो ।
ती युवा मोटरसाइकाल निकालेर भाग्न खोजे । त्यहाँ कर्मचारी र पुलिसले उनीहरुलाई समाए । तर, उनीहरुले नारा लगाउन छाडेनन् ।
हामीलाई छिर्न गाह्रो भएका ठाउँमा उनीहरु कसरी मोटरसाइकलसहित आए ?
लोकमान ८ नम्बर कोठाभित्रै थिए । भित्रबाट ढोका लगाइयो । झ्यालबाट पानी दिइयो ।
हामी एकछिन अन्योलमा पर्यौं ।
के भयो ?
कहाँबाट आए यस्ता केटा ?
कोठाभित्रै थिए कि कता ?
पत्रकारलाई छेउ लगाएर राखिएको ठाउँमा उनीहरु कसरी कोठाभित्र गए ? अचम्म !
एकछिन हल्ला मच्चियो । केही मान्छे यताउता भागे पनि ।
हामी भने अन्योलमा परेर त्यहीँ बसिरह्यौं ।
लोकमान बाहिर निस्केपछि फोटो खिच्न थाल्यौं ।
ठेलमठेलका बीच लोकमान गाडीभित्र पसे र गाडी हुइँकियो ।
अब सबैमा कौतूहल भयो, नारा लगाउने केटाले के गरेछन् भन्ने । भित्रबाट एकजना कर्मचारीले कालो प्लास्टिक निकाले । ओहो ! केटाहरुले त कालो मोसो पनि लिएर आएका रैछन् ।
कतै लोकमानलाई नै मोसो लगाएनन् ?
केटाहरूले भित्रै पसेर मोसो दल्नसमेत भ्याएछन् । झ्यालबाट त लोकमानको अनुहारको कालो धुन पो पानी पास गरिएको रहेछ ।
सबैको समाचारको हेडलाइन फेरियो, ‘लोकमानलाई सर्वोच्च अदालत परिसरमै कालोमोसो दलियो ।’
त्यसपछि कुरा रह्यो, कालोमोसो दल्ने केटाहरुको । उनीहरू कतिबेला त्यहाँ आएर बसे भनेर कसैले याद गरेका थिएनन् । कर्मचारीहरु हामीलाई कराउन थाले, “तपाईंहरु आईडी कार्ड भिरेर बसेको भए त यस्तो हुन्थेन ।” दोष त हामीलाई पो छ बा !
एकछिनमा मोबाइलमा खिचेका फोटोहरु हेर्दै जाँदा एउटा फोटोमा उनीहरु देखिए । वास्तवमा उनीहरु अगाडिदेखि नै त्यहाँ आएर उभिएका रहेछन् ।