काठमाडौं । दुई वर्ष नर्वेमा लुकेर बिताएका काभ्रे कात्तिके देउराली १ का ३७ वर्षिय बुद्धकुमार लामाले २० जना बेरोजगार युवा युवतीलाई युरोप, अमेरिका र विभिन्न देशमा पठाइदिने भन्दै ठगी गरेका छन् ।
लामाले युरोप, अमेरिका, दुबई कतार लगायतका विभिन्न देशमा पठाईदिने भन्दै २० जनाबाट १ करोडको हाराहारीमा रकम ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
पर्यटक भिसामा सन् २०११ मा नर्वे गएका लामा दुई वर्ष उतै लुकेर बसेका थिए । नर्वेमा लुकेर बस्न समस्या भएपछि उनी नेपाल फर्किए ।
नेपाल आएपछि उनले युरोप र अमेरिका लगायतका मुलुकमा पठाउने भन्दै ठगी गर्न थाले ।
केही युवाले आफूहरु ठगिएको भन्दै प्रहरीमा उजुरी गरेपछि उनी पक्राउ परेका थिए । प्रहरीले उनलाई आइतबार विहान काठमाडौंको कमलपोखरीबाट पक्राउ गरेको हो ।
लामाले जितेन्द्र ठकुरी, पवित्र खड्की, दया नगरकोटी, पवित्रा श्रेष्ठ लगायतका २० जनालाई विभिन्न देश पठाईदिने भन्दै २ वर्ष यता ठगी गरेको महानगरीय अपराध महाशाखाका ठगी उजुरी छानबिन शाखाका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थीले बताए ।
प्रहरी निरीक्षक पन्थीका अनुसार दुबईमा रहेको कृष्ण कन्सलटेन्सी नामको कम्पनीसँग मिलेर लामाले ठगी गरेका हुन् ।
“वैदेशीक रोजगारीमा जान चाहेका युवाहरुलाई सस्तोमा छिट्टै उडाई दिने भन्दै ठगी गर्ने गरेको भेटियो,” प्रहरी निरीक्षक पन्थीले भने ।
दुबईमा रहेको कम्पनीबाट नक्कली ‘डिमाण्ड पत्र’ बनाएर पैसा असुल्ने गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक पन्थीका अनुसार कैयौंको रकम उठाएर उनी बेपत्ता भइसकेका थिए ।
लामाले पैसा आफूले नबुझेर दुबइमै हुन्डी गर्न लगाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । “प्रहरी फन्दामा परिने डरले लामाले भिसा नलागेसम्म मलाई एक रुपैयाँ दिनुपर्दैन, सिधै कम्पनीमा बुझाउने हो । लौ उतै कुरा गर भनेर दुबईमा रहेका आफ्ना ठग पार्टनरसँग कुरा गराएर पैसा हुन्डी गर्न लगाउने गरेको भेटियो,” प्रहरीले भन्यो । पक्राउ परेको पहिलो दिनमै २० जना पीडितले उनले ठगी गरेको भन्दै गुनासो गरेका छन् ।