site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
लक्ष्मीको प्राणमाथि मिलापत्र गर्ने तिमीहरू को हौ ?
Sarbottam CementSarbottam Cement

स्थानीय शिक्षक हीरा लामाको नेतृत्वमा स्कुलको खेलमैदानमा नाम्लोले बाँधेर मलमूत्र खुवाउँदै छातीमा लात्तीले हानेर घाइते बनाइएकी काभ्रे सानो वाङथलीकी लक्ष्मी परियारको मृत्यु भएपछि मिडियाहरूले ‘कभरेज’ गरे ।

हीराले लक्ष्मीको टाउकोमा चिर्पटले हानेर रक्ताम्य बनाएको बयान लक्ष्मीकै नाबालक छोराको मुखबाट बाहिर आयो । सामाजिक सञ्जालबाट थाहा पाउने दुनियाभरिका नेपाली स्तब्ध बने ।

हीरालाई ‘फाँसी देऊ’ भन्ने विचार प्रकट भए । कसैकसैले त खुलामञ्चमा लगेर ‘गोली हान’ भनेर सरकारलाई सल्लाहसमेत दिए । यी सबै लक्ष्मीको एकमुठी प्राणप्रतिको गहिरो समर्थन र हीरा लामाप्रतिका चरम आक्रोश थिए । तर, निकम्मा राज्य व्यवस्थाले नागरिकहरूको समर्थन र आक्रोश कहिल्यै बुझ्न सकेन । बुझ्दैन र बुझ्ने पनि छैन । लाग्छ, नेपालमा नागरिकको चेतना खुल्यो तर नियमावली अझै कता हो कता बन्द बाकसभित्र कैद छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नियमावलीलाई निजी पेवा ठनेका ठेकेदारहरुको मुखमा झुन्डिएको प्रख्यात शब्द हो ‘मिलापत्र’ । अर्थात्, पीडितले सबै कुरा सहेर मिल्नु प¥यो, किनभने मुख्य अपराध उसैको थियो । घाउ सहँदै, पीडा सहँदै, वेदना र दमन सहँदै नमिल्नुको अर्थ हुन्छ, कानुनको पालना नगर्नू । बडा हाकिमका लागि मिलापत्रको अर्थ हुन्छ– एकथान स्मार्ट मोबाइल, बैंकमा सिधै पैसा जम्मा, केही तोला छापावाला औँठी । 

तर, जब पीडितहरू प्राण त्यागको परिधिबाट गुज्रँदै अन्तिम श्वास तान्न तयारी हुन्छन्, तब मिलापत्रको रामकहानी फुत्त बाहिर निस्कन्छ । ‘पावर’ र पहुँचवाला मानिसको नामावली सरसर्ती निस्कन्छ । खैलाबैला र हंगामा हुन्छ । लक्ष्मी परियारको मृत्युले एकपटक फेरि खैलाबैला र हंगामा भएको छ । लक्ष्मी बाँचेको भए मिलापत्रमै टुंगिन्थ्यो सम्पूर्ण रामकहानी । तर मरिन् । उनको मृत्युले यही कुरा बोल्छ– उनी मिल्न चाहेकी थिइनन् ।

Global Ime bank

मिल्ने कुरा राम्रो हो । नमिली सुखै छैन । तर, मिल्ने बहानामा कानुन पालना नगराउने संस्कार निकै खराब हो । हामीकहाँ यो संस्कार निकै लोकप्रिय छ । प्रहरी र वकिलहरू मिलापत्रका लागि ज्यान फालेर लागेका हुन्छन् । गर्ने नै भए पनि मिलापत्रको विषय घटनाप्रधान हुनुपर्छ ।

बोक्सीको आरोपमा हातखुट्टा बाँधेर मुखमा दिसापिसाब हालिदिने अनि त्यही अपराधीसँग मिलापत्र गरेर सबै पीडा सहनुपर्ने ?

काभ्रे सानो वाङथलीको घटना हालसालैको भएकाले निकै पीडा दिएको छ तर नेपाली समाजमा यस्ता धैरै घटना मिलापत्रको बहानामा गुपचुप गराउने, सकभर बाहिर मिडियामा पनि सार्वजनिक नगर्ने चलन छ । अक्सर पीडितहरु निमुखा हुन्छन् । ती गरिब हुन्छन् । आवाजविहीन हुन्छन् ।

यो पक्का हो– ठूला, सम्पन्न र सामाजिक रूपमा बलिया मान्छेलाई उम्काउन मिलापत्रको अवधारणा विकसित भएको हो । समाजमा जघन्य अपराध हुँदै जाने, राज्यका निकायले कारबाही नगरेर मिलापत्र गराउँदै टुंग्याउने हो भने कानुनको के काम ?

समाजमा घटनाहरू भइरहन्छन् । त्यसैले हामी नियम–कानुनको अधीनमा बाँधिएका हुन्छौँ । मानवताको कुरा गर्छौँ । सकेसम्म सामाजिक प्राणी बन्ने प्रयास पनि गर्छौँ । आजको डिजिटल समाजले मानिसहरूलाई झन् जिम्मेवार, एकीकृत, चेतनशील र सहयोगी बनाउन मद्दत गरिरहेको छ । विश्वको मात्र होइन, मानवताको परिभाषामा समेत फेरबदल देखिएका छन् ।

तर, यही समाजमा बोक्सीको आरोपमा मलमूत्र खुवाएर कुटपिटपछि मृत्यु भएको भनिएकी काभ्रे सानो वाङथली–७ की लक्ष्मी परियारको मृत्यृ प्रकरणलाई नजिकबाट नियाल्यो भने हामी कति धेरै चुनौतीपूर्ण समाजको प्रतिनिधि भएर बाँचिरहेका रहेछौँ भनेर चिन्ता लाग्छ । वास्तवमै नेपाली समाजमा धेरै किसिमका चुनौतीहरू यथावत् छन् । संविधानको पालना सही रूपमा नगराउँदा बेथितिले सीमा नाघेको देखिन्छ । 

संविधानलाई कागजको खोस्टो गराउने बेथिति, केबल बोक्सी प्रथाको विश्वासमा गरिएका अनेकौँ हत्या शृंखलासँग मात्रै सम्बन्धित छैन । चोर, डाँका, गुण्डा, ज्यानमारा, तस्कर, बलात्कारी, माफिया, भ्रष्टाचारी, अपहरणकारी सबैको हकमा नजिक छ । आज ‘मस्ट वान्टेड’को सूचीमा दर्ज भएका ज्यानमाराहरू सार्वजनिक कार्यक्रममा अतिथिको आसनग्रहण गरिरहेका छन् । आफ्ना दुईचार भनाइसहित मन्तव्य व्यक्त गरिरहेका छन् ।

घटनाहरू जातप्रधान हुँदैनन् । ती अपराधीप्रधान नै हुन्छन् । तर, यो भूमिमा लक्ष्मी परियार जस्ता लाखौँ दलित (म दलित भन्न चाहन्न) वहिष्करणमा परेका ‘जाति’माथि ठूलो अन्याय हुँदै आएको छ । नेपालको कारागार हेर्नुभयो भने सबैभन्दा धेरै दलित देखिनेछन् । यो मजाक होइन, वास्तविकता हो । पीडितका लागि कानुन पीडक भएर उभिएको हुन्छ । तिनको मसिनो स्वर, निसास्सिएर झन् मसिनो हुन्छ । 

यो देश सुकिलामुकिलाहरुको अधीनमा छ भन्ने विषयमा बहस गर्नु बेकार छ । अकाट्य सत्यमाथि बहस हुँदैन, जस्तोः पृथ्वी गोलो छ, घुमिरहन्छ ।

हिमालमा हिँउ पर्छ । समुद्रमा माछा पाइन्छ । जंगलमा मृग, बाघ, भालु हुन्छन् । यी अकाट्य सत्य हुन् । यो भूमिमा दलितहरू कहिल्यै मानिस थिएनन् । पंतिmकारले उनीहरूलाई सामूहिक रूपमा मन्दिर पसाएको संस्मरण गर्दा तिनका त देवता नि रहेनछन् ।

अन्ततः मानिसको दर्जा पाउन नसक्दा लक्ष्मी परियारको निर्मम हत्या भयो । यतिमात्रै भएको भए त व्याख्याको अर्को पाटो हुन्थ्यो । उनले एकमुठ्ठी प्राणको बचाउमा हारगुहार गर्दा समेत उनी बाँचेको समाजले अग्रिम मौनधारण गरिदियो । लक्ष्मीको कलिला छोराको अगाडि उनको छातिमा लात्ती हानियो । घाँटी थिचियो । चिर्पटले टाउकोमा प्रहार गरियो । र, लक्ष्मीको प्राण गयो । 

मंसिर २० गतेको दिन लक्ष्मीका लागि अभिशापको दिन रह्यो ।  मेलाबाट फकर्ने क्रममा सामाजिक विषय पढाउने गरेका आफ्नै गाउँका शिक्षक हीरा तामाङ र उनकी आमा काइँलीसँग लक्ष्मीको विवाद भएपछि दुबैले कुटपिट गरेका थिए । कुटपिट गर्दा अरुले रमिता ठानेर हेरिरहेका थिए ।

किनभने तिनलाई भ्रम थियो– हीरा तामाङ त ‘सर’ हुन् । सरले पिटिरहे, छरछिमेकले हेरिरहे । लक्ष्मी मूच्र्छा पर्दै गइन् ।

मृतक पक्षका १० वर्षीय छोरा र आफन्तले लक्ष्मीलाई स्थानीय सूर्योदय माविको खेलमैदानमा बाँधेर मलमूत्र खुवाउँदै पिटिएको बताएका छन् ।

घटनाका प्रत्यक्षदर्शी लक्ष्मीका छोराले मानवअधिकारवादी भनिएका समूह र पत्रकारहरूसँग दिएको बयान सुन्दा आँखामा आँसु नझार्ने शायद कमै हुन्छन् । आफ्नी आमाको हत्यामा अबोध छोराको बयान नै सम्पूर्ण आधार हो । रोहवर बसेका गाउँलेहरू फगत झुठका पुलिन्दा हुन् ।

अर्की प्रत्यक्षदर्शी थिइन् कान्छी तामाङ । लक्ष्मीले अपशब्द बोलेकाले लठ्ठीले पिटे पनि ‘हीरा सर’ले मरणाशन्न हुने गरी नपिटेको दाबी गरेकी थिइन् । (मानौँ कि लक्ष्मीले खाएको चिर्पट ती कान्छीको टाउकोमा लागेको थियो र एकदमै कम दुखाइ महसुस गरेकी थिइन् ।) पटक–पटकको पिटाइ र घेराबन्दीले लक्ष्मीको प्राण हत्केलामा थियो । यद्यपि २१ गते काइँली तामाङ र छेडुप तामाङले लक्ष्मीविरुद्ध भैँसी काटेको आरोपमा उजुरी गरिहाले ।

उहिले एक जमाना थियो । ठूला भनिएका उच्च जातिलाई जोगाउन वा दलितलाई फसाएर अन्यलाई उन्मुक्ति दिन आफूले यौन सम्पर्क गरेर ‘गर्भवती’ गराएको आरोप गाउँको कुनै दलितको छोरालाई लगाइन्थ्यो । ‘डीएनए’को जमना कहाँ थियो त्यो ? मन्दिर पसेर पूजा गरेको, गाई काटेको आरोपमा समाज निकाला गरिन्थ्यो । ऋणधनको सवाल निकालेर उनीहरूलाई कमजोर गराइन्थ्यो ।

उजुरीको २३ गते प्रहरीले दुबै पक्षलाई राखेर लक्ष्मीले ५ हजार पुरानो र १ हजार भैसीको उपचार खर्च गरी ६ हजार रुपैयाँ तिर्ने शर्तमा मिलापत्र गरेको कागज तयार गर्‍यो । तर, उनले खानु परेको पिटाइबारे कुनै न्याय निसाफ गरिएको थिएन । हीरा लामाको चिर्पटको चोट कहाँकहाँ दुखेको छ ? सोधिएको थिएन । हीराले किन मलमूत्र खुवाए, त्यो पनि बुझिएको थिएन । यस्तो लाग्छ कि कानुनको नजरमा हीरा लामाको कुकार्य स्वाभाविक छ ।

विभिन्न सञ्चारमाध्यममा आएका समाचारहरूलाई आधार मान्दा र पंक्तिकारकै स्रोतअनुसार पनि ०७१ सालमा स्थानीय माइली विकलाई कुटपिट गरेको विषयमा उपचार खर्चबापत ५ हजार दिने गरी मिलापत्र भए पनि रकम चुक्ता नगरेको भन्दै ६ हजार तिर्ने शर्तमा मिलापत्र भएको थियो ।

मिलापत्र कागजमा दुवै पक्षले सही गरेका छन् । पैसा तिरेन भने कुट्न पाइन्छ ? नानाथरी आरोपमा मलमूत्र खुवाउन पाइन्छ ?

लक्ष्मी परियारको प्राणमाथि मिलापत्र गर्ने तिमीहरू को हौ ? कहाँका महाराजा हौ ? कहाँका संविधानविद् हौ ? कहाँका न्यायमूर्ति हौ ? कानुन हातमा लिने तिमीहरू के हौ ? पहिलो घटना भएलगत्तै हीरा लामामाथि कारबाही गरेको भए घटनाले दोस्रो रूप लिँदैनथ्यो कि ? तिमीहरूको गिदीमा अलिकति ‘अक्कल’ छ कि छैन ? समाजमा दमित र अपहेलित मान्छे मिलापत्र त गर्छु भन्छ नै ।

गाउँकै प्रहरी चौकी चौवासका इन्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमपुकार चौधरीले घटनालाई मिलाउने (मिलापत्र) गराउने प्रयास गरेका थिए ।

किनभने हीराका आफन्तले लक्ष्मी सही अवस्थामा रहेको र धेरै कुटपिट नभएको बताएका थिए । प्रहरीले पीडितको भन्दा पनि पीडकको आवाज सुनेको भान हुन्छ । किनभने कुटपिट भएको वा नभएको त लक्ष्मीको छोराले दुनियाँसामु प्रकाश पारिसकेका छन् ।

२४ गते बिहान लक्ष्मी मृत अवस्थामा फेला परिन् । प्रहरीको घटनास्थल मुचुल्कामा लक्ष्मीको घरमा आलो रगत, दायाँ आँखामुनि निल डाम, निधारमा निलडाम, नाकको डाँडीमा निलडाम तथा बायाँ प्वालबाट रगत बगेको अवस्थामा फेला परेको उल्लेख छ । हीराका आफन्तले भनेझैँ धैरै कुटपिट नभएपछि दाया आँखामुनि, निधार, नाकको डाँडीमा निलडाम हुन्छ, हो ? कुन डाक्टरको ‘जस्टिफाइ’ हो यो ? 

लक्ष्मीले प्राण त्यागिसकेकी छन् । घटनाले ठूलो रूप लिएपछि आरोपी हीरा लामा पक्राउ परेका छन् । लक्ष्मीको निधन भइसकेपछि हीरा पक्राउ पर्नु कुनै महान कुरा होइन । यो त स्वाभाविक छ । तर, विडम्बना मिलापत्रमा देखिन्छ । शायद मिलापत्र नगरेको भए हीरा पहिल्यै हिराशतमा हुन्थे । केही ‘सबक’ सिक्थे । दोस्रो घटना हुनै पाउने थिएन । लक्ष्मीका सन्तानहरू टुहुरा बन्ने थिएनन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २, २०७३  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC