राजनीति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रालय र निकायका सचिवलाई परिवर्तनलाई बोध गर्ने गरी काम गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले गत भदौ २३ गते व्यवस्थापिका–संसद्मा सम्बोधन गरेका विषय कार्यान्वयनका बारेमा जानकारी लिन आइतबार बोलाइएको सचिवहरुको बैठकमा उनले उक्त कुरा बताएका हुन् ।
उनले मन्त्रालयसँग सम्बन्धित नीतिगत र कार्यक्रमगत प्रगतिको जानकारी लिँदै सचिवलाई तदारुकताका साथ कामलाई तीव्रता दिन निर्देशन दिएको प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।
बैठकले प्रधानमन्त्री दाहालको सम्बोधनका विषय कुन कुन मन्त्रालयसँग सम्बन्धित छन् भन्ने विषयमा प्रस्तुति हुनुका साथै त्यसलाई कार्यान्वयनका लागि आवश्यक पर्ने बजेटका सम्बन्धमा अर्थ मन्त्रालयले अवगत गराएको थियो ।
प्रधानमन्त्री दाहालले भाषणमा अभिव्यक्त भएका विषय र योजना कार्यान्वयनका लागि प्रतिबद्ध भएर सक्दो छिटो काम सुरु गर्न निर्देशन दिनुभएको उपप्रधानमन्त्री महराले बताए ।
बैठकमा प्रधानमन्त्री दाहालले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएका थिए । उनले जनताले अनुभूत गर्ने गरी पुनःनिर्माणको काम भएको हुनुपर्ने धारणा राखेको बैठकमा सहभागी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बताए ।
प्रधानमन्त्री दाहालले पुनःनिर्माणको काम अघि बढेको भए पनि उत्साही हुनुपर्ने अवस्था नरहेकाले आइतबारबाट थप तीव्रताका साथ अघि बढ्न निर्देशन दिएको सचिव अधिकारीले जानकारी गराए ।
उनले मन्त्रालयका कार्ययोजना कार्यान्वनयका सम्बन्धमा आफूले निरन्तर र आकस्मिक ढङ्गले अनुगमन तथा निरीक्षण गर्नेसमेत बताएका थिए । रासस
प्रकाशित मिति: आइतबार, असोज ९, २०७३ १८:३०
प्रतिक्रिया दिनुहोस्