site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कबाड बटुलेर कलेज खर्च

अचेल सहरमा भाले बास्दैन । भालेको डाकसँगै पूर्व क्षितिजमा रातो डोरो पनि बस्दैन । ‘कबाडीवाला’ले लिएर आउँछन् बिहान । यस्तो लाग्छ– काठमाडौँ सहरका गल्लीहरूमा घाम पस्दैनन्, तर कबाडीवाला पस्छन् ।

‘खाली सिसी... पुराना कागज.... फलाम....’ एकाबिहानै कबाडीवालाका यी आवाज सुन्दै ब्युँझन्थिन् गौरी तिमल्सिना । तिनै कबाडीवालालाई ‘पुराना’ कापी किताब थमाएर थुप्रै पटक खुसी साटेकी छिन् गौरीले । कापी–कलम किन्ने पैसा जोहो गरेकी छन् ।

तर, समय स्थिर कहाँ रहिरन्छ र ! बदलियो । अहिले तिनै कबाडीवालाझैँ खाली सिसी, पुराना कापीकिताब, फलामका टुक्राटाक्रीमा जीवनका रङ खोजिरहेकी छन् उनी । सहरका गल्लीगल्लीमा साइकल डोर्‍याउँदै कबाडी सामान बटुलेर  जिन्दगीको सपना संगालिइरहेकी छिन् गौरी ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

गएको हप्ताकोमात्रै कुरा हो, गौरी एकाएक सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । काँडाघारीचोकमा कबाडी सामग्री राखेर साइकल डोहोर्‍याउँदै गरेको तस्बिर बाटो हिँड्दै गरेकी गरिमा घिमिरेले खिचिन् । सरगम भट्टराईले त्यसलाई सामाजिक सञ्जालमा हाले । वायुवेगमा फैलियो । प्रतिक्रियाको ओइरो लाग्यो ।

स्थानीय गान्धी आदर्श मावि, गोठाटारमा कक्षा १२ मा पढ्ने गौरी सामान्य किशोरी थिइन् । एकाएक ‘सेलिब्रिटी’ बनिन् ।

\"\"काठमाडौँ उपत्यकालगायत सहरी क्षेत्रमा कबाडी सामग्री संकलन गर्ने प्रायः तराई–मधेशमूलका छन् । पहाडिमूलका भेटिनै मुस्किल । महिला त छँदै छैनन् भन्दा हुन्छ ।

१२ कक्षामा अध्ययनरत किशोरी साइकल डोर्‍याउँदै कबाडी संकलन गरेर हिँड्दा सामाजिक सञ्जालमा आश्चर्य प्रकट गर्नु  स्वभाविकै थियो । रोजीरोटीका लागि बरु विदेश जान तत्पर हुने तर स्वेदशमा सामान्य काममा पसिना बगाउन लाज मान्नेहरूलाई गतिलो जवाफ पनि थियो त्यो ।

तर, उनलाई त्यसले चैनको स्वास फेर्न दिएन । तस्बिर सामाजिक सञ्जालमा फैलिएको रातआँखा झिमिक्क पनि गर्न सकिनन् । निदाउँदै ननिदाइ छ्याङ्ग उज्यालो भयो ।
“ला मैले त फोटो आउने काम पो गरेँछु ! ” मनमनै यस्तो सोचेर उनलाई  निकै लज्जाबोध भयो ।

सानैमा  सामाजिक इज्जत तथा प्रतिष्ठाको बोझले थिचिएकी गौरीलाई घरपरिवारले के भन्ला भन्ने पिरले पिरोल्नसम्म पिरोल्यो ।

उरन्ठेउला  साथी न हुन् । फोन नै गरेर जिस्क्याए, “फेसबुकमा तैँले साइकल डोर्‍याएको फोटो छ । कबाडी सामान उठाउँदिरैछेस्, हाम्रो घरमा पनि पुरानो दराज छ, लिन आइज  !”

निकै ग्लानी भयो उनलाई । साइकल डोर्‍याएर हिँडेकोमा पश्चाताप पनि । 

फोटो खिच्ने गरिमालाई बाबु विनोदले झाँको झारे– “हाम्रो छोरीको इज्जत लिलाम गर्ने ?”

सम्झाउन हम्मेहम्मे पर्‍यो उनीहरूलाई ।

गरिमा सुनाउँछिन्– “सामाजिक इज्जत, प्रतिष्ठामा कतै दाग नलागेको परिवार । परिश्रमलाई अत्यन्त सम्मान गर्ने छोरी । तर, स्कूलका साथीसंगातीले हेयभावले हेरिदिएपछि उनी अत्ताल्लिएकी रहिछन् । बुझाउन निकै पापड बेल्नुपर्‍यो ।”

तर, गौरी अहिले फेरिएकी छन् । अनुहार पूर्णचन्द्रझैँ उज्यालो छ । गर्वले शीर ठाडो भएको छ ।रुँदारुँदै थाकेका आँखामा बिहानी छाएको छ ।

\"\"

कारण– सामाजिक सञ्जालका प्रतिक्रियाले उनलाई हौस्याएको छ । प्रेरणाले पुलकित तुल्याएको छ । भरथेगका वचनले उद्देश्यप्रति अविचलित रहन सुझाएको छ । र त, पूर्ववत् लयमा काँडाघारीका गल्लीहरूमा निर्धक्क साइकल डोर्‍याउँदै कबाडी सामग्री उठाउने प्रण गर्छिन् उनी ।

तस्बिरभित्रको कथा 

दोलखा कालिञ्चोक गाउँपालिकाको रैथाने तिमल्सिना परिवार । पुस्तैनी गरिबीको टोकसोमा परे । खेतीपातीको आयस्ताले वर्षदिन खान नपुग्ने भएपछि बाबु विनोदले २०५४⁄०५५ सालमा गाउँमा सानोतिनो पसल खोलेका थिए, ऋणपान गरेर ।

तर, ऋणले ऋण नै कमायो, उकासिन सकेनन् । गरिबीको दुश्चक्रबाट पार नपाउने देखेर ६० को दशकमा पुख्र्यौली थातथलो छाडेर भक्तपुर झरे ।

“बिहान खाए बेलुका के खाउँ हुने, बेलुका खाए बिहान चुल्हो बाल्नै धौधौ । गरिबीले माया दया नराखी लखेट्न थालेपछि गाउँ नछाडी सुखै पाइनँ,” सहर पस्नुको दुःख सुनाउँछन् उनी ।

गरिबीलाई काँधमा बोकेर आएकाले होला, भक्तपुर आएपछि पनि विनोदको जीवनमा पारिलो घाम लागेन । दुई छोरीको जन्म गाउँमै भइसकेको थियो । छोरा जन्मिए । गरिबीमाथि अभाव थपिएझैँ भयो ।

भक्तपुरमा शुरूमा विनोदले ज्यामी काम गरे । बिहान उदयाचलदेखि साँझ अस्ताचलसम्म सिमेन्ट र बालुवा घोल्थे  । तर, पनि जीवनमा सुख मिसिएन ।

शारीरिक रूपमा बलियाबाङ्गा होइनन् । हावाको वेग थाम्न मुस्किल हुने ‘फुकिढल’ ज्यान । पैसा होइन मनग्गे रोगचाहिँ कमाए ।

अन्ततः त्यही रोगले ज्यामी कामसँग विमुख गरायो उनलाई ।

ज्यामी पेसाबाट विस्थापित भएपछि उनले कुक तालिम लिए । स्वयम्भुको एक निजी स्कुलमा कामसमेत पाएका थिए । भक्तपुरदेखि स्वयम्भु पुग्नुपर्ने काठमाडौँको भीडभाड र जाम बाधक बन्यो । समयमा पुग्न जहिल्यै समस्या ।

स्कूल सञ्चालकको बुहार्तन सहनुभन्दा स्कूल छाड्नु उत्तम ठानेर कुक पेसालाई समेत तिलाञ्जली दिए उनले ।

अहिले गरिबीमाथि ऋणको भारी थपेर भक्तपुरमै चिया पसल चलाएका छन् । चिया पसलले मात्रै साहूलाई तिर्न र बुझाउन नसक्ने देखेपछि कबाडी सामानसमेत उठाउन थालेका छन् । र, गौरी अनि १४ वर्षीया उनकी बहिनीले बाबुलाई सघाउँदा रहेछन् ।

०  ० ०

बाबुआमा भन्दा एक वर्षपछि सहर आएकी हुन् गौरी । बाल्यावस्था नै किन नहोस् गाउँको दुःखसँग राम्रै चिनापर्ची भयो । सहर आएपछि फोक्सो भरिनेगरी सुखको सास फेर्न पाइन्छ भन्ने लागेको थियो ।

तर, झन् ठूलो दुःख आइलाग्यो । केही समय उनले बाबुसँगै ज्यामी काम पनि गरिन् । मुटु कठ्यांग्रिने शीत याममा बालुवा चालिन् । सिमेन्ट घोलिन् ।

यतिमात्रैले चढ्न पुगेन शिक्षाको खुट्किलो । अहिले पढाइ खर्च जुटाउन उनी अरूका घरका जुठाभाँडा माझ्छिन् । लुगा धुन्छिन् ।

“बाबु–आमाको दुःख कति टुलुटुलु हेर्नु भनेर फुर्सद हुनेबित्तिकै अरूकहाँ भाँडा माझ्न जान्छु, लुगा धोइदिन्छु,” कारण प्रष्ट्याउँछिन् उनी ।

लुगा धुने र भाँडा माझ्ने कामले मात्रै पढाइ खर्चको जुगाड नभएपछि कबाडी सामान बटुल्न थालेकी हुन् उनले । जिन्दगीलाई अभावको आँखाबाट मात्रै पढेकी गौरीसँग थुप्रै सपना छन् । कुनै समय सेनामा जागिर खाएर बाबुको अनुहार उज्यालो पार्छु भन्ने लागेको थियो उनलाई ।

गरिबीबाहेक जिन्दगीको परिभाषा नै नबुझेकी गौरीको सेनामा प्रवेश गर्ने सपनाले अहिले मृत्युवरण गरिसकेको छ ।

किन ?

“जिन्दगी सोचेजस्तो हुँदैन र बनाउन पनि सकिँदैन । किनकि जिन्दगीको गति आफ्नै हुँदो रहेछ !,” दार्शनिक प्रतिउत्तर छ उनको ।

१६ वर्षे जीवन यात्रामा जिन्दगीलाई गहिरोसँग छामिन् । अभावलाई राम्रोसँग पढिन् । दुःखलाई आँखाले नापिन् ।

त्यसैले अहिले जीवनको लक्ष्य बदलेकी छिन् उनले । शिक्षा शास्त्र संकायकी छात्रा गौरीको शिक्षक बन्ने अभिलाषा छ । त्यही उद्देश्य पूर्तिका लागि गल्लीगल्लीमा साइकल दौडाउँदैछिन् । कबाडी उठाइरहेकी छन् ।

जीर्ण साइकलले लक्ष्यमा पुग्न सघाइरहेको छ भनौँ ।

गरिबी निर्मम हुँदो रहेछ !

\"\"

निधारमा रातो ठाडो टीका । कानमात्रै होइन रुद्रघन्टीमा पनि लपक्कै चन्दन टाँसेका छन् विनोदले । धर्मसँगै कर्ममा पनि उस्तै तिलस्मी लगाव छ उनको ।

आफूले हड्डी घोटे पनि छोराछोरीले पढून् नै भन्ने इच्छा थियो । भरमग्दुर प्रयास नगरेका पनि होइनन् । बनिबुतो गरेरै भए पनि छोराछोरीलाई शिक्षाले आँखा देखाउने रहर थियो ।

तर, गरिबीले घुँडा टेकायो उनलाई ।

“दुःखले आहत भएर कहिलेकाहीँ ‘हातखुट्टा लाइदेको छँदैछु, गरेर खाओ भन्थेँ’ कुरा बुझेर होला जेठी साइकल लिएर कबाडी उठाउन पो थालिछ !,” भावुक हुन्छन् बाबु ।

चिया पसलले मात्रै उँभो लगाउने छाँट नदेखेपछि उनले कहिलेकाहीँ कबाडी संकलन गर्थे । घरमै कबाडवाला बोलाएर बिक्री गर्ने गर्थे । 

“दिदीबहिनीले नै त्यसकै सिको गरेछन्,” अनुहारमा पश्चाताप भाव छाउँछ उनको ।

कबाडीवालाप्रतिको धारणा

तीन महिना भयो गौरीले कबाडी सामान बटुल्न थालेको । कहिलेकाहीँ बहिनीले पनि सघाउँछिन् । तर, बाबुआमालाई सुइँकोसम्म दिएका थिएनन् ।

साँझ, बिहानको समय पारेर कबाडी सामग्री जम्मा पार्न जान्छन् तर कबाडीवालालाई हेर्ने समाजको नजरीया राम्रो छैन ।

घरको फोहोरतुल्य सामग्री उठाउने सफाइदूत हुन् उनीहरू । तर समाजले हेय भावले हेर्छ  भन्छिन् गौरी ।

कतिपय कबाडीलाई मानिसहरुले  तुच्छ गाली गरेको सुन्दा उनको चित्त दुख्छ ।

“कबाडी फोहोर होइन, मोहोर हो । यसलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ । आम्दानीको स्रोत बनाउन सकिन्छ भनेर मानिसले थाहा पाउनै बाँकी हो कि !”आश्चर्य व्यक्त गर्छिन् उनी ।

यसैका कारण हुनसक्छ, कबाडी क्षेत्रमा काम गर्ने अधिकांश दशगजा पारिका छन् । तराई–मधेशमूलका मात्रै छन् । र, अपवाद बनेकी छिन् गौरी ।

समाज परिस्कृत र सुसंस्कृत भइसकेको छैन । कबाडी कामलाई ‘लाज–घिन’ सोच्छ समाज ।

“आय–आर्जनको स्रोतका रूपमा उपयोग गर्दै जाँदा समाज बदल्ने तहमा पुगूँला नि !,”गम्भीर हुँदै कुराकानी टुंग्याउँछिन् उनी ।

आमुख तस्बिर सौजन्य : गरिमा घिमिरे


सहयोग गर्न चाहनेहरूका लागि
गौरी तिमल्सिना 
एनआइसी बैंक 
खाता नम्बर : 2187953395452401

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro