site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
करको करकर 

फाफुरा जहिले पनि फाईँफुट्टीमात्रै हाँक्छ भन्ने तपाईहरुलाई लागेको होला । कहिलेकहीँ त यसो गतिलो कुरा पनि गरे हुन्थ्यो भन्ने सोच्नु भएको होला ।  खासमा उसलाई पनि कहिलेकहीँ त्यस्तो नलाग्ने होइन । अघिल्लो साता मनसुनको कारण पानीले रत्नपार्कमा गएर टोपीले मुख छोपेर सुत्ने वातावरण बनेन । त्यसो भएपछि अब फाईँफुट्टी हाँक्न पनि नपाइने भयो भनेर ऊ चिन्तित थियो । अचानक उसको हातमा एउटा गज्जबको खुराक आइलाग्यो । सरकारले विभिन्न थरी नयाँ करहरु लगाउने तयारी गरिरहेको मस्यौदा फाफुराले भेटेको छ । पूर्वतयारी गर्न सजिलो होस् भनेर आज फाफुरा त्यही मस्यौदा तपाईँहरुसँग बाँड्दै छ । ध्यान दिएर पढ्नुहोला है !  

बोली कर

आजकल वाक स्वतन्त्रताको नाममा मानिसहरु बढी बोल्न थालेका छन् । हरेक मानिसले हरेक कुरामा हल्ला गरेर देशलाई समृृद्धितिर लैजाने गहन अभिभारा बोकेका सरकारमा भएका मानिसहरुलाई एकाग्र हुनै दिएनन् । त्यसैले यस्ता हुट्टिट्याउँ जसरी रातदिन ट्याउँट्याउँँ गर्ने स्याउँस्याउँ उम्रिएका झ्याउँझ्याउँ आवाजलाई नियन्त्रण गर्नु आजको उच्च प्राथमिकतामा परेको छ । तसर्थ विरोध गर्न पाउने प्रजातान्त्रिक अधिकारको उच्च सम्मान गर्दै त्यस्ता बोलीमा केही कर चाहिँ लगाउने निर्णय गरिएको छ । आइन्दा साथीभाइका बीच, परिवारमा, बाटोघाटो तथा सार्वजनिक स्थलहरुमा बोलेका साधारण कुराहरुमा प्रति शव्द रु १ का दरले कर लाग्नेछ । 

Prabhu Bank
Agni Group
NIC Asia

धेरै मानिसहरुलाई प्रभावित पार्ने रेडियो, टिभी तथा आमसभाहरुमा सरकारको आलोचना वा विरोधका लागि खर्च गरिएका शब्दहरुको हकमा भने यो दर प्रति शव्द रु १०० हुनेछ । गच्छेअनुसार जति सक्नुहुन्छ विरोध गर्न स्वतन्त्र हुनुहुन्छ । कर नतिरी विरोध गर्नेहरुका जिब्रो थुत्ने वा मुखै सिइदिनेसम्म जरिवानाको व्यवस्था गरिएको छ । 

एकतर्फी अधिनायकवादी नियमका रुपमा यसको अपव्याख्या नहोस् भन्दै बोलिने केही शब्दहरुमा भने उल्टो पुरस्कार प्वाइन्टहरुको व्यवस्था गरिएको छ । सरकारको भजन र स्तुति, मन्त्रीहरुको हरेक कार्यको समर्थनमा बोलिने प्रत्येक शब्दका लागि १० प्वाइन्ट प्रदान गरिनेछ । जसले जति धेरै प्वाइन्ट आर्जन गर्न सक्यो उसका लागि त्यति नै लाभकारी हुनेछ । आफूले बटुलेका प्वाइन्ट संख्याको आधारमा कुनै पनि व्यक्तिले सोहीअनुसारको प्रतिफल उपहारका रुपमा पाउनेछ । आफूले आर्जेको प्वाइन्टअनुसार, नगद पुरस्कार, तक्मा तथा विभूषण, जागीरेको हकमा पदोन्नति, विदेश भ्रमणको बेला जम्बो टोलीमा सहभागिता, विभिन्न संघसंस्थामा प्वाइन्टअनुसारको पदमा राजनीतिक नियुक्ति र बम्पर उपहारमा राजदूतसम्म पर्न सक्नेछ । अब बोलीबाट फाइदा उठाउने कि कर तिर्ने भन्ने कुरा विवेकशील नागरिकहरुले आफैँ निर्णय गरुन् । 

Global Ime bank

खोकी करः
 

खोकी भन्नाले यहाँ फेरि नेताहरुले भाषणमा गर्ने बगम्फुसे र हावादारी कुराहरुलाई बुझ्नुहोला नि फेरि है । यहाँ त्यो खोकीको हैन, साँच्चै खोकीको कुरा हुँदैछ । मेलम्ची तथा सडक विस्तारका नाममा काठमाडौंलाई एउटा ठूलो ग्यास च्याम्बरको रुप दिइसकिएको हुनाले यहाँ पूर्णरुपले स्वस्थ्य मानिस कोही पनि बाँकी छैन । अधिकांशलाई श्वासप्रश्वासको रोग लागेको छ । जनताको यस्तो अवस्थामा पनि शोकलाई शक्तिमा बदल्ने मूलमन्त्र अनुसार त्यसको सक्नेजति फाइदा उठाउनका लागि खोकी कर लागु गरिएको हो । यसअन्तर्गत हरेकपटक खोक्दा रु. ५ का दरले सरकारलाई कर तिर्नुपर्नेछ । हाच्छिउँ गर्दा भने कीटाणुहरु पनि फैलिने हुनाले त्यसमा अतिरिक्त १० प्रतिशत कर लाग्नेछ ।  

प्रेमी तथा प्रेमिका करः
 

अबदेखि कर नतिरी प्रेमी वा प्रेमिका बनाउन पाइनेछैन । प्रेमी वा प्रेमिकाको पनि प्रकारअनुसार कर निर्धारण हुनेछ । गफगाफमात्र गर्ने युगलका लागि वार्षिक रु १ हजार बेलाबेला हात पनि समातेर घुम्नेहरुका लागि वार्षिक रु २ हजार, मौका परेको बेला यताउति हेरेर चुम्बन गर्न चाहनेहरुले वार्षिक रु ५ पाँच हजार र शारीरिक सम्पर्क पनि राख्न चाहनेहरुले वार्षिक रु १० हजार कर तिर्नु पर्नेछ । अग्रिम कर तिरेर लाइसेन्स नलिई कसैले पनि प्रेमी वा प्रेमिका राख्न पाइनेछैन । यस्ता युगललाई कर तिरेको वर्ष दिनभित्रै एउटा स्मार्ट लाइसेन्स प्रदान गरिनेछ । सो स्मार्ट लाइसेन्स देखाएपछि चाहिँ होटल तथा लजमा छापा मारिँदा प्रहरीले गिरफ्तार गर्नेछैन । 

सन्तानोत्पादन करः
 

बढ्दो जनसंख्या नियन्त्रण गर्न सन्तानमा पनि कर लगाइने भएको छ । हरेक दम्पतीले पहिलो सन्तान जन्माए वापत रु १० हजार कर तिर्नुपर्नेछ र त्यसपछिका हरेक थप सन्तान हकमा रु ५ हजार थपिँदै जानेछ । कर नतिरी कसैले सन्तान जन्माएको थाहा भएमा त्यस्ता सन्तानलाई जफत गरिनेछ । आफ्ना सन्तान छुटाउनका लागि तिनलाई तीन महिनाको अवधि प्रदान गरिनेछ । त्यसको छ महीनासम्म थप ५० प्रतिशत र एक वर्षसम्म शतप्रतिशत थप जरिवाना तिरेर ट्राफिकबाट लाइसेन्स छुटाए जसरी आफ्ना सन्तान छुटाउन सकिनेछ । एक वर्षभित्र छुटाउन नसकेको सन्तानहरुलाई स्वतः जफत गरिनेछ र धर्मपुत्र वा पुत्रीको रुपमा विदेश निर्यात गर्न सकिनेछ ।

घरपालुवा जनावर तथा पशुपंक्षी करः
 

तपाईँ हामी सबैले आआफ्नो घरमा पालेका कुकुर तथा बिरालोको पनि कर तिर्नु पर्नेछ । बिरालाहरुले म्याउँ गर्दा र कुकुरहरुले भुक्दा हरेक पटक सरकारलाई रु ५० का दरले कर तिर्नुपर्नेछ । कर तिर्न नसक्ने वा छल्ने बेइमान नागरिकका कुकुरहरुलाई गैँडाको साटो उपहारका रुपमा चीन पठाइनेछ । यसरी छिमेकी मुलुकसँगको दौत्य सम्बन्ध प्रगाढ बनाउन यसले सघाउ पु¥याउनेछ । गाई, भैंसी, कुखुरा, बाख्री, सुगालगायतका अन्य जनावर तथा पशुपंक्षी पाल्नेहरु पनि करको मारबाट उम्कौँला भनेर नसोचे हुन्छ ।

अध्ययन करः
 

आजकल पठन संस्कृतिको आवश्यकभन्दा बढी विकास भएको छ भन्ने हामीले थाहा पाएका छौँ । चेतना पनि चाहिनेभन्दा बढी भयो भने त्यो हानिकारक हुन्छ भन्ने हाम्रो ठम्याइ हो । पढेरमात्र मानिस ठूलो हुने हैन भन्ने कुरा हामीलाई राम्ररी थाहा छ । हाम्रा सांसद तथा मन्त्रीहरुलाई हेर्यो भने पनि यो कुरा छर्लङ्गै हुन्छ । हात्ती पढेर ठूलो भएको होइन । हाम्रा मन्त्रीभन्दा ठूलो को हुन्छ ? त्यसैले पढ्ने कुलतबाट देशका नागरिकलाई निरुत्साहित गर्न अध्ययन करको व्यवस्था गरिएको छ । कम्युनिस्ट म्यानिफेस्टो र प्रगतिशील रचनाहरु बाहेक अरु कुनै पनि कुरा पढ्दा प्रति पुस्तक रु ५ हजार कर लाग्नेछ । 


पैदल यात्रु करः

सरकारी पैसामा बन्ने सडक तथा पेटीहरुमा निःशुल्क हिँड्न निषेध गरिएको छ । आइन्दा तपार्इँ हामीले दैनिकरुपमा हिँडेबापत हरेक पाइलाको दस पैसाको हिसाबले कर बुझाउनु पर्नेछ । हिँडेर धेरै भन्दा धेरै नागरिक स्वस्थ्य हुनु सरकारको लागि कालान्तरमा प्रत्युत्पादक हुन जाने विश्लेषण गरिएको छ । स्वस्थ्य मानिस आन्दोलन, विरोध, धर्ना, हुलदंगामा सहभागी हुने देखिएकोले हिँडाइलाई निरुत्साहित गर्न यो कर उपयोगी हुने विश्वास लिइएको छ । कर नतिरी हिँड्नेहरुलाई चेतावनीस्वरुप तिनको खुट्टा भाँच्न सकिनेछ । 

आन्दोलन करः
 

अबदेखि सरकारको कुनै पनि विरोध कार्यक्रम वा जुलुसमा आयोजकहरुले सहभागीहरुको संख्याको आधारमा ‘पर हेड’का हिसाबले कर छेर्नुपर्नेछ । जसअनुसार, आन्दोलका लागि करको दरभाउ यसप्रकार निर्धारण गरिने छः

२० जनासम्मको मानव सागरः            प्रतिटाउका ५० रुपैयाँ, 

५० जनासम्मको अपार भिडः            प्रतिटाउका २० रुपैयाँ

१०० देखि ५०० को भिडः                प्रतिटाउका १० रुपैयाँ

५०० देखि १००० सम्मको भेलाः            प्रति टाउका ५ रुपैयाँ

१००० भन्दामाथि जतिसुकैको सानो समूहः        प्रतिटाउका १ रुपैयाँ

आन्दोलनमा हिर्काइने हरेक ढुङ्गा पनि कर तिरेरमात्रै हिर्काउन पाइनेछ । निसानामा नलागेको ढुङ्गाको हकमा प्रतिटुक्रा रु ५० र प्रहरीको टाउकामा लागेको अवस्थामा त्यसको रु १०० का दरले कर तिर्नुपर्नेछ । 

द्रष्टव्यः लाठी चार्ज भएको अवस्थामा प्रहरीको कठबाँसले फुटेका टाउकाहरुको कर मिनाहा गरिनेछ ।
 

अनशन करः
 

आजकल आन्दोलनभन्दा पनि अनशन बढी प्रभावकारी देखिएको छ । तसर्थ भविष्यमा अरु धेरै अनशनहरु हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी पूर्व सावधानीका रुपमा अबदेखि अनशनमा कर ठटाइनेछ । अनशनका पनि  प्रकार हेरेर कर निर्धारण गरिएको छ । रिले अनशनका लागि कति घन्टामा सिफ्ट परिवर्तन हुने हो त्यो हेरेर प्रति सिफ्ट रु १ हजारदेखि रु ५ हजारसम्म कर लाग्नेछ । आमरण अनशनको हकमा भने त्यसको दर अझ बढी हुनेछ । पहिलो पाँच दिनका लागि दैनिक १० हजार र त्यसपछिका हरेक दिनमा थप रु ५ हजार कर लाग्नेछ । कथंकदाचित् आमरण अनशनमा बसेको मानिसको मरण भएमा निजको जायजेथाबाट त्यसको असुली गरिनेछ । निजकी पत्नी, छोराछोरी, नातिनातिना वा अरु वारेस त्यो करको दायित्वबाट मुक्त हुनेछैनन् । यीमध्ये कोही पनि नभएको अवस्थामा निजलाई अनशन गर्न उकास्ने र ऐक्यबद्धता प्रकट गर्न जाने मानिसहरुबाट सो करको असूली गरिनेछ । 

सोलार करः
 

अब घाम पनि सित्तैँमा ताप्न पाइने छैन, कर तिर्नु पर्नेछ । किनभने सूर्य हाम्रो चिन्ह हो । हाम्रो चिन्हबाट उपलब्ध ऊर्जामा अहिलेसम्म भएको चुहावटलाई नियन्त्रण गरिनेछ । हरेक मानिसको घर भएको स्थान, वरिपरिका अरु संरचनाका आधारमा दैनिक कति घन्टा घाम घरमा लाग्ने गरेको छ त्यसैको आधारमा प्रतिघन्टा रु २०० सौर्य कर लाग्नेछ । 

कर तिरेको करः 
 

यो सबैभन्दा महत्त्वपूर्ण कर हुनेछ । कर नतिरी केही पनि गर्न नपाइने नियमअनुसार यसअन्तर्गत हाल लागु भइरहेका र शीघ्र लागु हुने माथि उल्लिखित सबै किसिमका करहरु तिर्दा हुन आउने कुल रकमको १० प्रतिशत कर फस्र्योट कर पनि तिर्नुपर्नेछ । 

यसरी विभिन्न नयाँ करहरु लगाएर उठेको राजस्वबाट एउटा अक्षय कोष खडा गरिनेछ । त्यसमा जम्मा भएको रकम पूर्ण पारदर्शी ढंगले खर्च गरिनेछ । कुनै पनि बहालवाला सांसद वा मन्त्रीलाई गाथमा आराम नभएको अवस्थामा उनीहरुलाई तीर्थयात्राको लागि पताया वा फुकेत पठाइनेछ । त्यहाँबाट चित्त शुद्ध भएर फर्किएपछि उनीहरुले अझ बढी दत्तचित्त भएर देश र जनताको भलाइका लागि काम गर्नेछन् भन्ने विश्वास लिइएको छ । 

माथि उल्लेख भएकाबाहेक पनि अरु थप कर आउँदा दिनहरुमा लागु हुँदै जान सक्नेछन् । हामीलाई विश्वास छ, जिम्मेवार नागरिकको दायित्व निर्वाह गर्दै तपाईँहरु सबैले खुरुखुरु यी अतिरिक्त करहरु तिर्नुहुने छ । श्री पशुपतिनाथले तपाईँहरु सबैको कल्याण गरुन् । (किनभने त्यो गर्न अब उनैले बाहेक अरु कसैले सक्नेछैन ।)
email:     brazesh@gmail.com
twitter:    @brazeshk


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ८, २०७५  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC