site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
फिभर–ए–भकुन्डो

उता नेपाललाई आईकाओ भन्ने कुनै संस्थाले कालो सूचीबाट हटायो रे भन्ने समाचार सुनेकै दिन यता फाफुरीले फाफुरालाई कालो सूचीमा हालिदिई । हुनसक्ने र उसको बूताले भ्याउने जति कुरामा उसले फाफुरालाई नाकाबन्दी पनि लगाइदिई । अनि उसले मौनव्रत पनि लिई । किनभने अघिल्लो पटकको फाइँफुट्टीमा उसको टाउको दुखेको कुरा गर्दा फाफुराले केही नभएको रित्तो ठाउँमा के र कसरी दुख्न सक्छ भन्ने प्रश्न उठाएको थियो ।  त्यही आशंका बरो फाफुराको लागि घातक हुन गयो । यो देशमा शंका गर्ने त वातावरणै छैन ।

गल्ती भयो नि त भनेर जति फकाउन खोज्दा पनि फाफुरी साउनको लिँड जसरी घुप्प फुलेर बसिरही । हुँदाहुँदा कतिसम्म त भने उसले अफिस जाँदा बाटोमा पर्ने गार्डन अफ ड्रिम्ससम्म फाफुरालाई स्कुटरमा दिने लिफ्ट पनि बन्द भयो । उता पूर्व विशिष्टहरूले नयाँनयाँ सुविधाहरू थपीथपी खाने दाउ गरिरहेको बेला बिचरा फाफुराको भने खाइपाई आइरहेको सुविधा पनि निर्दयतापूर्वक खोसियो । ठीकै छ भनेर मन बुझाएर फाफुरा फेरि आफ्नो पुरानै औकातमा फर्कियो र सार्वजनिक यातनायातमा कोच्चिन गयो । 

पानामाविरूद्ध बेलायतको भकुन्डो र सिन्डिकेटविरूद्ध सरकारको लडाइँमा के समानता छ थाहा छ ? खेल फरक भए पनि दुवैमा एउटै नतीजा आएको छ । अब सरकारसँग पेपे वा रामोस त छैनन् जसले गोल हान्न आउनेका नली खुट्टामा बाँसुरी बजाउन सकून् ! त्यसैले यता सरकारले एक गोल हान्दा उता सिन्डिकेटेहरूले ‘काउन्टर अट्याक्मा छ गोल बजाइदिए् । त्यही जितको विजयोन्मादले हर्षित सार्वजनिक यातनायातका चालक र सहचालकहरू चक्रवर्ती सम्राटजस्ता भएका रहेछन् । पहिले पैंतालीस यात्रु खाँद्ने माइक्रोहरू अब पचपन्न नखाँदी नमान्ने भएका रहेछन् । गुन्द्रुक खाँदिए जसरी खाँदिएर बल्लबल्ल निस्सासिँदै सहीदगेटसम्म पुग्दा फाफुराको सहनशक्तिले आत्मसमर्पण गर्‍यो । अब यो भन्दा पनि अघि गयो भने त बीचमै उसको आत्मा परमात्मासँग चिरमिलनका लागि अनन्तयात्रामा लाग्नेछ र रत्नपार्कमा उसको नश्वर शरीरमात्र माइक्रोबाट ओर्लनेछ भन्ने फाफुरालाई लाग्यो । त्यसैले ऊ त्यहीँ ओर्लियो । रत्नपार्कमा सिट पाइन्न भनेर सहीदगेटबाटै चढ्न कुरेका दूरद्रष्टाहरूको भित्र छिर्ने होडबाजीका कारण फाफुरालाई माइक्रोको गर्भबाट बाहिर निस्कन आमाको गर्भबाट संसारमा निस्कँदा भन्दा कठोर संघर्ष गर्नुृ पर्‍यो । केही बेर लामोलामो सास फेरेर आफूलाई नियन्त्रण गरेपछि ऊ फेरि उत्तरतिर लाग्यो । रत्नपार्कनिर पुगेर ऊ टक्क अड्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

फाफुरीको सल्लाह मानेर आफूलाई एलिट देखाउन फाफुराले रत्नपार्क त्यागेको अनि गार्डन अफ ड्रिम्समा गएर टोपीले मुख छोपेर सुत्न थालेको केही साता भएको थियो । नढाँटी भन्दा उसलाई त्यो स्थानमा उकुसमुकुस हुनथालेको थियो । अरूलाई देखाउनलाई जेजति प्रपञ्च रचे पनि, जतिसुकै गरे पनि आफ्नो अन्तरात्मालाई ढाँट्न नसकिने रहेछ भन्ने उसलाई लागिरहेको थियो । रत्नपार्कमा फाफुराले सँधै आफैँजस्ता मानिसहरू भेट्थ्यो । गार्डन अफ ड्रिम्समा भेटिने एलिटहरू उसलाई कहिले पनि आफूजस्ता लागेनन् । नीलो रंगको बाल्टिनमा डुबेको स्यालले केही समय त जंगलका अरू जनावरहरूलाई झुक्याउन सक्ला तर एकपटक पानी मात्र पर्नुपर्छ, रंग पखालिन कति बेर लाग्छ र ? मौसमविद्हरूले मनसुन सुरू हुन लाग्यो भनिरहेको बेलामा आफ्नो पनि ‘एलिटिज्म’को नीलो रंग खुइलिएला र गार्डन अफ ड्रिम्सका असली एलिटहरूले लखेट्लान् भन्ने उसलाई पीर भयो । त्यसै पनि फाफुरीसँग उसको शीतयुद्ध त सुरू भई नै सकेको थियो । उसले भनेको कुरा किन मान्नू भन्दै फाफुरा फेरि उही पुरानो, ओरिजिनल, शुद्ध, सस्तो, राम्रो, बलियो, भरपर्दो र आफ्नै देशमा उत्पादित रत्नपार्कतिर लाग्यो । रत्नपार्क उसलाई देखेर प्रशन्न भयो । आफ्नो मौन आँखाले उसले फाफुरालाई सोध्यो,

‘‘कहाँ हराएको थियौ यत्तिका दिन ? मेरो माया लाग्दैन तिमीलाई ?’’

Global Ime bank

फाफुराले पनि मौन आँखाले नै उत्तर दियो

‘‘केही दिनका लागि पथभ्रष्ट भएको थिएँ । तर अब फेरि आइहालें नि ।‘‘ रत्नपार्क दंग परेर हाँस्यो । फाफुरा पनि आफ्नो पुरानै स्थानमा गएर टोपीले मुख छोपेर लमतन्न परेर सुत्यो । उसलाई बडो मीठो निन्द्रा लाग्यो । यसपटक पक्कै पनि कुनै ठूलै फाइँफुट्टी फुर्ने भयो भन्ने सोच्दै ऊ निदायो । तर, उसले एउटा अचम्मको सपना देख्यो ।

फाफुरी र ऊ कुनै पार्टीमा रहेछन् । पार्टीमा मन्त्री, प्रधानमन्त्री, ठूला नेताहरू, देश विदेशका कलाकार तथा खेलाडीहरूलगायत सबै विशिष्ट मानिसहरू रहेछन् । कुनै एक विशिष्टले फाफुरासँग हात मिलाएर भन्दै हुनुहुन्थ्यो
‘‘बधाई छ तिमीलाई फाफुरा । ब्या गरेको रैछौ तिमीले । अनि हामीलाई श्रीमती चिनाउनु पर्दैन ? ल सबैलाई चिनाइदेऊ ।’’

फाफुरा पनि दंग परेर ती ठूलाबडा सबैलाई फाफुरीको परिचय दिन थाल्यो । राष्ट्रपतिज्यूसँग परिचय गराउँदा उहाँले फाफुरीलाई हेरेर दंग पर्दै भन्नुभयो,

‘‘ओहो, लौ अब मुख हेर्नलाई त मैले केही लिएर आएकी छैन । के गर्नू । ल यही चुरा लिऊ ।’’ 

उहाँले आफूले लगाइरहेको चुरा फुकालेर फाफुरीलाई दिन खोज्नुभयो । तर निकै बल गर्दा पनि त्यो चुरा उहाँको हातबाट निस्केन । अचानक फाफुरीको अनुहार सिनेमामा एनिमेसन गरेजसरी ठ्याक्कै ऋचा शर्माको जस्तो भयो । ऋचा शर्मा पनि अरू बेलाको जस्तो भए त फाफुरा भगवानसँग यो सपना कहिले पनि नटुटोस् भन्ने कामना गथ्र्यो होला । तर, सुनकेशरी भन्ने सिनेमाकी ऋचा शर्मा जस्तो पो भई फाफुरी । उसको मुखबाट कुनै डरलाग्दो केटा मानिसको जस्तो खस्रो र ठूलो स्वर निस्क्यो । उसले सम्माननीय राष्ट्रपतिको पदको महिमाको समेत मान नराखी डरलाग्दो स्वरमा भनी,

‘‘नेता र राजनीतिज्ञहरूको यही बानी नराम्रो । जे पनि दिन्छु, गर्छु भन्ने अनि गर्ने बेला केही नगर्ने, केही नदिने  । भयो हजुर छोडिदिनुस्, मलाई चुरा चाहिएन । हुनसक्छ भने हजुरको राजकीय सवारीहरू चल्ने बेला पूरै सहर कसरी ठप्प नगर्न सकिन्छ भनेर केही गरिदिनुस् । त्यो नै सबैभन्दा ठूलो मुख हेराइको उपहार हुनेछ ।’’

फाफुराले उसलाई तान्दै अलि पर लग्यो र सम्झायो,

‘‘के गरेकी तिमीले । बेला, मौका र मानिस हेरेर के बोल्ने भन्ने पनि थाहा छैन तिमीलाई ? अहिले कम्निसको दुई तिहाइको बेलामा जे पायो त्यही बोल्न हुन्न भन्ने पनि थाहा छैन ?’’

ठुस्स परेकी फाफुरी अचानक फेरि काफ्काको मेटामर्फोसिसलाई मात खुवाउँदै आफ्नो रूप फेर्न थाली । हेर्दाहेर्दै ऊ ऋचा शर्माबाट कुनै पुरूषमा परिणत भई ।  फाफुरा उसको त्यो अनुहार कताकता परिचित जस्तो लागेर ध्यान दिएर हेर्दै थियो । 
‘‘को हौ तिमी ?’’ फाफुराले डराइडराई सोध्यो ।

फाफुरी नेपथ्यको कन्सर्टमा बज्ने लाउडस्पीकरजस्तो ठूलो स्वरमा भन्न थाली,

‘‘तिमीले मलाई चिनेका छैनौ फाफुरा ? अहिलेको बेला संसारमा सबैले चिन्ने मानिस हूँ म ।’’ 

अनि फेरि फाफुरीको अस्पष्ट अनुहार लेन्समा फोकस मिलाएको जसरी स्पष्ट हुँदै आयो । कपालमा पहेंलोपहेंलो रंग दलेको, कन्चट तिर छोटो हुने गरी खुर्केको र बीचमा ठ्याक्कै लोकल कुखुराको भालेको जस्तो सिउर भएकी फाफुरी अचम्मको देखिन्थी । उसले खित्का छोडेर हाँस्दै भनी, 

‘ल हेर । अब चिन्यौ ? नेमार । नेमार हो मेरो नाम ।’’

बिस्तारै जुम आउट भएर फाफुरीको पूर्णकद देखियो । फाफुरालगायत अरू सबैजना चमत्कृत भएर उसलाई हेरिरहेका थिए । त्यही बेला फाफुराले देख्यो, अलि परबाट दुई जना खेलाडी उनीहरू भएतिरै आउँदै थिए । रोनाल्डो र मेस्सी । मेस्सी चाहिँ अँध्यारो मुख लगाइरहेको थियो । नजीक आएपछि फाफुराले सोध्यो, 

‘‘के भो मेस्सी भाइ ? किन मरीच जसरी चाउरिएका छौ?’’

उसले खुइय्य गर्दै भन्यो,

‘‘के भन्नु फाफुरा । अस्ति पनि एउटा गोल गर्ने मौका चुकेँ । पेनाल्टी चुक्यो भनेर बसिखान दिइरहेका छैनन् ।’’

फाफुराले भन्यो

‘‘सुर्ता नगर हुन्डरी कान्छा ! तिमीले त आफूलाई बेलाबेला प्रमाणित पनि गरेका छौ । जीवनभर सिन्को नभाँचेर, गफैले मात्र बम्बई कलकत्ता हाँकेर अनि बारम्बार तिमीले भन्दा निकै ठूला मौकाहरू चुकेर पनि बस्न र खानमात्र नभै राजसमेत गर्न पाउने हाम्रा देशका नेता, राजनीतिज्ञ र प्रशासकहरू यही पार्टीमा थुप्रै छन् । केही लागेन भने तिमी पनि यहीँ आऊ । तिमी विशिष्टमा प¥यौ भने त आजीवन सुविधा पनि पाउँछौ । पानामा ‘ट्याक्स हेभनु हो भने नेपाल ‘फेल्युअर हेभन’ हो । एउटा पेनाल्टी मिस हुँदैमा किन निराश भएको ?
उनीहरूको कुरा सुनेर छेउमै भएको रोनाल्डो अचानक हिन्दीमा बोल्न थाल्यो,

‘‘एक पेनाल्टी की कीमत तुम क्या जानो फाफुरा बाबू ?’’

अनि मेस्सीलाई अँगालो मार्दै सम्झायो

‘‘मैले पनि त हिजो राति इरानसँग खेल्दा पाएको पेनाल्टीमा गोल गर्न सकिन नि । हरेक महान् खेलाडी पनि आखिर भगवान होइन, मानिस नै हो भन्ने हिजो मैले प्रमाणित गरिसकेँ । पीर नगर । अब तिमीलाई कसैले केही भन्दैन ।’’

उनीहरू दुबै पाफुरी तिर अग्रसर भए,

‘‘कसो नेमार, हैन त ?’’

उनीहरू नेमार रूपी फाफुरीको चार हात परै थिए । वरिपरि पनि अरू कोही पनि थिएन । तर, अचानक कुनै अदृश्य शक्तिको प्रहार खाए जसरी फाफुरी भुइँमा लडी र असह्य पीडा भएजसरी लडीबुडी गर्दै छटपटाउन थाली । सबै अवाक् थिए । त्यही बेला कतैबाट कसैले कर्कश आवाजमा सिठ्ठी बजाएको आवाज आयो । सबैले फर्केर त्यतै हेरे । निकै परबाट कोही मानिस सिठ्ठी फुक्दै दौडिँदै आउँदै थिए । ती मानिस कति पर थिए भने उनी एउटा सानो थोप्लाजस्तो मात्र देखिन्थे । तर पनि उनी बिजुलीको गतिले अचानक तुरून्तै नजिक आइपुगे । यति छिटो त युसेन बोल्ट वा अख्तियार लागेको सुब्बा खरदार पनि कुद्न सक्दैनथ्यो होला । त्यति छिटो ती मानिस कसरी यति नजीक आइपुग्न सम्भव भयो भनेर सबै जिल्ल परे । सबैले ध्यान दिएर हेरे । रेफ्रीको यूनिफर्मवाला गञ्जी कट्टू लगाएका ती मानिस त प्रधानमन्त्रीज्यू पो हुनुहुँदो रहेछ । सिठ्ठी उहाँको मुखमा च्यापिएको थियो । गाला फुलाएर अनुहार रातो पार्दै उहाँ पो सिठ्ठी बजाउँदै हुनुहुँदो रहेछ । सबैले आफूलाई जिल्ल परेर हेरेको देखेर उहाँले भन्नुभयो, 

‘‘के ट्वाँ परेर हेरिरहेको ? बुलेट ट्रेन देख्या छैन कहिले ? द्रूत गतिमा कुद्छ । त्यसमाथि पनि म थुतुनोमात्र छिराउने रेल हैन बुझ्यौ ? चाइनादेखि काठमाडाैं पोखरा र लुम्बिनीसम्म पुग्ने रेल हूँ । अब त पत्यार लाग्यो ?
अनि उहाँले नेमारको रूप धरेकी फाफुरीलाई उठ्न इसारा गर्न थाल्नु भो । तर, फाफुरी छटपटाई नै रही । प्रधानमन्त्रीज्यूले फाफुरालाई हेरेर आदेश दिनुभयो,

‘‘खै, मैले अस्ति चाइना जाँदा तिमीलाई राख्न दिएको रेड कार्ड निकाल त ! ’’

फाफुरा जिल्ल प¥यो र नम्र स्वरमा निवेदन गर्‍यो, 

‘‘प्रधानमन्त्रीज्यूलाई कुनै भ्रम भयो जस्तो छ । म कहिले चाइना गएँ र ? म त हजुरको जम्बो भ्रमण टोलीमा थिइन ।

उहाँले चिम्सा आँखाले फाफुरालाई हेर्दैै सोध्नुभयो,

‘किन थिएनौ ? तिमी ऋषि हैनौ र ?’’

फाफुराले पुनः नरम स्वरमा भन्यो,

‘‘मेरो कहाँ त्यस्तो सौभाग्य र हजुर ! यो जुनिमा ऋषि भएर जन्मिन त पूर्व जुनिमा ठूलै पुण्य गरेको हुनुपर्छ । मेरो नाम त फाफुरा हो । फाइँफुट्टीराज ।’’

उहाँ गम्भीर हुनुभयो,

‘‘ए...... ल पख त्यसो भए । म ऋषिलाई खोजेर आउँछु । आज म यसलाई छाड्दिन । आज त यसले रेड कार्ड खायो खायो ।’’

उहाँ ऋषि खोज्न भिडमा मिस्सिनुभयो । फाफुरालाई बडो पीर पर्‍यो । जे भए पनि, जति झगडा गरेपनि, एकछिन रिसाए पनि, केही दिन नबोले पनि आफ्नो त संसारमा भएको सम्पत्ति भनेकै यही एक थान फाफुरी हो । उसैलाई पनि नेमार भन्ठानेर रेडकार्ड देखाइदिए भने त के गर्ने होला ? फाफुरा यही पीरले आधामासु भइरहेको बेला कतै केही मान्छे ठूलो स्वरमा कराए,

‘‘गो.....ल ।’’

र, त्यो आवाजले रत्नपार्कमा निदाएको फाफुराको आँखा खुल्यो । उसले चारैतिर हे¥यो । केही केटाकेटीहरू भकुन्डो खेल्न थालेका रहेछन् । ती सबैले थरीथरी देशका जर्सीहरू लगाएका थिए । उनीहरू बडो मिलीजुली रमाएर खेलिरहेका थिए । फाफुराले झलक्क आफू र आफ्ना दौंतरीहरूलाई सम्झ्यो । हामीहरू सबै आफूले समर्थन गरेको टोलीबाहेक अरूलाई समर्थन गर्नेहरूसँग अंश मुद्दा लडिरहेका दाजुभाइ जसरी झगडा गरिरहेका हुन्छौँ । ‘इटिंग गेटिंग नथिंग–पुटिंग अन अ लेदर क्याप’ भन्ने बंगाली उखानलाई चरितार्थ पार्दै ‘मेरो टीम र खेलाडी खतरा, तेरो टिम र खेलाडी रद्दी’ भन्दै बाझिरहेका हुन्छौँ हामी ठूला र बुद्धि आएका मानिसहरू । ओहो, हामीले यी अबोध बालबालिकाबाट सिक्न बाँकी कुरा कति रहेछ भन्ने सोच्दै फाफुरा उनीहरूलाई हेरिरह्यो । ती मध्ये ढाडमा १० नम्बरको अंक र ‘नेमार जूनियर‘ लेखिएको पहेंलो जर्सी लगाएको एउटाले गजबको कला र शैलीका साथ बाँकी सबैलाई छलाउँदै भकुन्डो अगाडि बढाउँदै थियो । फाफुरा उसलाई हेर्दै मनमनै सोच्न थाल्यो, 

’‘यस्तो राम्रो खेल्दो रहेछ यो फुच्चे । यो चाहिँ नलडोस् । ’’

नभन्दै ऊ लडेन र उसले गोल पनि हान्यो । अरू सबै देशका जर्सी लगाएका फुच्चेहरूले ऊ जत्ति नै खुसी हुँदै उसको ढाड थपथपाए । उनीहरू फेरि खेल्न थाले । अब डीडीसीको पोकाजस्तो १० नम्बरको जर्सी लगाएको फुच्चे पेनाल्टी हान्दै थियो । उसले पनि गोल ग¥यो । बाँकी फुच्चेहरू त्यसै गरी रमाए । खेलले बच्चाहरूलाई चाहिँ विभाजन नगर्ने रहेछ । 

साँझ घर फर्किने बेला फाफुरा सोच्दै थियो, के उता सपनामा फाफुरीले रेड कार्ड खाई होली ? फाफुरालाई लाग्यो, मान्छेको जीवन पनि त भकुन्डोकै खेला जस्तो न हो । कुनबेला रेफ्रीले रेडकार्ड देखाएर मैदानबाट बाहिर पठाइदिन्छ भन्ने के ठेगान । त्यसैले क्लेष, डाहा, रिसराग, लोभ र चित्त दुखाइको यहाँ कुनै अर्थ नै छैन । फाफुरीसँग जसरी भए पनि सम्झौता गरेर नाकाबन्दी खोल्न दृढ भएर डेरातिर लाग्दा फाफुरा सोच्दै थियो, जिन्दगीको खेलको पनि निर्धारित नब्बे मिनेट भाइचारा र सद्भावका साथ खेल्न सक्यौँ भने त्यही नै ठूलो कुरा होइन र ?

बाँकी रह्यो गोलको कुरा । गोल भनेको त त्यस्तै हो – कहिले खाइन्छ, कहिले हानिन्छ ।  
tweeter: @brazeshk


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १२, २०७५  ११:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC