बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
समानान्तर सुध्रिएला र कांग्रेस ? 
KNP nepal
KNP nepal
गोविन्द अधिकारी
बाह्रखरी - गोविन्द अधिकारी बुधबार, माघ ३, २०७४
Laxmi Bank
Laxmi Bank

नेपालीमा एउटा भनाइ छ — मोही मथेर नौनी निस्किँदैन । चुनाव हारेपछि देखिएको नेपाली कांग्रेसका नेताहरूको चरित्र र प्रवृत्ति हेर्दा यो पार्टीमा अब सिद्धान्त र समर्पणको नौनी बाँकी नरहेको स्पष्ट हुन्छ । अहिलेको तानातान मोही मथ्ने काममात्रै हो । यति ठूलो हारपछि पनि गुटबन्दी र व्यक्तिगत स्वार्थबाहेक अरू विषयमा पार्टीका ठूला साना कुनै नेताको ध्यान गएको देखिएन । उनीहरू पार्टीको संरचनादेखि सिद्धान्तसम्ममा विद्यमान विकृति खोज्न हैन संगठनमा कसरी हैकम जमाउन सकिन्छ भन्ने ध्याउन्नमा देखिए ।

पराजयपछि पार्टी सभापतिले जिम्मेवारी लिएर नेतृत्वबाट हट्नुपर्थ्यो । यद्यपि, शेरबहादुर देउवा सभापतिबाट हट्नेबित्तिकै कांग्रेसको पुनरुत्थान भइहाल्ने चाहिँ हैन । (संसदीय चुनाव हारेपछि त सरकार छाड्ने मन नगर्ने देउवाले जितेर पाएको सभापति छाड्लान् भनेर चिताउनु पनि मूर्खता हो ।) केन्द्रीय समितिदेखि विशेष महाधिवेशनसम्म जे बोलाइए पनि हारको दोष एकअर्कामाथि थोपर्ने र कम्युनिस्टहरू मिलेकाले हारेको निष्कर्ष निकालेर पन्छनेबाहेक कांग्रेसका नेताहरूले वास्तवमै आत्मसमीक्षा गर्ने सम्भावना देखिँदैन । किनभने, नेपाली कांग्रेस सिद्धान्ततः कहाँ चुक्यो भन्ने विषयमा कांग्रेसका कुनै नेताले प्रश्न उठाएका छैनन् । 

कांग्रेसको पराजयको एउटा कारण कम्युनिस्ट एकता पनि होला तर यही कारणबाट मात्र कांग्रेसको पतन भएको हैन । (’पतन’ शब्द अप्रिय  लाग्नसक्छ कांग्रेसका नेता कार्यकर्तालाई तर अहिलेको अवस्था हारमात्र हैन पतनको लक्षण पनि हो ।) नेपाली कांग्रेसले २०४८ सालदेखि अपनाएको नीति र सिद्धान्तमा नै खोट रहेकाले जनताले अहिले अस्वीकार गरेका हुन् भन्ने स्वीकार गरेरमात्र कांग्रेसभित्र आत्मसमीक्षाको थालनी हुनसक्छ । 

Duber nepal

Agani Group

कांग्रेसले २०४८ पछि अपनाएको राजनीतिक र आर्थिक दुवै नीति सही र पार्टीको सिद्धान्तअनुरूप थिएनन् । फलस्वरूप, देशमा एउटा ’भुइफुट्टा वर्ग’को विकास भयो । क्रान्तिका लागि स्थापना भएको नेपाली कांग्रेस यथास्थितिको पर्याय बन्दै गयो र ’स्थायी सत्ता’को प्रतिनिधि बन्न पुग्यो । 

राजनीतिकरूपमा कांग्रेस सबै वर्ग र समूहको साझा पार्टी थियो । तर, गाउँका किसान र सहरमा मध्यमवर्ग नेपाली कांग्रेसका जनाधार थिए । परन्तु, कांग्रेसले यिनलाई प्राथमिकतामा राखेन । सरकारका नीति र कार्यक्रमहरू सहरका धनी र गाउँका ठालुहरूको हितकारी भए । कम्युनिस्टहरूले त पञ्चायतमा सुरु भएको तर कांग्रेसले निरन्तरता दिएकाले कांग्रेसकै पर्याय बन्न पुगेको ’क्रूर पुँजीवाद’ लाई आत्मसातमात्रै गरेका हुन् । राजनीतिमा राष्ट्रियता र लोकतन्त्रका सबालमा सम्झौता नगर्ने बीपीको नीतिमात्र अनसरण गरेको भए न मुलुकको अवस्था अहिलेजस्तो हुनेथियो न कांग्रेसको पतन नै हुनेथियो । यो लेख राजनीतिक पक्षभन्दा विकास र आर्थिक नीतिमा भएका कमजोरीमा केन्द्रित हुनेछ ।

बीपीका राजनीतिकजस्तै र आर्थिक विचार अहिले पनि नेपालका लागि उत्तिकै सान्दर्भिक र सुहाउँदा छन् । विकासका बारेमा उनले सूत्रात्मक रूपमा व्यक्त गरेका धारणा छरिएर रहेका छन् । कांग्रेसले यस अवधिमा तिनको संकलन र अध्ययन गर्ने संस्थागत जमर्को गर्दै गरेन । यसबाट पनि कांग्रेसका नेताहरूका लागि राजनीति सत्ताको पर्यायमात्र रहेको पुष्टि हुन्छ ।

बीपीले शिक्षा र स्वास्थ्य राज्यको जिम्मामा हुनुपर्ने धारणा धेरैपटक प्रकट गरेका छन् । कांग्रेसले यी दुवै क्षेत्रलाई व्यापारको विषय बनाइदियो । बिरामी र विद्यार्थीलाई कर लगाउने क्रूर पुँजीवादको पर्याय बनिरह्यो । 

बीपीले कोही बेघर र भोका नरहुन् भनेका थिए । कांग्रेसले गरिब र सुकुमवासीको चर्चा पनि कम्युनिस्टहरूको पेवा हो भने झैं ग¥यो । सुकुमवासी आयोगहरू पञ्चहरूको आयोगभन्दा फरक भएन । कार्यकर्ताको तजबिजमा बाँडिने जमिनले सुकुमवासी समस्या झन् बढायो ।

बीपीको आर्थिक नीति लोकतन्त्रको रक्षा र विस्तारका लागि उपयोगी थियो । गरिब किसान र मजदुरलाई मध्यमवर्गमा उकास्ने बीपीको चाहना मध्यमवर्गीय परिवारको संख्या बढेमा अधिनायकवाद स्थापित हुन सक्तैन भन्ने मान्यतामा आधारित थियो ।  धनी र गरिब बीचमा अन्तर फराकिलो र गहिरो हुन नदिने बीपी विचारको सार देखिन्छ ।

समानता निर्देशित यही विचारलाई उनले समाजवाद भनेका हुन् । तर, कांग्रेसले २०४८ पछि अपनाएको ’समाजवाद’ले मुलुकमा नवधन्याढ्य भुईँफुट्टा वर्ग जन्मायो । गरिब झन् गरिब र धनी झन् धनी हुने क्रम बढ्दै गयो । यसको दोष नेपाली कांग्रेसका नेताहरूले नै लिनुपर्छ । विधिको साटो सहमतिको शासन चलाउने संस्कृति पनि मूलतः नेपाली कांग्रेसकै कारण हुर्केको हो ।

लोकतन्त्रमा विधिको शासन भएन भने अराजकता हुन्छ । नेपाली समाजमा अहिले व्याप्त अराजकता यसैको उपज हो ।
काठमाडौंमा सहरी गरिबहरूलाई आवास उपलब्ध गराउन सरकारले अपार्टमेन्ट बनाउने नीति अपनायो । झट्ट सुन्दा वाह ! भन्न मन लाग्ने यस नीतिको मूल उद्देश्य भने गरिबहरूलाई सधैँ सुकुमवासी बनाइराख्नु थियो । कम्युनिस्टहरू गरिबीको दोहनका लागि गरिबहरूलाई सकेसम्म राज्यमा निर्भर बनाएर कहिल्यै स्वतन्त्र हुननसक्ने बनाउन चाहन्छन् ।

घडेरी दिनुको साटो अपार्टमेन्टमा कोठा दिने भन्नु उनीहरूलाई सधैँ सुकुमवासी बनाइरहने चाल न हो । त्यस्ता अपार्टमेन्दका कोठा न परिवार बढ्दा थप्न मिल्छ न छुट्टिँदा अंशबन्डा गर्न मिल्छ । अंशबन्डा गर्नु परे बेचेर फेरि सुकुमवासी हुनुपर्छ । परिवार विखण्डित हुन्छ । बीपीले परिवारलाई आर्थिक उत्पादनको एकाइ मानेका थिए । कांग्रेसका नीतिहरूले परिवारलाई विखण्डनको चपेटामा पारेको छ ।

यो एउटा उदाहरणमात्रै हो । मूल प्रश्न के हो भने कांग्रेसले समृद्धिभन्दा बढी जोड स्वतन्त्रतामा दिनुपथ्र्यो र गरिबलाई सही अर्थमा स्वतन्त्र बनाउन आर्थिक र सामाजिक समानतामा जोड दिनुपथ्र्यो । तर, कांग्रेस त्यसको उल्टो बाटोमा लाग्यो । यसैले जनताले कांग्रेसलाई विश्वास नगरेका हुन् । 

लोकतान्त्रिक संस्कृतिको विकास गर्नुको साटो कम्युनिस्ट शैलीको नेतामुखी संस्कार कांग्रेसभित्र पनि बसाइयो । जनतामा आधारित उदार लोकतान्त्रिक दलको संरचना र विधान कार्यकर्तामा आधारित कम्युनिस्ट पार्टीको जस्तै बनाइयो । यसले बीपीले भविष्यवाणी गरेजस्तै पार्टीमा सुकिलामुकिलाको प्रभुत्व भयो । तर, तिनीहरूबाट पार्टीलाई जोगाउने संघर्षशील कार्यकर्ता भने जन्मिएनन् । बीपीले सुकिलामुकिलाबाट पार्टी जोगाउन निर्देशन दिएको कार्यकर्ता समूह नै सुकिलोमुकिलो हुने होडमा लाग्यो । 

अहिलेको नेपाली कांग्रेस आर्थिक, सामाजिक र सांस्कृतिकरूपमा पनि पुरानो कांग्रेसभन्दा धेरै टाढा पुगिसकेको छ । पार्टीका युवादेखि वरिष्ठ नेताहरूसमेतले चलाएको बहसमा आत्मालोचनाको प्रसंगै छैन । अर्थात्, रोग पहिचान गर्नै नखोजी उपचार सिफारिस गर्ने होड चलेको छ । यसरी रोग निको हुँदैन । कांग्रेसले आफूभित्र सक्कली कांग्रेस बाँचे नबाँचेको खोज्नुपर्छ । जनताको चन्दामा विलासी जीवन बिताउने नेताका ’बाबा द्यो’हरूले नेपाली कांग्रेसलाई पुनर्जीवन देलान् भन्ने अपेक्षा गर्नु शल्यले महाभारत जित्लान् भनेर सेनापति बनाएजस्तै हो । 

कांग्रेसको आत्मा बचाइराख्ने हो भने नेपाली कांग्रेस छाडेर नयाँ पार्टी गठन गर्न कांग्रेसका तरुणहरू अग्रसर हुनुपर्छ । राष्ट्रियता र लोकतन्त्र जोगाउने अर्को उपाय देखिँदैन । अहिलेको कांग्रेसले कम्युनिस्ट उन्माद रोक्न सक्ने देखिँदैन । भारतको बंगालमा ममता बनर्जीले तृणमूल कांग्रेस बनाएकैले मात्र कम्युनिस्टहरूको तीन दशक पुरानो सत्ता समाप्त भयो ।

अझै पनि तुलनात्मकरूपमा धेरै असल र योग्य तरुण नेपाली कांग्रेसमा छन् । तिनीहरू नेताको दौराको फेरमा अहिलेजस्तै अल्झिइरहने हो भने कांग्रेस प्वाल परेको जहाजजस्तै बिस्तारै डुबेर समाप्त हुनेछ । त्यससँग लोकतन्त्र र राष्ट्रियताका पक्षमा समर्पित राजनीतिक शक्ति पनि लोप हुनेछ । तर, अहिले नै आत्मसमीक्षा गरी कुहिएका आलु जति बोरामै छाडेर अलग्गिने हो भने अर्को चुनावमा लोकतान्त्रिक शक्ति अहिलेभन्दा बलियो हुनेछ । राजनीतिक दलको विकल्प चटकेहरूलाई हुन नदिने हो भने तरुणहरूले विद्रोह गर्नैपर्छ ।

अहिलेको नेपाली कांग्रेस सुध्रने कुनै लक्षण देखिँदैन ।

Nepal Investment bank
Nepal Investment bank
बुधबार, माघ ३, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्