site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डकाे समस्या,अाेलीकाे बाेली
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजित छन् खड्गप्रसाद शर्मा ओलीसँग । सधैँ त प्रचण्डले यिनलाई एमालेभित्रका सबैभन्दा ठूला माओवादी विरोधीमात्र देखे । कहिल्यै यिनीसँग खासै हिमचिम बढाउनु परेको थिएन । अझ पहिलो संविधान सभाको निर्वाचनपश्चात् माओवादी रजगजका बेलामा ओलीको गला बसेको बोलीको महत्व नै थिएन ।
माओवादीविरुद्धका बोलीलाई उखान टुक्काको राजनीति भनेर उनी पनि उडाउने गर्थे । तर, समय सधैँ उस्तै रहेन । तिनै बिरामी र उखाने बूढा एकदम तन्दुरुस्त देखिए । अनि राजनीतिमा फटाफट अघि बढे । नेकपा (एमाले)को अध्यक्ष पनि जिते, प्रधानमन्त्री पनि कुम्ल्याए । त्यतिमात्र हो र आफ्नै निकट सहयोगी मानिएकी उपाध्यक्षलाई राष्ट्रपतिसमेत बनाए । 
अहिले सम्झेर ल्याउँदा छक्क पर्छन् प्रचण्ड । कति सजिलै राष्ट्रियता र वाम एकताको नाममा उनले आफैँले बोकेर माओवादीका प्रखर आलोचक कमरेड ओलीलाई देशको सर्वस्वको स्वामी बनाए अनि आफूले भने एउटा उपप्रधान र एउटा गृह मन्त्रालयको तापमा चुपचाप मनको चिसो सेकाए ।
त्यसबेला स्वर्गीय सुशील कोइरालाले बोलेको कुरै नबुझेर आजित भएका प्रचण्ड अहिले ओलीको मुखबाट निक्लेको सुस्पष्ट बोली पनि फेरिएको देखेर चकित बनेका छन् । एमालेले सबैथोक पाउन्जेल एक एक कुरा सम्झने ओलीजी कुर्सी छाड्ने कुरा सुन्ने बित्तिकै ‘गजिनी’को आमिर खान झैँ अभिनय गर्छन् ।
मानौं, ओलीपछि प्रचण्ड प्रधानमन्त्री हुने कुरो गर्ने बेलामा उनलाई भुल्ने रोगले समात्यो र अहिलेसम्म सबैथोक सम्झे त्यही एउटा कुरा चाहिँ भुलेका छन् । 
सार्वजनिक राजनीतिक अडानका लागि त्यस्तो नाटक गरेका हुन् कि भनेर प्रचण्डले आफ्नो दलको मागसहित प्रधानमन्त्री निवासमा गएर पनि एक्लै भेटे ओलीजीलाई । अरू सबै कुरा राम्रै गर्छन् तर पद छाड्ने समझदारीको कुरा निस्कने बित्तिकै भड्किन्छन् । त्यस्तो ढाँटसँग कसरी सँगै अघि बढ्नु ? त्यसैले पनि उनको मन भरंग बनाएको छ । चुपचाप छाड्ने छाँट भइदिएको भए बजेट पास नहुन्जेल सरकार परिवर्तनको बखेडा उठाउनु पनि पर्ने थिएन । हुनत, वामदेवजी फेरिपनि आश्वासन दिंदैछन्, बजेट पास भएपछि राजीनामा माग्ने भनेर ।
तर प्रचण्डलाई ओलीजीप्रति कुनै विश्वास छैन । 
दुई महिना पहिले पनि प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने कुरा राखेका थिए । त्यसबेला पनि कुरो बुझियो अब भात खाऊँ भने, कुरा अघि बढ्नै दिएनन् । भोलिपल्ट वामदेवजीले जसोतसो कुरो मिलाए, नत्र त्यसैबेला शेर बहादुरजीले नबोलाएको हो र ? तर सरकार हल्लाउँदा एकथरी कुरो गर्ने व्यक्ति सरकार बलियो हुँदा कसरी तर्किन सकेका ? आफूभन्दा पनि बढी कुरो फेर्ने व्यक्ति सहन प कति गाह्रो छ प्रचण्डलाई !
अब राष्ट्रियताको धार ओलीको हो र ? ओलीजीलाई त सबैले भारत नजिकको भन्थे ।
प्रचण्डले आफैँले उनलाई बोकेर राष्ट्रिय सरकार बनाए । हुँदाहुँदा अब त चीनको पनि उनै नजिक, भारत पनि उनैसँग झुक्ने, ए बाबा ! कतिसम्म सहनु ? ओली चाहिँ चीनसँग नजिक जाँदा पनि भारत दोस्तीको हात बढाउने, उनलाई भने भारत देखी नसहने । यो पनि तिनै डाक्टरको काम हुनुपर्छ । अनेकौं फत्तुर लगाएर कान भरेजस्तो छ उनको विरोधमा ।
दुई महिना पहिले नै यो समस्या वास्तवमा सिध्याउनु पर्ने ।
उतिबेला पार्टीभित्र टोपबहादुर रायमाझी र शक्ति बस्नेतले सरकारमा बस्न अलि बढी नै चाहना देखाए । कृष्णबहादुर महरा र वर्षामान पुन त त्यति नै बेला आरपार गर्ने मुडमा थिए । तर कुरा अहिले पनि उस्तै छ । उनी दुई यो सरकारलाई ढल्दा आफू पनि पछारिने मनस्थितिमा छन् भने अर्का दुई यो सरकार ढल्दा रुखको हांगो टेकेर कम्तीमा उपप्रधानमन्त्री बन्ने चाहमा उफ्रिएका छन् । कस्तो गाह्रो निर्णय गर्नपनि ! अलिकति कसैले उछिट्टिने मन बनाउन पा’को छैन उता डाक्टर भट्टराई हात लम्काई हाल्छन् । अब ओल्टे फक्र्यो टोपबहादुर वा कोल्टे फक्र्यो वर्षामान चिप्लेलान् कि भन्ने भय  छ ।  
वास्तवमा शान्ति प्रक्रियामा आएर जसरी देशको शासन सत्तामा अघि बढ्ने उनले सोच बनाएका थिए सोहीअनुसार काम नभएको पनि हैन । पहिलो संविधान सभाले उनलाई प्रधानमन्त्रीको कुर्सीमा बसाएरै छाड्यो । हुनत गिरिजाले राष्ट्रिय सहमतिको नाममा त्यही बेला पनि झन्डै कुर्सी नछाडेका ।
तर डाक्टरले त्यो सेना प्रमुख कटुवाललाई निकाल्नै पर्ने अड्डी लिएपछि कुरो बिग्रिहाल्यो । कटुवालको फुली तान्न खोज्दा आफ्नै पद गुम्यो, अनि बल्ल बुझे साथीहरूले के ताकेका रहेछन् भन्ने । तर के गर्नु अन्तिम निर्णयको जिम्मेवारी लिएर बसेका उनले अरूलाई दोष दिन पनि त मिलेन । 
प्रचण्डको दिन त त्यहीबेला गडबड भयो जुनबेला त्यस्तो भुसुना एउटा पदम कुवरले समेत उनको दिमाग झन्कने गरी झापड हान्यो । त्यो फुच्चेले ६९ साल मंसीर एक गतेको दिन गालामा हानेको एक थप्पडले जसरी दिमाग रन्किएको थियो अहिले ओलीले त्यस्तै दिमाग रन्काइदिएका छन् । आफू खानसम्म खाने, अनि दिने बेलामा यस्तो नाईंनास्ती !
अब सर्वदलीय राष्ट्रिय सहमतिको सरकार त भनेका छन् प्रचण्डले तर त्यो सरकारको नेतृत्व गर्न पनि देलान््जस्तो छैन । नेपाली कांग्रेस त यो सरकारसँग नाता नतोडुन्जेलसम्म न चुपचाप बस्ने हो । एकपल्ट सरकारलाई समर्थन छाडेको घोषणा गर्न नपाई देउवाले उनलाई कनिष्ठ सहयोगी झैँ व्यवहार गर्न थालिहाल्छन् ।
यो भोटको राजनीतिको समस्यानै यही भन्या । भोटको संख्यामा आफ्नो राजनीतिक शक्ति तौलन्छन् सबैजना ।
नेपाली कांग्रेसले अहिले समर्थनै गरे पनि लामो समय पक्कै साथ दिंँदैन । अहिले सुरुमै मधेसी दलको विरोध भइहाल्छ । उनी त सबैभन्दा सशक्त भारत विरोधी भए, कसरी समर्थन आउला मधेसी दलको ? अनि मधेसी दलको बहानामा अन्त्यमा देउवालाई पो सहज हुनेभयो प्रधानमन्त्रीको कुर्सी । ओलीलाई छाडे देउवा, देउवालाई छाडे ओली । परेन फसाद ? कसरी पछार्ने हो यी दुवैलाई ? गाह्रै पो भयो धत् यो खुला राजनीति त !
कुरो वामपन्थी भोटको पनि छ । एमालेको भाइ भएर बसौं भोटरले पनि अब आउने निर्वाचनमा त्यहीअनुसारको भोट दिन्छन् ।
अझै ओलीजी त मिलेर लडौं भन्लान्, अनि सकिएन त्यत्रो वर्षको त्याग र तपस्या । कहाँ एमालेलाई समेत मिलाएर वाम नेतृत्व लिने सपना, कहाँ एमालेसँग गएर मिल्ुनपर्ने वास्तविकता । कांग्रेसको भाइ भएर मन्त्रिपरिषद्मा बसौँं, फेरी तिनै वामपन्थी भोटर कम्युनिज्म छाड्यो भनेर स्याल हुइयाँ लगाउँछन्, उही एमालेलाईनै फाइदा । अब प्रधानमन्त्रीको कुर्सीमा कांग्रेसले पनि धेरै बस्न दिंदैन, ओलीले छाड्दै छाड्दैनन् । ओलीजीको पनि उही वामपन्थी भोट हो । सरकार प्रमुख भएर निर्वाचन गराउन पाए प्रथम पार्टी हुने दाउ । नेपाली कांग्रेसको पनि उही दाउ । 
अब जसले लामो समय प्रधानमन्त्री दिन्छ उसैको पछि लाग्नुको विकल्प रहेन । यता गयो खाडी उता गयो बाढी भनेजस्तो अवस्थामा पुगेपछि के गरुन्, के नगरु बिचरा कमरेड प्रचण्ड ? 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २१, २०७३  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC