बाह्रखरी
Ncell inner sticky
विचार प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
विचार नेपाली भाषाको सामाजिक इतिहास  शर्वराज आचार्य 
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, मंसिर १४, २०७४
Laxmi Bank
Laxmi Bank

जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास भन्ने कृति वि.सं. २०७४ को भानु जयन्तीको उपलक्ष्यमा माधवप्रसाद पाखरेलको प्रधान सम्पादकत्व र पाटन ढोकाको कमलमणि प्रकाशनबाट प्रकाशित भएको छ । बृहत् इतिहासका पाँच ठेलीमध्ये यस पहिलो ठेलीमा प्रधान सम्पादकले नेपाली भाषाको सामाजिक, नेपाली व्याकरण र अभिलेखीय नेपाली व्याकरणको इतिहाससँगै नेपाली अभिलेखीय शब्दकोश गरी चार ओटा कृतिहरुको सङ्कलन र सम्पादन गरेका छन् ।

परम्परागत इतिहास लेखनका ढाँचा, विषय वस्तुको पुनरावृत्ति र वर्ण विन्यासमा अनेक रूपता देखिएकाले यो ठेली यथावत् संकलितमात्र बनेको छ, सम्पादित बन्नसकेको छैन । कृतिमा पुनरावृत्ति र बाझिएका सूचना तथा निष्कर्षको नियन्त्रण नगरिएकाले संस्थाको भन्दा उल्लिखित शीर्षकका हरेक लेखकका दृष्टिकोण नै आधिकारिक बनेर प्रस्तुत भएका छन् । यसरी जन समक्ष आएको कृतिलाई प्रधान सम्पादकले विश्व कोशका ढर्रामा तयार हुने इतिहास भन्न पुगेका छन् । पंक्तिकारले यो बृहत् इतिहासमा रहेकोे नेपाली भाषाको सामाजिक इतिहास भन्ने शीर्षकभित्र मात्र सामान्य आँखा डुलाएको छ ।  नेपाली भाषाको साइनो, भाषा नीति र भाषा योजनाका बारेमा  र त्यसपछि  नेपाली भाषाको विकासका लागि गरिएका कामअन्तर्गत नेपाली हिज्जे र यसको लाजमर्दो अशुद्धि, नेपाली व्याकरण र शिक्षा (पठन पाठन) का सम्बन्धमा छोटो टिप्पणी गरेको छु ।  

नेपाली भाषाको साइनो खोज्ने क्रममा स्वदेशी र विदेशी विद्वान्हरुले थुप्रै कलम चलाएका छन् । यस कृतिमा भने स्वदेशीको भन्दा धेरै विदेशीको नाम दिइएको छ । स्वदेशीमा सम्पादक र सम्पादकको जस्तै थर पर्ने विद्वान्को मात्र नाम लिएको देखिन्छ । यसले नेपाली भाषाको साइनो विदेशी र एक दुई जना नेपाली पोख्रेल थरले मात्र खोज गरेका रहेछन् कि भन्ने भान पर्छ । यसो गर्दा नेपाली भाषाको साइनो खोज्ने विदेशी विद्वान्हरु र पोखरेल थरको कार्यमात्र उल्लेखनीय र अन्य स्वदेशी विद्वान्हरुको कार्य अनुल्लेखनीय बन्न पुगेको छ । त्यस कारण यसको अर्को संस्करणमा नेपाली भाषाको साइनो खोज्ने नेपाली विद्वान्हरुले गरेका कार्यलाई पनि यसभित्र समेटिनु अपेक्षित छ । 

Duber nepal

Agani Group

कृतिभित्र भाषा योजनाका बारेमा विदेशी विद्वान्हरुले दिएको सिद्धान्त र नेपालको भाषा नीतिको समेत चर्चा गरिएको छ । चर्चामा भाषा योजनाका बारेमा नेपाली विद्वान्हरुका सैद्धान्तिक दृष्टिकोण उल्लेख गरेको भेटिँदैन । बरु विद्वान्हरुको राष्ट्रभाषा सम्बन्धी धारणा भनेर मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहजस्ता नेपाली कांग्रेसका नेताको भनाइ उल्लेख गरिएको छ । तर, वि.सं.२००७ को प्रजातन्त्रको सूत्रपातपछि बनेको पहिलो राष्ट्रिय शिक्षा आयोग वि.सं.२०१० को प्रतिवेदनले कक्षा ६ देखि मातृभाषा शिक्षण गर्ने सुझाउ दिएको विषय बिर्सन मिल्दैन । नेपालको भाषा नीतिका बारेमा विद्वान्हरुकै कुरा गर्ने हो भने पञ्चायती व्यवस्था लागु भएपछि आएको सर्वाङ्गीण राष्ट्रिय शिक्षा समितिको रिपोर्ट—२०१८ मा बालचन्द्र शर्मा र पद्मप्रसाद भट्टराई जस्ता विद्वान्ले भनेका प्राथमिक शिक्षा मातृभाषामा हुनुपर्नेे कुरा छुटाउनु हुन्थेन । वि.स.२०२२ भन्दा अगाडि नेपालीबाहेक अन्य भाषामा पनि नेपाल सरकारको रेडियोबाट समाचार प्रसारण भएको थियो ।

यसले गर्दा पञ्चायतको प्रारम्भताका नीतिगत रूपमा भने नेपालको शिक्षा र सञ्चार क्षेत्रतिर पूरै एक भाषा नीति थियो भन्ने देखिँदैन । यसतर्फ पनि कृतिले ध्यान दिन सकेमा भाषाको ऐतिहासिक यथार्थमाथि पटाक्षेप  र भाषिक राजनीति गर्नेहरुको बहकाउ देखिने थिएन । 

यस समाजिक इतिहासले नेपालको भाषा योजनाका बारेमा पनि बोलेको छ ।  सोभियत सङ्घले सन् १९०९ र पपुवा न्यु गिनीले सन् १९९० देखि लिएको जस्तै नेपालले पनि आप्mनो भाषा नीति अवलम्बन गर्नुपर्ने सुझाउ पनि दिएको छ । नेपालमा भाषाहरुको विना अध्ययन भाषा नीति बनाइएको र अहिलेसम्म भाषा योजनाको काम नभएको उल्लेख गरिएको छ । संवैधानिक रूपमा भने वि.सं.२०४७ को नेपाल अधिराज्यको संविधानले नेपालका अन्य भाषालाई पनि नीतिगत सम्बोधन गरेको हो ।

यसपछि नेपाल सरकारले वि.सं.२०५० मा बनाएको राष्ट्रिय भाषा नीति सुझाउ आयोगले नेपालमा भाषा सम्बन्धी राष्ट्रिय दृष्ट्रिकोण प्रस्तुत गरेको छ । शिक्षा र सञ्चार क्षेत्रतिर यस आयोगले दिएका सुझाउहरु क्रमशः लागु हुँदैगएको देखिन्छ । यस सामाजिक इतिहासले नेपालमा लागु भएको बहुभाषिक नीतिलाई उल्लेख गर्न सकेको भए प्रजातन्त्रको पुनःस्थापनापछि आजसम्म नेपालमा देखिएका बहुभाषिक नीतिको कार्यान्वयन पक्ष पनि देखिने थियो । लगभग अहिले २२ ओटा जति भाषाबाट तल्ला कक्षाहरुमा दिइने मातृभाषा शिक्षा, प्रमुख भाषामा बनाइएका सिनेमा, सञ्चालित टेलिभिजन र प्रकाशित हुने पत्रपत्रिकालाई नेपालमा भाषिक योजनाकै प्रतिफलका रूपमा लिइन्छ । भाषा योजना र नेपाल शीर्षकको भाषाको प्रयोग क्षेत्र भन्ने उपशीर्षकमा सरकारीस्तरबाट लागु गरिएको विद्यालयको मातृभाषा शिक्षा कृतिमा उल्लेख भएको देखिएन । बरु, अहिले सरकारी जिम्मामा रहेको प्राथमिक वा आधारभूत तहको मातृभाषा शिक्षालाई पपुवा न्यु गिनीमा जस्तै सम्बन्धित भाषिक समुदायलाई व्रmमशः जिम्मा दिने सुझाउ दिनु उपयुक्त हुने थियो । 

नेपाली हिज्जेका बारेमा यसले लामै गुनासो पोखेको छ ।  हिज्जेमा एक रूपता ल्याउन धेरै प्रयास भए पनि नेपाली लेखाइमा लाजमर्दो अशुद्धि रहेकाले नेपाली भाषाको मानकीकरणमा यो चुनौतीपूर्ण विषय हो भन्ने यस कृतिको ठम्याइ छ । विश्वमै सभ्य देश मानिने नेपालमा मन्त्री, सांसद्, वकिल, न्यायाधीश, सचिव, उपकुलपति, प्राज्ञ, विश्वविद्यालय र विद्यालयका शिक्षक हुन शुद्ध हिज्जे जान्नु नपर्ने र सरकारी कामकाजको भाषा लेखाइमा असभ्य हुन पाइने लाजमर्दो स्थिति देशमा छ भनिएको छ । नेपाली भाषामा प्रकाशित हुने छापा र विद्युतीय पत्रिकाका सम्पादकमा समेत नेपाली भाषाको शुद्ध हिज्जेप्रति बेवास्ता रहेको छ । यसले तल्लो कक्षामा पास हुन र नेपाली पढाउने शिक्षकले मात्र शुद्ध हिज्जे जान्नुपर्ने तर विभिन्न कार्यक्षेत्रमा काम गर्नुपर्नेहरुलाई शुद्ध हिज्जे जान्नु नपर्ने एउटा असभ्य परम्परा विकसित हुनुले गणतान्त्रिक नेपालको  भाषिक चेतनाप्रति यस पुस्तकले गतिलो झापट दिएको छ । 

व्याकरणअन्तर्गत पनि नेपालमा परम्परागत र आधुनिक व्याकरण प्रचलनमा आएका देखिन्छन् । कृतिले विदेशीहरुलाई पनि स्थान दिएकाले एटन र टर्नबुल जस्ता अङ्ग्रेजी भाषामा लेखिएका नेपाली परम्परागत वयाकरणहरुको उल्लेख गरेको छ । बृहत् नेपाली व्याकरण लेख्ने रोहिणीप्रसाद भट्टराईबाहेक अन्य परम्परागत प्रमुख व्याकरणकारको नाम यसभित्र छुटेको देखिएन । तर वि.सं.२०३६ तिरै आधुनिक भाषा विज्ञानको सोच भित्र्याउने मोहनराज शर्मा यसभित्र छुटेको देखियो । उनीपछि त्यस सोचलाई प्रवेश गराएर वि.संं. २०४९ तिर व्याकरण लेख्ने हेमाङ्गराज अधिकारीको नाम पनि छुटेको पाइयो । कृतिले यहाँ पनि एकैचोटि पछिल्लो नेपाली व्याकरण लेख्ने बालकृष्ण र  माधवप्रसाद जस्ता पोखरेललाई मात्र चिनाएको छ । हुनत, यो कुरा नेपाली व्याकरणको इतिहास लेख्ने सुकुम शर्माको कृतिले छुटाएको छैन । अब नेपाली भाषामा परम्परागत र आधुनिक व्याकरणको प्रवेश गराउने व्याकरणकारको कित्ता छुट्ट्याएर कृतिको परिमार्जित प्रकाशन आउन सके  झन् स्पष्टता आउने थियो । 
नेपाली भाषालाई मानक बनाउने कार्यको चर्चामा कृतिको पृष्ठ १०१ मा नेपाली भाषाको संस्थागत पठन पाठन वि.सं.१९१० मा दरबार स्कुल खुलेपछि संस्थागतरूपमा नेपाली विषय पढाउने इतिहास सुरु भयो भन्ने कुरा चाहिँ ऐतिहासिक तथ्यसँग मिलेको देखिएन । किनभने स्कुल भारतको कलकत्ता विश्वविद्यालयसँग सम्बन्धित भएकाले नेपालको भन्दा इस्ट इन्डियाको परिस्थिति अनुकूल स्कुलको पाठ्यक्रम बनेको थियो । त्यसैले भर्नाकुलर नेपाली पनि अङ्ग्रेजी माध्यमबाट पढाइ हुन्थ्यो ।

कक्षा ४ सम्म मौखिक र कक्षा ५ देखि लिखित परीक्षा हुनेगथ्र्यो । त्यस समयमा ज्वाला सिंह हमालले अङ्ग्रेजी भाषामा लेखेको एङ्लो नेपाली ग्रामर भन्ने पुस्तक पढाएको पाइन्छ । यो नेपाली ग्रामर पनि स्कुलको स्थापना कालदेखि नै पढाएको देखिँदैन । यसरी पढाउनुलाई नेपाली विषय पढाउने इतिहास प्रारम्भ भएको मान्न सकिँदैन । 
यो नेपाली भाषाको सामाजिक इतिहासका लेखिकाको नाम शैलजा पोखरेल रहेको छ ।  पाठकका आँखा सर्सरी डुलाउँदा लेखिकाले भन्दा पनि जगदम्बा नेपाली साहित्यको बृहत् इतिहासका प्रधान सम्पादकले उल्लिखित सानातिना कुरालाई ध्यान दिएको देखिएन । यस कृतिलाई गडेर अध्ययन गर्नेहरुले छुटेका अन्य थप पक्ष पनि खुट्याउन सक्लान् । कृतिले दोस्रो संस्करण बनेर आउनु पर्दा यस्तै खुट्याएका पक्षमा परिमार्जित हुन सकेमा जसमाथि यश पनि थपिने थियो । 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, मंसिर १४, २०७४ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्