नेपालको रोचक राजनीतिक इतिहास बुझ्न किताबका ठेली पढ्नु पर्दैन । राजनीति नसुध्रेसम्म देशको समृद्धि सम्भव छैन भनेर बुझ्नसक्ने नागरिकले विगतलाई हेरेमात्रै भने पनि नेपाली जनताले परिवर्तनका पक्षमा मत प्रस्तुत गरेको स्पष्ट हुन्छ ।
राणा शासनविरुद्ध क्रान्ति गर्न २००३ सालमा गठन गरिएको नेपाली कांग्रेसलाई जनताले तुरुन्तै अपनाएनन् । तर, त्यही कांग्रेसको अगुवाइमा ४ वर्षभित्रै २००७ सालमा राणा शासनको अन्त्य भयो । नेपालकै इतिहासमा २०१६ सालमा पहिलोपल्ट प्रजातान्त्रिक सरकार गठन भयो । राजा महेन्द्रले कु गरेपछि त्यो सरकार लामो समय टिक्न सकेन । त्यस्तै २०३६ सालमा निर्दल र बहुदलबीचको जनमत संग्रहमा निर्दलका पक्षमा मत हाल्ने जनताले त्यसको दस वर्षभित्रै प्रजातन्त्रका लागि आहुति दिएर प्रजातन्त्र प्राप्त गरे ।
विसं २०५२ मा सशस्त्र युद्ध सुरु गर्दा कसैले पनि माओवादी कुनै दिन देशको बागडोर सम्हाल्ने मौका पाउने कल्पना गरिएको थिएन । तर, माओवादीले दस वर्षमै देशको राजनीतिक व्यवस्थामा उथल पुथल ल्याउन मुख्य भूमिका खेल्यो ।
नेपाली जनताले एकपछि अर्को राजनीतिक शक्तिलाई मौका दिन आफ्नो मतको सदुपयोग गर्ने गरेका छन् । लोकतन्त्रको सुन्दर पक्ष जनता सार्वभौम हुनु र आफूले चाहेको परिवर्तनका लागि मत दिन सक्नु नै हो ।
रवीन्द्र मिश्रले बीबीसीको जागिर छाडेर साझा पार्टी गठन गर्दा धेरै नेपालीमा कौतुहल जागेको थियो । भर्खर खुलेको साझा पार्टीका लागि स्थानीय निर्वाचन ठूलै चुनौती थियो । तर, पार्टी गठन भएको दुई महिना नपुग्दै स्थानीय निर्वाचन हुँदासमेत औपचारिक सदस्य तथा संगठनात्मक संरचनाबिना नै सीमित साधनस्रोत र समयको साथमा साझा पार्टीका काठमाडौँका र ललितपुरका मेयर र उपमेयरले ल्याएको मत हेर्ने हो भने जनताले विकल्प खोजेको स्पष्ट हुन्छ ।
अर्कातिर, गत ४ वर्षबाट राजनीतिक बेथिति र भ्रष्टाचार विरोधि अभियानमा सक्रिय हुँदैआएको विवेकशील नेपाली दलले पनि काठमाडौँमा रन्जु दर्शनालाई उमेदवार बनायो । कलेज पढ्दै गरेकी २३ वर्षीया युवतीलाई विश्वास गरेर दिएको मत पनि जनताले विकल्प खोजेको अर्को उदाहरण हो।
सामाजिक संजालहरूमा शुभेच्छुकहरूले दिएको अर्को संदेश थियो - विवेकशील र साझा पार्टी एक भएर चुनाव लडून् र अहिलेका पुराना शक्तिलाई पराजित गरून् ।
स्थानीय चुनावमा सम्भव नभए पनि अहिले दुई पार्टीको एकीकरण पश्चात् विवेकशील साझा पार्टीका उम्मेदवार निर्वाचनको मैदानमा उत्रेका छन् । नयाँ अनुहार भएकाले विवेकशील साझा पार्टीका अधिकांश उमेदवार आशालाग्दा देखिन्छन् । उनीहरूको उपस्थितिले राजनीतिमा तरंग पैदा गराएको छ ।
विदेशमा निर्वाचनमा सामाजिक संजालमा जति होहल्ला हुन्छ, वास्तविक चुनाव त्यति नै शान्त र सरल हुन्छ । त्यहाँ चुनाव हुँदा हाम्रोतिरजस्तो रौनक हुँदैन । चुनाव ताका चाहिनेभन्दा बढी तामझाम गर्ने परम्परा छैन ।
विवेकशील साझाको चुनाव प्रचारप्रसार शैली पनि भद्र र सरल किसिमको रहनु अर्को सकारात्मक पक्ष हो । मतदाताले यस्तै विभिन्न पक्षका आधारमा पार्टी छनोट गर्नुपर्ने देखिन्छ । तामझामका साथ चुनाव प्रचारप्रसार गर्ने खर्च जीवनमा कहिल्यै कुनै पेसा व्यवसाय नगरेका उमेदवारसँग कहाँबाट आयो ? विवेकशील साझा पार्टीले सरल र भद्र तरिकाले अरू पार्टी र नेतालाई गाली गलौज नगरीकन पनि जनताबाटै पारदर्शी रूपमा पैसा उठाएर अत्यन्त न्यून खर्चमा चुनाव प्रचारप्रसार गर्नु सुसंस्कृत राजनीतिको पहिलो खुड्किला हो ।
अहिलेको चुनावी माहोलमा विवेकशील साझा पार्टीको उपलब्धिलाई तेस्रो चरणमा प्रवेश गरेको मान्न सकिन्छ । पहिलो चरणमा पार्टीप्रति सद्भाव जनाउने तथा पार्टी र यसको नेतृत्वप्रति कट्टिबद्ध व्यक्तिहरूले हरेक क्षेत्रका उमेदवारलाई कहीं न कहीँ सामाजिक संजालमा प्रोफाइल पिक्चर बनाएर राख्ने र उनीहरु प्रति ऐक्यबद्धता जनाउने गरेको देखियो । दोस्रो चरणमा देशविदेशमा रहेका तुलनात्मक रूपमा तटस्थ व्यक्तिले समर्थन गरेको पाइयो । अहिले तेस्रो चरणमा आइपुग्दा अन्य पार्टीका समर्थक व्यक्तिले पनि आफ्नो आस्थाको पार्टीबाट बाहिर निस्केरै खुलेर सद्भाव जनाउने र उनीहरुलाई भोट गरेर एकपटक मौका दिने निष्कर्षमा पुगेको देखिएको छ र यो क्रम एकदम बढ्दो छ ।
काठमाडौँ बाहिर विवेकशील साझा पार्टीका उम्मेदवार नरहेका कतिपय ठाउँमा पनि समानुपातिकमा भोट दिएर यसैपटक राष्ट्रिय पार्टी बनाउन व्यापक रूपमा विमर्श भएको छ । हाम्रा अधिकांश मतदाता सामाजिक संजाल बाहिर होलान् तर सामाजिक संजाल चलाउने व्यक्तिले नै आफ्नो परिवारलाई सुसूचित गर्ने काम भैरहेको छ ।
विवेकशील साझा पार्टीको अर्को सकारात्मक पक्ष यस पार्टीका उमेदवार अहिलेसम्म इमानदार देखिनु पनि हो । उनीहरू आआफ्ना क्षेत्रमा आफ्नै तवरले राम्रा छन् र राजनीतिलाई कमाउने पेसा नबनाउन प्रतिबद्ध देखिन्छन् ।
भनिन्छ, देशले समाजअनुसारको नेतृत्व पाउँछ । साथै नेता जनताभन्दा एककदम अगाडि सोच्न सक्षम हुनुपर्छ । यस कारणले पनि उसलाई नागरिकले उसको प्रतिनिधि मान्ने हो।
अहिले कतिपय व्यक्तिले विवेकशील साझाको भविष्य अहिलेको चुनाव परिणामले निर्धारण गर्नेछ पनि भन्दैछन् । तर, विवेकशील साझा पार्टीको नेतृत्व पंक्ति यति सानो र अदूरदर्शी विचार बोकेर वैकल्पिक राजनीतिको लागि मैदानमा उत्रेको होइन । सत्य के हो भने आसन्न निर्वाचनमा मत उत्साहजनक आयो वा विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्यो भने अर्को चुनावसम्ममा स्वःस्फूर्तरूपमा देशमा गाउँटोलमा संगठन विस्तार गर्न र अर्को पटक कम्तीमा पनि सामान्य बहुमत जित्न तुलनात्मकरूपमा सजिलो हुनेछ । साथै संसद्मा रहेर त्यहाँबाट हुनेगरेका बेथिति र भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने मौका मिल्नेछ ।
विवेकशील साझा पार्टीको अर्को उपलब्धि २ दर्जनभन्दा बढी राष्ट्रमा संगठनात्मक सद्भाव समूहको विस्तार हो । कैयौं राष्ट्रका सहरमा त स्थानीय तहमा पनि संगठन विस्तार भइसकेका छन् ।
पार्टीको केन्द्रीय संयोजन समितिले यी विभिन्न राष्ट्रमा भएका संगठनलाई एउटै ठाउँमा जोड्ने काम गरिसकेको छ । अहिलेको यो सकारात्मक तरंगले आफ्नो अध्ययन, आर्थिक तथा अन्य कारणले विदेशिएका दक्ष, सिक्षित र सक्षम पुस्ता अबको पाँच वर्षभित्रै देश फर्केर आआफ्नै जन्म थलोमा गएर नेतृत्व लिन तयार देखिन्छ ।
विवेकशील साझाले विदेशिएका नेपालीको यो भावनाको व्यवस्थापनमात्र गर्न सक्यो भने सयौं दक्ष, इमानदार, आफ्नो पेसामा सफल र देशको लागि केहि गरौँ भन्ने हुटहुटी भएका युवा देश फर्किने क्रम सुरु हुनेछ । यी योग्य, दक्ष, शिक्षित युवाले देश फर्केर आफ्नै गाउँठाउँमा नेतृत्व लिए भने देश परिवर्तन हुन बेर लाग्ला र ?
क्यालिफोर्निया, अमेरिका