site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हामी कति सक्षम ?

पञ्चायत कालमा सुरु भएका राजनीतिक र समाजिक विकृति २०४६ मा जनआन्दोलनबाट लोकतन्त्रको स्थापना भएपछि पनि कायमै रहे । समाज विभाजित मानसिकताबाट ग्रसित छ । राजनीतिक र सामाजिक अवस्था झन् विभाजित र नकारात्मक भइरहेको छ । दस वर्षे सशस्त्र हिंसाले हत्या र हिंसा मात्र फैलाएन, हाम्रो सभ्यता, संस्कृति र समाजको आत्मामा नै प्रहार ग¥यो । हामी मान्छे हौँ भन्नेसमेत बिर्सायो । एउटा छिमेकीले अर्को छिमेकीलाई, एउटा नागरिकले अर्को साथी नागरिकलाई शंका र उपशंकाको दृष्टिले हेर्ने वातावरण बनायो । उस्ले अवलम्बन गरेको राजनीतिक आस्थामात्रका आँखाले हेर्ने मानसिकताको विकास भयो ।

व्यक्तिको परिचय ऊ फलानो पार्टीको, फलानो नेताको मान्छे हुनुमा सीमित भयो ।  
समाज पराजित र पराधीन मानसिकता ग्रस्त छ । हरेक कुरालाई नकारात्मक र षड्यन्त्र देख्छ अहिलेको यो समाज  । राज्यको सेवा दिने सार्वजनिक संघ संस्था, सुरक्षा दिने सुरक्षा निकायमाथि जनताको विश्वास छैन । ‘घुस नदिई कतै काम हुदैन’ भन्ने बुझाइ व्याप्त छ । राजनीतिक पार्टी र यिनको नेतृत्व र जनसाधारणबीच अविश्वासको ठूलो खाडल छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ यसले केही गर्दैन, भन्ने र नेता र नेतृत्वलाई विदेशीको दलाल उपमा दिने गरिन्छ । चिया पसलदेखि रेष्टुराँसम्म, गाँउदेखि केन्द्रसम्मै यस्तै जनसाधारणबीच यस्तै कुरा हुन्छन् । के हामी साँच्चै यो हदसम्म निरीह छौँ त ? के हामी असक्षम नै हो त ? के हाम्रो भविष्य नै छैन त ? हामी हाम्रो भविष्य आफैँ निर्धारण गर्न सक्तैनौ त ? सबै नेपालीले गम्भीर भएर सोच्ने समय आयो । 

कुनै एउटा राष्ट्रको सफलता र असफलता, सक्षम र अक्षमताको मापन आर्थिक विकासले मात्रै गर्दैन । सामाजिक सद्भाव र संस्कृतिको आधारमा हामी विश्वमै अग्रपंक्तिमा छौँ । हाम्रो आफ्नै जीवन पद्धति, बाँच्ने शैली छन् । हाम्रो आफ्नै गौरवमय इतिहास छ । यस्तो निराश भइहाल्नु पर्ने केही देखिँदैन । ईतिहासमा नै फर्कनु पर्दैन । बितेका पन्ध्र–बीस वर्षका केही दृष्टान्त नै काफी हुनेछन् यसको पुष्टिका लागि । हामी कमजोर छैनौं भन्ने प्रमाणित गर्न केही उदाहरणलाई पेस गर्दै अब देशको बाटो कस्तो हुनुपर्ने र समस्याहरुको निकास के हुनुपर्छ भन्नेको समेत चर्चा यस लेखमा गरेको छु । 

Prabhu Bank
Agni Group
NIC Asia

१. नेपालको दस वर्षे सशस्त्र द्वन्द्व जरुरी थियो वा थिएन, उचित थियो थिएन भन्ने बेग्लै बहसको विषय होला परन्तु यस द्वन्द्वको समाप्ति र त्यसपछि हामीले कार्यान्वयन गरेको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय मानिन्छ । हतीयारधारी सशस्त्र समूहलाई मूलधारको राजनीतिमा प्रवेश गराउनु र सेना समायोजनजस्ता विषय सहज थिएनन् तर हामीले गरेर देखायौँ । यो हाम्रो मौलिक खुबी हो । यद्यपि,  युद्धमा भएको मानव अधिकार हनन,  हिंसा र हत्याका मामिला हेर्न बाकी नै छन् । पहिलो संविधान सभाको सुनियोजित हत्या गरियो । अर्बाैं रुपैंया खेर गयो । मुलुकमा राजनीतिक विचलन र तरलता ल्यायो तर विभिन्न अड्चन, बाधा र चलखेल हुँदाहुँदै पनि दोस्रो संविधान सभाले संविधान जारी गरेरै छोड्यो । सोह्र बुँदे राजनीतिक सहमतिसँगै तत्कालीन नेतृत्वले देखाएको एकता, संकल्प र दृढता एउटा अनुपम उदाहरण थियो – हाम्रो क्षमताको, सक्षमताको ।

२. विसं २०६०–६२ देखी वर्तमान संविधान जारी नभएसम्म यो मुलुकमा जातीय द्वन्द्व, सामाजिक र धार्मिक सद्भाव भड्काउने ठूला प्रयास भए । उदाहरण धेरै छन् । तराई आन्दोलन, कैलालीको घटना आदि यसैका उपज हुन् । तर, नेपाली जनताले सहजरुपमा परास्त गरे यस्ता तत्त्वलाई । इतिहासमा राज्यले गरेको सामाजिक तथा आर्थिक विभेद, अत्याचारलाई लिएर आजको पुस्ता लड्नु हुँदैन । अरुको गोटी हुनुहँुदैन । बरु। सुधार गरेर अघि वढ्नुपर्छ भन्ने मान्यता राखेर देशलाईे रुवान्डा हुनबाट वचायौँ । यो हामीले गर्व गर्ने विषय हो । हाम्रो आजको सामाजिक सद्भाव, संस्कार र जीवन शैली नै हाम्रो राष्ट्रियता र एकताको आधार हो । यही हाम्रो शक्ति, सम्पत्ति, मौलिकता हो । हामीले अब बुझिसकेका छौं । यस उदाहरणले के पनि प्रमाणित गर्छ भने नेपाली जनता अब राजनीतिकरुपमा चेतनशील भइसकेका छौँं । न्याय र विवेकको आफैँ प्रयोग गर्न सक्छौँ । सत्य र असत्यबीचमा फरक छुट्याउन सक्छौँ ।

Global Ime bank

३. हाम्रो छिमेकी मुलुकले लगाएको अमानवीय नाकाबन्दीविरुद्धमा जसरी नेपाली जनताले एकजुट भएर सामना गरे यो विश्वकै अद्भूत र अनुपम घटना हो । राष्ट्रियता र स्वाभिमान भनेको यही नै हो । दुःख र पीडा सँंगसँगै नयाँ कुराको आविष्कार हुन्छ । सरकारले नाकाबन्दीको सामना गर्दै चीनसँग पारवहनलगायतका दीर्घकालीन सम्झौता ग¥यो । नयाँ संभावनाको वाटो खोल्यो । नाकाबन्दीको बेला सरकार, जनता र प्रतिपक्षसमेतको जुन एकता देखियो त्यसले निरन्तरता पाउँनुपर्छ । अनुपम छन् हाम्रा सामाजिक सम्बन्ध र संस्कारहरु । हाम्रो पुँजी नै यिनै हुने । यिनलाई जोगाउनुपर्छ र फस्टाउन दिनुपर्छ । जनएकता र जनविश्वासनै राज्य र सरकारको बल हो । सत्तामा वस्ने नैतिक र वैधानिक आधार पनि यही रहेछ भन्ने हामीले बुझेकाछौँ । राजनीतिक नेतृत्व र राज्यले पनि गम्भीररुपमा लिनुपर्छ ।

४. धेरै छन् हजारौं वर्षको स्वतन्त्र इतिहास भएको हाम्रो मुलुकमा गर्व मान्ने विषयहरू । यो सभ्यताको भूमि हो । एकजना नेतृत्व वा व्यक्तिको असल, इमानदार र सही निर्णयले कति फरक पार्दछ भन्ने विद्युत् प्राधिकरणको कुलमान सिंह घिसीङको कामले ल्याएको परिवर्तन नै बुझ्नलाई काफी छ । इतिहासमा फर्कनै पर्दैन । संस्था र राज्य त अर्मूत विषय हो । तिनलाई हाँक्ने त व्यक्तिले नै हो, हामीले नै हो । अहिले राजधानीवासीले लोडसेडिङको मार खप्नुपरेको छैन, कारखानाहरु पनि चलेकै छन् र प्राधिकरण पनि नाफामा गएको छ । मतलब हामी गर्न सक्छौँं, इच्छा शक्ति, इमानदारी र अडान चाहियो । कुलमानसिंह घिसिङको उदाहरणले के देखाउँछ भने राजनीतिमा  मात्रै हैन सबै सार्वजनिक संस्थानमा पनि देशले अशल र कुशल नेतृत्व खोजेको छ भने इमानदार राष्ट्रसेवक पनि खोजेको छ । अर्को कुरा यो प्रकरणले के पनि देखाउँछ भने हरेक व्यक्ति सामाजिक परिवर्तनको संवाहक बन्न सक्छ ।

५. विसं २०४६ सालपछि बनेका सबै संविधानमा नागरिक अधिकार, आर्थिक, सामाजिक र राजनीतिक अधिकारको प्रावधान गरेका छन् । वर्तमान संविधानले त झनै अगाडि बढेर सामाजीक सुरक्षा, महिलाको अधिकार, बालबालिका, जनजाति र पिछडिएका वर्गको हक संरक्षण गरेको छ । मृत्युदण्डसम्बन्धी कानुनी प्रावधानलाई खारेज गरेको पनि तीसौं वर्ष हुन लाग्यो जुन व्यवस्था संसारका ठूला प्रजातान्त्रिक भनिने मूलुकहरुमा समेत अभ्यासमा छ । महिला सशक्तीकरणमा नेपाल दक्षिण एसियामा मात्रै हैन, विश्वमा नै उदाहरणीय मानिछ । गोपनीयताको हक हाम्रो छिमेकी मुलुक भारतमा सुनिश्चित गरिएको केही महिनामात्रै भयो तर हाम्रोमा झन्डै तीन दशकअघि नै सुनिश्चित थियो । यसको मतलब हामीसँग विश्वलाई दिने धेरै कुरा छन् ।

प्रश्न छ, हामी कहाँ,  किन र कसरी अल्मलिरहेका छाैँ ? बितेका दस वर्षमा हामीले सञ्चार माध्यममा ठूलो प्रगति गरेका छाैँ । आज तीन करोड नेपाली आपसमा जोडिएका छन् यी माध्यमहरुबाट । तर, एक कल फोन गर्न तीन दिन हिँड्नु पर्ने विकट ठाँउहरु अहिले पनि प्रशस्तै छन् । राज्यको ध्यान त्यता जानु पर्यो । माथि उल्लेख गरेका मौलिक र कानुनी हकहरु कागजमा मात्रै भएर केही हुँदैन । अब यसको कार्यान्वयनको कदम अगाडि बढाउनुपर्छ । संविधानले आर्थिक र सामाजिक अधिकार प्रत्याभूत त गरेको छ तर लाखौं जनता आधा पेट खाएर सुत्न बाध्य छन् । अब राज्यको ध्यान त्यस्ता समूहलाई सशक्तीकरण गर्नेतर्फ हुनुपर्छ । संवैधानिक तथा कानुनी व्यवस्थाले संभावनाको ढोका खोलेका छन्, प्लेटफर्म दिएका छन् तर यसको उचित कार्यान्वयनपछि मात्रै जनताले प्रतिफल भोग्न पाउने छन् । राज्यले के बुझ्नु पर्यो भने कानुन र संविधान त माध्यम मात्रै हुन्, अन्त्य र उद्देश्य त न्याय हो, समानता हो, असल समाजको स्थापना हो । 

अबको बाटो

नेपालमात्रै हैन आज विश्व नै राजनीतिक  अस्थिरता, द्वन्द्व र युद्धवाट अक्रान्त छ । हाम्रो मुलुक लामो समय राजनीतिक संक्रमणबाट गुज्रेको सर्वविदितै छ । अब हाम्रो आवश्यकता राजनीतिक स्थिरता नै हो र यो नयाँ संविधानको अक्षरशः कार्यान्वयनबाट सम्भव छ । स्थानीय तहको चुनाव भइसक्यो । मुलुक प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा अघि बढेको छ । राजनीतिक अस्थिरता विकासको बाधक हो । बितेको २७ वर्षमा २५ वटा सरकार हामीले भोग्यौँ । राजनीति फोहरी खेल पो रहेछ भन्ने भान जनतामा नराम्रोसँग परेको छ ।

अब यो नकारात्मक बुझाइलाई नेतृत्व र पार्टीहरुले चिन्न सक्नुपर्छ । भर्खरै भएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको गठबन्धन, कार्यगत एकता नेपाली राजनीतिमा ढिलै भए पनि नयाँ संकेत हुनसक्छ । तर, निष्ठा र संस्कार नभएको हाम्रोजस्तो राजनीतिक परिवेशमा कहाँ पुगेर यसमा पूर्णविराम लाग्ने हो भन्ने समय र भविष्यले नै बताउला । यिनको विगतलाई केलाउने हो भने भइरहेको गठबन्धन र ध्रुवीकरण पार्टीगत, व्यक्तिगत र सत्तास्वार्थबाट उत्प्रेरित देखिन्छ । स्वार्थबाट प्रेरित मायाप्रीति घामपानीजस्तो मात्रै हुन्छ । दिगो हँुदैन । स्वार्थ संघर्षको परिणाम भाँडभैलो नै हो र यसले सकारात्मक परिणाम दिन्छ भन्ने मान्न सकिँदैन । यसैले अब नेतृत्वले चुक्नु हुँदैन । चुनावी गठबन्धन सँगसँगै पार्टी एकतालाई टुंगोमा पुर्याउनुपर्छ र जनतामा सकारात्मक ऊर्जा पैदा गर्नुपर्छ । राष्ट्रिय स्वार्थका विषयहरुमा समान धारणा बनाई पार्टी र व्यक्तिगत स्वार्थबाट माथि राख्नुपर्छ । राजनीतिक स्थायित्वको सूत्रपात त्यहींँबाट हुनेछ । सहमतिमात्रै हैन, असहमतिहरु पनि देश र जनताको हितको लागि नै हुनुपर्छ ।

हाम्रो हकमा संविधानको कार्यान्वयन र राजनीतिक स्थिरता एकआपसमा परिपूरक हुन् । संविधान कार्यान्वयन गतिशील प्रक्रिया हो र यसका आफ्नै जटीलता पनि छन् । हाम्रो संविधानमा केही पेचीला तथा नयाँ विषयवस्तु, हाम्रो लागि अत्यन्तै नयाँ, पनि राखिएका छन् । धर्म निरपेक्षताको व्यवस्थालाई आयातित, थोपरिएको तथा राजनीतिक चलखेलको उपज भन्नेहरूको जमात पनि ठूलो छ । हाम्रो संस्कृतिमाथिको नै ठूलो प्रहार हो यो भन्ने पनि धेरै छन् । संघीयतासम्बन्धी व्यवस्थालाई पनि धेरैले सहजरूपमा लिएका छैनन् । यी विषयवस्तुलाई नेतृत्व र राज्यले गम्भीररुपमा लिनुपर्छ । यसको राम्रो पक्ष जनतासमक्ष लानुपर्छ । सचेत गर्नुपर्छ । जनजाति, मधेसी र सबै असन्तुष्ट पक्षलाई समेट्ने कोसिस गर्नुपर्छ अब । राष्ट्रिय स्वार्थ, जनचाहनाको संरक्षण, सामाजिक न्याय र सद्भावको अर्को नाम नै प्रगति हो ।

अब राज्यले राजनीतिक स्थायित्वको एउटा महत्त्वपूर्ण कडीका रुपमा रहेको आर्थिक अधिकारलाई मूर्तरुप दिनुपर्छ । सामाजिक रुपान्तरणको एउटा सशक्त माध्यमका रुपमा शिक्षामा व्यापक लगानी गरी अघि बढ्नुपर्छ । राजनीतीक चेतनानै सबै कुराको आधार हो जुन शिक्षाबाट मात्रै संभव छ । जनसाधारण संविधानको पूर्ण कार्यान्वयनप्रति विश्वस्त हुनसकेका छैनन् । जनताका साझा प्रश्न यस्ता छन् — संघीयताको कार्यान्वयनमा देशले आर्थिक रुपमा कसरी धान्ने ? केन्द्रदेखि गाउँसम्म तलब र भत्ता कसरी खुवाउने ? कतै आर्थिक रुपमा देश टाट त पल्टिने हैन ? रेमिटेन्सले मात्रै कहिलेसम्म धान्ने ? यी प्रश्नहरु गम्भीर नै छन् । संघीयताको कार्यान्वयन हाम्रो परिप्रेक्षमा महंगो प्रक्रिया हो । यो सत्य हो । यसलाई नेतृत्वले गम्भीररुपमा लिनुपर्छ र आर्थिक विकासका नयाँ कार्यक्रम अघि बढाउनुपर्छ ।

दैनिक हजाराैँ युवा विदेश पलायन हुन बाध्य भएका छन् । लाखौं युवा मरुभूमिमा पसिना बगाउँदैछन् । यस देशमा राज्य र सरकार नै नभएकोजस्तो भान पर्छ । हजारौं वर्ष लगाएर हाम्रा पुर्खाले बनाएको खेतबारी जंगलमा परिणत हुदैछन् गाँउघरमा । खेती मासिँदो छ । गाँउ सुनािन भएको छ । जन्ती र मलामीकै समेत अभाव छ गाँउमा । नेपाल भनेकै गाँउ हैन र ? यसमा दोषी को ? नेतृत्वले जिम्मा लिने कि नलिने ? विसं २०४६ पछि आजसम्म कुनै न कुनै रुपमा आजका राजनीतिक खेलाडी नै सत्तामा छन्, हैन ? जवाफ दिनुपर्यो अब । अब संघीयताको कार्यान्वयन सँगै नयाँ आर्थिक र सामाजिक विकासका दूरदर्शी योजना नेतृत्वले प्रस्तुत नगरी धरै छैन । विदेसिएका लाखौं श्रमजीवी युवालाई फर्काएर यही भूमिमा पसिना बगाउन सक्ने वातावरण राज्यले सिर्जना गर्नुपर्छ । विकासको नयाँ सूत्रपात यहीँबाट गरिनुपर्छ । यो राज्यको संवैधानिक र कानुनी दायित्वसमेत हो ।

दस वर्षे कथित ‘जनयुद्ध’को औचित्यको खोजी हाम्रै पुस्ताले गर्नेछ । यो १७ हजार भन्दाबढी निर्दोषहरुको काल बनेको, हजारौं बेपत्ता पारिने कारण बनेकोे, लाखौं विस्थापित भएका देशलाई आर्थिक, सामाजिक तथा राजनीतिकरुपमा बीसौ वर्ष पछि पार्ने यो कथित ‘जनयुद्ध’को औचित्य देखिएन । सत्य यही हो । राज्यले के पायो त यस युद्धबाट ? यो साझा सबाल हो हामी सबैको । जबाफ सम्बन्धित पक्ष र राज्यले नदिई धरै छैन, दिनै पर्छ । अब हतियारबाट हिंसाको हैन कलमबाट विवेक र चेतनाको क्रान्ति गर्नुपर्छ ।

राजनीति चेतनाको, परिवर्तनको संवाहक बन्नुपर्छ । सकारात्मक ऊर्जा र सोचको आधार बन्नुपर्छ राजनीति । राजनीति पेसा र पैसा, विलासको लागि हैन सेवाको लागि हुनुपर्छ । अहिलेको बेथिति हेर्दा जनता एकपटक फेरि जाग्नै पर्छ भन्ने मलाई लाग्छ । बुद्धिजीवी वर्ग, नेता, नेतृत्व र विकासे संस्थाको दास हैन, सचेतक र प्रतिपक्षको भूमिकामा रहनुपर्छ । यो नीति हामी सबैले अगाल्नुपर्छ । यस्तो वातावरण तयार गर्ने दायित्व राज्यको पनि हो । पुरानो गोरेटोहरुको यात्रा समाप्त गरी सकियो । अब नयाँ गोरेटो खन्नुपर्छ । सकरात्मक सोच र ऊर्जा लिएर अघि बढ्नु पर्छ । हामी सक्छौं, सक्षम छौं ।

अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी कानुनमा विद्यावारिधि 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १०, २०७४  १२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC