site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रदेश दुईको चुनावमा दलहरुको हैसियत

अन्ततः प्रदेश दुईमा स्थानीय तहको निर्वाचन सानदार ढंगले सम्पन्न भएको छ । तेस्रो चरणअन्तर्गत यही २०७४ असोज २ गते आठ जिल्लाका एक सय ३६ स्थानीय तहका लागि सम्पन्न निर्वाचनको, यो आलेख तयार पारुञ्जेल, एक सय ३४ स्थानको मत परिणाम सार्वजनिक भइसकेको छ ।

अब राजविराज नगरपालिका र यस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जको परिणाम आउन बाँकी छ । निकै शान्तिपूर्ण ढंगबाट सुरक्षित वातावरणमा सम्पन्न यहाँको निर्वाचनमा जनतामा मतदानप्रति कति विश्वास, उत्साह र उमंग थियो भन्ने यस प्रदेशमा ७७ प्रतिशत मतदान भएबाट स्पष्ट हुन्छ । यो अंक यसअघि दुई चरणमा सम्पन्न छ प्रदेशको निर्वाचनमा भएको मतदानभन्दा बढी हो । करिब दुई दशकदेखि स्थानीय सरकारका लागि मतदान गर्न नपाएका यहाँका जनता स्थानीय तहलाई पूर्णता प्रदान गर्न आतुर र उत्साही थिए भन्ने पनि यसबाट स्पष्ट हुन्छ । यस प्रदेशको चुनावको स्वयंमा निकै ठूलो महत्त्व छ । दुई चरणसम्म सहभागी नभएको राष्ट्रिय जनता पार्टी (राजपा) तेस्रो चरणको निर्वाचनमा सहभागी भयो । संविधानको स्वीकार्यता तथा कार्यान्वयन एवं स्थानीय लोकतन्त्रको संस्थागत विकासका दृष्टिले निर्वाचनमा राजपाको सहभागिताको निकै ठूलो महत्व छ ।

यस प्रदेशको समग्र चुनावी परिणाम कुनै पनि दलका पक्षमा स्पष्ट छैन । एक सय स्थानीय तहमा विजय हासिल गर्ने दाबी गर्दैआएको नेपाली कांग्रेस ४० स्थानमा सीमित रहे पनि पहिलो स्थानमा छ । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम दोस्रो स्थानमा छ भने राजपा तेस्रो र नेकपा (माओवादी केन्द्र) चौथो स्थानमा रहन पुगेको छ । नेकपा (एमाले) पाँचौ र विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम छैठौं स्थानमा सीमित हुन पुगेको छ । यस्तै यस प्रदेशमा नेपाली जनता दल (दुई स्थानीय तह) र नयाँ शक्ति पार्टी (एक स्थानमा)ले पनि सफलता प्राप्त गर्नु स्वयंमा महत्त्वपूर्ण छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निकै लामो समयसम्म निर्वाचनमा भाग लिने सम्बन्धमा अनिर्णित रहेको राजपा अन्तिम समयमा आएरमात्र सहभागी भएको हो । यस अवस्थामा उसले जति लाभ पाउन सक्नुपथ्र्यो त्यसबाट यो पार्टी चुकेको छ र चर्चामा रहेअनुसार परिणाम प्राप्त गर्न असमर्थ रहेको मान्न सकिन्छ । एकातिर चुनावबारे ढुलमुले नीति र अर्कोतर्फ चुनावका लागि अपर्याप्त समय तथा स्थानीय स्तरमा संगठनको अभाव आदि  उसका लागि समस्या बन्न पुगे । छ दल मिलेर बनेको राजपा स्थानीयस्तरमा राम्ररी मिल्न नसकेको र अन्तिम अवस्थासम्म पनि उम्मेदवारका सम्बन्धमा विवाद रहेका कारण पनि केही समस्या उत्पन्न भएको थियो ।

प्राप्त चुनावी परिणामको समीक्षा गर्दा राजपा समस्यामा परेको सोझो लाभ उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई मिलेको छ । तुलनात्मकरुपमा स्थानीय स्तरसम्म संगठन भएको, मूल मधेस मुद्दाको स्वामित्व लिन सकेको र तुलनात्मकरुपमा मधेसकेन्द्रित दलमध्ये जनताबीच बढी भिजेको कारण पनि हुन सक्छ यस दलले अपेक्षकृत बढी सफलता पाउन सक्यो । यतिमात्र होइन मधेस आन्दोलनको उठानका दृष्टिले पनि परिचित भएकाले यसको लाभ यस दललाई मिलेको हुनुपर्छ ।

Global Ime bank

यस निर्वाचनमा मधेसकेन्द्रित अर्को दल लोकतान्त्रिक फोरमले अपेक्षित सफलता पाउन सकेन ।  जुनसुकै राजनीतिक समीकरणमा अटाएर प्रायः सँधै सत्तामा आसीन रहँदै आएको फोरम लोकतान्त्रिकका लागि सम्भवतः यही प्रवृत्ति नै प्रत्युत्पादक साबित भएको हुनसक्छ । यतिमात्र होइन पछिल्ला दिनमा प्रायः एक नम्बर प्रदेशमा मात्र सीमित रहेको आरोप लागेका कारण पनि यस पार्टीले अपेक्षित सफलता प्राप्त गर्न नसकेको स्थानीय विश्लेषकहरुको धारणा छ ।

मधेसकेन्द्रित सबै दलले, विगतको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (संलोममो) को अवस्थामा जस्तै संयुक्तरुपमा निर्वाचनमा सहभागी भएको भए सम्भवतः यस प्रदेशको परिणाम अर्को हुन सक्थ्यो । अहिलेको अवस्थामा रहेर विश्लेषण गरियो भने यी दलहरुको संयुक्त उपस्थितिमा राष्ट्रिय भनाउँदा दलहरुको अवस्था अझै निराशाजनक हुनसक्ने सम्भावनालाई इन्कार गर्न सकिँदैन ।

तुलनात्मकरुपमा माओवादी केन्द्रको प्रदर्शनलाई उसका दृष्टिले सन्तोषजनक नै मान्न सकिएला । माओवादीले विगतको द्वन्द्वकालमा यस प्रदेशमा राम्ररी प्रवेश गर्न सकेको थिएन भने द्वन्द्वकालपछि पनि संगठन विस्तार गर्न सकेको थिएन । संविधान सभाका दुई निर्वाचनमा पनि यस प्रदेशमा उल्लेखनीय सफलता प्राप्त गर्न नसकेको माओवादी केन्द्रको यसपटकको प्रदर्शनलाई राम्रो मान्नुपर्ने हुन्छ । परिवर्तनको नारालाई माओवादी केन्द्रले राम्रै उपयोग गर्न सक्नु उसको सफलताको कारण हो । कतै न कतै सत्तामा भएको लाभ पनि यो पार्टीले लिएको छ । प्रदेशको सबै तहमा उम्मेदवारी दिन सक्नु र स्थानीय स्तरसम्म संगठन विस्तार गर्न सक्नुलाई उसको सफलता मान्नुपर्ने हुन्छ ।

मधेसको परम्पागत शक्तिमध्येको राप्रपा नेपाल र राप्रपा प्रजातान्त्रिक, हालसम्म सार्वजनिक भएको मत परिणामका आधारमा, एक किसिमले बढारिएको अवस्था छ ।

यसपटकको निर्वाचनमा सबभन्दा समस्यामा परेका राष्ट्रिय दल हुन् नेकपा (एमाले) र नेपाली कांग्रेस । देशभरि नै स्पष्ट राजनीतिक सिद्धान्तभन्दा तात्कालिक मुद्दा र संगठनको भरमा टिकेको एमालेको प्रदर्शन यसपटकको मधेसको निर्वाचनमा उल्लेखनीय रहन सकेन । मतपरिणामको आधारमा निकै पछि परेको एमालेले विगतमा उठान गरेको ’राष्ट्रवाद’को मुद्दालाई मधेसले अस्वीकार गरेको छ भन्दा अन्यथा हुँदैन । तर, यस पार्टीले केही स्थानमा महत्त्वपूर्ण जित हात पारेको छ ।

कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधिको पैतृक निवास रहेको धनुषाको नगराइन नगरपालिकाको एक वडामा यस पार्टीले जित निकालेको छ भने धनुषा कांग्रेसका सभापति रामसरोज यादवको घर रहेको नगराइनसँगै टाँसिएकोे जिल्लाको दक्षिणमा अवस्थित भारतीय सीमासँग जोडिएको मुखियापट्टी मुसहरनियाँमा एमालेको जित रणनीतिक महत्त्वको छ । यस गाउँपालिकामा रामसरोजका भतिजा कांग्रेसबाट अध्यक्षका उम्मेदवार थिए । यसैगरी पर्साको सीमावर्ती क्षेत्र पटेर्वा सुगौलीमा हासिल जित पनि कम महत्त्वको छैन । तर, १८ स्थानीय तहमा विजय प्राप्त गरेको यस पार्टीको जितमा संगठन र सिद्धान्तभन्दा पनि जातीय आधार र सत्ताप्रतिको आक्रोशले निर्णायक भूमिका खेलेको देखिएको छ ।

विश्लेषकहरुका अनुसार एमालेले प्राप्त गरेको सफलता उसले खडा गरेका उम्मेदवारको व्यक्तित्व र प्रभावका कारण मात्र हो । जसरी पहिले आाकलन गरिएको थियो, त्यसरी नै यस पार्टीले राजमार्ग छेउछाउ भने कडा प्रतिस्पर्धा गरेको छ । कहीँ न कहीँ यो अवस्थालाई पनि समुदायगत मतदाताको रुझानका रुपमा बुझ्न सकिन्छ । जे होस्, मतदाताले परिवर्तनका विपक्षी ठहर गर्दै केही दललाई तिनको आकारबारे बोध गराइदिएका छन् । 

मत परिणामको विश्लेषण गर्ने हो भने नेपाली कांग्रेसलाई संकटग्रस्त मान्न सकिन्छ । आफ्नो आधार क्षेत्र भनी दाबी गर्दै आएको मधेसमा कांग्रेसले प्राप्त गरेको परिणामलाई सन्तोषजनक मान्न सकिँदैन । यो परिणामपछि कांग्रेसले आफ्नबारेमा नयाँ ढंगले पुनर्विचार गर्नुपर्ने देखिएको छ ।  कांग्रेस पहिलो अवस्थामै रहे पनि थुप्रै प्रश्नको उठान भएको छ । यो परिणामले मधेसमै पनि उसका लागि संकुचनको अवस्था सिर्जना गरेको निष्कर्ष निकाल्ने प्रयत्न गरियो भने त्यसलाई अत्युक्ति मान्न मिल्दैन । पछिल्ला दिनमा मधेस मामिलामा प्रायः अस्पष्ट र मध्यमार्गी धार अख्तियार गरेको आरोप खेपेको कांगे्रसका लागि मधेसलाई आफ्ना कुरा स्पष्ट ढंगले बुझाउन नसक्नु अभिशाप बन्न पुग्यो ।

अर्को, कांग्रेसले मतदातालाई आफ्नो कुरा पनि बुझाउन सकेन । राजपाविना निर्वाचनमा होमिदा त्यसको स्पष्ट लाभ आफूलाई मिल्ने सम्भावना रहे पनि कांग्रेसले राजपालाई निर्वाचनमा ल्याउने हरसम्भव प्रयास गर्यो र सफलता पनि प्राप्त गर्यो । यस अवस्थामा कांग्रेसले प्रदेश दुईमा केही सिट गुमाए पनि लोकतन्त्रलाई स्थानीय स्तरसम्म संस्थागत गर्ने र सबै पक्षलाई निर्वाचनमा ल्याउने महाअभियानमा भने सफलता प्राप्त गरेको छ । यसले निश्चय पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा कांग्रेसको कद बढेको छ । यति हुँदाहुँदै पनि कांग्रेसको प्रदर्शन निराशाजनक हुनुमा केही अन्य कारण महत्वपूर्ण छन् ।

कुनै रणनीति र नेतृत्वविनै चुनावमा होमिएको मुद्दाविहीन कांग्रेस आफ्नो पुरानो साखकै भरमा विजय प्राप्त गर्न सकिन्छ भन्ने भ्रममा थियो । आफ्नो पुरानो साख गिरेको कांग्रेस नेतालाई पत्तै भएन । कांग्रेस आफ्ना पक्षमा अवस्था अनुकूल छ भन्ने आत्ममग्ध हुनु, विपक्षी रणनीतिबारे अनभिज्ञ रहनु, मतदाताको मनोदशाको अध्ययन गर्न नसक्नु, मधेसको मानसिकतालाई कम आकलन गर्नु, एक आपसमा समन्वयको अभाव देखिनु, उम्मेदवार एक्लै प्रतिस्पर्धामा होमिनु, प्रमुख नेताहरु आप्नो क्षेत्र र स्थानीय तहमा मात्र सीमित हुनु, आपसी असहयोग र अन्तर्घातले स्थान पाउनुजस्ता केही यस्ता कारणले काग्रेसले अपेक्षित परिणाम प्राप्त गर्न सकेन । कांग्रेसको स्थानीय नेतृत्व सशक्त र इमानदार ढंगले प्रस्तुत हुन नसक्नु चुनावमा कमजोर प्रदर्शनको अर्को मुख्य कारण हो । यस्तै उम्मेदवार चयनमा आर्थिक लेनदेन, स्थानीय नेतृत्वका आफन्त र नातेदारलाई उम्मेदवार बनाइनुजस्ता कारणले पनि कांग्रेसको प्रदर्शनमा भूमिका खेले ।

यस प्रदेशको निर्वाचन सम्पन्न भएसँगै राष्ट्रिय राजनीतिले नयाँ मोडमा पुगेको छ । विगतमा कुनै न कुनै कारणले मधेसलाई आग्रही दृष्टिकोणले हेर्ने काठमाडांै र राजधानीलाई सँधै शंकाको दृष्टिले हेर्ने मधेसको मानसिकतामा थोरै भए पनि परिवर्तनको अनुभूति गरिएको छ । यो सन्तोषको विषय हो । मधेसको निर्वाचनलाई कुनै खास दल र व्यक्तिको जितहार र साखका दृष्टिले परिभाषित गरिनु अनुचित हुन्छ । समग्रमा यहाँ निर्वाचनलाई जनताको मत अभिव्यक्तिको प्रकटीकरण र लोकतन्त्रको विजयको सन्दर्भमा हेरिनु उचित हुन्छ । तर, यसपटक यहाँको मत केही हदसम्म जातीयरुपमा ध्रुवीकृत हुन पुगेको छ ।

यो भविष्यका लागि चिन्ताजनक छ । प्रदेश दुईको निर्वाचन नेपालका राजनीतिक खेलाडीका लागि जति प्रतिक्षित र परीक्षणीय थियो अन्तर्राष्ट्रिय चासो पनि त्यत्तिकै थियो । यी सबै परिस्थतिको प्रभाव आगामी दिनमा सम्पन्न हुने प्रदेश र केन्द्रीय संसद्को निर्वाचनमा पर्ने निश्चित छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ११, २०७४  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC