site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विगतबाट पाठ सिकेको च्यासल युथ संयमित
Sarbottam CementSarbottam Cement

काठमाडौं । क्लब स्थापनाका हिसाबले च्यासल युथ परिपक्व भइसके पनि ‘ए’ डिभिजन लिगमा भने यो बामे सर्दै गरेको क्लब हो । अखिल नेपाल फुलटबल संघ (एन्फा)ले पटकपटक मिति सारेको सहिद स्मारक ‘ए’ डिभिजन लिग आउँदो मंसिर ३ गतेबाट हुँदै छ । त्यसमा च्यासल युथको तेस्रो सहभागिता हुनेछ ।

ललितपुर, च्यासलका युवाले वि.सं. २०३७ सालमा क्लब स्थापना गरेका थिए । नेपालमा सबै सामुदायिक क्लब छन् । च्यासल पनि त्योभन्दा फरक छैन । अझ केही वर्षअघिसम्म यस क्लबको कार्यसमितिमा व्यञ्जनकारहरूको वर्चश्व हुन्थ्यो । तर, एसियन फुटबल संघले एएफसी लाइसेन्स अनिवार्य गरेपछि अहिले क्लबहरू विस्तारै आफूलाई व्यावसायिक बनाउने प्रयासमा छन् । च्यासल युथ पनि त्यसकै लागि लागिपरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

स्थानीय युवा मिलेर रामकृष्ण व्यञ्जनकारको अध्यक्षतामा स्थापना भएको च्यासलले एन्फाको आधिकारिक प्रतियोगितामा चाँडै फड्को मार्न भने सकेन । स्थापनाको लामो समयसम्म च्यासलले ‘सी’ डिभिजनमा छनोट हुनै संघर्ष गर्‍यो ।

२७ वर्षको संघर्षपछि ०६४ सालमा च्यासल पहिलोपटक ‘सी’ डिभिजन लिगमा छनोट भयो । त्यसको दुई वर्षपछि च्यासल ‘बी’ डिभिजन लिगमा उक्लियो । त्यसयता निरन्तर ‘बी’ डिभिजन लिग खेल्दै आएको च्यासलको ०६९ मा पाँचौँ स्थानमा रहनु नै सबैभन्दा राम्रो नतिजा थियो । तर, ०७३ मा भने च्यासल युथ ‘बी’ डिभिजन च्याम्पियन हुँदै ‘ए’ डिभिजनमा उक्लियो ।

Global Ime bank

०७४ मा ‘ए’ डिभिजन लिग नै नभएपछि शीर्ष श्रेणीमा फुटबल खेल्ने च्यासलको व्यग्रता थप एक वर्ष लम्बियो । ०७५ मा च्यासलले पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्यो । पहिलो सहभागिताबाट उत्साहित च्यासलले आक्रमक रूपमा खेलाडी तथा प्रशिक्षक अनुबन्ध गर्‍यो ।

च्यासलले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालिसकेका राजुकाजी शाक्यलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । त्यति बेलाका स्टार विमल घर्तीमगर,  हेमन्त थापामगर, देवेन्द्र तामाङ, गौरव बुढाथोकी, अमिर श्रेष्ठजस्ता खेलाडी अनुबन्ध गरेको थियो । तर, च्यासलले अपेक्षाकृत नतिजा निकाल्न सकेन । आठौँ स्थानमा रहेर लिगको अन्त्य गर्‍यो । लिगका १३ मध्ये चार खेल जित्यो । चार खेल बराबरी खेलेको च्यासल बाँकी खेलमा पराजित भयो ।

अघिल्लो सिजन पनि च्यासलमा नाम चलेका खेलाडीको कमी थिएन । तर, पनि च्यासलको प्रदर्शन अपेक्षा गरिएको भन्दा कमजोर नै रह्यो । नवौँ स्थानमा रहेर लिगको अन्य गर्‍यो । च्यासल युथका व्यवस्थापक शंकर व्यञ्जनकार विगतको अनुभवबाट पाठ सिकेको बताउँछन् ।

“विगतमा हामीले समग्रतामा राम्रो प्रदर्शन गरे पनि नजिता निकाल्न सकेनौँ । त्यो दुई संस्करणबाट हामीले राम्रो पाठ सिकेका छौँ,” व्यञ्जनकारले भने, “सबैभन्दा मुख्य कुरा त फुटबल नामले खेल्ने होइनरहेछ भन्ने थाहा भयो । त्यसकारण यसपटक हामीले नाम भन्दा पनि सन्तुलित टिम बनाउने प्रयास गरेका छौँ । भविष्यलाई हेरेर योजना बनाएका छौँ । त्यहीअनुसार हामीले खेलाडी अनुबन्ध गरेका छौँ । प्रशिक्षकलाई निरन्तरता दिएका छौँ ।”

लिग सुरु हुन अझै केही दिन बाँकी छ । तर, च्यासलको चर्चा यसअघि नै शिखरमा पुगेको छ । कारण हो, नेपाली मूलका इटालियन खेलाडी विकास मिराग्लियाको अनुबन्ध । इटालीमा व्यावसायिक फुटबल खेलिरहेका विकासले त्यहाँको यू–१६ टोलीबाट खेलिसकेका छन् । उनी इटालियन सिरी ‘ए’ लिगको क्लब एटलान्टाकोे युथ टिममा पनि छन् । उनले अबको सिजन च्यासल युथबाट सहिद स्मारक ‘ए’ डिभिजन लिग खेल्नेछन् ।

“उनको आगमनले ड्रेसिङ रूपमा सकरात्मक प्रभाव पारेको छ । उनी राम्रा खेलाडी हुन् । सुरुमा कम्युनिकेसनमा केही समस्या आएको थियो । अब विस्तारै उनी टिममा घुलमिल हुँदै छन्,” च्यासलका कप्तान विराज महर्जनले भने, “आशा छ, लिग सुरु हुँदासम्म उनी टिममा पूर्ण फिट हुनेछन् । त्यसपछि टिम अझ बलियो हुनेछ ।”

राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जन, कमल श्रेष्ठलाई पनि च्यासलले भित्र्याएको छ । चेतन चौधरी, विक्रम लिम्बू र अभिषेक लिम्बू अनुभवी खेलाडी हुन् । युवा खेलाडीहरू पनि एन्फा एकेडेमीका उत्पादनहरू छन् । त्यसकारण टिम कमजोर नभएको प्रशिक्षक बालगोपाल साहुखल बताउँछन् ।

“हामीले युवा र अनुभवी खेलाडीको मिश्रण गरेका छौँ । विदेशी खेलाडीहरू पनि राम्रा छन् । उनीहरूको आगमनले टिम सन्तुलित बनेको छ,” प्रशिक्षक साहुखल भन्छन्, “यसअघि पनि हाम्रो टिम राम्रो नै थियो । यसपटक सन्तुलित बनेको छ ।”

गत सिजन पनि साहुखलले नै टिमको नेतृत्व गरेका थिए । उनकै भाइ सन्तोष साहुखलले च्यासलको आक्रमणपंक्तिको जिम्मेवारी सम्हालेका थिए । पछिल्लो समय जापानमा बस्दै आएका सन्तोषले त्यहीँबाट खेलाडी ल्याएका थिए । तर, यसपटक कोभिड–१९ संक्रमणका कारण सन्तोष आफैँ आउने/नआउने टुंगो छैन । त्यसकारण यसपटक च्यासलले जापानी खेलाडीको स्थानको विकाससँगै भारतीय खेलाडी शेम मार्टन, कित्वा यानिक र मोउसा अवागानालाई अनुबन्ध गरेको छ ।

“सन्तोषको अझै टुंगो लागेको छैन । एक, कोभिड–१९ र अर्को, लिगको खेल तालिका नै टुंगो हुँदैन । सुरु हुनुअघि नै कतिपटक लिग सरिसक्यो । बीचमा के हुन्छ थाहा हुँदैन । निश्चित तालिका नभएका कारण उनको आउने कुरा पनि मिल्न सकेको छैन,” प्रशिक्षक साहुखलले भने ।

विगतको नतिजाले पनि होला, क्लबले यसपटक धेरै ठूला महत्त्वाकांक्षा राखेको छैन । शीर्ष चारमा रहने लक्ष्यसहित अघि बढेको व्यवस्थापक व्यञ्जनकार बताउछन् । तर, पहिलोपटक ‘ए’ डिभिजन लिग खेल्न लागेका च्यासलका रक्षक मोहित गुरुङ भने उत्साहित छन् ।

एन्फा एकेडेमीका उत्पादन मोहितले यसअघि टुसाल युथ क्लबबाट ‘बी’ डिभिजन लिग खेलिसकेका छन् । यसै वर्ष उनी च्यासल युथसँग अनुबन्ध भएका हुन् । महाकवि लक्ष्मीप्रसाद देवकोटोको कविताको हरफ ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ जस्तै मोहितले भने च्याम्पियन हुनैका लागि खेल्ने बताए ।

“म उत्साहित छु । सिनियर दाइहरूले धेरै राम्रो सहयोग गरिरहनुभएको छ । हाम्रो प्रशिक्षण पनि राम्रो भएको छ,” सिमराका मोहितले थपे, “लक्ष्य त च्याम्पियन हुने नै राख्ने हो । हामी मानसिक र फिजिकल रूपमा तयार छौँ । आशा गरौँ, क्लबले राम्रो प्रदर्शन गर्नेछ ।”

प्रशिक्षक साहुखललाई प्राविधिक निर्देशकका रूपमा स्कटल्यान्डका ली मान्सनले सहयोग गर्नेछन् । २५ वर्षभन्दा लामो प्रशिक्षण करियरमा सक्रिय ली पछिल्लो समय लाओस एफसीमा प्राविधिक निर्देशकका रूपमा आबद्ध थिए । उनीसँग फिलिपिन्सको पुरुष यू–२३ र महिला राष्ट्रिय टोली सम्हालिसकेको अनुभव छ । मान्सनले एएफसी च्याम्पियन्स कप खेलिसकेको टोली ग्लोबल एफसीमा ६ वर्ष मुख्य प्रशिक्षक भएर काम गरेका थिए । उनको अनभुवलाई च्यासल भरपुर उपयोग गर्ने रणनीतिमा छ ।

सिजनअघिको मैत्रीपूर्ण खेलमा च्यासल युथले संकटा र त्रिभुवन आर्मी क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो । संकटासँग १–० ले पराजित भएको च्यासलले त्रिभुवन आर्मी क्लबसँग भने गोलरहित बराबरी खेलेको थियो ।

च्यासलले नयाँ सिजनको पहिलो खेल नै छिमेकी प्रतिद्वन्द्वी थ्री स्टारविरुद्ध दशरथ रंगशालामा खेल्नेछ । त्यसपछि सशत्र प्रहरी बल (एपीएफ)विरुद्ध खेल्नेछ । थ्री स्टार लिगको सदाबहार उपाधि दाबेदार हो । थ्री स्टारले तीनपटक उपाधि उचालिसकेको छ । त्यसकारण पहिलो खेल नै च्यासलका लागि महत्त्वपूर्ण हुनेछ ।

“ललितपुर डर्बी खेल हो । जुनसुकै प्रतियोगितामा पहिलो खेल महत्त्वपूर्ण हुन्छ । त्यसमाथि थ्री स्टारजस्तो क्लब हाम्रो प्रतिद्वन्द्वी छ । त्यसकारण पनि हामीलाई त्यो खेल अझ महत्त्वपूर्ण हुनेछ,” कप्तान विराजले भने, “आशा गरौँ, हामी त्यो खेल जित्दै प्रतियोगितामा राम्रो सुरुआत गर्नेछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक ३०, २०७८  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement