site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंका सडकै बसपार्क !

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चबाट पुरानो बसपार्क हटाएपछि ट्राफिक व्यवस्थापन यतिबेला अस्तव्यस्त हुँदै गएको छ । पुरानो बसपार्क भएको ठाउँमा भ्युटावर निर्माणमा भइरहेको ढिलासुस्ती र खुलामञ्चको बसपार्क हटाउँदा सडकमा सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे परेको हो । 

काठमाडौं महानगरपालिकाले गत वैशाख १५ गते मध्यम दुरीका सवारी साधन गोङ्गबुको नयाँ बसपार्कबाट र छोटो दुरीका गाडी पिक एण्ड ड्रप प्रणालीबाट सञ्चालन हुने गरी खुलामञ्चको पुरानो बसपार्क हटाएको  थियो । 

उक्त बसपार्क हटाइ पिक एण्ड ड्रप प्रणाली लागु गर्दा अधिकांश सवारी साधनहरुले सडकलाई नै बसपार्क बनाइदिएका छन ।

Dabur Nepal

यसको प्रत्यक्ष मार यात्रुहरुले खेप्नुपरेको छ । 

महानगरपालिकाले भ्युटावर निर्माणमा भएको ढिलासुस्तीलाई बेवास्ता  र नयाँ बसपार्कको टुंगो नलगाउँदा यस्तो समस्या बढ्दै आएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पुरानो बसपार्क हटेदेखि ट्राफिक व्यवस्थापनमा निकै समस्या आएको छ । 

महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले महानगरपालिकाले बसपार्क हटाएर विकल्प नदिँदा यसको समस्या ट्राफिक महाशाखाले व्यहोर्नु परेको बताउँछन् । 

‘‘हामीले जतिसक्दो सवारी व्यवस्थापन गरिरहेका छौँ । दोस्रो लहरको कोरोना  महामारीका कारण निषेधाज्ञा हुँदा समस्या आएको थिएन । तर निषेधाज्ञा हटेपछि सबै किसिमका सवारी साधन खुलेर सवारी चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापन असहज हुँदै आएको छ । ट्राफिक प्रहरीको तर्फबाट जतिसक्दो व्यवस्थापन गरिरहेकै छौँ । पुरानो बसपार्क हट्नेबित्तिकै पिक एण्ड ड्रप प्रणाली लागु भयो । यसले यात्रु अलमल परेका  बेला कुन कुन ठाउँमा पिक एण्ड ड्रप प्रणालीबाट सवारी साधन रोकिन्छन भनेर हामीले देखाएर सहयोग गरेको छौँँ,” उनले भने । 

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाका अनुसार खुलामञ्चको पुरानो बसपार्क हट्नु अघि करिब ४० वटा कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा आउँथे । 

जसमध्ये करिब २७ वटा कम्पनी छोटो दुरीका र १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन हुन्थे ।  टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुने भनिएको थियो । 

‘‘खुलामञ्चलाई खाली नै राख्न हामीले त्यहाँबाट बसपार्क हटाएका हौँ । अहिले भ्युटावर निर्माण भएको ठाउँमा पहिला पुरानो बसपार्क थियो । उक्त ठाउँमा भ्युटावर निर्माण गर्नुपर्ने भएकाले पछि खुलामञ्चमा पुरानो बसपार्क सारिएको थियो । खुलामञ्च खुला नै रहने हो । भ्युटावर निर्माणाधीन अवस्थामा छ,” उनले भने ।

यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाटै चलाउनुपर्ने महानगरले बताएको थियो । 

पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन हुने सवारी साधनले सडकमै सवारी रोकेर यात्रु चढाउँने हुँदा ट्राफिक जाम बढ्दै गएको छ । 

महाशाखाले सवारी जामको व्यवस्थापन गर्दै आएपनि सडकमै यात्रु ओराल्ने र चढाउँने हुँदा सवारी जाम बढ्दै गएको छ । 

प्रवक्ता दासका अनुसार काठमाडौं उपत्यकाको केन्द्रबिन्दुका रुपमा रहेको पुरानो बसपार्क हट्दा समस्या आउनु स्वाभाविक हो । 

‘‘सहिद गेट, टुँडिखेल, वीर अस्पताल, विद्युत प्राधिकरण, शान्तिवाटिका अगाडि पिक एण्ड ड्रप प्रणालीमा सवारी साधन रोक्न दिइएको छ । पहिले उक्त ठाउँमा रोकिने सबै किसिमका सवारी साधन पहिले पुरानो बसपार्क भित्र मात्रै रोकिन्थ्यो । अत्याधिक सवारी चाप भएको क्षेत्रमा बसपार्क नहुँदा र सडकमै यात्रु ओराल्ने र चढाउने गर्दा समस्या त आउँने नै भयो,” दासले भने । 

दैनिक एक हजारभन्दा बढी सार्वजनिक सवारीसाधन पुुरानो बसपार्क क्षेत्रबाट गुड्ने गरेको महाशाखाको तथ्यांक छ । यो कोरोना महामारीका कारण गाउँ गएका मानिसहरु उपत्यका भित्रिएपछि यो तथ्यांक बढ्दै जाने महाशाखाको भनाइ छ । 

भ्युटावर निर्माणमा ढिलासुस्ती हुँदा समस्या 

महानगरका अनुसार साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ भ्युटावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि त्यस ठाउँबाट चल्ने सवारी साधनलाई खुल्ला मञ्चमा सारिएको थियो । तोकिएको समयभित्र भ्युटावर निर्माणको काम सम्पन्न नहुँदा यस्तो समस्या आएको हो । 

महानगरपालिकाले पुरानो बसपार्कको विकल्पमा अन्य बसपार्कको टुंगो नलगाएरै खुलामञ्चको बसपार्क हटाउँदा ट्राफिक व्यवस्थापन भद्रगोल बन्दै आएको छ । 

अहिले पुरानो बसपार्कबाट सञ्चालनमा आएका लामो दुरीका सवारी साधन पनि सडकमै रोकेर यात्रु चढाउने र ओराल्ने गर्छन् ।

यसरी सवारी साधन रोक्ने बसपार्कका रुपमा साँघुरा सडकलाई प्रयोग गर्दा यसको मारमा गन्तव्यस्थलसम्म जाने सवारी साधन र यात्रुहरु परेका छन् ।

अब भ्युटावर निर्माण नभएसम्म नयाँ बसपार्कको टुंगो नलाग्ने महानगरले जनाएको छ । यता भ्युटावर निर्माणको काम हर्ने हो भने कुछुवा गतिमा निर्माण अघि बढिरहेको छ । 

कछुवा गतिमा भ्युटावरको काम अगाडि बढिरहँदा महानगरले कुनै चासो देखाएको छैन । महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलगायतका जनप्रतिनिधि नआउँदै सुरु भएको भ्युटावरको कामको ६ तला पनि सम्पन्न हुन सकेको छैन । 

मेयर शाक्य आफैँ चुनावी मैदानमा उत्रदा काठमाडौंका ट्राफिक जाम हटाउने प्रतिवद्धता व्यक्त गरेका थिए । 

‘सही समय सही ठाम, नो ट्राफिक जाम अभियान’ चलाउने मेयर शाक्य १०१ प्रतिवद्धताको २५ नम्बरमा उल्यख छ । 

मेयर शाक्यको कार्यकाल बित्नै लाग्दा पनि उक्त अभियान अघि बढ्न सकेन । 

महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार निर्माणाधीन अवस्थामा रहेको भ्युटावर निर्माण पछि मात्रै नयाँ बसपार्कबारे महानगरमा छलफल हुने बताए । 

‘‘तत्काल अन्य ठाउँमा नयाँ बसपार्क बनाउँने अवस्था छैन । महानगरसँग खालि ठाँउ पनि छैन । अहिलेलाई रत्नपार्क क्षेत्रमा गुड्ने सवारी साधनहरु पिक एण्ड ड्रप प्रणालीमै सञ्चालन हुनेछन । लामो दुरीमा सवारी साधनहरु गोंङ्गबु नयाँबसपार्कबाटै सञ्चालन हुनेछन,” प्रवक्ता डंगोलले भने, ‘‘पुरानो बसपार्क भएको ठाउँमा नै बसपार्क निर्माण हुन सक्ने अवस्था छ । सुरुमा भ्युटावर निर्माण होस । अनि के गर्ने भन्नेबारे महानगरले निर्णय गर्छ ।”
 

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १३:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro