site stats
बाह्रखरी :: Baahrakhari
देश
आविष्कार केन्द्रसँग स्वास्थ्य सामग्रीमा सहकार्य गर्दै हेल्प नेपाल 

काठमाडौं । सामाजिक परोपकारी काममा बितेको २१ वर्षदेखि क्रियाशील संस्था हेल्प नेपाल नेटवर्कले वर्तमान विषम परिस्थितिमा पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

कोभिड–१९ को महामारीबाट सिंगो मुलुक मात्र नभएर विश्व नै आक्रान्त छ । यो असहज परिस्थितिमा हेल्प नेपालले पनि स्वास्थ्यका लागि अति आवश्यक सरसामानको उपलब्धतामा विशेष जोड दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत वर्ष ‘लकडाउन’को समयमा अस्पतालहरुका लागि जरुरी पीपीईलगायत सामग्री सहयोग गरेको नेटवर्कले पछिल्ला दिनमा राष्ट्रिय अविष्कार केन्द्रसँग हातेमालो गर्दै सेवा कार्यलाई अगाडि बढाएको छ । नेटवर्कले सबै ग्लोबल च्याप्टरहरुसँग सहयोग जुटाउँदै अक्सिजन, पीपीईलगायत सामग्रीहरुको उत्पादनमा सहयोग गर्दै आइरहेको छ ।

प्राकृतिक विपद्को समयमा हेल्प नेपालको सामाजिक कार्यकर्ताको समूह आफैँ राहत र सेवा कार्यमा जुट्दै आएको हो । तर, आजको समयमा परिस्थिति केही फरक रहेको हुँदा कोभिडका बिरामीहरुका लागि आवश्यक अक्सिजन सिलिन्डरको व्यवस्थापन तथा पीपीईको उत्पादनसहितका काममा राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गर्दै सामाजिक कार्य गर्दै आएको छ ।

जुझारु समाजसेवीहरुको संस्था हेल्प नेपाल नेटवर्कले हालैका दिनमा ५० लाख रुपैयाँ सहयोग उठाउने लक्ष्यसहित सहयोग अभियान थालेको छ । यस अभियानमा नेटवर्कका अष्ट्रेलिया, बेलायत, अमेरिकालगायत अन्य च्याप्टरहरु सक्रिय रहेका छन् । नेटवर्कका नेपाल अध्यक्ष अरुणसिंह बस्नेतले यसबीचमा ३० लाख बढीको सहयोग रकम जुटेको र त्यसमध्ये केही रकम आविष्कार केन्द्रलाई हस्तान्तरण पनि गरिसकेको फेसबुक वालमार्फत् जानकारी गराएका छन् ।

अहिलेको विकराल परिस्थितिमा सहर मात्रै नभएर गाउँगाउँमा कोरोनाभाइरसको संक्रमण तीव्र हुँदै गएको अवस्थामा हेल्प नेपालले गाउँगाउँमा पनि सेवा सुचारु गरेको छ । हालै नेटवर्कले नेपाल रेडक्रस सोसाइटी नवलपुर उपशाखा तथा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकासँग सहकार्य गर्दै रोग प्रतिरोधात्मक सामग्री वितरण गरेको छ कोभिडविरुद्धको सचेतनामूलक कार्य पनि सञ्चालन गर्दै आएको छ । यसका साथै दोलखा, अछाम, तनहुँ र काभ्रेलगायत स्थानमा पनि नेटवर्कले स्वास्थ्य सेवा तथा सचेतनामूलक काम गर्न सुरु गरेको संस्थाका अध्यक्ष बस्नेतले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्