
काठमाडौं । पछिल्ला हप्ताहरुमा नेपालमा कोभिड–१९ संक्रमित थपिने संख्या घट्दै गएको छ । सिकिस्त बिरामी हुनेको संख्या कम हुन थालेपछि काठमाडौं उपत्यकालगायत ‘हटस्पट’का अस्पतालमा संक्रमितको चाप पनि घटेको छ ।
गएको वैशाखमा संक्रमण उच्च भएका बेला बेड अभावमा कुर्सीमा राखेर संक्रमितको उपचार गराएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसन बेड खाली हुँदै गएका छन् ।
तीन हप्ताअघि र अहिलेको स्थितिलाई तुलना गर्दै नेपालमा कोभिड संक्रमणको समग्र अवस्थाबारे शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बास्तोलाले आफ्नो अनुभव फेसबुक वालमा यसरी सेयर गरेका छन्–
“अहिले कोरोना संक्रमितको संख्या विगत तीन हप्ताको तुलनामा केही कम र स्थिर छ । वैशाखको पहिलो साता टेकु अस्पतालको इमर्जेन्सीमा जुन दरमा सिकिस्त बिरामी आएका थिए, जेठको अन्तिम साता आइपुग्दा त्यही दरमा बिरामी भर्ना भएका छन् । तर, वैशाखको पहिलो साताको तथ्यांक बढ्दो क्रममा थियो भने अहिले घट्दो क्रममा छ । यो डेढ महिना कोभिडका सिकिस्त बिरामीको उपचारमा हामी अहोरात्र खट्यौँ । यति संवेदनशील अवस्थासम्म आयो कि इमर्जेन्सीमा एकै्दिन पाँच जनासम्म बिरामीको मृत्यु भयो । हामीले चाहेर पनि इमर्जेन्सीका सिकिस्त बिरामीलाई भेन्टिलेटरसम्म लैजानै पाएनौँ । टेकु अस्पतालमा २४ बेडको आईसीयू बढाएर २८ बेड पुग्यो । कोभिडको पहिलो लहरमा सातवटा भेन्टिलेटर थियो भने अहिले २२ वटा भेन्टिलेटर छन् । तर, अहिले पनि आईसीयू बेड र भेन्टिलेटर भरिएका छन् । यसको अर्थ हो, अस्पतालको हालको क्षमता बराबर सिकिस्त बिरामी उपचाररत छन् । अहिले इमर्जेन्सीमा आउने सिकिस्त बिरामीको संख्या केही घटेको छ, यो दर स्थिर र अझै घट्दो क्रममा जाने सम्भावना छ । तर, अहिले काठमाडौंबाहिरबाट सिकिस्त भएर बिरामी आउने क्रम जारी छ । यसले गाउँ–गाउँमा सिकिस्त बिरामी यत्तिकै बसिरहेका त छैनन् भन्ने शंका उब्जाएको छ । दोस्रो लहरको उत्कर्षमा अस्पतालमा बेड अभावले बिरामी घरैमा सिकिस्त हुन्जेल बस्नुपर्ने बाध्यताले गर्दा धेरैको ज्यान गुमायौँ । त्यो महामारीको एउटा रुप नै हो । यद्यपि, अस्पताल आइपुगेका बिरामीको उपचारमा हामीले कुनै कसर बाँकी राखेनौँ । दोस्रो लहरको एउटा सुखद अनुभव भनौँ, खोप लगाएका मानिस संक्रमित त भए, तर कम मात्र सिकिस्त भए । यसले के देखाउँछ भने, कोरोनाबाट बच्न खोप एक मात्र अचुक उपाय हो । अबको अभियान धेरैभन्दा धेरैलाई खोपको व्यवस्था नै हो । खोपको उपलब्धता नहुँदासम्म अनावश्यक औषधि सेवन गरेर कोभिडका बिरामी घरैमा बसिरहनु खतरा हुनसक्छ । कोभिड निमोनिया भएको ६–७ दिनमा बिरामीलाई निकै गाह्रो पर्छ, त्यो बेला सामान्य ठानेर अस्पताल नआउँदा बिरामी जोखिममा पर्न सक्छन् । यो समय सबैले ध्यान दिनु जरुरी छ । बिरामी बेलैमा अस्पताल आइपुगे उपचारका अनेक उपाय अपनाउने सम्भावना रहन्छ । तर, घरै बसेर अन्तिम अवस्थामा अस्पताल आउँदा ढिला हुनसक्छ । अब, श्वासप्रश्वासमा समस्या भएका बिरामीलाई अस्पताल ल्याउन ढिलाइ नगरौँ । अहिले बिरामी व्यवस्थापन गर्न सक्ने अवस्थामा अस्पताल आइपुगेका छन् । सम्भवतः दोस्रो लहरको डरलाग्दो समय पार हुने चरणमा छ । तर, धेरैभन्दा धेरैलाई खोपको व्यवस्था हुन नसके र सुरक्षाका मापदण्ड पालना नगरे यो महामारीले अर्को रुप नलेला भन्न सकिन्न । दोस्रो लहरको उत्कर्षमा भोग्नु परेको बेहाल अवस्था फेरि पनि आइलागेमा धान्न सक्ने धैर्यता सायद नरहन सक्छ । ”
डा. बास्तोला ले प्रस्तुत गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा वैशाखका तीन हप्ताको संक्रमितको ग्राफ यस्तो छ–