site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement

कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएर दाेस्राे मात्रा लगाउन पर्खेका ज्येष्ठ नागरिकले  अर्को मात्रा तत्काल नपाउने खुलासा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीले  आइतवार गरेका छन् । फलस्वरूप, गत फागुन २३ गतेपछि पहिलो खोप लगाएका करिब १४ लाख ज्येष्ठ नागरिकको स्वास्थ्य सङ्कटमा परेकाे छ । 

आर्थिक वर्ष २०७८/७९ काे बजेटमा सरकारले ज्येष्ठ नागरिकको भत्ता प्रतिमहिना एक हजारका दरले बढाउने घोषणा गरेको छ । यिनै ज्येष्ठ नागरिकहरू नै कोभिसिल्ड खाेपकाे पहिलाे मात्रा लगाएर अर्को मात्रा लगाउने प्रतीक्षामा बसेका छन् । काेभिसिल्ड खाेपकाे पहिलाेमात्रा लगाएपछि १२ साताभित्र अर्को मात्रा लगाउनुपर्छ ।पहिलाे मात्रा लगाएको ११ साता बितेपछि सरकारले अर्को मात्रा अनिश्चित भएकाे निर्मम सूचना दिइयाे ।

भारतले अनुदानमा दिएकाे १० लाख, नेपालले किनेकाे १० लाख र काेभ्याक्सअन्तर्गत प्राप्त ३ गरी काेभेिसिल्डकाे २३ लाख मात्रा खोप नेपालमा आएकाे जानकारी सरकारले नै दिएकाे थियाे । पहिलाे प्राथमिकतामा परेकालाई दिएपछि देशभरका ज्येष्ठ नागरिकलाई कोभिसिल्डकाे पहिलाे मात्रा दिइएकाे हो । 

Agni Group

सरकारका उच्च अधिकारीले कोभिसिल्डकाे दोस्राे मात्रा खोप सुरक्षित रहेकाे सार्वजनिरूपमा पटकपटक बताएका थिए । प्रधानमन्त्री खड्गप्रसाद ओलीले करिब ४ महिना पहिले नै तीन महिनाभित्र सबै नेपालीलाई खाेप दिइसकिने  र नेपाल दक्षिण एसियामै खोप अभियान चलाउने दोस्राे मुलुक गुड्डी हाँकेका थिए ।

प्रधानमन्त्री ओलीका भनाइ त सायद उनी आफैँ पनि पत्याउँदैनन् । अमेरिकाका अगिल्ला राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षे कार्यकालमा ३० हजारपटक भन्दा बढी ढाँटेकाे पत्ता लागेकाे छ । ट्रम्पलाई संख्यात्मकरूपमा जितेका त छैनन् होला तर आफ्नाे अप्रमाणित र मनाेगत धारणालाई सत्य भनेर जिद्दी गर्ने प्रवृत्तिमा भने  ओलि पनि कम छैनन् । 

Global Ime bank

ल भैगाे, ओली त्यस्तै हुन् भन्ने मानाै तर स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रीपाठीलगायतका  अधिकारीले पनि पहिले ढाँटेका हुन् कि बीचमा बदमासी गरेका हुन् ? प्रदेश नम्बर १ की सामाजिक विकास मन्त्रीले कोभिसिल्डकै दाेस्रो मात्रा सरकारी मापदण्डमा नपरेका आफ्ना मान्छेलाई विराटनगरकाे सिनेमा हलमा बोलाएर सुटुक्क दिएकाे समाचारले त महामारीका बेलामा दिइने खाेपमा पनि नेपाल कम्युनिस्ट पार्टी (एमाले)काे सरकारले जानजान ज्येष्ठ नागरिकमाथि घात गरेकाे पुष्टि भएन र ?

केही साता पहिले स्वास्थ्यमन्त्री त्रिपाठीले कमिसन एजेन्टका कारण मन्त्रालयले किनेकाे २० लाखमध्ये आउन बाँकी १० लाख मात्रा पनि ल्याउन नसकेकाे भन्दै लाचारी प्रकट गरेका थिए । त्यस प्रसङ्गमा कमिसन एजेन्ट र प्रधानमन्त्री ओलीकाे निकटताकाे विषय पनि सार्वजनिक भएकाे थियाे । गएको वर्ष पनि प्रधानमन्त्री ओली निकट व्यवसायीकै संलग्नतामा स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको स्वीकार गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै ठेक्का रद्द गरी ठेकेदारलाई कालाेसूचीमा राखेकाे जानकारी दिएकाे थियाे । 

यसैले एमालेका नेताहरूकाे बदनियतका कारण ज्येष्ठ नागरिकको महामारीबाट बच्ने आशामा तुषारापात भएकाे स्पष्ट देखिन्छ । विराटनगरका नागरिक अपेक्षाकृत सचेत भएकाले त्यहाँकाे काण्ड सार्वजनिक भयो । देशकाे अरू भागमा पनि त्यस्तै बदमासी गरिएकाे हुनसक्छ । कतै बदनियतपूर्वक सङ्कट उत्पन्न गरेर ज्येष्ठ नागरिकलाई अत्याउने अनि खाेपकाे बन्दाेबस्त गरेकाे देखाएर स्याबासी लिने ‘तारणहार’ ग्रन्थ्रीले काम त गरेकाे छैन ?    

सरकारकाे व्यवहार र नियत हेर्दा देशमा दन्त्यकथाका दुष्ट राक्षसहरूको राज भएजस्ताे भान हुन्छ । सरकार घरी ज्येष्ठ नागरिककाे भत्ता बढाउँछ र अर्कातिर सत्तारुढ पार्टीका नेता विराटनगरमा जस्ताे ज्येष्ठ नागरिकले पाउनुपर्ने खोप चोरेर आफ्नालाई सुटुक्क दिन्छन् । यिनकाे व्यवहार राक्षसले मीठाेमीठाे दान दिएर मोटोघाटो बनाएपछि मारेर खाएकाे कथासँग तुलनीय छैन त ? 

काेभिसिल्ड खाेपको पहिलाे मात्रा लगाएका ज्येष्ठ नागरिकले अर्काे मात्रा कहिले पाउँछन् ? पहिलाे मात्रा लगाएकाे कति दिनपछि सम्म दोस्राे मात्रा लगाउन मिल्छ ? कोभिसिल्ड नपाए त्यही सूत्रमा बनेकाे अर्को खाेप लगाउँदा प्रतिकूल असर पर्छ कि पर्दैन ? कि अब दुवै मात्रा नयाँ दिनुपर्ने हो ? त्यस्ताे खोप आयो भने कहिलेसम्म आइपुग्छ ? कि चुनाव हुनेभयाे भनेमात्र खोप ल्याउने हो? ज्येष्ठ नागरिकलाई यस्ताे भयानक धाेका दिनेहरूलाई आत्मग्लानि हुन्छ कि हुँदैन ?  महिनाकाे हजार रुपियाँ भत्ता बढाउनुकाे साटाे खोपकाे अर्को मात्रा दिएकाे भए धेरै ठूलो कल्याण हुन्थ्यो । ज्येष्ठ नागरिकमाथि यसभन्दा ठूलो धोका के हुन्छ ?


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  १४:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC