site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानको राष्ट्रपतीय चुनावमा प्रधानन्यायाधीशसहित सात जनाकाे उम्मेदवारी

दुबई । इरानमा आगामी जुन १८ मा हुने राष्ट्रपतिको चुनावका लागि सात जना उम्मेदवार छनौटमा परेका छन् । सिफारिस गरिएका उम्मेदवारहरूमा इरानका प्रधानन्यायाधीशसहित सात जना रहेका छन् । तर वर्तमान राष्ट्रपतिको गठबन्धनका व्यक्तिलाई उम्मेदवारको सूचीबाट हटाइएको छ । 

इरानी टेलिभिजनले न्यायपालिका प्रमुख इब्राहिम रैसीलाई मुख्य उम्मेदवारका रूपमा घोषणा गरेको छ । उनले भ्रष्टाचार विरोधी अभियानमा शसक्त भूमिका खेलेको भन्दै आमजनताले उनकाे कार्यको प्रशंसा गर्ने गरेका छन् ।

रैसीलाई ८२ वर्षीय इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको पनि समर्थन रहेको बताइन्छ । तर इरानको गार्डियन काउन्सिलले वर्तमान राष्ट्रपति हसन रौहानीको समर्थन प्राप्त पूर्व सभामुख अलि लारिजानीको उम्मेदवारी खारेज गरिदिएको छ । लारिजानीले आफू व्यवहारिक नेता भएको र सन् २०१५ को आणविक सम्झौताको पक्षधर भएको बताउँदै आएका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लारिजानीले गार्डियन काउन्सिलको निर्णय विरुद्ध उजुरी नगर्ने सङ्केत गरिसकेका छन् । 

लारिजानीले ट्वीटरमा लेख्दै आफूले इश्वर र राष्ट्रका लागि इमान्दारीपूर्वक काम गरिसकेको र आफू त्यसैमा सन्तुष्ट रहेको बताएका छन् ।

गार्डियन काउन्सिलले अस्वीकार गरेका अन्य व्यक्तिहरुमा पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद र रौहानीका वरिष्ट उपराष्ट्रपति इशाक जहाँगिरी पनि रहेका छन् । 

सर्वोच्च नेता खामेनीको नेतृत्वमा रहेको १२ सदस्यीय गार्डियन काउन्सिलले राष्ट्रपतिका उम्मेदवारहरुको चयन गर्ने गर्दछ । 

सन् २०१७ को राष्ट्रपति चुनावमा पराजित भएका रैसीलाई खामेनीले सन् २०१९ मा न्यायपालिकाको प्रमुखको रूपमा नियुक्त गरेका थिए । 

गार्डियन काउन्सिलले सिफारिस गरेका अन्य उम्मेदवारहरुमा पूर्व आणविक मध्यस्थकर्ता सईद जलिलि, पूर्व रिभोल्युसनरी गार्डका कमान्डर मोहसिन रेजाई, पूर्व सांसद अलि रेजा जकानी, सांसद अमिर होसेन घाजीजादेह, पूर्व प्रान्तीय गभर्नर मोहसिन मेहरालिजादेह र इरानको केन्द्रीय बैंकका गभर्नर अब्दोलनासेर हेमाटी रहेका छन् । एपी/रासस

प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  २१:५१
प्रतिक्रिया दिनुहोस्