
काठमाडौं । बलिउड सुपरस्टार सलमान खान अभिनीत चलचित्र राधेलाई सरकारले कारबाही गर्ने भएको छ । बिना सेन्सर चलचित्र रिलिज गरिएपछि कारबाही गर्न लागिएको हो ।
चलचित्र सेन्सरबोर्डबाट सेन्सर गराएर मात्रै प्रदर्शन गर्नुपर्ने कानुनी प्रावधान छ । तर, राधे आजबाट डिजिटल प्लेटर्फमा सेन्सर नगराइ रिलिज गरिएको थियो ।
“गैरकानुनी काम गर्ने कसैलाई पनि छुट हुँदैन, कारबाही हुन्छ,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेल बाह्रखरीसँग भन्छन्, “कोभिडका कारण हामीलाई सूचना भएन होला । विना सेन्सर चलचित्र रिलिज गर्न पाइँदैन । सेन्सर नगराई रिलिज गर्नेलाई मन्त्रालयले तत्काल कारबाही गर्छ । भोलिबाट नै कारबाहीको प्रक्रिया सुरु हुन्छ ।”
चलचित्र विकास बोर्डका सदस्य अर्जुनकुमार विना सेन्सर चलचित्र रिलिज गर्न नपाइने भन्दै गैरकानुनी काम गर्नेलाई कारबाही हुनुपर्ने बताउँछन् । “हामीले मन्त्रालयमा खबर गरिसकेका छौं । कानुनी प्रावधान लत्याएर चलचित्र सेन्सर नगराई रिलिज गरिएको छ । सरकारको नियम कानुन उल्लङ्घन गर्ने जो कोहीलाई कारबाही हुनुपर्छ,” अर्जुन कुरमार भन्छन्, “अहिले सेन्सर बिना राधे चलाउनेहरु नेपाली चलचित्र लगाउनुपर्यो भने सेयरमा बार्गिनिङ गर्छन् । नेपाली चलचित्रको विकासका लागि थोरै पनि सोच्न नसक्नेहरु सधैं हिन्दी चलचित्रलाई नै प्रश्रय दिन्छन् । सरकारी नीति नियमभित्र नबस्ने जोसुकै होस् कारबाही हुनुपर्छ ।”
केवल नेटवर्क टेलिभिजन भएकाले बोर्डले कारबाही गर्न सक्दैन । त्यसैले बोर्डले मन्त्रालयलाई आग्रह गरेको हो ।
आजबाट चलचित्र राधे डिजिटल प्लेटर्फममा रिलिज गरिएको थियो । यो चलचित्रलाई नेपालमा गोपिकृष्ण मुभिज अन्र्तगतको ए एठ् कम्पनीले नेपाल भित्र्याएको हो । रोधे चलचित्र विभिन्न ओटीटी प्लेटफर्म र डिस होम, नेट टीभी, सुबिसुलगायतमा रिलिज भइसकेको छ । राधे दर्शकले २९९ रुपैयाँदेखि ३२५ रुपैयाँसम्म तिरेर हेर्न सकिन्छ ।