
काठमाडौँ । नेपाल अभिभाभवक महासंघले स्वास्थ्य मन्त्रालयले कोभिड–१९ बाट अति प्रभावित भनेर तोकेको १४ जिल्लाका १ कक्षादेखि ७ कक्षा सम्मको पठनपाठन तत्काल भौतिक रूपमा बन्द गर्न अपिल गरेको छ ।
काठमाडौंमा बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष शुभप्रभात भण्डारीले कक्षा ८ देखि १० का विद्यार्थीलाई पनि कडा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न माग गरे ।
कक्षा ७ सम्म विद्यार्थीको हकमा भने मिलेसम्म अनलाइन या अन्य वैकल्पिक माध्यममा पढाउनुपर्ने उनले बताए । “यदी मानेनन् भने हामी अभिभावकलाई विद्यालय नपठाउन अनुरोध गर्छौं । केही हदसम्म आजबाट सुरु भइसकेको छ,” उनले भने ।
शिक्षा मन्त्रालयले विद्यालय सञ्चालनबारे आज प्रेस विज्ञप्ति जारी गरेको थियो । विज्ञप्तिमा स्थानीय तहले कोभिड–१९ बाट प्रभावित विद्यालय बन्द गर्ने र स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनको कार्यढाँचा २०७७ बमोजिम विद्यालय सञ्चालन गर्नुपर्ने भनेर उल्लेख गरिएको थियो ।
यस्तै, शिक्षा विभागले पनि मन्त्रालयले झैँ कोभिड–१९ बाट विद्यार्थी र कर्मचारी संक्रमित भए हप्ता दिन विद्यालय बन्द गर्ने र स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्नु भनी प्रेस विज्ञप्ति जारी गरेको छ ।
तर स्वास्थ्य मन्त्रालयले भने कोरोना भाइरसबाट संक्रमित १४ जिल्ला सूचीकृत गर्दै कम्तीमा तीन हप्ताको लागि विद्यालय बन्द गर्न अपिल गरेको छ ।
संस्थागत विद्यालय संगठन एनप्याब्सनका महासचिव सुवास न्यौपानेले एकीकृत सरकारी निर्णय नआउँदा विद्यालय र अभिभाभावक अलमलमा परेको बताए । “स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर भन्छ, शिक्षा मन्त्रालय र शिक्षा विभाग संक्रमित भेटिएका विद्यालय मात्र बन्द गर भन्छ, हामीले कसको कुरा मान्ने ?,” उनले प्रश्न गरे ।
यस्तै, प्याब्सनका अध्यक्ष टीकाराम पुरी नेपालभरि एकैपटक विद्यालय बन्द गर्न नहुने धारणा राख्छन् । परिस्थितिअनुसार बन्द गर्नुपरे जोखिम भएका विद्यालय बन्द गरिने उनले जानकारी दिए ।
“हामी शिक्षा क्षेत्रसँग सम्बन्धित भएकाले शिक्षा मन्त्रालय र पालिकाले दिएको निर्णय हाम्रा लागि आधिकारिक हुन्छ ,” उनले भने, “तर स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ । यसका लागि कडा अनुगमन गरी मापदण्ड पूरा नगरिएका विद्यालय बन्द गर्नसक्नुपर्छ ।”